मसलाको प्रयोगमा सजग होऔँ



–डा. रामदेव पण्डित

(आयुर्वेद चिकित्सक)

खानामा मसलाको प्रयोग अन्यत्रभन्दा नेपाल र भारतमा अधिक हुने गर्दछ । मसला स्वस्थ्यको लागि हानिकारक छ कि स्वस्थकर ? धेरैको मनमा यो प्रश्न हुन सक्छ । इन्साइक्लोपिडिया अमेरिकाले मसला तथा जडीबुटीलाई ‘वनस्पतिजन्य उत्पादन, भोजनलाई स्वादिष्ट बनाउने, जसले खानामा सुगन्ध तथा स्वादिलो बनाउन मद्दत गर्छ भनी परिभाषित गरेको छ ।

भूगोल, हावापानी, जलवायु र स्वाद ज्ञानले विभिन्न परिकार बनाउँदा मसलाको प्रयोगबारे नेपाली समाज निकै जानकार छ । अझ मसलालाई औषधिको रुपमा, सौन्दर्य सामग्री बनाउन र प्रयोग गर्न पश्चिमी समाजभन्दा नेपाली समाज निकै अगाडि छ । मसला तथा जडीबुटीको भण्डारका रूपमा नेपाल एवं भारत विश्वप्रसिद्ध छ ।

यहाँ जीरा, जिम्बु, मरिच, अलैँची, अदुवा, पिप्पली, बेसार, खुसाँनी, ल्वाङ, अलैँची, लसुन, प्याज, टिमुर, ज्वानो, तेजपात, मंगरेल, मेथी, धनियाँ, सौंफ, दालचिनी, नागकेशर, पुदिना आदि मसला प्रमुखरुपमा पाइन्छ । अधिकांश मसलाहरुको स्रोत वनस्पतिहरु नै हुन् । अन्तर्राष्ट्रिय संगठन मानकीकरण (आईएसओ)द्वारा सूचीबद्ध १०९ मसलामध्ये नेपाल एवं भारतमा मात्र ७५ प्रकारका मसला उत्पादन हुने गरेको पाइन्छ ।

पोषणजन्य महत्व

मसलाहरू विशेष गरी भान्सामा पाक्ने परिकारहरूको सुगन्ध अनि स्वादिष्टता बढाउन प्रयोग गरिन्छ । यिनले भोजनमा विशिष्ट स्वाद प्रदान गर्दछन् । मसलामा कार्बोहाइड्रेट, प्रोटिन र बोसो गरी तीन खाले पोषण पाइन्छ । यसर्थ मसलाको पोषणजन्य महत्व छ । मसलाले शरीरमा शक्ति तथा खनिज लवण आपूर्ति गराउँछ ।

साथै मसलामा शक्तिवद्र्धक क्षमता (क्यालोरी) पनि हुन्छ । हरेक मसलामा निश्चित मात्राको क्यालोरी पाइन्छ । १०० ग्राम सयपत्री मसलामा ४३७, जाइफलमा ४७२, ज्वानोमा ३३४, जीराको गेडामा ३५६, बेसारमा ३१९, मेथीको गेडामा ३३३ मिलिग्राम क्यालोरी पाइन्छ ।

भोजनका परिकारमा मसलाको प्रयोग थोरै भए पनि पोषणमा प्रत्यक्ष योगदान पु¥याउने खालका हुन्छन् । त्यस अतिरिक्त मसलाहरुले भोक जगाउन तथा रुचि बढाउन पनि भूमिका खेल्छन् ।

स्वस्थ्यसम्बन्धी महत्व

मसलाले अधिक -याल उत्पन्न गराउनुको साथै अमाइलेज एन्जाइम, न्युरामिनिक एसिड (अम्ल), हेकसोसामाइन उत्पादन तथा सञ्चार गराउँछ । साथै मुखमा खानेकुरा तथा जीवाणु टाँसिनबाट बचाउन मद्दत गर्दछ ।

-यालको अधिक उत्पादनले अमाइलेज वा पिटाइलिनको उपलब्धता बढाउँछ । फलतः त्यसबाट खाना पचाउनमा सहजीकरण हुन्छ । खानालाई सुपाच्य स्वरुपमा रुपान्तरण गरी सजिलै पच्ने बनाउँछ । मसलाले मुख एवं पाचन प्रणलीमा उत्तेजना ल्याई सक्रियता पनि बढाउँछ । अतः मसलाहरूले भोक जगाउनुको साथै खानाप्रति रुचि पनि बढाउँछ ।

मसलामा धेरै खाले औषधिजन्य गुण हुन्छ । विभिन्न खाले औषधि बनाउन मसलाहरुको प्रयोग गरिन्छ । प्राकृतिक चिकित्सा प्रणाली, आर्युवेदिक चिकित्सा तथा युनानी चिकित्सामा वायु उत्सर्जक तत्वको रुपमा मसलाहरुको प्रयोग गर्ने गरिन्छ । प्रायः मसलाले शरीरमा गर्मी पनि दिन्छ । शरीरका छिद्रहरुमा भएको अवरोधलाई हटाउँछ । केही मसलाहरूले अपच, अजीर्णको निवारण गर्दछन् । घाउहरु सड्न, गल्न, पाक्न नदिने तथा मांसपेसीहरु बटारिन नदिने खालका हुन्छन् ।

मसलाकै रुपमा प्रयोग हुने बहुगुणी लसुन उच्च रक्तचाप निवारणको लागि पनि प्रयोग हुने गर्दछ । लसुनले एलडीएस, कोलेस्ट्रोल तथा ट्राइग्लाइसेराइडको मात्रालाई सन्तुलित गराउँछ । साथै संरक्षित गर्ने एचडीएल कोलेस्ट्रोलको मात्रालाई सामान्य अवस्थामा राख्न मद्दत गर्दछ ।

धूलो मसालाबाट सुगन्धित बाफ भएर उड्ने अत्यावश्यक तेलहरू निकालिन्छ । बाफ भएर उड्ने तेलहरू मसलाको सुगन्ध तथा वासनाका लागि तथा स्वादका लागि विख्यात मानिन्छ । मसलाको सुगन्धित तेलले भोक जगाउनुको साथै खानाप्रति रुचि बढाउँछ ।

शरीरको रक्षा

हिजोआज महँगा सौन्दर्यशालामा समेत जीरा, दालचिनी, ल्वाङ, जाइफल, मेथी, अलैँचीजस्ता मसला वा त्यसबाट उत्पादित तेलहरूको व्यापक प्रयोग गरिन्छ ।

सौन्दर्य र शरीरको रेखदेख एवं सुरक्षाका लागि नेपाली समाजमा मसलाको उपयोग परापूर्वकालदेखि नै प्रचलनमा छ । विविध मसला प्रशोधन नगरी काँचै शरीरको रङ्ग र सुगन्ध सुधार्नको साथै सुन्दर देखिन आज पनि प्रयोग गरिन्छ ।

बेसार लोकप्रिय मसलाको श्रेणीमा पर्दछ । जसलाई लेदो बनाएर अनुहारमा एवं शरीरमा लेप लगाएमा छालाको रङ्ग परिष्कृत हुन्छ । यसको साथै शरीरबाट नचाहिँदा रौँ हटाउन पनि बेसारको प्रयोग गरिन्छ । बेसार डण्डीफोरको फोका गलाउन, पाक्न नदिन प्रयोग गर्ने गरिन्छ । मसलाहरुलाई सौन्दर्य वृद्धिका लागि पनि प्रयोग गरिन्छ ।

सन् २०१९ मा इटलीमा भएको एक अनुसन्धानअनुसार जो व्यक्ति हप्तामा ४ दिन रातो खुर्सानी राखी तयार पारिएको खाना खाने गर्दछ उसलाई असमय मृत्युको खतरा कम हुन्छ ।

त्यसै गरी सन् २०१५ मा चीनमा भएको अर्को एक अध्ययनअनुसार हप्तामा एक दिन रातो खुर्सानी खानेको भन्दा प्रत्येक दिन खुर्सानी खानेको आयु लामो हुने गर्दछ । साथै त्यस्ता व्यक्तिमा क्यान्सर, हृदयरोग एवं श्वासप्रश्वाससम्बन्धी समस्या कम हुने गर्दछ । यसको मतलब यो कदापि होइन कि स्वास्थ्य ठीक राख्न अधिक खुर्सानी खानुपर्छ ।

तरकारीमा प्रयोग हुने मसला पनि दुई थरीको मान्न सकिन्छ । पहिलो दैनिक प्रयोग हुने मसला जस्तै– लसुन, अदुवा, जीरा, प्याज, हरियो धनियाँ हुन् भने अर्को गरम मसला जसमा ज्वानो, ल्वाङ, सुकुमेल, मेथी, हिङ आदि पर्दछन् । उहिल्यै पुर्खाहरुले मरमसलालाई ढुंगाको खलमा राखेर पिस्ने गर्थे र तरकारी पाकेपछि मात्र हालेर खाने गर्थे, जुन ताजा हुन्थ्यो र स्वास्थ्यका लागि हितकर पनि ।

अचेल खलमा पिस्ने काम लुप्त हुँदै गएको छ र मसला पहिले नै तेलमा भुट्ने चलन आएको छ । सजिलोका लागि ताजा मसलाको सट्टा सिल प्याक मसलाको प्रयोग बढेको छ । सिल प्याक भएका मसलामा प्राकृतिक लवण र औषधीय गुण हुँदैन । अहिले जति पनि प्याकेटवाला मसला प्रयोग हुन्छन्, ती रङ्ग हालिएका हानिकारक हुन्छन् ।

तरकारीमा ताजा मसला जस्तै– अदुवा, लसुन र जीरा थोरै मात्रामा पिसेर राख्नु बेस हुन्छ । यसका अलावा गरम मसला, धनियाँ पत्ता, ज्वानो, पुदिना, टिमुर, अलैँची आदि धेरै कम मात्र प्रयोग गर्नुपर्छ । गरम मसला दैनिक प्रयोग गर्नु आवश्यक छैन । धेरै मसलाको दैनिक प्रयोग स्वस्थकर हुँदैन ।

त्यसैले मात्रा मिलाएर खाए मसला स्वस्थकर हुन्छ, अधिक मात्रामा खाए त्यही हानिकारक बन्न जान्छ । त्यस अतिरिक्त मसलालाई कसरी खानामा प्रयोग गरिन्छ, त्यो पनि उत्तिकै महत्वपूर्ण हुन्छ । भान्छामा जति पनि मरमसला प्रयोग गरिन्छ तिनलाई सही रूपमा बनाउन जाने, मिसाउन र पकाउन जाने तिनले औषधिको काम गर्दछन् ।

मसलाहरुलाई सही रुपमा मिलाएर खाएमा स्वास्थ्यलाई धेरै फाइदा पुग्छ । आजभोलि मसलालाई जिब्रोको स्वाद र नाकको सुगन्धलाई बढाउने रूपमा मात्र प्रयोग गरेको पाइन्छ, जुन हानिकारक हो । मसला बहुगुणी छ, मात्रा मिलाएर सही तरिकाले पकाएर खान जाने बहुहितकारी हुन्छ । अतः दैनिकजसो प्रयोग गरिने मसलाको प्रयोग सजगरुपमा गरौं ।

प्रतिक्रिया दिनुहोस्