गर्भमै शिशुको मृत्यु नहोस्



– प्रा. डा. सुमनराज ताम्राकार (स्त्रीरोग विशेषज्ञ)

वर्षौंको मेहनतपछिको एसईई परीक्षामा असफल हुँदाको भन्दा कैयौं गुणा बढी पीडा हुँदो रहेछ नौ महिनासम्म हुर्काइएको शिशुको मृत्यु गर्भमै हुँदा । प्रसूति रोग विशेषज्ञको नाताले प्रसूति सेवाका सेवाग्राहीहरुसँगको सानिध्यले पाएको ज्ञान यही हो । जुनसुकै उमेरको भए पनि मृत्यु कुनै हिसाबले स्वीकार्य विषय हुँदै होइन । तर पनि नजन्मदै, आफ्नो अंशको मुख देख्न नै नपाई भएको मृत्यु बढी पीडादायी हुँदो रहेछ ।

कोभिड हामीले मात्र होइन, सारा विश्वले नै करिब दुई वर्ष लामो अवधि भोग्ने क्रममा छौं । कोभिडका विभिन्न नकारात्मक असरहरुबारे चर्चा गरिराख्नुपर्ने अवस्था छैन । तर कोभिडकै कारण प्रसूतिकर्मीहरुले अनुभूति गरिरहेका नमीठा अनुभव भनेको गर्भमै शिशुको मृत्यु हुने घटना तुलनात्मकरुपमा अलि बढेको पाइन्छ । शायद, कोरोना महामारीका बीच, पटक–पटकको लकडाउनका कारण नियमित एवं आवश्यक मात्रामा गर्भवती जाँच गर्न नपाएर हुन सक्छ । कोभिडकै कारण आफन्तजनमा आइपरेको समस्या, गर्भकै शिशुलाई केही होला कि भन्ने अधिक चिन्ताको असर गर्भेशिशुमा परेको पनि हुन सक्छ । 

कोभिडको पहिलो र दोस्रो लहरका अवधिमा प्रसूति बहिरङ्गमा आएका गर्भवती महिलाहरुमा अर्को समस्या पनि पाइएको छ । अप्रत्याशितरुपमा गर्भवरिपरि पानीको मात्रा कम भएर आउनेको संख्यामा पनि बढोत्तरी भएको पाइयो । गर्भेशिशुवरिपरिको पानीको मात्रा कम भयो भने बच्चा कम चल्ने, गर्भेशिशुलाई पोषण पुर्‍याउने नाभी च्यापिन सक्ने हुन्छ र गर्भेशिशुको मृत्यु पनि हुन्छ । 

गर्भेशिशुको मृत्युका कारण

गर्भावस्थामा वा प्रसूति व्यथाको दौरान मृत अवस्थामा ५ सय ग्रामभन्दा बढी तौलको शिशुलाई मृत शिशु मानिन्छ । नेपालजस्तो विकासोन्मुख देशमा २८ हप्ताभन्दा पछिको अवधिमा जन्मिने यस्तै खाले शिशुलाई मृत शिशु मानिन्छ । किनकि २८ हप्ताभन्दा अगाडिको यस्तो समस्यालाई गर्भ तुहिएको मानिन्छ । गर्भेशिशुको मृत्यु गर्भवती महिला, साल तथा गर्भेशिशुसँग सम्बन्धित हुन सक्छ । सारांशमा कुनै कारणवश सालमा वा सालबाट रगत प्रवाह पुगेन भने अप्रत्याशितरुपमा गर्भेशिशुको मृत्यु हुन्छ । तर २५ देखि ३५ प्रतिशत महिलामा विनाकारण पनि यस्तो समस्या देखिन्छ ।

गर्भवती महिलामा उच्च रक्तचापजन्य समस्या, अनियन्त्रित मधुमेह, गम्भीर खालको रक्तअल्पता, उच्च ज्वरो (३९.४ डिग्रीभन्दा माथि) (तराई क्षेत्रमा औलो, इन्सेफलाइटिसका कारण) छ वा पाठेघरमा साल ठाउँमा नबसेर वा समयअगावै साल छुट्टिएर सुत्केरीपूर्व योनिद्वारबाट रगत देखा पर्‍यो भने पनि गर्भेशिशुको मृत्यु हुन सक्छ । त्यसै गरी गर्भवती महिलामा हेपाटाइटिस, पोलियो, हर्पिस, इन्फ्लुएन्जा, हाडेज्वरो, टोक्सोप्लाज्मोसिस लगायतका विभिन्न खाले संक्रमण तथा रगतजन्य विकार छ भने पनि यस्तो समस्या आउँछ । दम्पतीबीच रगत समूह नमिल्दा पनि दोस्रोपटकको गर्भदेखि यस्तो समस्या देखा पर्छ । 

बच्चा पाउनुपर्ने समय सीमा नाघ्दा, कतिपय औषधि सेवनले पनि गर्भेशिशुको मृत्यु हुन सक्छ ।

गर्भेशिशुमा वंशाणु अंश (क्रोमोजोम) मा खराबी, रुबेल्ला, साइटोमेगालोभाइरस तथा पार्वोभाइरस नामका भाइरलजन्य संक्रमणबाट अकालमा गर्भेशिशुको मृत्यु हुन सक्छ । यसबाहेक स्वास्थ्यकर्मीले पेटबाहिरबाटै बच्चाको अवस्थिति (पाठेघरमा गर्भेशिशुको बसाइ) परिवर्तन गर्न खोज्दा, बच्चा पाउनुपर्ने समय सीमा नाघ्दा, कतिपय औषधि सेवनले पनि गर्भेशिशुको मृत्यु हुन सक्छ । 

करिब ८ प्रतिशत महिलामा भने यो समस्या दोहोरिन सक्छ । दम्पतीबीच अमिल्दो रगत समूह, गर्भवती महिलामा मधुमेह, भिरिङ्गी, रगतजन्य विकार, जीर्ण खालको मृगौलाको समस्या तथा गर्भेशिशुमा वंशाणु अंशमा खराबी छ भने यस्तो समस्या दोहोरिन सक्छ ।

गर्भेशिशुको मृत्युको निदान 

गर्भेशिशुको मृत्युपूर्व गर्भवती महिलाले थाहा पाउने मुख्य लक्षण बच्चा कम चल्ने हो । अर्थात् गर्भमै शिशु मृत्यु भएका धेरैजसो गर्भवती महिलाले यही सिकायत गर्ने गरेको पाइएको छ । त्यसैले पनि यसलाई हेलचेक्र्याइँको रुपमा लिनुहुँदैन । गर्भभित्रको शिशु मृत्यु भएको निकै समय भैसकेको छ भने गर्भावस्थाका लक्षण/चिह्नहरु बिस्तारै हराउँदै जान्छन् । जाँचको क्रममा गर्भेशिशुको मुटुको ढुकढुकी सुनिदैन । वर्तमान समयमा अल्ट्रासाउन्डबाट गर्भेशिशुको मृत्युको निक्र्योल गरिन्छ । अर्थात् आपूmलाई बच्चा कम चलेको वा चल्दै नचलेको शंका लाग्नेबित्तिकै भिडियो एक्सरे गराइहाल्नुपर्दछ । गर्भमै मृत शिशुको डेलिभरीका लागि स्वास्थ्यसंस्थामा दक्ष प्रसूति कर्मीको सहयोग लिनुपर्दछ । 

व्यवस्थापन 

यस्तो अवस्थामा गर्भभित्रै शिशुको मृत्यु भएकी महिलालाई यसको दोषारोपण गरेर गाली गर्नुभन्दा मानसिक ढाढस दिने, मन हल्का हुने सल्लाह दिने गर्नुपर्दछ । मृत शिशु पाएपछि दूध सुक्ने औषधिको अलावा अवस्था हेरिकन एन्टिबायोटिक औषधिको जरुरत पर्दछ । सुत्केरीको ६ हप्तापछि चेकअपमा जानुपर्दछ । कम्तीमा ६ महिना अर्को बच्चा नपाउनु राम्रो हुन्छ । जन्मान्तरको लागि उपयुक्त परिवार नियोजनका साधन प्रयोग गर्नुपर्दछ । अर्को बच्चा पाउनु (गर्भ आउनु) पूर्व फेरि चिकित्सकको सल्लाह लिनुपर्दछ । त्यस बखत उच्च रक्तचाप, मधुमेह, रगतको विकार तथा अन्य कुनै संक्रमण छ भने त्यो निराकरण एवं नियन्त्रणमा ल्याउनुपर्दछ । साथै चिकित्सकको सल्लाहमा दैनिकरुपमा फोलिक एसिड नामको भिटामिन सेवन गर्नुपर्दछ । 

प्रतिक्रिया दिनुहोस्