‘यौन प्रलोभन’ खतरा पनि हुनसक्छ



डा. राजेन्द्र भद्रा

 

 

 

 

 

म २७ वर्षीय पुरुष हुँ । अहिले जागिरको सिलसिलामा चितवनमा छु । मलाई एक छिमेकी युवती विभिन्न बहानामा एक्लै भएको बेला भेट्न खोज्छिन्, जुन मलाई अस्वाभाविक लाग्छ । मेरो लागि विभिन्न खाना, उपहार ल्याउने गर्छिन् । उनी आत्मीयता दर्शाउने किसिमका कुरा गर्छिन् । यी कुराले मलाई असहज बनाउँछ तर म प्रतिरोध गर्न सकिरहेको छैन । ती युवतीसँग सम्बन्ध बढाउने सोच पनि छैन । मेरा घरबेटीले ती युवती पहिले पनि एक युवासँग यसै गरी नजिकिएको जानकारी दिएकाले पछि मलाई अप्ठ्यारो पर्ने त होइन भन्ने लागेको छ । यस्तो स्थितिमा मैले के गर्दा उचित होला ? सल्लाहको अपेक्षामा छु ।
– मुकेश पोखरेल


उत्तर : तपाईको परिस्थितिलाई हेर्दा ती युवती तपाईंप्रति स्वाभाविकरुपमा नै आकर्षित भएको हुनसक्ने अनुमानसम्म गर्न सकिन्छ । साथै कुनै उद्देश्यले यौन प्रलोभन दिएको हुने सम्भावना पनि त्यत्ति नै छ ।यौन प्रलोभन भनेको कुनै एक व्यक्तिलाई यौन क्रियाकलापमा संलग्न हुन जानाजानी फकाएर प्रेरित गरिने प्रक्रिया हो । अहिले मात्रै होइन, परापूर्वकालदेखि नै मानव समाजमा यस्तो क्रियाकलाप भएको पाइन्छ । यौन प्रलोभनलाई यौनकार्यको लागि फकाउने वा बहकाउने कार्य पनि भनिन्छ ।

समुद्र मन्थनपछि निस्केको अमृत असुरहरूले पान गर्न नसकून् भनी भगवान् विष्णुले मोहनी रुप धारण गरेर यौन प्रलोभन दिएको वर्णन छ । ऋषिमुनिहरूको तपस्या भंग गर्न अप्सराहरूको प्रयोगलाई पनि यौन प्रलोभन भन्न सकिन्छ । अचेल नेपालमा पुरुषलाई फसाउन महिलाले ‘हनी ट्रयाप’ मा पारेका घटनाहरू पनि पत्रपत्रिकामा बरोबर देखिन्छ ।

कुनै बेला यौन प्रलोभन, यौन आकर्षण गरी यौनान्दमा मात्र उपयोग भएको पाइन्छ भने कहिलेकाहीँ यौनिक दृष्टिले लोभ्याएर फसाउने गरेको पनि पाइन्छ । ऋषि वात्सायनले कामसूत्रमा यौन प्रलोभनलाई एक कलाको रुपमा प्रस्तुत गरेका छन् तर कालान्तरमा ती ज्ञानमा क्षयीकरण भएको पाइन्छ ।

यसको महत्व के ?

पुरुष तथा महिलाले यौन सम्बन्धका लागि आफ्ना कुराहरू राख्न वा व्यक्त गर्न यसको प्रयोग गर्ने गर्दछन् । यस्तोमा कुशलतापूर्वक वास्तविकताभन्दा केही फरक कुरा देखाउने पनि गरिन्छ । कतिपय स्थितिमा यी मुख्यरुपमा कामेच्छामा वा आकर्षणमा आधारित हुनसक्छ । यस्ता कुराले गहिरो सम्बन्ध वा यौन सम्बन्ध स्थापित हुनुभन्दा पहिलेको प्रेमालाप (courtship) लाई निकै छोटो बनाउन सक्छ ।

विकासवादी मनोविज्ञानका अनुसार यौन सम्पर्कपछि सन्तान हुर्काउन महिलाले पुरुषको तुलनामा धेरै नै बढी लगानी गर्नुपर्ने हुन्छ । तर पुरुषको हकमा प्रजनन सफलताको लागि दीर्घकालीन लगानी मात्र होइन छोटो सम्बन्धमा नै कुनै महिलालाई गर्भधारण गराउन सकेमा उसको ध्येय पूरा हुने स्थिति हुन्छ । त्यसैले पुरुष महिलाको तुलनामा बढी यौन प्रलोभनको रणनीति प्रयोग गर्ने गर्दछन् भनिन्छ ।

तर कतिपय अध्ययन प्रतिवेदनहरूमा हाउभाउको माध्यमबाट गरिने यौन प्रलोभनमा महिलाको बढी सक्रियता भएको उल्लेख पाइन्छ । महिला तथा पुरुष दुवैले नै यौन साथी खोज्ने सिलसिलामा शक्ति वा बलको प्रयोग वा आक्रामकताभन्दा यौन प्रलोभनको रणनीतिलाई नै बढी रुचाइएको पाइएको छ ।

आज हामी सशरीर अस्तित्वमा हुनुको अर्थ लाखौं–करोडौं वर्षदेखि नै हाम्रा पुर्खाहरूले यौन साथीसँग यौन सम्पर्क राख्न सकिने गरी नजिक हुन यी रणनीतिहरूलाई सफलरुपमा अवलम्बन गरेको देखिन्छ । प्रजनन सफलता हासिल गर्ने सिलसिलामा पुरुष र महिलाको रणनीति फरक हुने गर्दछ ।

महिलाले खाना वा अन्य वस्तुको स्रोतको व्यवस्था, अर्को पुरुष वा विपद्वाट सुरक्षा अनि असल वंशाणु प्राप्तिका लागि यस्तो यौन प्रलोभनमा पार्ने गर्दछन्, जसले राम्रो सन्तान जन्माउन र हुर्काउन सघाउँछ । पुरुषको हकमा प्रायः सक्दो बढी महिलालाई यौन प्रलोभनमा पारेर यौन सम्पर्कसम्म पुग्ने उद्देश्य रहेको देखिन्छ ।

यौन प्रलोभनबाट बच्ने उपाय

वर्तमान आधुनिक समाजिक मूल्य–मान्यताअनुसार हेर्ने हो भने पनि यौन प्रलोभन आफैंमा न खराब हो, न असल । यसो गर्नुको ध्येय वा भित्री उद्देश्य वा परिणाम के होला भनेर हेर्नुपर्ने हुन्छ । यी अन्तरनिहित ध्येय अनि त्यसको परिणाम सकारात्मक वा नकारात्मक जे पनि हुनसक्छ ।

सकारात्मक पक्षलाई हेर्दा यो मानसिक तथा यौन कामुकताको सन्दर्भमा सन्तोषजनक हुन्छ । यदि दुवैले नै एक–अर्र्कालाई यौन प्रलोभन पार्ने प्रयास गर्दा प्रणययुक्त सम्बन्धमा विकसित हुनसक्छ र पछि प्रतिबद्ध सम्बन्धको रुपमा विकास हुनसक्छ । यसलाई यौन प्रलोभन भन्ने कि नभन्ने पनि एक ठूलै प्रश्न छ । यसले सम्बन्ध स्थापित गर्न, त्यसलाई निरन्तरता दिन जस्तै कि वैवाहिक बन्धनमा बाँधिनुजस्ता कुरातिर डो-याउने भएकाले खासै हानी गर्ने भएन र यो चिन्ताको विषय पनि होइन ।

आँखा, मुहार, ओठ, हात वा अन्य अंगको प्रयोग गरी गरिने विशेष हाउभाउले प्रतिरोध गर्न नै नसकिने स्थितिमा पु-याउन सक्छ ।

तर यो यौन प्रलोभन कुनै लाभको लागि दिग्भ्रमित गर्ने किसिमको छ भने सो हानिकारक हुनसक्छ । अति नै नकारात्मक हुँदा यसले आत्मसम्मान कम गर्ने, शारीरिक स्वरुपसम्बन्धी धारणामा समस्या ल्याउने, यौनसम्बन्धी चिन्ता बढाउने वा निराशापन गराउने हुनसक्छ ।

यौन प्रलोभनको बाबजुद तपाईंको यो सम्बन्धले निरन्तरता पाउने र वैवाहिक सम्बन्धमा जाने स्थितिमा छ भने खासै चिन्ताको विषय भएन । तर तपाईं कुनै स्थापित सम्बन्धमा हुनुहुन्छ वा यो सम्बन्धमा तपाईंको रुचि छैन वा अघि बढाउने सोचमा हुनुहुन्न भने तपाईंले यसबारे गहिरिएर सोच्नुपर्ने हुन्छ । यस्तो परिस्थितिमा तपाईंले निम्न कुराहरूमा विचार पु-याउनु फाइदाजनक हुनसक्छ ।

  • तपाईंको कार्यक्षेत्र वा छरछिमेकमा कुनै व्यक्ति (महिला वा पुरुष) तपाईंप्रति यौनको दृष्टिले आकर्षित छ वा छैन वा कत्तिको नजिकिने प्रयास गर्दै छ भन्ने कुरा थाहा पाउनु महत्वपूर्ण हुन्छ । यदि तपाईं यस सम्बन्धलाई अघि बढाउन चाहनुहुन्न भने जति सक्यो यस्ता सम्बन्ध विकसित हुने कुराबाट टाढा बस्नुपर्ने हुन्छ ।

  • तपाईंलाई लोभ्याउन अनेक प्रयासहरू गरिएका हुन्छन् । जस्तो– सामान्य परिस्थितिमा भन्दा केही फरक अर्थात् उत्सव वा अवसरअनुसारको भन्दा फरक उपहार दिने, विभिन्न परिकार तयार गरी खुवाउने, भावनात्मक सन्देशसहितको कार्ड, चिठीपत्र वा इमेल वा अन्य विद्युतीय माध्यमबाट पठाउने गरिन्छ । त्यसदेखि बाहेक खासै कारण नभए पनि सानोतिनो कुनै न कुनै बहानामा पनि भेटघाट गर्ने अवसरलाई प्रयोग गर्ने गरिन्छ । यस्ता कुरा भएमा वा हुन थालेमा सजग भएर त्यसमा नफस्न कोशिश गर्नुपर्दछ ।

  • यौन प्रलोभनको लागि शारीरिक क्रियाकलापको एक विशेष स्थान हुन्छ । साथै चापलुसी वा मिथ्या–प्रशंसाको प्रयोग हुँदा कुनै पनि व्यक्ति लोभिन्छ नै । कतिपय स्थितिमा नृत्यको सशक्त भूमिका हुन्छ र त्यसमा पनि जोडी बनेर नृत्य गर्दा नजिकिने एक राम्रै अवसर पाइन्छ । विशेषरुपमा गरिने हाउभाउको प्रयोग अर्को महत्वपूर्ण पक्ष हो । आँखा, मुहार, ओठ, हात वा अन्य अंगको प्रयोग गरी गरिने विशेष हाउभाउले प्रतिरोध गर्न नै नसकिने स्थितिमा पु¥याउन सक्छ । अनि कुनै बहानाले स्पर्श गर्ने बहाना खोज्ने स्थिति हुनसक्छ । त्यस्तै गरी विशेष पहिरनको प्रयोग पनि यौन प्रलोभनका लागि गरिन्छ । बोलिने भाषाको विकास हुनुभन्दा पहिलेदेखि नै सञ्चारको प्रमुख माध्यमको रुपमा रहेको हाउभाउको प्रभाव नजानिदो किसिमले बलियो हुने गर्दछ । यस्ता परिस्थितिबाट परै बस्नु पनि यौन प्रलोभनबाट बच्न सहयोगी हुने गर्दछ ।

  • यौन चाहना स्वाभाविकरुपमा नै सबैमा हुन्छ र यो निकै प्रबल पनि हुने गर्दछ । कतिपय स्थितिमा कसैको यौन सम्पर्कको आमन्त्रणलाई अस्वीकार वा प्रतिरोध गर्न निकै गाह्रो हुनसक्छ । कुनै व्यक्ति यो प्रयोजनले अघि बढेको स्थितमा आत्मसंयमका साथ दृढ तरिकाले प्रतिरोध गर्न सक्नुपर्दछ । जे होला, त्यसै टर्ला भनेर परिस्थितिलाई त्यसै छाड्नुहुँदैन ।

  • वर्तमान सम्बन्धको सन्दर्भमा जस्तै कि श्रीमती वा प्रेमिका वा परिवार वा साथी–संगतको सन्दर्भमा तपाईंले आफ्नो जवाफदेहिताको बारेमा पनि गहिरिएर विचार गर्नुहोस् । यस्तो गरेमा तपाईं कुनै असजिलो परिस्थितिमा फस्ने स्थितिबाट आफैंलाई रोक्न सहयोग पुग्दछ ।

  • कतिपय स्थितिमा कसैले भावनात्मकरुपमा तपाईंलाई नजिकपनको आभास दिलाउन वा फन्दामा पार्ने कार्य गरिरहेको पनि हुनसक्छ । यसका लागि उनीहरूले झुटो नै भए पनि वैवाहिक जीवनको असफलता वा समस्याको बारेमा कुरा गरेर तपाईंको नजिक हुने प्रयास गर्न सक्छन् । तपाईंलाई यस्तो स्थितिमा कसैसँग नजिकिनु जायज लाग्न सक्छ तर टाढै वस्नु नै श्रेयष्कर हुन्छ ।

  • कुनै व्यक्तिले यस्ता सम्बन्ध केही मात्रै विकसित गर्न खोजेको स्थितिमा तपाईंले आफ्ना श्रीमती, प्रेमिका वा साथीभाइहरूले यसबारे थाहा पाऊलान् र बेकारमा गलतफहमी होला भनेर गोप्य राख्ने प्रयास गर्ने स्थिति हुन्छ तर यस्तो गरियो भने झनै दलदलमा फस्ने सम्भावना हुन्छ ।

आशा गर्छु कि केही हदमा भए पनि तपाईंका जिज्ञासाको जवाफ पाउनु नै भयो होला ।

प्रतिक्रिया दिनुहोस्