‘प्रोस्टेट बढ्दैमा औषधि खानुपर्दैन’



लक्ष्मण अधिकारी

आजकाल अस्पतालहरुले ‘होलबडी चेकअप’को स्किम राखेका छन् र कतिपयले फेसनकै रुपमा यसलाई उपभोग गर्दै छन् । यस क्रममा ५० वर्ष हाराहारीका पुरुषको अल्ट्रासाउन्ड गराउँदा प्रायः प्रोस्टेट ग्लान्ड बढेको रिपोर्ट आउँछ । यो रिपोर्ट सुनेपछि धेरै बिरामीहरु ‘लौ अब सकिने भएँ, क्यान्सरै भइसक्यो कि ?’ भनेर अत्तालिन्छन् । कतिपय चिकित्सकले त विशेषज्ञको परामर्शविनै औषधि शुरु गराइहाल्छन् ।
‘प्रोस्टेटमा गडबढी हुँदा कतिपयलाई पिसाब नली, पिसाब थैली, मिर्गौलामा समस्या आउने, पत्थरी हुने, पिसाब फेर्न गाह्रो हुने, प्रोस्टेट क्यान्सर हुने र जीवनको गुणस्तरमा असर पर्ने भए तापनि प्रोस्टेट बढेकै आधारमा समस्या हुन्छ भनेर सबैलाई औषधि चलाउनुचाहिँ सरासर गलत हुने’ यससम्बन्धी विशेषज्ञ (युरोलोजिस्ट) हरुको भनाइ छ । यस सम्बन्धमा थप स्पष्ट पार्नका लागि पाटन अस्पताल तथा अल्का अस्पतालका वरिष्ठ युरोलोजिस्ट प्रा. डा. पुकार मास्केसँग कुराकानी गरी यो लेख तयार गरिएको छ । प्रस्तुत छ उहाँका उपयोगी भनाइहरु

प्रोस्टेट बढ्दैमा रोगी भइँदैन

‘प्रोस्टेट ग्रन्थि बढ्नु भनेको प्राकृतिक कुरा हो र बढ्नु नै रोगचाहिँ होइन । प्रोस्टेटको साइज र रोगको लक्षणको कुनै सम्बन्ध हुँदैन । प्रोस्टेट ठूलो छ भन्दैमा समस्या हुन्छ भन्ने छैन । प्रोस्टेटको साइज सानो छ, यसले दुःख दिँदैन भनेर सधैँ ढुक्क भएर बस्न पनि हुँदैन तर उपचार नै गर्नुपर्ने समस्याको सम्भावनाचाहिँ ठूलो प्रोस्टेटमा बढी हुन्छ ।

अहिले प्रायः ५० वर्ष नाघेका मानिसहरु कुनै कारणले अल्ट्रासाउन्ड गराउँदा प्रोस्टेटको साइज बढेको देखियो भने उपचार गरिदिनुप-यो भनेर आत्तिँदै आउँछन् । यसरी आउनेमध्ये धेरैले औषधि खान शुरु गरिसकेको पाइन्छ, त्यसो गर्नु प्रायः अनावश्यक हुन्छ । किनभने बिरामीको लक्षणको अवस्था र जीवनको गुणस्तर हेरेर मात्र औषधि शुरु गर्नुपर्छ ।

प्रोस्टेटको साइज बढ्नुलाई मात्र रोगको रुपमा लिनुहुँदैन । प्रोस्टेटका कोषहरु ३० वर्ष लागेपछि सूक्ष्मरुपमा बढ्न थाल्छन् तर साइज बढेको हुँदैन । ४० वर्ष काटेपछिचाहिँ धेरैको प्रोस्टेटका कोषहरुको संख्या बढ्छ र साइज पनि बढ्न थाल्छ । यस बेला प्रोस्टेट बढेका कारण सामान्य लक्षण देखिन सक्छ तर खासै असर गर्दैन । प्रोस्टेट बढेर रोगको रुपमा लक्षण देखिने भनेको प्रायः ५० वर्षपछि हो । दुःख दिन थालेमा उपचारको बारेमा सोच्नुपर्छ ।

प्रोस्टेट बढेर रोग लाग्दा के हुन्छ ?

प्रोस्टेटले गर्ने मुख्य समस्या भनेको पिसाबको बाटोमा अवरोध गरी पिसाब फेर्न कठिनाइ गराउने नै हो । प्रोस्टेटले पिसाब नली च्यापिएर बाटो अवरोध हुँदा पिसाबको धारो राम्ररी नखुल्ने, पिसाब आयो भनेर हतारिँदै गयो तुरुन्त नआउने, पिसाब गर्न कन्नुपर्ने, कनेर गर्दा पनि धारा पातलो हुने हुन्छ । पिसाब फेर्दा तुरतुर हुने, रोकिने गर्छ ।

तस्बिर : उजोल डंगोल

लामो समय लगाएर गर्दा पनि ननिख्रिएको जस्तो हुन्छ । पिसाबको बाटोमा अवरोध हुँदा लामो समयपछि पिसाबको थैलीमा परिवर्तनहरु आउन सक्छन् । यस्ता परिवर्तन प्रोस्टेटको कारणले मात्र नभई उमेरका कारणले पनि हुनसक्छ । यी परिवर्तनबाट हुने लक्षणहरुमा पिसाब छिन्–छिन्मै जान मन लाग्ने, पिसाब फेर्न हतार हुने, पिसाब गर्न जाँदाजाँदै बाटोमै एक–दुई थोपा चुहिएजस्तो हुने, राति ४–५ पटक पिसाब फेर्न उठ्नुपर्ने हुन्छ ।

प्रोस्टेट बढेकै कारण कसै–कसैको पिसाबमा रगत आउन सक्छ । प्रोस्टेटले पिसाब बन्द भएका कारण किड्नी फेल भएका बिरामी पनि फाट्टफुट्ट भेटिन्छन् । संक्रमण भएर पिसाब पोल्ने, ज्वरो आउने हुन सक्छ । पिसाब राम्ररी ननिख्रिँदा पिसाब थैलीमा पत्थरी उत्पन्न हुने सम्भावना पनि धेरै हुन्छ ।

प्रोस्टेटको जाँच यसरी गरिन्छ

प्रोस्टेटमा रोग लागी समस्या भएर उपचारका लागि आएका बिरामीमा सबैभन्दा पहिले प्रोस्टेटले बिरामीको जीवनको गुणस्तरमा कति असर गरेको छ र दैनिक क्रियाकलापमा कति अप्ठ्यारो पारेको छ भनेर बुझ्न कोशिश गरिन्छ । त्यसपछि विभिन्न शारीरिक जाँच गरिन्छ । पिसाबको संक्रमण छ/छैन, पिसाबमा रगत छ/छैन भनेर साधारण पिसाब जाँच गरिन्छ । साथै किड्नी फङ्सन, ब्लड सुगर जाँच गरिन्छ । अल्ट्रासाउन्ड गरेर प्रोस्टेटको साइज र सेप हेर्ने, पिसाब नलीलाई कति असर गरेको छ, पिसाब गरेपछि कति पिसाब बाँकी रहन्छ, किड्नी सुन्निएको छ/छैन, त्यो हेरिन्छ ।

साथै ५० वर्ष नाघेको बिरामीमा क्यान्सरको लागि गरिने रगतको जाँच पीएसए (Prostate-Specific Antigen (PSA) पनि गरेर हेरिन्छ । पीएसए बढेको छ भने फेरि १५ दिनपछि परीक्षण गरेर हेरिन्छ । फेरि पनि बढेको देखियो भने एमआरआई गरेर बायप्सी गर्नुपर्छ । पीएसए क्यान्सरबाहेक अरु कारणले पनि बढ्न सक्छ ।

प्रोस्टेट बढेर क्यान्सर हुन्छ र ?

प्रोस्टेट बढ्नु र क्यान्सर हुनुको कुनै सम्बन्ध छैन । प्रोस्टेट क्यान्सर पश्चिमी विश्वमा एकदमै कमन क्यान्सर हो । अमेरिकामा पुरुषहरुमा छालाको क्यान्सरपछि प्रोस्टेट क्यान्सर धेरै हुन्छ । नेपालमा खासै अध्ययन भएको छैन । पश्चिमी देशको तथ्यांक हेर्दा उमेर बढेसँगै क्यान्सरको संभावना पनि बढ्दै जान्छ । तर धेरै प्रोस्टेट क्यान्सर सुषुप्त अवस्थामा रहेको हुन्छ ।

प्रोस्टेट क्यान्सरले नै मानिस मर्छ भन्ने छैन । अधिकांश मानिस प्राकृतिक कारणले मरेको हुन्छ तर परीक्षण गर्दा उसलाई प्रोस्टेट क्यान्सर पनि भएको पाइन्छ । त्यसैले प्रोस्टेट क्यान्सर भयो भन्दैमा मरिन्छ भनेर आत्तिन जरुरी छैन, तर यसको उपचार भने गर्नुपर्छ ।
यदि कुनै बिरामीमा प्रोस्टेट क्यान्सर देखियो भने सबैभन्दा प्रभावकारी व्यवस्थापन भनेको यसको निगरानी गर्नु नै हो ।

क्यान्सर पत्ता लागेपछि कुन ग्रेड वा तहको क्यान्सर हो भनेर छुट्याइन्छ । कम जोखिम भएको स्तरमा क्यान्सर रहेछ भने यसको निगरानी नै महत्वपूर्ण हुन्छ । प्रोस्टेट क्यान्सरलाई पनि उपचार त चाहिन्छ तर अरु क्यान्सरजस्तो डराइहाल्नुपर्ने भने हुँदैन ।

धेरै प्रोस्टेट क्यान्सर खतरनाक वा जटिल नहुन सक्छ । प्रोस्टेट क्यान्सर निको पार्न सकिने क्यान्सर हो । प्रोस्टेट ग्रन्थिभित्र भएको क्यान्सरलाई अपरेसन गरेर, रेडियो थेरापी गरेर पनि निको पार्न सकिन्छ । तथापि यसमा अपरेसन नै उत्तम मानिन्छ ।

तस्बिर : उजोल डंगोल

कस्तो मानिस प्रोस्टेट रोगको जोखिममा हुन्छ ?

प्रोस्टेटको साइज र पिसाबसम्बन्धी समस्याको कुनै सम्बन्ध नहुने भएकाले यस्तो मानिसलाई चाहिँ रोगको जोखिम हुन्छ अर्थात् रोग लाग्न सक्छ भन्न सकिन्न । प्रोस्टेट धेरै बढेको छैन भने पनि पिसाबसम्बन्धी समस्या हुनसक्छ । कसै–कसैको प्रोस्टेट एकदमै ठूलो (२०० ग्राम वा सो भन्दा ठूलो) भएको हुन्छ तर पिसाबसम्बन्धी समस्या भएको हुँदैन । तर जसलाई बढ्दै गएको छ उसलाई समस्या हुने सम्भावना अली बढी हुन्छ ।

वंशाणुगत हुने समस्याचाहिँ केही हदसम्म छ । जसको कम उमेरमै प्रोस्टेट ठूलो छ, उसलाई वंशाणुगत समस्या हो कि भनेर अनुमान गर्न सकिन्छ । आफ्नो वंशको ठीक अघिल्लो पुस्तालाई प्रोस्टेट भएको छ भने परिवारका सदस्यलाई प्रोस्टेटको समस्या हुने सम्भावना अरुलाई भन्दा दुईदेखि चार गुणा बढी हुने भएकाले उनीहरुले अलिकता सचेतता अपनाउनुपर्छ ।

प्रोस्टेटको उपचार के हो त ?

प्रोस्टेटको उपचार कसरी गर्ने भन्ने निक्र्याेल गर्नका लागि सर्वप्रथम रोगले बिरामीको जीवनको गुणस्तरमा कत्तिको असर गरेको छ, त्यो मापन गरिन्छ । त्यसका लागि रोगका लक्षणहरु उल्लेख गरी अन्तर्राष्ट्रिय स्तरमा बनाइएको आईपीएसएस (IPSS) फर्म बिरामीलाई भर्न दिइन्छ । त्यसकै आधारमा रोगले बिरामीलाई पारेको असरबारे निष्कर्षमा पुग्छौँ ।

बिरामीले भरेको फर्म मूल्याङ्कन गर्दा ७ अंकसम्म आए सामान्य, २० अंकसम्म मध्यम र २१ देखि ३५ अंकसम्म आएमा यसलाई गम्भीर खालको समस्याका रुपमा लिइन्छ । सामान्य खालको समस्यामा शुरुमा जीवनशैली परिवर्तन गर्न सिकाइन्छ । जस्तो– पानी तथा झोलको मात्रा कम खाने । पिसाबको समस्या भयो भने पानी बढी खानुपर्छ भन्ने नेपालीहरुको गलत धारणा छ ।

प्रोस्टेट भएर पिसाबमा समस्या छ भने दैनिक डेढदेखि दुई लिटर पानी मात्र खानुपर्छ । धेरै पिसाब फेरिरहनुपर्छ भने एक लिटर मात्र खाने सल्लाह दिन्छौँ । कफी, चिया, बियर, रक्सीले पिसाबको मात्रा बढाउने भएकाले यी वस्तु नखान सल्लाह दिन्छौँ । राति धेरै पटक पिसाब फेर्नुपर्ने मानिसले सुत्नुभन्दा दुईदेखि चार घण्टाअघिदेखि झोल खानेकुरा खानुहुँदैन ।

छिन्–छिन्‌मा पिसाब आइरहने समस्या छ भने त्यस्तो बेलामा माइन्ड डाइभर्ट गर्न पनि सिकाउँछौँ । जस्तो– सयबाट उल्टो गन्ने, मनमनै गीत गुनगुनाउने वा कुनै हिसाब गर्नेजस्ता कार्य मनमनै गरेर पनि माइन्ड डाइभर्ट गर्न सकिन्छ । ‘म पिसाब थैलीलाई कन्ट्रोल गर्छु, पिसाब थैलीले मलाई कन्ट्रोल गर्नुहुँदैन’ भनेर अभ्यास गर्न सिकाउँछौँ । आधा–आधा घण्टामा पिसाब फेर्न जानुपर्ने मानिसलाई थप १० मिनेट २० मिनेट कन्ट्रोल गर्दै बढाउँदै लैजाने ‘ब्लाडर ट्रेनिङ’ अभ्यास गर्न सिकाइन्छ ।

तर समस्या मध्यम वा गम्भीर खालको छ, बिरामीको दैनिक जीवनमा धेरै असर गरेको छ भने शुरुमा औषधि नै शुरु गर्नुपर्छ । औषधि मुख्यतः दुई खालको हुन्छ । एक खालको औषधिले पिसाबको अवरोध कम गरी प्रवाह बढाउने, पिसाबको धारामा सुधार गर्ने र प्रोस्टेटलाई रिल्याक्स गर्ने हुन्छ । यो औषधि शुरु गरेपछि धेरैलाई दुई–तीन दिनदेखि नै र कसै–कसैलाई एक–दुई हप्तासम्ममा सुधार हुन्छ ।
अर्को थरी औषधि भनेको प्रोस्टेट ठूलो छ भने चलाइने औषधि हो । यसले प्रोस्टेटको साइजलाई घटाउँछ । प्रोस्टेटको साइज घटाउने औषधिले काम गर्न ६ महिना जति लाग्न सक्छ ।

पिसाबसम्बन्धी समस्या छ, अल्ट्रासाउन्ड गर्दा प्रोस्टेट पनि ४० ग्रामभन्दा ठूलो छ भने यस्तोमा दुवै समूहको औषधि चलाएर कम्बिनेसन थेरापी गरिन्छ । प्रोस्टेट ४० ग्रामभन्दा सानो छ भनेचाहिँ अवरोध खुलाउने औषधि मात्र चलाइन्छ । कतिपय अवस्थामा चाहिँ अपरेसन नै गर्नुपर्ने पनि हुन्छ ।

‘अपरेसन नाइँ’ भन्न पाइन्न ?

औषधिले नै बिरामीको जीवनलाई सहज बनाउँछ भने अपरेसन गर्ने कुरा हुँदैन । तर केही यस्ता अवस्था छन् जसमा बिरामीले ‘अपरेसन नाइँ’ भन्न मिल्दैन । किनकि अपरेसन नगरेमा किड्नीलगायत अन्य अंगमा असर गर्ने र कालान्तरमा ज्यान नै खतरामा पर्ने हुन्छ ।

जस्तो– पिसाब ठ्याक्कै रोकिएर पाइप (क्याथेटर) हाल्नुप-यो, अनि केही दिन राखी पाइप झिकेर औषधि मात्र चलउँदा फेरि पनि पिसाब रोकिएर पाइप नै राख्नुप-यो भने वा यसरी दुई पटकभन्दा बढी पिसाब रोकियो भने औषधि मात्र खाएर बस्छु भन्न मिल्दैन । या त जीवनभर पाइप राखेर बस्नुपर्ने हुन्छ वा अपरेसन नै गर्नुपर्छ ।

त्यस्तै पिसाब जमेर दुवै किड्नी सुन्निएको छ, किड्नीको काम गडबड भएको छ, किड्नी फेलिएरतिर गएको छ भने अपरेसन गर्नै पर्छ । प्रोस्टेटको कारणले गर्दा रगत पनि आएको छ, यसैको कारण संक्रमण भएको छ, पिसाबको थैलीमा पत्थरी भएको छ, प्रोस्टेटकै कारण पिसाबको थैलीमा ठूला–ठूला खाल्डाखुल्डी धेरै भएका छन् भने यस्तो अवस्थामा पनि बिरामीले औषधि खाएर बस्छु भनेमा ठूलो जोखिम हुन्छ ।

तर यस्तो अवस्थामा पनि बिरामीले अपरेसन गर्न चाहेन वा अपरेसन गर्न सकिएन भने त्यस बेला विकल्प भनेको स्थायी रुपमा पाइप (पर्मानेन्ट क्याथेटर) हाल्ने नै हो । विदेशतिर स्टेन्ट हाल्ने पनि गरिन्छ । संसारमै प्रोस्टेटको समस्यामा अपरेसन धेरै गर्ने गरिन्छ । कसै–कसैलाई औषधिले उपचार गरिरहे पनि पछि लक्षणहरु गम्भीर रुपमा देखिने र अपरेसन नै गर्नुपर्ने हुनसक्छ ।

आईपीएसएस प्रश्नावलीका आधारमा मध्यम तथा गम्भीर लक्षणहरु भएमा उसलाई अपरेसन गर्नुपर्छ भनियो भने पनि त्यसलाई गलत भन्न मिल्दैन । अमेरिकन र युरोपियन गाइडलाइनमा पनि यस्तोमा अपरेसन गर्न मिल्छ नै भनिएको छ । कारण औषधिबाट गरिने उपचार भनेको जीवनभर नै गर्नुपर्छ । एक–दुई वर्ष खाएर छोड्न मिल्दैन । औषधिहरु पनि त्यति सस्ता छैनन् । औषधिको साइड इफेक्ट पनि पर्न सक्छ । औषधि खाँदाखाँदै पनि रोग बढ्न सक्छ ।

अपरेसन पद्धति सहज छन्


अपरेसनका पद्धति पनि अहिले सहज खालका विकास भएका छन् । प्रोस्टेटको अपरेसन भनेको अहिले सबै इन्डोस्कोपिक अपरेसन नै हो । चिरेर गर्ने अपरेसन हिजोआज प्रायः गरिँदैन । इन्डोस्कोपिक अपरेसनमा एक–दुई दिनमै घर जान सकिन्छ । अपरेसन सरल भएकाले बिरामीले अपरेसन गर्न चाहेमा बेलैमा गरिदिँदा ठीकै हुन्छ ।

इन्डोस्कोपिक अपरेसनमा लिंगबाट दुरबिनसहितको सानो पाइप पठाएर अपरेसन गरिन्छ । यसमा बिरामीलाई बेहोस पनि गरिँदैन, बाहिर कुनै घाउ पारिँदैन । साथै बिरामीले आफ्नो अपरेसन गरेको हेर्न पनि मिल्छ । अपरेसन गर्दा प्रेसर, सुगर छ भने नियन्त्रणचाहिँ गर्नुपर्छ ।

साधन–स्रोत नभएका अस्पतालमा अहिले पनि ठूलो अर्थात् १ सय ग्रामभन्दा ठूला प्रोस्टेटको चिरेर अपरेसन गरिन्छ । तर पाटन अस्पतालमा सबै किसिमको प्राविधिक सुविधा भएकोले चिरेरचाहिँ अपरेसन गर्दैनौँ । सबै इन्डोस्कोपिक अपरेसन नै गर्छौं । अझ पाटन अस्पतालमा त अधिकांश अपरेसन लेजर प्रविधि (HoLEP) बाट गरिन्छ । यसलाई अहिले सबैभन्दा आधुनिक प्रविधि मानिन्छ ।

सफलता रेट उच्च

प्रोस्टेट अपरेसनमा सफलता रेट एकदमै उच्च छ । अपरेसन गरेका एक सय जनामध्ये चार–पाँच जनालाई तुरुन्तै पिसाब फेर्न सहज नहुन सक्छ, त्यसबाहेक सबैलाई राम्रो हुन्छ । अपरेसनपछि एक–दुई दिन पाइप राख्नुपर्ने हुन्छ । पाइप निकालेपछि पिसाब भएन भने यस्तो अवस्थामा अपरेसन सफल भएन भन्ने हो । एक–दुई हप्ता पाइप राखेर गराएपछि प्रायः सबैको पिसाब हुन्छ ।

दुई–देखि चार प्रतिशतमा पिसाबको नली साँघुरो भएर पिसाबको धारा पातलो हुनसक्छ तर यो समस्यालाई दुरबिन प्रविधिबाट नै ठीक गर्न सकिन्छ । प्रोस्टेटको अपरेसन गरेका करिब ७५ प्रतिशत मानिसमा अपरेसनपछि शारीरिक सम्पर्क गर्दा वीर्य बाहिर आउँदैन, पिसाब थैलीमा जान्छ ।

बुढेसकालमा बिहे गरेर बच्चा पाउने चाहना छ भने यस्तो अवस्थामा यसले असर गर्न सक्छ, नत्र यो त्यति महत्वको कुरा हुँदैन । किनकि यो बुढेसकाल लाग्न थालेपछि लाग्ने रोग हो । यो उमेरमा कतिपयको त नातिनातिना नै भइसकेका हुन्छन् ।
प्रोस्टेट बढ्नुसँग यौन जीवनको कुनै सम्बन्ध छैन, तर रोग बढ्दै जाँदा कुनै जटिलता आएर असर पार्नचाहिँ सक्छ । प्रोस्टेटको अपरेसनपछि यौन उत्तेजनामा भने कुनै असर गर्दैन, यौन सन्तुष्टि पूरा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्