तपाईंका घरमा हाम्रा डाक्टर



१. कोलेस्ट्रोलको औषधि खानेहरुले जाडो महिनामा विशेष सतर्कता अपनाउनुपर्छ भन्छन् । किन यसो भनेको होला ? म पनि कोलेस्ट्रोलको औषधि खाने गर्छु ।

                                                                                                                                                            – रामराज कार्की, सैंबु ।

रामराजजी, कोलेस्ट्रोलको औषधि खानेहरुले जाडोमा खान नहुने वा खराब गर्ने अनि गर्मीमा राम्रो गर्ने भन्ने कुनै अध्ययनले देखाएको छैन । त्यस्तै यस्तो हुने कुरामा वैज्ञानिक आधार पनि छैन । विधिवत्रुपमा पनि त्यसो भनिने गरेको छैन ।

तपाईंलाई आवश्यक भएर त्यो औषधि दिइएको होला । औषधिको मात्रा अनि तरिका पनि चिकित्सकले विचार गरेरै दिएका होलान् । तसर्थ निश्चिन्त भएर खानुस् । साइड इफेक्ट हरेक कुरामा हुन सक्ने हुनाले जाडो होस् कि गर्मी त्यसलाई चाहिँ ख्याल गर्नै पर्छ ।

२. जाडो महिना शुरु भयो कि मलाई दमले अलि बढी नै दुःख दिन्छ । यस्तो समस्याबाट बच्ने कुनै उपाय बताइदिनुभए आभारी हुने थिएँ ।
– अशोक भट्टराई, सुनसरी ।

अशोकजी, जाडोमा दमले अलि बढी नै दुःख दिन्छ । जाडोमा चिसोले गर्दा श्वास नली साँघुरिन्छ र छातीको संक्रमण बढेर जान्छ । यो समयमा हावाको प्रदूषण पनि अधिक हुन्छ । साथै ढोका बन्द हुने, चिसो हावाबाट बच्न हिटर प्रयोग गर्नुपर्नेजस्ता कारणले हामीले फेर्ने श्वासमा अक्सिजनको मात्रा पनि अलि कम हुन्छ ।

यसबाट बच्ने उपाय भनेको हिटर भरसक नबाल्ने, कोठामा भेन्टिलेसनको लागि अलि–अलि खुला राख्ने, चिसोबाट बच्न न्यानो लुगा लगाउने गर्नुपर्छ । दमका रोगीले सकेसम्म धूलो उडाउने उनीको लुगा, कार्पेट, धुवाँ, धूलोसँग बच्ने गर्नुपर्छ ।

औषधि सेवन गर्नेहरुले नियमित गर्ने, हिटरको सट्टा हट वाटर ब्यागबाट तातो लिने, बिहान घाम लागेपछि घाममा बस्ने गर्नुपर्छ । सम्भावना र व्यवस्था गर्न सकिने सबै उपाय अपनाएर बच्नुपर्ने हुन्छ ।

३. म तीन वर्षदेखि कतारमा छु । ६ महिनादेखि मलाई निद्रा कम हुने, बिहान उठ्दा निराश मन हुने, काम गर्न मन नलाग्ने समस्या भइरहेछ । यसबाट मुक्त हुने केही उपाय छ कि ?

– सञ्जु मगर, हाल : कतार ।

सञ्जुजी, तपाईंले भनेका लक्षणहरु अनि परिवेश विश्लेषण गर्दा तपाईंलाई घरको सम्झना आएर डिप्रेसनको शुरुवात भएजस्तो लाग्छ । तीन–तीन वर्ष विदेशमा, अर्कै परिवेश, अर्कै संस्कार, अर्कै खाना, आफन्तबाट टाढा, सबैजना आ–आफ्नो स्वार्थमा व्यस्त, मानवीय भावनाको अभाव, एक्लो महसुस आदि कारणले गर्दा मानसिक प्रभाव पर्नु अस्वाभाविक पनि होइन ।

कमलो मन हुने, साधारण कुराले पनि छुने अनि भावुक मान्छेलाई यस्ता परिवेशले सजिलै प्रभाव पार्न सक्छ । यसबाट मुक्त हुनको लागि सबभन्दा पहिले मन बलियो बनाउनुप¥यो । आफू कुन उद्देश्यले अनि किन कतार आउनुप-यो र आफ्नो योजना अनि कर्तव्य के हो भन्ने कुरा महसुस गरी अन्तष्करण गर्ने अनि घरमा फोन गरी मनका कुरा बाँड्ने गर्नुस् ।

बिहान–बेलुका १५–२० मिनेट ध्यान अनि केही समय योग गर्ने गर्नुस् । सकारात्मक सोचसहितका पुस्तक वा लेखहरु पढ्ने गर्नुस् । यदि त्यसले पनि नभएमा त्यहीँको स्थानीय मनोचिकित्सक भेटेर परामर्श गर्न पनि सकिन्छ । त्यसले पनि नभए आफ्नो घर फर्कन सधैँ खुला छँदै छ । बिरामी भएर अनि न्यून र नकारात्मक सोच लिएर आफैँ पीडित हुने होइन ।

आफू त परिवार र समाजको लिडर हुने बारेमा सोचेर, सधैँ खुशी–सुखी महसुस गरेर अनि मेहनत गरेर जीवन बिताउनेमा लाग्नुपर्छ । मेरो सल्लाह मनन गर्नुहोला । आशा छ, यहाँले सुधारको महसुस गर्नुहोला ।

४. उच्च रक्तचापको औषधि खाएपछि जीवनभर छोड्न मिल्दैन भन्छन् । मलाई उच्च रक्तचापको औषधि सिफारिस गरिएको छ । मेरो उमेर ३६ वर्ष भयो । सो औषधि खाऊँ कि नखाऊँ भएर दोधारमा छु, उचित सल्लाहको अपेक्षा छ ।

– विशाल कार्की, नुवाकोट ।

विशालजी, औषधि खानु–नखानु, उमेर यति–उति भन्ने भन्दा पनि हाम्रो शरीरको रक्तचाप भनेजति ठिक्क वा नर्मल राख्ने हो र सुरक्षित हुने हो । हामीसँग ७–८ कक्षामा पढ्ने विद्यार्थी, १०–१२ वर्षका बच्चा वा ९० वर्षका ज्येष्ठ नागरिक जो–कसैले रक्तचाप बढेर औषधि खाएको पनि रेकर्ड छ ।

अनि विभिन्न अवस्थामा रक्तचाप घटेर औषधि घटाएको, छोडाएको वा रक्तचाप बढेर औषधि बढाएको पनि अनुभव छ । जीवनभर औषधि छोड्न नमिल्ने भन्दा पनि चिकित्सकको सल्लाह र आवश्यकता हेरेर औषधि खान शुरु गर्न, घटाउन अनि छोड्न पनि सकिन्छ । मुख्य कुरा ब्लड प्रेसर ठीक ठाउँमा राख्ने हो ।

धेरैले आजकाल २०–३० वर्षमै उच्च रक्तचापको औषधि शुरु गर्ने गरेको पाइन्छ । त्यसकारण दोधार नहुनुस् । ३६ वर्ष उमेर कम पनि होइन, परिपक्वता आउने वयष्क बेला नै मानिन्छ । चिकित्सकद्वारा सिफारिस गरिएको औषधि निश्चिन्त भएर खानुस् । बरु उच्च रक्तचाप भएकाले गर्नुपर्ने नियमित परीक्षण अनि जीवनशैली सुधारमा निरन्तरता दिनुहोला ।

५. जाडो महिना आयो कि मेरो शरीरको छाला एकदमै खस्रो हुने र फुट्ने गर्छ । यसको समाधान के होला ?
– रमिता केसी, बाग्लुङ ।

रमिताजी, जाडो महिनामा छाला खस्रो हुने, सुख्खा हुने सबैको हुन्छ । त्यही हो कि कसैको कम हुन्छ भने कसैको बढी हुन्छ । त्यसैले छालालाई जाडोमा सकेसम्म स्याहार गर्नुस् । धूलो, हिलो, सिमेन्टजस्ता वस्तुको सम्पर्कमा बस्नुपर्ने भएमा धुने वा सफा राख्ने गर्नुस् ।

खुट्टामा मोजा लगाउने गर्नुस् । छाला खस्रो भएमा वा फुटेमा मन तातो पानीले धुने, सुख्खा गरी पुछ्ने अनि भ्यासेलिन, क्रिम वा तेल लगाउने गर्नुस् । ओठ फुटेमा नियमित क्रिम लगाउने गर्नुस् । तपाईंको समस्यामा सुधार आउनेछ ।

६. मेरो ९ वर्षको बच्चालाई बरोबर घाँटी दुख्ने, हल्का ज्वरो आउने हुन्छ । यो एलर्जीले भएको हो कि भन्ने पनि लाग्छ । यसको उपचार कसरी र कहाँ गर्ने होला ?

                                                                                                                                                       – जसुदा थापा, काठमाडौं ।

जसुदाजी, बच्चालाई बारम्बार घाँटी दुख्ने, टन्सिल आउने, ज्वरो आउने भएमा तुरुन्त चिकित्सक वा स्वास्थ्यकर्मी देखाउनुपर्छ । यदि ब्याक्टेरियाको संक्रमणजस्तो देखिएमा एन्टिबायोटिक नै लिनुपर्ने पनि हुन्छ ।

किनभने यही साधारण टन्सिलले मुटुको बाथ रोग, मृगौलाको रोग, बाथ रोग, दम रोग आदि विकास गराउन सक्छ । यदि भाइरल भएमा त्यति डर लाग्दो हुँदैन । साधारण एलर्जीले ज्वरो आउने हुँदैन । यहाँ काठमाडौंमै बस्नु भएकाले बच्चालाई कान्ति अस्पताल, वीर अस्पताल, पाटन अस्पताल वा शिक्षण अस्पताल लैजान सक्नुहुन्छ ।

यदि धेरै पहिलेदेखि बेला–बेलामा यस्तो समस्या दोहोरिरहेको छ र कहिल्यै पनि उपचार गरिएको छैन भने एकपटक मुटुको परीक्षणसमेत गर्नुपर्ने हुन्छ । किनभने मुटुको बाथ रोग भएको पनि हुन सक्छ । त्यसलाई बेलैमा नियन्त्रण गर्नुपर्छ ।

७. मेरो खुट्टाका नसाहरु ठाउँ–ठाउँमा डल्लो परेका छन् तर दुखाइ छैन । यो कुनै रोग हो कि ? उचित सल्लाह पाऊँ डा. साब ?

– हर्क लामा, धादिङ ।

हर्कजी, खुट्टाका नसाहरुमा ठाउँ–ठाउँमा गाँठा पर्ने, डल्लो देखिने कारण रक्तनलीको समस्या हुन सक्छ । जसले धेरै समय उभिएर काम गर्छन् उनीहरुका खुट्टाका नसाहरु फुल्ने र गुजुल्टिने हुन सक्छ ।

पछी गएर खुट्टा सुन्निने र दुख्नेसमेत हुन सक्छ । अहिले शुरुकै अवस्था हुनाले कस्सिएको मोजा लगाउने र धेरैबेर उभिने नगर्नुस् । साथै नियमित हिँड्ने र खुट्टा चलाइरने गर्नुस् । साथै नियमित चिकित्सकसँगको परामर्शमा रहने सल्लाह दिन चाहन्छु ।

८. गुलिया फलफूलको जुस खाएर सुगर बढ्दैनभन्ने हाम्रो गाउँघरतिर विश्वास गर्छन् तर मलाई त्यसले सुगर बढाएको हो कि जस्तो लाग्छ । यो शंका निवारण गरिदिनुहुन अनुरोध छ ।
– शिव चन्द्र, सिन्धुलीमाडी ।

शिवजी, गुलियो धेरै खाने तर त्यसअनुसार पसिना नबगाउनेहरुमा चिनीरोग लाग्ने सम्भावना बढ्छ भन्ने कुरा निश्चित हो । अहिले समाजमा बढेको चिनीरोगको व्यापकताको कारण पनि त्यही जीवनशैली परिवर्तन नै हो ।

मानिसमा मेहनत गर्ने, हिँडडुल गर्ने, व्यायाम गर्ने भन्ने त दन्त्य कथामा जस्तो भैसक्यो । त्यतिले नपुगेर सधैँ भोज र मासु–रक्सीको सेवन अनि फलफूल, खाने तेल तथा तरकारीमा मिसावट । यी सबैको एकमुष्ट प्रभाव नसर्ने रोगको विकास हुन्छ ।

तसर्थ फलफूलको जुस प्राकृतिकरुपमा आफैँ बनाएर ठिक्क मात्रामा पिउन हुन्छ । त्यसले नै सुगर गरायो भन्ने नहोला तर थपथापको लागि भूमिका भने खेलेको हुन सक्छ । जे भए पनि अब नियमित व्यायाम गर्नुस्, चिकित्सकको सल्लाह लिनुस्, गुलियो कुरा, चामल, चिउरा, आलु, चिनी, मिठाई, मैदाजस्ता कुरा बार्ने गर्नुस् वा कम खानुस् ।

९. पानीको फोर्सले दाँत सफा गराउँदा दाँत राम्रो भएको अनुभव हुन्छ र म बरोबर यसरी डेन्टिसकहाँ गएर दाँत सफा गराउँछु । तर यसो गर्दा दाँत हल्लिने सम्भावना हुन्छ भन्छन् । सही सल्लाहका लागि आग्रह गर्दछु ।
– सुमिता पौडेल, लगनखेल ।

सुमिताजी, हाम्रो दाँत बिग्रने, कीराले खाने, नराम्रो देखिने कारण दाँतको स्याहार नपुगेर हो । नियमित स्केलिङ वा पानीको फोर्स गर्ने भन्दा पनि खाना खाएपछि बिहान–बेलुका दुईपटक ब्रस गर्ने, अघि–पछी पनि केही खाएपछि कुल्ला गर्ने, मुख सफा गर्ने वा फेरि ब्रस गर्ने, हरेकपटक ब्रस गरेपछि औंलाले मसाज गर्ने गरेर दाँतको स्याहार गर्नु राम्रो हो ।

कहिलेकाहीँ धेरै फोहोर भएमा र कडा पाप्रा जमेमा पानीको फोर्स प्रयोग गर्ने वा स्केलिङ गर्ने दन्तचिकित्सकले जे भन्नुहुन्छ त्यो गर्न नमिल्ने कुरै भएन । तर धेरै यस्तो गरेमा दाँतको जरा हल्लने अनि दाँत कमजोर हुने कुरा निश्चितरुपमा हो । तर नियमित दाँतको स्याहार गर्नेलाई त्यस्तो गर्ने आवश्यकता नै पर्दैन ।

१०. म स्वस्थ नै छु । अहिले ५० वर्ष पुगेँ । साथीहरु केही नभए पनि वर्षको एकपटक होलबडी चेकअप गर्नुपर्छ भन्छन् । यो खर्चिलो पनि रहेछ । के यसरी केही नहुँदा पनि बर्सेनि होलबडी चेकअप गर्न आवश्यक हुन्छ ?
– गणेशकुमार बस्नेत, जोरपाटी, काठमाडौं ।

गणेशजी, हरेक व्यक्ति यदि ४० वर्ष नाघेको छ भने नियमितरुपमा, कमसेकम वर्षको एकपटक स्वास्थ्य परीक्षण गर्नु वाञ्छनीय हुन्छ । त्यस्तै होलबडी चेक गर्ने भनेको राम्रै हुन्छ तर त्यसमा व्यापार प्रदायक संस्थाभन्दा पनि सेवा प्रदायक संस्थामा गराउनु राम्रो हुन्छ ।

जस्तो कि हाम्रो सरकारी केन्द्रीय प्रयोगशालामा प्याकेजको रुपमा रगत, दिसा, पिसाबको परीक्षण हुन्छ, त्यो गर्न सकिन्छ । अनि त्यहाँ छुटेका भिडियो एक्सरे, ईसीजी, छातीको एक्सरे वीर अस्पताल वा अन्य ठाउँमा गर्न सकिन्छ ।

त्यस्तै शिक्षण अस्पताल, सिभिल अस्पतालहरुले पनि होलबडी चेक गर्ने स्किम छ । त्यहाँ गराउँदा त्यति महँगो नपर्ला । अब विचार गर्नुस्, ५० वर्ष भैसक्नुभयो, केही नभए पनि गर्नु राम्रो नै हुन्छ । किनभने केही भए शुरुमै देखिन्छ र केही नभए झन् ढुक्क भइन्छ ।

११. मेरो ९ वर्षको छोरालाई स्वाँ–स्वाँ हुने समस्या भएको छ । खेलकुदमा भाग लिन पनि सक्तैन । यसको समाधान कसरी गर्न सकिएला ?
– राजीव श्रेष्ठ, बन्दिपुर ।

राजीवजी, यदि बच्चालाई स्वाँ–स्वाँ हुन्छ भने तुरुन्तै चिकित्सकलाई देखाएर परामर्श लिइहाल्नुस्, त्यो मुटुको रोग, फोक्सोको रोग, दम, बाथरोग, रगतको रोग जे पनि हुन सक्छ ।

एकपटक काठमाडौं आएर कान्ति अस्पतालमा शुरुवाती देखाउनुस् । त्यसपछि विशेषज्ञ सेवा चाहिने भएमा त्यहीँबाट स्पष्ट हुन्छ र कहाँ, कसलाई देखाउने भन्ने थाहा भैहाल्छ ।

यदि मुटुको समस्या देखिएमा १४ वर्षमुनिका बालबालिकालाई गंगालाल अस्पतालमा निःशुल्क उपचार हुन्छ । यदि फोक्सोको समस्या भएमा वीर अस्पताल अनि रगतको समस्या भएमा सिभिल अस्पतालमा सम्बन्धित विभागमा देखाउन सकिन्छ । घर बसेर, अनिश्चितता पर्खेर, लामा–झाँक्री गरेर समस्याको समाधान हुँदैन ।

१२. कतिपय प्राकृतिक चिकित्सकहरुले सेतो चिनी सकेसम्म नखानु भन्छन् । के साँच्चै सेतो चिनी स्वास्थ्यका लागि हानिकारक हो त ? गुलियो मन पर्नेले के खाँदा ठीक हुन्छ ? सुझाव पाऊँ ।
– जन्मेजय चौलागाईं, जोरपाटी ।

जन्मेजयजी, तपाईंले भनेजस्तै सेतो चिनी मात्रै होइन, नुन अनि मैदा पनि शरीरका लागि लाभदायी होइनन् । सकेसम्म यिनीहरु कम गर्ने, नखाने वा ४० वर्ष काटेपछि त एकदमै नियन्त्रण गर्नुपर्ने हुन्छ । सबै स्वास्थ्य अवस्था ठीकठाक भएकाले खान नै नहुने भन्नेचाहिँ हुँदैन, अलि–अलि खान हुन्छ नै ।

धेरै खान भएन, त्यही हो । त्यसमाथि चिनीरोग भएको भएमा गुलियो खान मन पर्नेको लागि सुगरफ्री चक्की पाइन्छ । त्यो अलि–अलि लिन सकिन्छ । ख्याल गर्नुपर्ने कुराचाहिँ खानुको साथसाथमा नियमित व्यायाम, योग, ध्यान गर्नुप¥यो, सकारात्मक सोच गर्नुप¥यो अनि सुझबुझ हुनुप-यो ।

प्रतिक्रिया दिनुहोस्