तपाईंका घरमा हाम्रा डाक्टर



कोरोना लागेर निको भएको करिब ५ महिना भइसक्यो । अझै पनि हिँड्दा स्वाँ–स्वाँ आउने समस्या छ । अस्पताल जाँदा बिस्तारै ठीक हुन्छ भन्छन् तर ढुक्क हुन सकेको छैन । उचित सल्लाह पाऊँ। 

– राधा कार्की, बालाजु, काठमाडौं । 

राधाजी, कोरोना हाम्रो ज्ञानको भण्डारमा एकदमै नयाँ रोग रोग हो । अनि सबै कुरा थाहा नभएको वा यसको बारेमा नयाँ–नयाँ कुराहरु स्थापित हुँदै गरेको रोग हो । यसको दीर्घकालीन प्रभाव अहिलेसम्म अनिश्चित नै छ । अक्सिजनको तह राम्रै भए पनि न्युमोनिया भैसकेका बिरामीमा केही लामो समयसम्म श्वास–प्रश्वासको समस्या (स्वाँ–स्वाँ हुने) भैरहेको पाइएको छ । तीमध्ये तपाईं एकजना पर्नुभयो । श्वास–प्रश्वासको व्यायाम, शारीरिक व्यायाम, योग अनि प्राणायामहरु गर्दै गर्नुस् । अक्सिजनको तह नाप्दै गर्नुस् । अस्पतालमा चिकित्सकले दिएको सल्लाह मान्नुहोस्, निश्चय पनि तपाईंलाई ठीक होला । शंका गरेर र आत्मबल कमजोर बनाएर नबस्नुस्, सब ठीक भएर जानेछ ।

केटाकेटीलाई झाडापखाला लाग्दा पानी खान दिनुहुँदैन भन्छन् गाउँघरतिर । तर यस्तो बेला झन् बढी पानी खान दिनुपर्छ भनेको पनि सुनेँ । सही सल्लाहका लागि अनुरोध छ । 

– सपना तामाङ, सिन्धुली ।

सपनाजी, तपाईंले सुनेको सही हो । झाडापखाला लागेको बेलामा शरीरबाट झोल पदार्थ जान्छ । यसले गर्दा शरीरमा पानीको अभाव हुन्छ । साथै विभिन्न लवण अनि शरीरको रस पदार्थमा हुने धेरै प्रकारका महत्वपूर्ण तत्वहरुको समेत कमी हुन जान्छ । धेरै नै जटिल अवस्था भएपछि रगतको मात्रासमेत घट्ने हुन्छ । यससँगै रक्तचाप घट्ने र प्रतिफलस्वरुप मृगौला, मुटु, मस्तिष्क आदिमा रक्तप्रवाहमा कमी भई मृत्युसमेत हुन सक्छ । यस अवस्थामा शरीरमा हुने झोल पदार्थको कमीको प्रतिस्थापन गर्न अत्ति नै जरुरी छ । त्यसको लागि झोल कुरा जस्तै– दाल, सुप पिउन दिनुपर्छ । अवस्थाअनुरुप जीवनजल दिनुका साथै अलि गाह्रो अवस्थामा नसामा सलाइन पनि दिनुपर्ने हुन सक्छ । जहाँसम्म गाउँघरतिर झाडापखालामा पानी पिउन नदिनु भन्ने गरेको पाइन्छ, पानी दिँदा त्यही पानी पखाला बनेर अझ बढी जान्छ अर्थात् पखाला अरु बढी हुन्छ भन्ने अन्धविश्वासले गर्दा हो । गाउँघरमा जन्मे–हुर्केका सबैले सुनेको र व्यहोरेको कुरा हो यो । तर यस्ता कुरा नितान्त गलत, खतरा अनि सोच्न पनि नहुने हो । आजकल गाउँ–गाउँमा हेल्थ पोस्टको सुविधा पुगेको छ । टेलिभिजन, रेडियोको पहुँच अनि मानिसहरु पनि शिक्षित हुँदै गएकाले आजकल यस्तो विचारमा कमी आएको पनि पाइन्छ । 

 मेरो पाँच वर्षको छोरा अलि भकभक गरेर बोलेकोले चिन्ता लाग्न थालेको छ । यसलाई सामान्य बनाउन कहाँ उपचार गराउनु ठीक होला ? 

– रुद्रदेव प्याकुरेल, भरतपुर ।

रुद्रदेवजी, भकभक गरेर बोल्ने बच्चाहरुको बोली धेरैजसो स्पीच थेरापी गरेर सुधार भएको पाइएको छ । त्यसैले एकपटक स्पीच थेरापिस्टलाई भेटेर परामर्श गर्नु जरुरी हुन्छ । जति छिटो थेरापी शुरु ग¥यो त्यति छिटो सुधार हुन सक्छ । उमेरले बोलीको रिफ्लेक्स स्वरूप आइहाल्ने भकभक बढ्दै जान सक्ने र बच्चाले आफ्नो बोलीमा भएको कमजोरीको महसुस नगरी बेमतलब जथाभाबी बोल्ने गरेमा सुधार ढिलो अनि अपूर्ण हुने डर हुन सक्छ । यदि भरतपुरमा त्यस्तो सेवा प्राप्त नभएमा काठमाडौंमा आएर शिक्षण अस्पताल वा वीर अस्पतालमा प्राप्त यो सेवाबाट लाभ लिन सक्नुहुनेछ । 

मेरो श्रीमान् ३ वर्ष मलेसियामा काम गरेर आउनुभएको पनि ६ महिनाजति भयो । उहाँमा एकोहोरिएर हेरिरहने, कम बोल्ने, काम गर्न पनि अल्छी गर्ने, राति निदाउन नसक्ने समस्या भएको छ । यो रोग नै हो कि जस्तो लाग्यो । सुझावका लागि अनुरोध छ । 

– प्रेमा, सर्लाही । 

प्रेमाजी, तपाईंले दिएको विवरण अनि लक्षणअनुसार हेर्दा मानसिक समस्या डिप्रेसन भएजस्तो लाग्यो । हुन त तनावले मात्रै पनि यस्तो हुन सक्छ । योस्तो हुनुमा नचाहेको व्यवहार आइलाग्नु, शंका–उपशंका बढेर जानु, आफूले योजना गरेअनुसारको परिस्थिति नबन्नु आदि जे कारण पनि हुन सक्छ । समस्याको खास अनि वास्तविक निदान र सोही अनुरुपको उपचारको लागि एकपटक मानसिक चिकित्सकलाई भेट्नुपर्ने हुन्छ । यसका लागि विराटनगर, जनकपुर, वीरगन्ज जहाँ गए पनि हुन्छ । भरतपुर, काठमाडौंतिर आए पनि सहजै मानसिक रोग विशेषज्ञ भेटेर परामर्श गरी फाइदा लिन सकिन्छ । स्पष्ट यस कुरामा हुनुहोस् कि कुनै पनि रोगको समाधान छिट्टै निदान र उपचार गर्न सकेमा हुने हो । 

बिहान उठ्दा सधैँजसो मेरो खुट्टाका औँलाहरु करकर दुख्छन्, पछि बिस्तारै ठीक हुँदै जान्छ । यो कुनै रोगको लक्षण हो कि ? जवाफ पाए आभारी हुने थिएँ । 

– सुरेश श्रेष्ठ, पनौती, काभ्रेपलाञ्चोक ।

सुरेशजी, बिहान–बिहान खुट्टाका औंलाहरु दुख्नुको कारण विभिन्न बाथरोग हुनु, युरिक एसिड धेरै हुनु, धेरै चिसो हुनु, विभिन्न भिटामिन वा लवणहरुको कमी हुनु जे पनि हुन सक्छ । यसको कारण निक्र्योल गर्न चिकित्सक भेटेर सम्बन्धित परीक्षणहरु गर्नुपर्ने हुन्छ । त्यसपछि मात्रै सही उपचार सम्भव हुन्छ । पनौती त्यति टाढा नभएकाले धुलिखेल अस्पताल वा वीर अस्पताल वा शिक्षण अस्पतालमा गएर फिजिसियन भेटी परामर्श गर्नुभएमा समस्या समाधानको बाटो स्पष्ट हुनेछ । 

म ३२ वर्षकी भएँ । पानी प्रशस्त खाए पनि बेला–बेलामा मेरो पिसाब पोल्ने गर्छ । यसको उपचार कसरी गर्न सकिएला ? 

– निर्मला, सामाखुसी, काठमाडौं ।

निर्मलाजी, पिसाब पोल्ने कारणहरुमा पिसाबको संक्रमण एक नम्बरमा पर्छ । पिसाबको प्रणालीमा कतै पत्थरी भएमा पनि पोल्छ । यसबाहेक पानी कम भएर पनि पिसाब पोल्न सक्छ । यस्तै कहिलेकाहीँ मनोवैज्ञानिक कारणले पनि पोल्न सक्छ । त्यसैले सही उपचारको लागि विशेषज्ञबाट कारणहरुको लेखाजोखा र केही गहिरो सोधपुछ गर्नुपर्ने हुन्छ । साथै केही परीक्षणहरु गरेर मात्रै सम्भावित कारण निक्र्योल गरी सोही अनुसार उपचार गर्नुपर्ने हुन्छ । त्यसैले एकपटक नजिकको स्वास्थ्य संस्थामा गएर उपचारको  बाटो  पहिल्याइहाल्नुस् । 

मेरो हातका नङहरु करिब ३ महिनादेखि सेतो हुँदै आएका छन् । यो कुनै रोग हो कि सामान्य हो ? बुझ्न सकेको छैन । सुझावको अपेक्षा गर्दछु । 

– तुलाराम थापा, दमौली ।

तुलारामजी, नङ सेतो हुँदै जाने प्रक्रिया नर्मल वा सामान्य नभएर कुनै असामान्य अवस्थाको द्योतक हो । संक्रमण, क्याल्सियमको कमी, शरीरमा रगतको कमी वा अन्य समस्याले यस्तो हुन सक्छ । छाला रोग विशेषज्ञसँग परामर्श गरेपछि निश्चित निदान अनि खास उपचारबाट समस्याको समाधान हुन सक्छ । धेरै आत्तिइहाल्नुपर्ने अवस्था नभएकाले त्यहीँको स्वास्थ्य संस्थामा गएर परामर्श लिन सुझाव दिइन्छ । 

मेरो १२ वर्षको छोराको कररिब दुई वर्षदेखि नाकबाट बेला–बेलामा रगत आउने समस्या छ । यो कस्तो समस्या हो र उपचारका लागि कहाँ सम्पर्क गर्नु ठीक होला ? 

– शिवराम, सुरी, दोलखा । 

शिवरामजी, बच्चाको नाकबाट रगत बग्नु राम्रो कुरा होइन । यसका धेरै कारण हुन सक्छन् । ठूलो मान्छे यस्तो भएमा उच्च रक्तचापको पहिलो शंका हुन्छ  । बच्चामा पनि उच्च रक्तचाप नहुने त होइन । तर धेरै नै कम प्रतिशतमा हुन सक्छ । त्यस्तै अन्य कारणहरुमा रक्तनलीमा जन्मजात हुन सक्ने बनावटको अपूर्णता वा कमजोरी, रगत जम्ने प्रक्रियामा गडबडी, बच्चाको नाक कोट्याउने बानी, नाक सुख्खा वा पानीको कमीले वा धेरै पसिना बग्नाले शरीरमा निर्जलीयता आदि हुन सक्छन् । त्यसैले एकपटक नाक–कान–घाँटी विशेषज्ञ भेटेर परामर्श गर्नुपर्ने हुन्छ । त्यसका लागि काठमाडौंको वीर अस्पताल वा शिक्षण अस्पतालमा नाक–कान–घाँटी विभागमा गएर देखाउन सकिन्छ ।

म २७ वर्षीया अविवाहित नारी हुँ । मेरो महिनावारी केही वर्षयता अनियमित भइरहेको छ । कहिले ४० दिनमा हुन्छ त कहिले २० दिनमै । यो कुनै रोग हो कि सामान्य नै ? सुझावका लागि अनुरोध छ । 

– शर्मिला, नगरकोट । 

शर्मिलाजी, तपाईंको यो उमेरमा महिनावारी गडबड हुनु राम्रो होइन । किनभने यसको नामअनुसार धेरैजस्तो महिना–महिना दिनमा नै नियमित हुने प्रक्रिया हो । त्यसमा अपवाद भए पनि २०–३५ दिनसम्म जति दिनको पनि चक्र हुन सक्छ । सामान्यतया यो नियमित हुन्छ । कहिलेकाहीँ एक–दुई–तीन दिन यताउति हुनु सामान्य मानिने गर्छ । महिलामा हुने हर्मोनको सन्तुलनमा केही गडबडी हुनाले नै केही दिन यताउता भएको हुनसक्छ । त्यसको साथै तनाव, मानसिक चिन्ता, ठूलो मानसिक चोट, शारीरिक रोग, रक्तअल्पता, अन्य प्रणालीजन्य बिमारीहरुले पनि महिनावारीमा गडबडी गराउन सक्छन् । त्यसैले समस्याको सही निक्र्योल तथा निदानको लागि एकपटक स्त्रीरोग विशेषज्ञ भेटेर सल्लाह गर्नुभएमा उचित सल्लाह एवं उपचार प्राप्त गर्न सकिनेछ । 

(सकेसम्म छोटो र एकपटकमा एउटा मात्र स्वास्थ्यसम्बन्धी जिज्ञासा [email protected], [email protected] वा पो.ब.नं.२०४५ काठमाडौंमा पठाउनुभएमा मुटुरोग विशेषज्ञ एवम् फिजिसियन डा. हरिहर खनालले सल्लाह सुझाव दिनुहुनेछ ।)

प्रतिक्रिया दिनुहोस्