ढाड दुख्दा पनि औषधि खानुपर्छ र ?



– डा. अरुणा उप्रेती (जनस्वास्थ्य विज्ञ)

‘२०७६ सालको मंसिर महिनामा मलाई असह्य किसिमले ढाड दुख्यो । उपचारको क्रममा विभिन्न अस्पतालहरु धाएँ, विभिन्न औषधिको सेवन गरेँ। तर पनि उन्नाइसको बीस भएन । त्यसपछि मैले डाक्टरको सल्लाहबमोजिम भिटामिन ‘डी’को जाँच गराएँ । मेरो शरीरमा भिटामिन ‘डी’को कमी भएको पाइयो । भिटामिन ‘डी’को कमीले ढाड दुखेको भन्ने निष्कर्ष आयो । मैले शरीरलाई आवश्यक पर्ने भिटामिन ‘डी’ के–केमा पाइन्छ भनेर इन्टरनेटमा खोजेँ । यस क्रममा कुखुराको अण्डा र बोक्रामा प्रशस्त मात्रामा भिटामिन ‘डी’ पाइन्छ भन्ने थाहा पाएँ । त्यसपछि मैले नियमित अण्डा खान थालेँ। साथै अण्डाको बोक्रालाई सफा गरी घाममा सुकाएपछि मिक्सचरमा पिनेर उक्त धूलो २–२ चम्चा हरेक बिहान–बेलुकी दूधमा घोलेर सेवन गर्न थालेँ । त्यसपछि दुखाइमा केही कमी भयो । २ महिनापछि पुनः भिटामिन ‘डी’को जाँच गराएँ । मेरो शरीरमा भिटामिन ‘डी’को मात्रा सही ठाउँमा आएको थियो ।’ यो अनुभव ४० वर्षीय कपिल लामिछानेको हो । 

अहिले हाम्रो समाजमा ‘ढाड’ दुखेपछि औषधि मात्र खाने युवाहरु प्रशस्तै छन् । भोजन र व्यायाममा ध्यान दिँदैनन् अनि बारम्बार ‘ढाड’ दुखाइको समस्याबाट पीडित हुन्छन् । एक संस्थामा काम गर्ने ४० वर्षीया प्रधान थरकी महिलाले केही वर्षअघि मलाई भनेकी थिइन्, ‘मलाई काम गर्दा धेरै ढाड दुख्यो । तैपनि सहेर काम गरी नै रहेँ । डाक्टरलाई देखाउँदा भिटामिन ‘डी’को कमी, बढी कम्प्युटरमा काम गरेको भनेर मलाई घाममा बस्न, काम गर्दा धेरै ननिहुँरिन, व्यायाम गर्न सल्लाह दिए । तर बिहानदेखि बेलुकासम्म कामको चक्करमा घाममा बस्ने, व्यायाम गर्ने फुर्सद नै भएन । अहिले मेरो ढाड, घुँडा सबै दुख्छ । अहिले काम पनि कम गर्छु, औषधि खान्छु तर दुखाइ छ । शायद आफूले काम गर्दा केही समय आफ्नो शरीरको लागि छुट्याएको भए मलाई सहज हुने थियो होला ।’ 

कतिपय महिलाहरु ‘पकाएर खाने फुर्सद हुन्न, कतिखेर घाममा बस्नु ? ढाड दुखे क्याल्सियम र भिटामिन ‘डी’को चक्की खाने हो’ भन्छन् । अहिले हरेक दिन २० मिनेटजति घाममा बस्ने फुर्सद नहुँदा, व्यायाम नगर्दा केही पछि १५ दिनसम्म घुँडा र ढाड दुखेर बस्नुपर्ने स्थिति आउन सक्छ । 

वर्षैभरि सजिलैसँग सूर्यको स्रोतबाट पाइने नेपालका घर–आँगनमा छरिएको भिटामिन ‘डी’को हामी वास्ता नै गर्दैनौँ, महत्व नै बुझ्दैनौँ । हाड–जोर्नीहरुमा समस्या भएर ढाड दुख्ने, घुँडा दुख्ने भएपछि डाक्टरले भिटामिन ‘डी’को चक्की लेखिदिएपछि महँगोमा किनेर खान्छौँ । चिकित्सकले घाममा बस्नु भनेको कुरालाई समेत हामी त्यति वास्ता गर्दैनौँ । सित्तैमा सूर्यबाट प्राप्त हुने भिटामिन ‘डी’का लागि घाममा बस्ने फुर्सद छैन भन्ने बहाना गर्छौं । वास्तवमा भिटामिन ‘डी’लाई ‘सनसाइन’ भिटामिन अर्थात् सूर्यको प्रकाशबाट पाइने भिटामिन पनि भनिन्छ । सूर्यको किरणमा रहेको विशेष तत्व मानिसको छालामा परेपछि भिटामिन ‘डी’ बन्ने प्रक्रिया हुन्छ । 

भिटामिन ‘डी’ले बाथरोग जोखिम कम गर्छ । चिसो ठाउँमा बसेर काम गर्ने व्यक्तिलाई हुने दुखाइ पनि सूर्यको तापले कम गर्छ ।

कतिपय औषधि कम्पनीहरुले सकेसम्म मानिसहरुले क्याल्सियम र भिटामिन ‘डी’ बढी प्रयोग गर्नुपर्छ भन्छन् । नेपाललगायत विश्वका कतिपय ठाउँमा स्वास्थ्यकर्मीले महिलालाई २०–२५ वर्षको उमेरदेखि नै क्याल्सियम र भिटामिन ‘डी’का चक्कीहरु दिन शुरु गर्दछन् । प्रत्येक समस्यालाई औषधिले मात्र समाधान गर्न थाल्नाले हामी प्राकृतिक तत्वको उपयोग नै गर्न बिर्सिन थालेका छौं । 

अहिले नेपालमा सबै गर्भवती महिलालाई भिटामिन ‘डी’ दिनुपर्छ भनिन्छ तर उनलाई घाममा बस्नुपर्छ भन्ने सल्लाह दिइँदैन । वास्तवमा भिटामिन ‘डी’को अभावले अनेक किसिमका समस्या पैदा हुन सक्छन् । तर सत्य के हो भने, शरीरलाई आवश्यक पर्ने भिटामिन ‘डी’को मात्रामध्ये करिब ८०–९० प्रतिशत भिटामिन ‘डी’ सूर्यको किरणबाट प्राप्त गर्न सकिन्छ । करिब १०–२० प्रतिशत हामीले खाने खाना वा अन्य पौष्टिक तत्वबाट प्राप्त हुन्छ । तर यसबारेमा हामी त्यति सचेत भएका छैनौँ । यसको महत्वलाई बुझिरहेका छैनौँ ।

घाममा बसेर बच्चालाई तेल लगाउँदा आफू र बच्चा कालो हुन्छ भन्ने डर लाग्ने आमा–बा पनि धेरै छन् । तर यसरी घाममा बस्दा प्राप्त हुने भिटामिन ‘डी’ले नै बालबालिकामा दम र श्वास–प्रश्वाससम्बन्धी समस्या घटाउने र रोगसँग लड्ने शरीरको क्षमतालाई वृद्धि गर्ने गर्छ । यस्तो क्षमता वृद्धि गर्ने सूर्यबाट सित्तैमा पाइने औषधिलाई बेवास्ता गर्नुहुन्न । 

विभिन्न अध्ययनले देखाएका छन्, भिटामिन ‘डी’ले बाथरोग जोखिम कम गर्छ । चिसो ठाउँमा बसेर काम गर्ने व्यक्तिलाई हुने दुखाइ पनि सूर्यको तापले कम गर्छ । 

सूर्यको किरणमा रहेको विशेष तत्व मानिसको छालामा परेपछि भिटामिन ‘डी’ बन्ने प्रक्रिया हुन्छ ।

शारीरिक स्वास्थ्यमा विभिन्न सूक्ष्म पोषक तत्वहरूको ठूलो भूमिका रहन्छ । एउटा पोषक तत्व मात्र धेरै दिएर स्वस्थ रहन सकिन्न । प्राकृतिकरुपमा खाइने खानाहरू मिलाएर खाँदा यस्ता पौष्टिक तत्व शरीरले सहजै प्राप्त गर्छ । शरीरमा भिटामिन ‘डी’ प्राप्त गर्न घाममा बस्दा पनि हामीले शरीरमा क्यल्सियमयुक्त खाना पुगोस् भनेर विचार गर्नुपर्छ । हड्डी, मासंपेशी, दाँत आदि बलियो बनाउन यी दुवैको ठूलो महत्व हुन्छ । 

क्याल्सियम पाइने खानाहरु लट्टे, कोदो, जौ, चिनो, गहत, मस्याङ, राजमा, चना, काउली, मूला, सहजनको पात, करीपत्ता, कर्कलो, मेथीको साग, खोले साग आदि हुन् । यिनीहरुमा अन्य पौष्टिक तत्वहरु पनि पाइन्छ । 

कतिपय किशोरीहरु छाला कालो हुन्छ भनेर घाममा बस्न रुचाउँदैनन् । तर उनीहरुलाई घाममा बस्न झन् बढी जरुरी छ । भिटामिन ‘डी’को कमी हुँदा उनीहरुको प्रजनन स्वास्थ्यमा पनि असर पर्छ । घाममा बस्दा पुठ्ठाका हड्डी बलियो हुने भएकोले गर्भावस्था, प्रसूति समय र उमेर पुगेपछि हुने रजोनिवृत्तिको अवस्थामा पनि हड्डी दुख्ने समस्या कम हुन्छ । 

स्वास्थ्य निकायहरुमा प्रायः भिटामिन ‘डी’ र क्याल्सियमको गोली सँगै खाने सलाह दिने गरिन्छ । तर घरेलु पौष्टिक तत्वहरुबाट नै पर्याप्त क्याल्सियम प्राप्त हुन्छ ।  १ सय ग्राम गहतमा २ सय ८७ मि.ग्रा. क्याल्सियम पाइन्छ । यस्तै १ सय ग्राम तिलमा १ हजार ४ सय ५० मि.ग्रा. क्याल्सियम प्राप्त हुन्छ । गहत, आलस, ज्वानो, भटमास, गुन्द्रुक, मस्याङ, तोफु, दही, मही आदिमा पनि पर्याप्त मात्रामा क्याल्सियम प्राप्त हुन्छ । तर क्याल्सियमका लागि औषधि नै खानुपर्छ भन्ने धेरैलाई भ्रम छ । यो भ्रमबाट मुक्ति पाउन महिलाहरुले हाम्रा पुर्खाहरुले कसरी घाममा बसेर आफूलाई स्वस्थ राख्थे भन्ने कुरा विचार गर्नुपर्छ । औषधिको भरमा मात्र सबै समस्या समाधान हुन्छ भन्ने विचार ठीक होइन । 

सन् २०१९ मा गरिएको एक अनुसन्धानमा भारतजस्तो बर्सैभरि घाम लागिरहने देशमा पनि विभिन्न शहरमा ७०–८० प्रतिशत भारतीयलाई भिटामिन ‘डी’को कमी भएको पाइयो । साथै यो अध्ययनमा ८४.२ प्रतिशत मधुमेहका बिरामीहरूमा भिटामिन ‘डी’को कमी भएको पाइयो । गर्भवती महिलालाई पनि भिटामिन ‘डी’को कमी देखियो । त्यसकारणले सधैँ घाम लाग्ने भूभागमा बसोबास गरेका भरमा भिटामिन ‘डी’ पाइँदैन, त्यसका लागि सूर्यको किरण शरीरमा पर्ने गरी दैनिकरुपमा घाममा बस्नुपर्छ । घामको किरण शरीरका छालामा प्रत्यक्षरुपमा नै पर्नुपर्ने हुन्छ ।

सूर्यको किरणबाहेक विभिन्न खानाहरुमा पनि भिटामिन ‘डी’ पाइन्छ । तर खानाबाट हाम्रो शरीरका लागि २० प्रतिशत मात्र भिटामिन ‘डी’ उपलब्ध हुन्छ । बाँकी त सूर्यको किरणबाटै प्राप्त हुने हो । भिटामिन ‘डी’ पाइने वनस्पति च्याउ, जई, बदाम आदि पनि हुन् । साथै माछा, अण्डाको पहेँलो भाग र दुग्धजन्य पदार्थबाट पनि भिटामिन ‘डी’ प्राप्त हुन्छ । 

कतिपयले भिटामिन ‘डी’का क्याप्सुलहरु नै प्रत्यक्षरुपमा खाने गरेका हुन्छन् । फाइदा हुन्छ भनेर लामो समयसम्म यस्ता क्याप्सुल खाने गर्छन् । भिटामिन ‘डी’को क्याप्सुल खानेहरूले के विचार गर्नुपर्छ भने, शरीरमा चाहिनेभन्दा बढी भिटामिन ‘डी’ भयो भने पनि यसले मुटु र मिर्गौलामा नराम्रो असर पार्न सक्छ । 

घाम कम लाग्ने देश जस्तो– क्यनडा र फिनल्यान्डमा जनस्वास्थ्यको दृष्टिकोणले भिटामिन ‘डी’ शरीरमा पुगोस् भनेर भोजनमा नै भिटामिन ‘डी’ हालेर वितरण गर्ने कार्यक्रम सञ्चालन गरिएको छ । तर नेपालजस्तो मुलुकमा सधैँ प्रशस्त घाम लाग्ने भएकाले निःशुल्क पाइने सूर्यको किरणबाट भिटामिन ‘डी’ प्राप्त गर्नु नै उत्तम विकल्प हो । 

प्रतिक्रिया दिनुहोस्