महिलाहरुको पिसाब चुहिने समस्या



डा. अरुणा उप्रेती

‘उनी सानो छँदा रुखबाट लडेकी रहिछन् । मसँग विवाह भएर बच्चा पाएपछि उनलाई पिसाब चुहिने समस्या भयो । कति ठाउँमा गएर उपचार गराइयो तर ठीक भएन । हाम्रा अरु दुई बच्चा भए, पिसाब चुहिने समस्या झन् बढ्यो । पोहोर साल भारतको एउटा निजी अस्पतालमा देखाउँदा अपरेसन गर्नुपर्छ, भा.रु. २५ लाख लाग्छ भने । त्यत्रो पैसा कहाँ पाउनु ? अनि फर्केर आयौँ ।

केही महिनाअघि सुर्खेतमा यस्तो समस्याको सित्तैमा उपचार हुन्छ भन्ने थाहा भयो । त्यहाँ गएर निःशुल्क उपचार गरायौं । अहिले ठीक भएको छ । पहिले त पिसाब चुहिएर राति तन्ना भिज्थ्यो, जीउ गन्हाउँथ्यो । अहिले त सवै ठीक छ ।’

मुगुकी लक्ष्मी भण्डारीका श्रीमान्ले खुशी व्यक्त गर्दै भने । ३० वर्षीया लक्ष्मीको प्रसवपछि पिसाब चुहिने समस्या बढी भएको रहेछ । वास्तवमा उनी १२ वर्षको हुँदा रुखबाट लडेदेखि नै अलि–अलि पिसाब चुहिन थालेछ, बच्चा पाएपछि समस्या झन् बढेको रहेछ ।

लक्ष्मी भण्डारी आफ्नो पतिका साथ मुगुको घरमा

जटिल प्रसव भएका, घरमा नै बच्चा जन्माएका, कुनै दुर्घटनामा परेका, धेरै सन्तान भएका, कुपोषण भएका तथा कमजोर शरीर भएका विशेष गरी गरिब ग्रामीण महिलाहरूमा यो समस्या बढी देखिएको छ ।

मुगुमा लक्ष्मीको उपचार हुन सकेको थिएन । लगातार पिसाब चुहिने उनको समस्या उपचारपछि समाधान भएको छ, उनी राति आनन्दसँग सुत्न सकेकी छन् । पहिला जीउ गन्हाउने भएकाले कपडा फेरिरहनुपथ्र्यो, मानिसहरूको अघि पर्न नै डराउँथिन्, त्यो समस्या पनि अहिले हल भएको छ ।

सुर्खेतमा आई.एन.एफ. नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले प्रसवपछि लगातार पिसाब चुहिरहने समस्या भएका महिलाको निःशुल्क उपचार गरेर ठूलो गुण लगाएको छ । भारतमा निजी अस्पतामा रु. ४० लाखसम्म लिने अपरेसन यस संस्थाले सित्तैमा गरिदिएको छ ।
लक्ष्मीलाई सुर्खेतको सो अस्पतालका चिकित्सकले अब केही समय श्रीमान्सँग सम्बन्ध नराख्न र आउँदो दुई वर्ष बच्चा नपाउन सल्लाह दिएका छन् ।

पिसाब चुहिरहने समस्या (फिस्टुला) को उपचार सुर्खेतको अस्पतालमा आई.एन.एफ.ले गर्दै आएको छ । धेरै समयअघिदेखि यसरी नै धेरै महिलाको पिसाब चुहिने समस्याको उपचार सित्तैमा गर्दै आएको छ । यस्तो समस्याको उपचार गर्न स्वास्थ्य मन्त्रालयले कार्यक्रम बनाएको तर चासो दिएको पाइँदैन । त्यसैले पनि यो समस्या प्रायः ओझेलमा नै परेको छ ।

जटिल खालको यस किसिमको अपरेसन सरकारी अस्पताल प्रसूति गृह थापाथलीमा पनि भएको पाइँदैन । काठमाडौंका केही निजी अस्पतालमा भने यस्तो उपचार सेवा रहेको बुझिन्छ । तर गरिब महिलाहरुले यस्तो सेवा लिन सक्तैनन् । गरिब समुदायमा धेरै हुने यो समस्याको समाधानका लागि स्वास्थ्य मन्त्रालयले ध्यान नदिनु ज्यादै दुःखद कुरा हो ।

सन् २०२० अक्टोबर महिनाको एक तथ्यांकअनुसार नेपालमा अहिले झन्डै ४ हजार ३ सय महिलाहरू यस्तो समस्या भोगिरहेका छन् । साथै हरेक वर्ष झन्डै २ सयदेखि ४ सय जनासम्म नेपाली महिलाहरू यस्तो समस्याबाट पीडित हुन पुग्छन् ।

तर यति धेरै महिलाको यो पीडादायक समस्याका विषयमा सरकारी पक्षले गम्भीरतापूर्वक छलफल गरेको पाइँदैन । सरकारका प्रायः ठूला सरकारी अस्पतालमा पनि छलफल हुँदैन । अहिले (फिस्टुला फाउन्डेशन) नामक संस्थाले यस विषयमा काम गरिरहेको छ । सन् २०१२ देखि यो संस्थाले जम्मा ७२१ जना महिलाको यस खालको अपरेसन गरेको छ ।

मुगुकी चन्दाको ६ वटा सन्तान भए । छैटौं सन्तान हुँदा उनलाई ३ दिनको व्यथा लाग्यो । मुगुबाट उनलाई सुर्खेतको अस्पतालमा पठाइयो । उनलाई त बचाइयो तर उनको बच्चा भने बाँच्न सकेन । त्यो प्रसव भएपछि उनलाई ‘पिसाब चुहिरहने’ समसस्या भयो अनि उनलाई सुर्खेतमा आई.एन.एफ.मा निःशुल्क उपचार गरिएको थियो ।

यस किसिमको अपरेसन महँगो त छँदै छ, साथै कहिलेकाहीँ एकचोटिको शल्यक्रियाले पिसाब चुहिरहने समस्या रोक्न समाधान नभए २–३ चोटि पनि गर्नुपर्ने हुन्छ । साथै महिला र उनको परिवारलाई पनि पर्याप्त परामर्श दिनुपर्ने हुन्छ । किनभने यस्तो समस्या प्रायः गरिब महिलालाई हुने भएकोले पैसा नभएर उनीहरू अस्पतालमा अर्को चोटिको शल्यक्रिया गर्ने बेलामा आउन नसक्ने भएमा उपचार नै पूर्ण हुँदैन । यस्तो समस्या भएमा महिलाले धेरै पीडा भोग्नुपर्ने हुन्छ ।

१२ औँ चोटि गर्भवती

१२ औँ चोटि गर्भवती भएपछि अछामकी धिरु विष्टको शायद पाठेघर धेरै नै थाकेछ, गर्भमा रहेको शिशुको बोझ थाम्नै सकेन । उनको पाठेघर फुट्यो । छोरा पाउने आशामा धिरु १२ चोटि गर्भवती भइन् । ७ छोरी जन्मिए । दुई गर्भ खेर गए । दुई छोरी जन्मेपछि केही दिनमा नै मरे ।

१२ औँ बच्चा पेटमा आएपछि उनलाई धेरै गाह्रो भयो । व्यथा लागेपछि छिमेकी दिदी–बहिनीले पिँढीमा पल्टेको देखेपछि उनलाई अस्पताल लगे । आधा घण्टामाथि घरबाट तल सडकमा ल्याएर तीन घण्टा खराब बाटोबाट उनलाई बयलपाटा अस्पताल पु-याइयो ।

बयलपाटा अस्पतालका निर्देशक र चिकित्सक डा. मन्दीप पाठक भन्छन्– ‘अस्पताल ल्याउँदा उनको अवस्था धेरै नै नाजुक थियो । बच्चाको हात पाठेघरबाट बाहिर निस्किएको थियो । पाठेघर फुटिसकेको थियो । हामीले तत्काल शल्यक्रिया गर्ने सोच बनायाँै । तर हामीलाई साहै्र डर लागेको थियो ।

उनलाई रगतको कमी भएकोले हाम्रो स्वास्थ्यकर्मीले नै रगत दिए । शल्यक्रिया गरेर उनको फुटेको पाठेघर निकालियो । बच्चा त पेटमा नै मरिसकेको थियो । हामीलाई त जसरी भए पनि आमालाई बचाउनुपर्छ भन्ने लागेको थियो । धन्य उनी बाँचिन् । हामी धेरै खुशी छाैँ ।’
मृत्युको मुखमा पुगेर बाँचेकी धिरु विष्ट पतिसँग आफ्नो घरमा

सुदूर पश्चिममा महिलाको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक छ । छोरा मात्रै सन्तान हो भन्ने खालको सोच त्यहाँ धेरै पाइन्छ । त्यसैले छोरा नपाउन्जेलसम्म महिलाको ज्यान नै जाने गरी महिलाहरु गर्भवती भइरहन्छन् । धिरु र उनको परिवारलाई भेट्न हामी गाडी चढेर बाबले भन्ने गाउँ गयाैँ ।

आधा बाटो पुगेपछि त गाडी चढ्नुको सट्टा हिँडेर नै आएको भए ठीक हुने थियो जस्तो लाग्यो, किनभने बाटो असाध्यै नराम्रो थियो । गाडी छोडेपछि गोरेटो, पहाडी बाटोमा एक घण्टा हिँडेपछि हामी विष्ट परिवारको आँगनमा पुग्यौँ । त्यो बेलामा धिरु आँगनमा बसिरहेकी थिइन् । उनका दुई छोरीहरु उनीसँगै थिए । अरु छोरीहरु खेतमा काम गर्न गएका थिए ।

१५ वर्षमा विवाह भएर १६ वर्षमा पहिलो सन्तान जन्माएकी धिरुले ३५ वर्षमा १२ औँ सन्तान जन्माउन खोज्दा पाठेघर फुटेर प्रजनन स्वास्थ्यको समस्या भई मृत्युसँग लड्नुपरेको थियो । धिरुको छिमेकी दिदी–बहिनीले समयमा नै उनको खराब अवस्थाबारे थाहा पाई बयलपाटा अस्पताल ल्याएर मात्रै उनको जीवन बाँच्यो ।

पाठेघर फुटेपछि त शल्यक्रिया गरी पाठेघर निकाल्नु एकमात्र ज्यान बचाउने उपाय हो । यदि समयमा शल्यक्रिया गर्न सकिएन भने यस्तो महिलाको केही समयपछि मृत्यु भइहाल्छ । बयलपाटा अस्पतालमा यस्तो उपचार गर्दा पनि धिरु र उनको परिवारले एक पैसा तिर्नुपरेन । यस्तो सामुदायिक अस्पताललाई पैसा दिनुपर्छ भनेर हामी केही जनस्वास्थ्य विज्ञ लागिपरेका छाैँ ।

अस्पतालमा उपचार गराउनुको साथै समुदायमा नै उच्च रक्तचाप, मधुमेहको समस्याबारे जानकारी दिएर रोकथाम गर्नको लागि पनि जनस्वास्थ्य विज्ञहरु प्रयत्नशील छन् । तर स्वास्थ्य मन्त्रालयका पदाधिकारहरु भन्छन्, ‘तपाईंहरु कि अस्पतालको लागि मात्र स्रोत माग्नुस्, समुदायमा काम नगर्नुस्, कि समुदायमा मात्र काम गर्नुस्, अस्पतालमा काम नगर्नुस् ।’

स्वास्थ्य मन्त्रालयका यस्ता पदाधिकारीको सोच देखेर छक्क लाग्छ । समुदायमा जागरुकता फैलाएपछि अस्पताल आउने बिरामीको संख्यामा कमी आउँछ अनि अस्पतालको स्रोत पनि बच्छ भनेर मन्त्रालयले कहिले बुझ्ने हो ? यससम्बन्धमा मन्त्रालयका उच्च पदाधिकारीले विचार गर्नै पर्छ ।

धिरु विष्टजस्ता महिलालाहरु सुदूर पश्चिममा धेरै नै छन् । यदि समुदायमा गएर छोरा–छोरी भनेका एकै हुन् भनेर बुझाउन सके त्यति धेरै बच्चा पाउनुपर्ने विवशताबाट महिलाहरुले मुक्ति पाउन सक्थे होलान् । महिलाहरुलाई यस किसिमको प्रसव जटिलताबाट बचाउन प्रयास गर्न जरुरी छ । नत्र प्रसूति जटिलताका कारण धेरै महिलाहरुको अकालमै मृत्यु भएका खबर आई नै रहनेछन् ।

(तस्वीरहरु : सिर्जना देवकोटा)

प्रतिक्रिया दिनुहोस्