भोकै बसेर लाभ लिनुस्



– डा. क्षितिज बराकोटी (प्राकृतिक चिकित्सक)

हामी खानपानको स्वादमा रमाउँछौं । आवश्यकताभन्दा बढी र शरीरको प्रकृतिभन्दा फरक खानपान गर्छौं । यसबाट हाम्रो रगत, रक्तनली, मुटु, कलेजो, आन्द्रा, मिर्गाैला, फोक्सोलगायत शरीरका सम्पूर्ण अंगहरुमा अनावश्यक बोसो र विकारहरु बढ्न थाल्छ । हामी निरन्तर खानपान गर्ने र गलत जीवनशैलीमा रमेका हुन्छौं । तर शरीरलाई पनि विश्राम चाहिन्छ । शरीरको सरसफाइ र स्वच्छताको आवश्यकता पर्दछ । यसका लागि उपवास एक महत्वपूर्ण सरल विधि हो । 

उपवासका विधि 

पूर्ण उपवास: पानी मात्र पिएर पूरा दिन गरिने उपवासलाई पूर्ण उपवास भनिन्छ । यो नै वास्तविक उपवास हो । यस उपवासमा पानीका साथमा कागती मिसाएर पनि पिउन सकिन्छ । उपवासको एक दिनअगाडि र एक दिनपछाडि रसिलो फलाहार वा फलको रसाहार गर्नुपर्दछ । 

एकदिने उपवास: एकदिनको मात्र पूर्ण उपवास सजिलो र निकै उपयोगी छ । अघिल्लो दिन बिहानदेखि १२ बजेसम्म फलाहार, १२ बजेदेखि फलफूलको रस, उपवासको दिन सादा वा थोरै कागतीको रस मिसाएको पानी पिएर पूरा दिन र रात उपवास गर्ने । उपवासको भोलिपल्ट बिहान फलफूलको रसबाट उपवास तोड्ने र दिनको १२.०० बजेसम्म यसरी नै फलको जुस खाएर बस्ने, १२ बजेपछि बेलुकासम्म फलाहार गर्ने तर नून वा चिनीको प्रयोग नगर्ने । लघु उपवास: एकदेखि तीन दिन वा बढीमा एक हप्तासम्मको उपवासलाई लघु उपवास वा छोटो अवधिको उपवास मान्न सकिन्छ । 

अर्धदिन उपवास: आधा दिन अर्थात् बिहान सबेरैदेखि दिउँसो १२ बजेसम्म वा दिउँसो १२ बजेदेखि साँझसम्मको उपवासलाई आधा दिनको उपवास भनिन्छ । बिहान फलको रस प्रयोग गरी दिउँसोको समयमा पानी मात्र पिएर उपवास बसी साँझ पुनः फलको रस पिउन पनि सकिन्छ । बिहानको खाजा छोड्ने वा बेलुका र रातिको खाना छोड्ने गर्दा पनि निकै लाभ पाउन सकिन्छ । एकछाक मात्र खाएर पनि यस्तो उपवास गर्न सकिन्छ ।

दीर्घ उपवास: एक हप्ताभन्दा बढी तीन–चार हप्ता वा अझै बढी दीर्घ उपवास गरिन्छ । यस्तो उपवास प्राकृतिक चिकित्सकको निगरानीमा प्राकृतिक चिकित्सालयमै राखेर गरिन्छ । निश्चित दीर्घरोगमा बिरामीको शारीरिक तथा मानसिक क्षमता, रोगको प्रकृति र उमेर आदिलाई हेर्दै विभिन्न प्राकृतिक चिकित्सा विधिहरुका साथ प्रयोग गरिन्छ । कतिपयले आध्यात्मिक अनुष्ठान वा साधनका रुपमा पनि दीर्घ उपवास गर्छन् । एक्लै घरमा बसेर दीर्घ उपवास गर्नुहुँदैन । उपवासकालमा विभिन्न समस्या देखा पर्न सक्छन् । 

गर्भवती, सुत्केरी, रक्ताल्पता, कमजोर, वृद्ध, बच्चा र न्यून रक्तचाप, पहिलो प्रकारको मधुमेहका बिरामीहरुले पूर्ण उपवास गर्नुहँदैन ।

निश्चित घण्टे उपवास: खासगरी १६ः८ अनुपातमा अर्थात् १६ घण्टा नखाने र ८ घण्टा खाने अभ्यास अहिले युवाहरुबीच निकै प्रचलित छ । यो उपवास सजिलो छ । अघिल्लो दिनको साँझ ६.०० बजेतिरै खाना खाने र भोलिपल्ट एकैचोटि ११ बजेतिर खाना खाने गर्दा निकै लाभ पाउन सकिन्छ । तर बाँकी ८.०० घण्टामा पनि प्राकृतिक तथा सन्तुलित खानपान गर्नुपर्छ । यसरी रोक्दै गरिने १६ः८ घण्टे उपवासकालमा पत्रु खानाको प्रयोग कदापि गर्नुहुँदैन ।

अन्य उपवास: कतिपय व्यक्तिहरु पानी पनि नपिई निर्जला उपवास गर्दछन् । यसरी पानी नै नपिई उपवास वस्नु स्वास्थ्यका दृष्टिकोणले हानिकारक छ । हाम्रो शरीरलाई निश्चित मात्रामा पानीको आवश्यकता पर्छ । पानी नपिउँदा शारीरिक तथा मानसिक समस्या आउने सम्भावना हुन्छ । कैयौँ व्यक्तिहरु सलाद, तरकारी, फल, रस, दूध, मही आदिमध्ये कुनै एकथोक खाएर बस्ने प्रक्रियालाई पनि उपवासकै रुपमा व्याख्या गर्दछन् तर त्यो उपवास होइन ।

उपवासमा समस्या 

उपवासकालमा कमजोरी हुने, भोक बढ्ने, रिँगटा लाग्ने, आलस्यता एवं थकान अनुभव हुने, टाउको दुख्ने, पेट दुख्नेजस्ता लक्षणहरु आउन सक्छन् । कसैलाई पखाला लाग्ने हुन सक्छ भने प्रायलाई कब्जियत हुन्छ । श्वास गनाउने, जिब्रो फोहोर देखिने पनि हुन सक्छ । लामो उपवास बस्दा दुई–तीन दिनपछि नै भोक हराउने, दिसाको रंगमा परिवर्तन हुने, घाउ–खटिराहरु देखा पर्ने, मासु फर्किनेजस्ता विभिन्न लक्षणहरु देखा पर्न सक्छन् । 

तयारी र समापन 

जति दिनको उपवास गर्ने हो त्यही अनुरुप उपवासपूर्व र पश्चात् गरिने फलाहार तथा रसाहारको अवधिलाई निर्धारण गर्नुपर्छ । उदाहरणको लागि पाँच–सात दिन पूर्ण उपवास गर्नु छ भने, सुपाच्य प्राकृतिक खाना एक हप्ता, फलाहार एक हप्ता, रसाहार दुई–तीन दिन गरेपछि पाँच–सात दिन उपवास गर्ने अनि ताजा फलको रसाहारबाट उपवास तोड्दै एक–दुई दिन रसाहारलाई जारी राख्ने, फलाहार एक–दुई दिन र त्यसपछि बल्ल अल्पाहार सुपाच्य खाना खानुपर्छ । के–कति खाने, कति दिन बस्ने र के–के नियमहरु पालना गर्ने भन्नेबारे उमेर, शरीरको अवस्था आदि अनुरुप गर्नुपर्ने हुँदा प्राकृतिक चिकित्सकसँग सल्लाह लिएर लघु उपवास गर्न सकिन्छ ।

 उपवाससम्बन्धी अध्ययन 

उपवास एक विज्ञान पनि हो भन्ने कुराको त्यस बेला झन् बढी पुष्टि भयो जुन बेला यसै सम्बन्धी अनुसन्धानलाई नोबेल पुरस्कार दिइयो । जापानी सेल बायोलोजिस्ट योशिनोरी ओसुमीले सन् १९६० तिर अटोफेजी (Autophagy) बारे एक अवधारणा ल्याए, जुन कोशिकाले स्वयं आपूmभित्रका हानिकारक तत्वहरुलाई खाएर आपूmलाई बचाउनेसँग सम्बन्धित छ । यसै अनुसन्धानलाई नै सन् २०१६ को भौतिक शास्त्र तथा मेडिसिनतर्फको नोबेल पुरस्कार दिइएको थियो । अटोफेजी प्रक्रिया उपवासकालमा तीव्र हुने र कोशिकाले विशेष प्रक्रियाबाट आपूmभित्रको विकारलाई खाइदिने वा नष्ट गर्ने गर्दछन् र आपूm बाँच्छन् वा पुनर्जीवन प्राप्त गर्दछन् । भोकै बस्दा वा उपवास गर्दा अटोफेजी प्रक्रियामा वृद्धि हुने, यस प्रक्रियालाई क्रियाशील बनाउने र यसले शरीरमा हानि गर्ने तत्वहरु एवं क्यान्सरका कोशिकाहरुलाई नष्ट गर्न 

सक्ने पाइयो । अर्थात् शरीरलाई स्वच्छ राख्ने प्रक्रियामा उपवासले महत्वपूर्ण काम गर्ने देखियो । यस प्रक्रियाबाट कोशिकाहरु पुनर्जीवन प्राप्त हुने हुँदा व्यक्तिको बुढ्यौली पनि टाढिनेसमेत पाइयो । 

उपवाससँग सम्बन्धित अनेकौं अनुसन्धानहरु भएका छन्, जसबाट अनेक अवस्थामा उपवास लाभदायक छ भन्ने देखिएको छ । हालै अहमद तथा उनको समूह (२०२१, https://doi.org/10.3389/fnut.2020.596787) ले गरेको लघु उपवास (इन्टरमिटेन्ट फास्टिङ) अनुसन्धानका आधारमा स्वस्थ (एचडीएल) कोलेस्टेरोलको मात्रा बढाएर मुटु तथा रक्तनलीसम्बन्धी समस्याबाट बच्न, समस्याको व्यवस्थापन एवं उपचारमा उपवासलाई जीवनशैलीको एक अंगका रुपमा अपनाउन सकिने निष्कर्ष निकालेका छन् । यसरी नै सिद्धिकी र उनको समूह (२०२०, https://doi.org/10.12669/pjms.36.5.2099) ले रमादान उपवासमा गरेको उपवाससम्बन्धी अध्ययनले ¥युमेट्वाइड बाथरोगमा उपवासले सुन्निनेमा सुधार हुने देखायो । 

उपवासमा सावधानी 

– उपवास गर्दा पानी पिइरहनुपर्दछ । तर एकैपटक धेरै पानी नपिई पटक–पटक आधा–एक घण्टामा एक–एक गिलासका दरले उमालेर सेलाएको मनतातो पानी पिइरहनु राम्रो हुन्छ । 

– उपवासकालमा आइपर्ने समस्या समाधानको लागि प्राकृतिक चिकित्सकको सम्पर्कमा रहनुपर्दछ । 

– लघु उपवास गर्दा पनि प्राकृतिक चिकित्सालयमा गएर पेटमा मडप्याक वा कटिस्नान र एनिमाको प्रयोग गरी पेट सफा गर्दा वायु बढ्ने वा एसिडिटी पनि हुन पाउँदैन वा कमी हुन्छ, आराम अनुभव हुन्छ । 

– गर्भवती, सुत्केरी, रक्ताल्पता, कमजोर, वृद्ध, बच्चा र न्यून रक्तचाप, पहिलो प्रकारको मधुमेहका बिरामीहरुले पूर्ण उपवास गर्नुहुँदैन । दोस्रो प्रकारको मधुमेहको अवस्थाअनुरुप प्राकृतिक चिकित्सकको सल्लाहविना लघु वा दीर्घ उपवास गर्नुहुँदैन । मधुमेह तथा कमजोरीको अवस्थामा उपवासका क्रममा पानीका साथमा मह वा ताजा फल (सुन्तला, मौसम आदि) को रस पिलाएर शरीरमा हानि हुन नदिने र उपवासको क्रम पनि जारी राख्ने गरिन्छ । 

– उपवासकालमा भान्छा, खाएको ठाउँ, खानाको बासना आउने स्थान आदिमा जानु वा हेर्नुहुँदैन । खाएको भिडियो र खानेकुराहरुको कल्पना वा कुराकानी पनि गर्नुहुँदैन । 

– उपवासमा कठिन श्रम वा व्यायाम गर्नुहुँदैन । आफूले गर्न सक्ने कामहरु जारी राख्नुपर्छ । 

– उपवासको समयमा सकभर मौन वा कम बोल्ने गर्नुपर्छ । आराम गर्ने भनेर सुतिराख्नु पनि हुँदैन । मनतातो पानीबाट छोटो समयको स्नान, हल्का सूक्ष्म व्यायाम, शोधनक्रिया, प्राणायाम, मुद्राबन्ध, धारणा, ध्यानहरुको अभ्यास, प्रार्थना, जप, स्वाध्याय आदि गर्नुपर्छ । उपवास करबलले होइन, मनैदेखि आनन्दित भएर मात्र गर्नुपर्छ । 

– उपवासका क्रममा बढी कमजोरीजस्तो अनुभव भएमा बीच–बीचमा कागती–पानीमा आधा–एक चम्चा मह मिसाएर अथवा केही मात्रामा मौसम, सुन्तला, स्याउ, अनार, उखु आदिको रस प्रयोग गर्न सकिन्छ । क्षमता बढेमा उपवास नियमित गर्ने र नसक्ने भएमा उपवास तोडेर रसाहार तथा फलाहारमा जान सकिन्छ । 

उपवासका लाभहरु 

उपवास भनेको पानी मात्र पिएर निश्चित समयसम्म निराहार रहने विधि हो । उपवासको प्रयोग शारीरिक, मानसिक तथा आध्यात्मिक शुद्धिका लागि प्राचीनकालदेखि नै व्रतका रुपमा विभिन्न धर्ममा प्रयोग गरिँदै आएको छ । प्राकृतिक चिकित्सा विधिमा उपवासलाई शारीरिक शोधन र निर्विषीकरणको उद्देश्यले अपनाइन्छ र अनेक रोगहरुमा लामा–छोटा उपवासको प्रयोग गरिन्छ । रोगीमा मात्र हैन, निरोगी व्यक्तिलाई पनि प्राकृतिक चिकित्साका साथ उपवास गराउँदा रोग–प्रतिरोधक एवं जीवनी शक्तिको विकास हुन्छ । 

विकार हटाउन: उपवासकालमा शरीरको ऊर्जा शरीरको विकार दहन गर्नमा केन्द्रित हुन्छ । यसबाट शरीरमा भएको विकार हट्छ । शरीरमा एकत्रित सूक्ष्म विषतत्व हट्न थाल्छ । उपवासकालमा गरिने प्राकृतिक चिकित्साका शोधन क्रियाहरु जस्तै– माटो पट्टी तथा लेपन, एनिमा, वाष्पस्नान, मालिस, कटिस्नान, पादस्नान, घर्षण प्रक्रिया, विभिन्न प्रकारका पट्टीहरु आदिले थप विकारहरु निकाल्न र अवरोधहरु हटाउन सहयोग पुग्दछ । 

रोगबाट बच्न: उपवासले शरीरलाई विकारमुक्त र शरीरका विषहरुको निष्कासन भएपछि इम्युनिटी वा रोग–प्रतिरोधक क्षमता बढ्छ । विकाररहित शरीरका आन्तरिक तत्वहरु सन्तुलित भई काम गर्छन् र रोगबाट सुरक्षा प्राप्त हुन्छ ।

रोगोपचार गर्न: विभिन्न नयाँ तथा पुराना दीर्घ रोगहरुको उपचारमा उपवास निकै उपयोगी पाइएको छ । मोटोपना, उच्च रक्तचाप, मधुमेह, लिपिड प्रोफाइलको गडबडी, अल्सरेटिभ कोलाइटिस, अपच, पुरानो आउँरोग, बाथरोगहरु, जीउ दुख्ने, हर्मोनसम्बन्धी असन्तुलन, निदान नभएका शारीरिक तथा केही मानसिक समस्याहरुमा समेत उपवास गर्न सकिन्छ । तर रोगको अवस्थामा भने दक्ष प्राकृतिक चिकित्सकको साथमा वा प्रत्यक्ष सम्पर्कमा रहेर मात्र उपवास गर्नुपर्दछ ।

तौल घटाउन: भद्दा जीउ, मोटोपना घटाएर फिट रहन उपवास लाभदायक छ । अनुसन्धानहरुले छोटो उपवासले चयापचय (मेटाबोलिज्म) प्रक्रियालाई बढाउने र शरीरको बोसो कटौती गर्न सक्षम रहेको देखाएको छ । उपवासबाट रक्तशुद्धि र विकार निष्कासन भई छालाको चमक बढ्ने हुँदा सौन्दर्य पनि राम्रो हुन्छ ।

मानसिक आनन्द: नकारात्मक सोच, चिन्ता, तनाव आदि हटाउन र मानसिक आनन्द प्राप्त गर्ने उद्देश्यले पनि उपवास गर्न सकिन्छ । सकारात्मक सोचका साथ उपवास गर्दा त्यसबाट मनको विकार पनि हट्छ । 

उपवास लाभदायक हुँदाहुँदै पनि नियमपूर्वक नगर्दा भने यसले जोखिम ल्याउन सक्छ । तर मिलाएर यसको नियमित प्रयोग गर्ने हो भने यसबाट अनेकौँ लाभ पाउन सकिन्छ । त्यसैले आफ्नो शरीरअनुरुप उपवासलाई जीवनशैलीमा समायोजन गरौँ । 

प्रतिक्रिया दिनुहोस्