आयुर्वेदीय जीवनशैली सौन्दर्यताको आधार



– डा. रामदेव पण्डित (आयुर्वेद चिकित्सक)

आयुर्वेदले व्यक्तिको आन्तरिक र बाह्य दुवै खालको सुन्दरतामा जोड दिन्छ । भित्री सुन्दरताको लागि आयुर्वेदका आधारभूत सिद्धान्तहरुको पालन गर्न उपदेश गरिएको छ भने बाह्य सुन्दरताको विकासका लागि धेरै खालका थेरापी, उपचार, सुझाइएको छ । सुन्दरता वृद्धिका लागि वनस्पतिहरुको प्रयोगको अवधारणा आयुर्वेद शास्त्रहरुमा स्पष्टरुपमा परिभाषित छ । 

चरक संहितामा सौन्दर्य वर्गका वनस्पतिहरुको रुपमा वर्णय महाकषाय, कुष्ठघ्न महाकषाय, कण्डुघ्न महाकषाय (१० हब्र्सहरुको समूह), व्यस्थापक महाकषाय, उदर्दप्रशमन महाकषाय आदिको उपदेश गरिएको छ । छालारोगको सन्दर्भमा सुश्रुत संहितामा पनि धेरै खालका आलेप, प्रलेप, उपनाह, अञ्जन, तेल, आदिको वर्णन गरिएको छ । जसअन्तर्गत सामान्य योगको रुपमा कुमकुमादि लेप, दशाङ्ग लेप, चन्दनादि लेप, कुमकुमादि तेल, हिमसागर तेल आदिको वर्णन गरिएको छ । 

शुद्धीकरण र सफाइको प्रयोजनले शरीरको बाहिरी (छाला, नङ, ओठ, कपाल, यौनाङ्ग आदि) एवं शरीरका केही भित्री अंगहरु (दाँत, मुख आदि) मा प्रयोग गरिने कुनै वस्तु वा प्रसाधन सौन्दर्य शास्त्रअन्तर्गत पर्दछन् । 

आयुर्वेदले सौन्दर्यताको निर्धारण शरीरिक प्रकृति, शारीरिक आकार, शरीरको खँदिलोपन, छालाको रङ्ग, शारीरिक अवयवहरुको नापतौल र दीर्घायु लक्षणबाट गर्छ । वस्तुतः सुन्दरतामा निखार ल्याउनका लागि खानपानदेखि उचित हेरचाहसम्म आवश्यक हुन्छ । स्वस्थ खानपान, अनुशासित दिनचर्या, सरसफाइले शरीरमा चमक ल्याउन सकिन्छ । त्यति मात्र होइन, मानसिक स्वास्थ्य पनि ठीक हुनुपर्छ । मनमा पीडा, कुण्ठा, घृणाजस्ता विकार छन् भने, अनुहारको चमक फिका देखिन्छ । त्यसैले प्राकृतिक जीवनशैलीसँगै मानसिक सुख एवं सन्तुष्टिले पनि सौन्दर्यताका लागि अहं भूमिका खेल्छ । 

सौन्दर्यको आधार: गलत खानपान र व्यवहार, तनाव र प्रदूषित वातावरणीय प्रभावले शरीरभित्र निर्मित र संकलित मल पदार्थ तथा टक्सिक पदार्थ (आम)ले व्यक्तिलाई कुरुप तथा शरीर एवं मनलाई रोगी बनाउँछ । वस्तुतः शुद्ध एवं सफा वस्तु नै सुन्दर पनि हुन्छ, आधारभूतरुपमा सुन्दरताका लागि शरीरभित्रको हानिकारक टक्सिक पदार्थहरुलाई बाहिर निकाली शरीर एवं मनसमेतलाई शुद्धीकरण गर्नु अनिवार्य हुन्छ । जसका लागि आयुर्वेदीय पञ्चकर्म (स्नेहन, स्वेदन, वमन, विरेचन र नस्य वा रक्तमोक्षण) थेरापीलाई उत्तम विधि मानिन्छ । 

पञ्चकर्म थेरापीले शरीरको प्रणालीय, अंगीयदेखि कोषीय स्तरसम्मको विकारहरुको सफाइ गरी शरीरबाहिर निकाल्छ । फलतः शरीरभित्र त्रिदोष (वात, पित्त र कफ)को सन्तुलन, सप्तधातु (रस, रक्त, मांस, मेद, अस्थि, मज्जा र शुक्र) निर्माण प्रक्रियामा नियन्त्रण एवं सन्तुलन अनि मल (दिसा, पिसाब र पसिना) निष्कासनको प्रक्रियालाई गतिशील बनाइरहन्छ । 

पञ्चकर्म शरीरमा कुनै चिरफार नगरी गरिने विधि हो । यस विधिले छालालाई गहिराइबाट सफाइ गर्दछ । छालालाई प्राकृतिक पोषण प्रदान गर्दछ । छालाको माथिल्लो सतहलाई ओसिलो राख्छ । छालामा पर्याप्त अक्सिजन सञ्चार गर्दछ । छालाका कोषहरुबीच सूक्ष्म सञ्चार बढाउँछ । छालामा एन्टिसेप्टिक प्रभाव प्रदान गर्दछ । साथै कोषहरुबीचको घनिष्टता बढाएर छालामा इलास्टिक फाइबर निर्माणमा सहयोग गर्दछ । यही फाइबरले असमयमै छालामा हुने चाउरीपनबाट बचाउँछ । पञ्चकर्म विधिले समग्रमा छालाका नीलो, कालो आदि दागहरुलाई हटाउँछ । छालालाई सुख्खा हुनबाट जोगाई मुलायम, चम्किलो एवं आकर्षक बनाउँछ । यसका अलावा यस थेरापीले ओठ, आँखा, कपाल र नङलाई पनि स्वस्थ एवं सुन्दर बनाउँछ । 

व्यवस्थित दिनचर्या: दिनचर्याको तात्पर्य दैनिकरुपमा गरिने आहार, विहार र आचरणको व्यवस्थित नियम हो । स्वस्थ दिनचर्या आदर्श दैनिक कार्यक्रम हो, जो प्रकृतिको चक्रलाई ध्यानमा राखेर योजना गरिएको छ । 

बिहान सबेरै उठ्नु: सधैँ ब्रह्ममुहुर्तमा उठ्ने गर्नु दिगो स्वास्थ्य र सौन्दर्यताको राज हो । सूर्योदय आसपासको समयमा वातावरणमा प्रदूषण कम रहेको हुन्छ । प्राणवायु (अक्सिजन)को मात्रा अधिक रहेको हुन्छ । यस्तो अवस्थामा शरीरलाई आवश्यक सौन्दर्य उपयोगी जैव–रसायन सम्यकरुपमा स्रावित हुन्छ, जसले ऊर्जा एवं उत्साहको सञ्चार हुन्छ । यसर्थ आयुर्वेदीय सिद्धान्तहरु बिहानको समयको उच्चतम सदुपयोगमाथि बढी केन्द्रित छ । किनकि दिनको त्यही शुरुवाती समयले पूरै दिनलाई प्रभावमा राख्छ । मनलाई एकाग्र, शान्त र त्वचालाई कोमल बनाइराख्छ ।

उषापान: बिहान सबेरै उठेर शुद्ध पानी पिउनाले पाचनतन्त्र पखालिन्छ । शरीरमा सञ्चित विजातीय टक्सिक पदार्थ स्वतः बाहिर निस्किन्छ । फलतः असमयमै हुने बुढ्यौली, कपाल फुल्ने तथा छाला चाउरिने समस्या रोकिन्छ । 

एकाग्रताको अभ्यास: यस अभ्यासमा कुनै सुखद आसनमा बसेर आँखा चिम्ली कुनै एउटा सकारात्मक विषय वा वस्तुमा सारा ध्यानलाई केन्द्रित गर्ने प्रयास गरिन्छ । एकाग्रताको अभ्यास (१० देखि १५ मिनेटको लघु धारणा÷ध्यान) ले मनलाई एकाग्र चित्त बनाउँछ । फलतः मन शान्त हुन्छ । स्वाभाविकरुपले एकाग्र एवं शान्त मनले शरीरका सम्पूर्ण तनावहरु कम हुन जान्छन् । फलतः एकाग्रताको अभ्यासले तनावद्वारा हुने सम्पूर्ण शारीरिक एवं मानसिक रोगबाट सुरक्षा प्रदान गर्दछ । 

मल–मूत्र त्याग: शरीरमा मेटाबोलिजमको फलस्वरूप बनेकोे मल एवं विषालु तत्वहरुको निष्कासन कम्तीमा दिनको दुईपटक मलमूत्रको त्यागमार्फत गरिन्छ । प्रातकालमा यस क्रियालाई सहजरुपमा पूरा गर्दा पूरै दिन शरीरमा हल्कापनको अनुभव भइरहन्छ । मल एवं विषालु तत्वहरुको शरीरबाट निष्कासन भएपछि त्वचाको सौन्दर्यतामा स्वाभाविकरुपमा निखार आउँछ । 

आयुर्वेदअनुसार छालाको लागि नरिवलको तेल सबैभन्दा उत्तम मोइश्चराइजर हो ।

दाँत माझ्नु र जिब्रो कोर्नु: यस क्रियाको दैनिकरुपमा बिहान एवं साँझ अभ्यास गर्दा दाँत स्वच्छ, मजबुत एवं सुन्दर हुन्छ । मुखको दुर्गन्ध एवं विरसता नाश हुन्छ । जिब्रो स्वच्छ एवं मलरहित बन्छ । स्वादको ज्ञान सही रुपमा हुन्छ । यसबाट इन्द्रियहरु तीक्ष्ण एवं सबल बन्दछन् । फलतः इन्द्रिय सुखानुभूतिले सुन्दरताको आभास हुन्छ । 

मुख आदि धुनु: अमलाको फललाई पानीमा उमालेर त्यही पानीले आँखा र मुख नियमित दैनिकरुपमा धुने गरे त्यसबाट मुखको चिपचिप नाश हुन्छ, अनुहारमा उज्यालोपन आउँछ । साथै आँखाको दृष्टि पनि बढ्छ । यसले गर्दा आँखा, मुख तथा ओठको सुन्दरता बढ्छ । 

गाजल: गाजलको प्रयोगले आँखा सफा, स्वच्छ र स्वस्थ रहन्छ । गाजलले आँखाको रोगहरुबाट सुरक्षा दिन्छ । आँखाको ज्योति पनि बढाउँछ । वस्तुतः आँखा सुन्दर एवं आकर्षक बन्छ । 

नस्य: २–३ थोपा तेल, तातो गरेर सेलाएको तेल नाकमा राख्ने विधि नस्य हो । नाकमा यसरी दैनिक बिहान तेल राख्दा टाउको दुखाइ तथा नाकसम्बन्धी रोगहरुबाट छुटकारा मिल्छ । कपाल झर्दैन, फुल्दैन र कपाल सदा कालै रहन्छ । 

मालिस: बिहान दैनिकरुपमा स्नान गर्नुभन्दा पहिले शरीरमा तेल मालिस गर्नु स्वस्थ र सौन्दर्यताको हिसाबले अति नै राम्रो मानिन्छ । यस्तो अभ्यासले त्वचा कोमल, कान्तियुक्त तथा दागरहित हुन्छ । त्वचामा रक्तसञ्चार बढ्छ । विषालु तत्वहरु शरीरको बाहिरी भागबाट राम्रोसँग पखालिन्छ र छालामा चाउरी पर्न पनि दिँदैन । कपाल नुहाउनुअगाडि शुद्ध तोरीको तेलले १० मिनेटजति मसाज गरेर नुहाउँदा कपाल झर्ने र चायाको समस्या पनि हट्छ । 

शरीरिक व्यायाम: दैनिक ३० मिनेटदेखि ४५ मिनेटसम्मको व्यायाम (सूर्य नमस्कार, एरोबिक्स, योग आदि) ले शारीरिक सामथ्र्य र रोग–प्रतिरोध क्षमता बढाउँछ । शरीरको समस्त स्रोतहरुको अवरोधलाई खुलाएर सक्रिय बनाउँछ । रक्तसञ्चार गतिशील बनाउँछ । शरीरमा निर्मित एवं सञ्चित मल पदार्थहरुलाई शरीरबाट बाहिर धकेलेर निकाल्छ । अतिरिक्त बोसोलाई गलाउँछ । शरीरलाई खँदिलो, सुन्दर एवं आकर्षक आकृति दिन्छ । 

क्षौरकर्म: नियमितरुपमा दाह्री–जुँगा काट्नाले अनुहारको छाला सफा, स्वस्थ र सुन्दर देखिन्छ । शरीरमा लघुता र प्रसन्नता आउँछ । फलतः शरीरमा ऊर्जाको सञ्चार बढ्छ । साथै नियमितरुपमा नङ र दाह्री–जुँगा सफा गर्नाले यसले निम्त्याउन सक्ने संक्रमणबाट सुरक्षा प्रदान गर्दछ । 

उद्वर्तन (उबटन): सुगन्धित पदार्थहरुको लेप (उदहारणका लागि चन्दन, कपुर र गुलाबजल) या उबटन गर्नाले शरीरको सम्पूर्ण दुर्गन्ध दूर हुन्छ । यसले गर्दा मनमा प्रसन्नता र स्फूर्ति आउँछ । उबटनले शरीरको अतिरिक्त बोसो पनि काट्छ । शरीरकोे अंग–प्रत्यङ्गहरुलाई स्थिर एवं दृढ बनाउँछ । छालामा चमक ल्याई स्वाभाविक रङ्गलाई थप आकर्षक बनाउँछ । 

स्नान: शीतल जलको स्नान शारीरिक थकान र मानसिक तनाव हरण गर्ने सुलभ एवं सहज विधि हो । स्नानले शरीरबाट निस्कने अतिरिक्त ताप, दुर्गन्ध र पसिना हट्छ । जुन दैनिक स्वास्थ्य रक्षाको लागि अत्यावश्यक हुन्छ । स्नानले शरीरको सतहमा रहेका सबै प्रकारका विकारहरुको सफाइ गर्दछ । छालामा रहेका छिद्रहरुको अवरोध खुलाई छालामा वायुको प्रवेश बढाउँछ । फलतः रक्तको शोधन हुन्छ । जठराग्नि प्रदीप्त भएर भोक र प्यास जाग्छ । शरीरको समस्त ज्ञानेन्द्रियहरु सक्रिय गर्दछ । स्नानले तनाव र थकान हरण भएपछि गहरो निद्रा आउँछ । 

नीमको पात, कागतीको रस, अमलाको फल, गुलाफको फूल आदियुक्त पानीले नुहाउने वा चन्दन पाउडर वा नीमको पात वा तुलसीको पात वा घिउकुमारीको पेस्ट वा मेवाफलको पेस्टयुक्त फेसवासले मुख धुने गर्नुपर्छ । नुहाउनेबित्तिकै सम्पूर्ण शरीरमा शुद्ध नरिवलको तेल दल्नुपर्छ । आयुर्वेदअनुसार छालाको  लागि नरिवलको तेल सबैभन्दा उत्तम मोइश्चराइजर हो । 

सफा र आरामदायक लुगा: सफा एवं आरामदायक कपडा लगाउनाले व्यक्तिमा सुन्दरता, प्रसन्नता, आत्मविश्वास आदिको वृद्धि हुन्छ । अतः सौन्दर्यताको लागि वस्त्रधारण पनि एक महत्वपूर्ण पक्ष हो । 

घाम र धूलोबाट बचावटः घाम, प्रदूषित वायु र धूलोको अधिक सम्पर्कले छालामा रुक्षता र विवर्णता उत्पन्न हुन्छ । सूर्यको सीधा किरण (घाम) र धूलो हरसम्भव छालामा पर्न दिनुहुन्न । यसका लागि घाम र धूलो–धुवाँ छेक्ने सहज प्राकृतिक उपायहरु अवलम्बन गर्नुपर्छ । 

प्रतिक्रिया दिनुहोस्