यसरी शौच शैली सुधारौं



  • डा. क्षितिज बराकोटी
    (प्राकृतिक चिकित्सक)

स्वस्थकर खानपान भएर मात्र पुग्दैन, त्यसको उचित निष्कासन भएन भने त्यसबाट अनेक समस्याहरु शुरु हुन्छन् । त्यसैले हामीले दिसापिसाब गर्ने बानीमा सुधार गर्नु आवश्यक हुन्छ । शौच शब्दले सामान्यतया दिसापिसाब गर्ने बुझाए पनि यसको व्यापक अर्थ शुद्धीकरण हो ।

योगमा शौच भन्नाले शरीर तथा मनका मैलाहरुको समेत सफाइ भन्ने जनाउँछ । तर यस लेखमा भने दिसापिसाब सम्बन्धमा किन ध्यान दिनु जरुरी छ भन्ने बारेमा चर्चा गरिन्छ ।

दिसापिसाबको उचित समय

सकेसम्म बिहानै पेट सफा हुने उपाय गर्नुपर्दछ । पेट सफा भएन भने त्यसबाट दिनभरि नै पेटलगायत शरीर नै भारी रहन्छ । त्यसैले यदि उठ्नासाथ दिसाको प्रेसर बनेमा पानी पिएर शौचालय गैहाल्नुपर्दछ ।

यदि दिसाको प्रेसर छैन भने करिब आधादेखि एक लिटरसम्म मनतातोभन्दा केही बढी तातो पानी पिएर तत्कालै विभिन्न यौगिक अभ्यासहरु जस्तै– अग्निसार क्रिया (करिब ५० देखि १०० पटक), ताडासन, तीर्यक ताडासन, कटिचक्रासन, उदराकर्षण (घुँडा दुखेकाले उदराकर्षण नगर्ने), पवनमुक्तासन र भुजंगासन प्रत्येकलाई १० देखि १५ पटकसम्म अभ्यास गरी शौचालय जाने गर्नुपर्दछ । दिसापिसाब रोक्ने गर्नुहुँदैन । त्यसले अनेक समस्याहरु आउने हुन्छ ।

दिसापिसाबको स्वरुपप्रति सजग बनौँ

दिसापिसाबको रंग, गन्ध, अवस्था र प्रकारलाई बुझ्नु अति नै जरुरी छ । यसबाट शरीरको स्वस्थता वा अवस्वस्थताबारे अनुमान लगाउन सकिन्छ ।

सामान्य दिसा : दिसाको स्वाभाविक रंग प्रायः खैरो वा हल्का पहेँलो मिश्रित खैरो हुन्छ । जस्तो रंगको भोजन खाए पनि पच्ने क्रममा पित्त र अन्य पाचन रसहरु मिसिएका कारण यसबाट उत्सर्जन हुने मलमा यस्तो खैरो स्वाभाविक रंग हुने गर्दछ । सधैँ आउने सामान्य दिसाभन्दा फरक भएमा सतर्क हुनुपर्दछ ।

अलि उज्यालो हल्का सेतो दिसा : दिसाको रंग हल्का सेतोजस्तो वा अलि कम गाढा वा उज्यालो खालको देखियो भने त्यसमा पित्तनलीको अवरोध, कलेजोको समस्या वा जन्डिसको अवस्था हो कि भन्ने अनुमान गर्नुपर्दछ ।

गिलो दिसा : सामान्य अवस्थामा पनि गिलो दिसा आउन सक्छ । साथै पेटमा वायु बढ्दा वा अपच हुँदा बाक्लो गिलो खालको दिसा आउन सक्छ ।

पातलो दिसा : अपच, झाडापखाला आदिमा पातलो वा तरल खालको फिका रंगको, खाना खाएको रंगको वा हल्का सेतो–पहेंलोजस्तो दिसा हुन्छ ।

कडा र गोटायुक्त दिसा : दिसा कब्जियत हुँदा कडा, गोटायुक्त दिसा हुन्छ । पानी कम पिउने, रेसा–चोकर भएको खाना नखाने, मैदाबाट बनेको खाना खाने कारणले पनि यस्तो दिसा हुन्छ । कब्जियत जटिल भई धेरै दिनसम्म दिसा नभएमा आन्द्राले पानी सोस्ने हुँदा दिसा झन्–झन् कडा भई गोटा पर्ने वा दिसा नै नआउने हुन्छ ।

कब्जियत भएर वायु बढेमा दिसा थोरै, गिलो, एकैपटकमा ननिस्केर पटक–पटक हुने हुन्छ । फलाम चक्कीको प्रयोग गर्दा, गर्भावस्था, आहारमार्गमा भएको अवरोध, आन्द्राको कमजोरी, आनिबानी पनि दिसा कब्जियत गर्ने कारणहरु हुन् ।

हरियो रंगको दिसा : हरियो रंगको दिसा हुनुका पछाडि पित्तको कमी वा अवरोध वा अपच कारण हुन सक्छ ।

कालो दिसा : दिसाको रंग कालो आएमा भोजन मार्गको माथिल्लो भागमा रक्तस्राव भएको शंका गरिन्छ । तर कहिलेकाहीँ कोदो, किम्बु आदि कालो रंगको खानाले पनि दिसाको रंग कालो हुन्छ । आइरन चक्की वा यसका पूरक तत्वहरु (आइरन सप्लिमेन्ट) ले पनि दिसाको रंग कालो हुन्छ ।

रगतयुक्त दिसा : ताजा रगत मिसिएको दिसा आएमा तल्लो भोजन मार्ग (सानो वा ठूलो आन्द्रा, मलद्वार) मा रक्तस्राव भएको जस्तै– पेटभित्रका सुन्निने रोग (इन्प्mलामेटरी बावेल डिजिज जस्तै– क्रोन डिजिज, अल्सरेटिभ कोलाइटिस), मलद्वारका रोग (अलकाई, फिसर आदि), ठूलो आन्द्रा तथा मलद्वारको क्यान्सर आदि भएको अनुमान गरिन्छ । कडा दिसाले मलद्वार च्यातेर पनि ताजा रगत आउँछ ।

श्लेष्मायुक्त दिसा : सिँगानजस्तो आउँमिश्रित वा म्युकसयुक्त दिसा आएमा त्यो पनि साधारण कोलाइटिस र रगतसहित म्युकस आएमा आन्द्राहरुको सुन्निने वा संक्रमण, अल्सरेटिभ कोलाइटिस तथा अमिबा आदिको कडा संक्रमण हुन सक्छ । अलि–अलि आँखाले नदेखिने गरी म्युकस आउने सामान्य पनि हुन्छ तर बढी आउनु रोग हो ।

दिनमा एक–दुईपटक दिसा आउने बेलामा पेट दुख्ने र सामान्य दिसा हुने अनि दिसा गरेपछि केही नहुने अवस्था ठीक अवस्था हो । तर धेरैपटक दिसा हुने, पातलो वा म्युकस वा रगतयुक्त दिसा हुनु असामान्य अवस्था हो ।

कम वा बढी दिसा : दिसाको मात्रा कम हुनुमा कब्जियत र खाना नै कम खानु मुख्य कारण हुन् । आन्द्रामा नै अवरोध भएमा पेट दुखाइको साथमा बान्ता पनि हुने गर्दछ ।

दिसा बढी आउनुका पछाडि खानाको मात्रा बढी, अपच, पाचन अंगमा कुनै कृमिको संक्रमण, आन्द्राका रोगहरु आदि कारण हुन सक्छन् ।

दुर्गन्धित दिसा : विकृत खानपानले दिसाको गन्ध बढाउँछ । यसरी नै झाडापखाला, ब्याक्टेरिया आदिको संक्रमण भई दिसामा पीप मिसिएर आउने, कुनै खानाको एलर्जी, आन्द्राको बनावट, सानो आन्द्राको घाउयुक्त कोलाइटिस, क्रोन्ज डिजिज, अपच, खाद्य विषाक्तता, कलेजो तथा प्यान्क्रियाजका रोग आदि कारणले पनि दिसा दुर्गन्धित आउँछ । बच्चाहरु तर्सिंदा सातो गएर पनि दिसा बढी गनाउने आउँछ । कुनै औषधिको प्रयोगमा पनि यस्तो हुन सक्छ ।

पिसाबको अस्वाभाविकताप्रति सजगता

हामीले खाएको, पिएको तरल खानेकुराहरु आमाशय, आन्द्रा आदिबाट पचेर अवशोषित भएपछि रगतमा मिसिन्छ र त्यसलाई मिर्गौलाले छानेपछि त्यो पिसाबको रुपमा मूत्रथैलीमा जम्मा हुन्छ । बढी भएपछि पिसाबले च्याप्छ ।

पिएको पानी, खानाको किसिम, मौसम, कामको प्रकृति वा शारीरिक अभ्यास, मिर्गौला रोग आदिका कारणले पिसाबको मात्रा निर्धारण हुन्छ । पिसाबसम्बन्धी अस्वाभाविकता वा समस्या आएमा ध्यान दिइहाल्नुपर्छ ।

सामान्य पिसाब : हल्का पहेँलो र पानीजस्तै देखिने गरी ठीक मात्रामा विनाकठिनाइ आइरहेको छ भने त्यो सामान्य पिसाब हो ।

गाढा सुन्तले वा बढी पहेँलो पिसाब : पानी कम पिउँदा, चर्को घाममा बस्दा, बढी पसिना बग्दा, बढी व्यायाम गर्दा पिसाबको रंग पहेँलो गाढा र सुन्तले देखिन्छ ।

रातो र गुलाबी पिसाब : मूत्रमार्गमा रक्तस्राव वाकडा संक्रमण, चोटपटक, पत्थरी, मिर्गौला रोग, क्यान्सर वा ट्युमर आदि कारणले यस्तो हुन सक्छ । कतिपयलाई पिसाब गर्दा ज्यादै पीडा हुने (चह¥याउने वा पोल्ने) पनि हुन्छ । नदुखीकन रगत आएको छ भने समस्या जटिल, जस्तै– क्यान्सर पनि हुन सक्छ । कहिलेकाहीँ चुकन्दर आदिको रसले पनि पिसाबमा हल्का परिवर्तन आउन सक्छ ।

धमिलो पिसाब : मिर्गौैलाको पत्थरी र मूत्रमार्गको संक्रमणले धमिलो पिसाब देखिन्छ । औषधिको प्रयोग (जस्तै– एन्टिबायोटिक, मलेरियाको औषधि आदिले खैरो खालको वा गाढा धमिलो पिसाब आउन सक्छ ।

थोरै पिसाब : पिसाब थोरै आउनुका पछाडि पानीको कमी, बढी पसिना, मिर्गौला रोग, प्रोस्टेटको रोग आदि कारण हुन्छन् । मनोरोगमा पनि पिसाबको आनिबानीमा फरक पर्न सक्छ ।

चर्पीमा कमोड वा प्यान कुन राम्रो ?

चर्पी कस्तो ठीक भन्ने बारेमा निकै बहसहरु भएका छन् । कसैले कमोड (कुर्सीमा बस्ने खालको) राम्रो मानेका छन् भने कैयौंले प्यान (बस्ने खालको) बढी फाइदाजनक मान्दछन् । दुवैको राम्रा–नराम्रा पक्षहरु रहेका छन् ।

कमोड : घुँडा, कुर्कुच्चा र कम्मर दुख्ने, नसा च्यापिने आदि समस्यामा यस्तो कुर्सी प्रयोग गर्नु आवश्यक छ । यस्तो चर्पीको सिट सबैले उही प्रयोग गर्ने हुँदा अस्वस्थकर हुने, पानी बढी लाग्ने, ट्वाइलेट पेपर प्रयोग गर्दा बढी खर्चिलो हुने, बस्दा पेटमा दबाब नपर्ने र ढल्काइ नमिल्ने कारणले यो ठीक नहुने भन्ने धेरैको भनाइ रहेको छ ।

प्यान : यस्तो चर्पी सफाइको दृष्टिकोणले उपयोगी मानिन्छ । यो चर्पी प्रयोगमा पानी कम लाग्छ । यस चर्पीले शरीरलाई ठीक सन्तुलित राख्नुपर्छ भन्ने संकेत गर्छ । पेटमा दबाब र ढल्काइ मिल्ने कारणले पेट सफा हुन सहयोग मिल्छ भन्ने मानिएको छ । तर बढी मोटा, घुँडा–कुकुच्चा दुख्ने, कम्मर दुख्ने आदि अवस्थामा यो चर्पीले समस्या अरु बढाउँछ ।
चर्पीमा एकाग्रता जरुरी

दिसा बस्दा मोबाइल चलाउने, पत्रिका पढ्ने, टिभी हेर्ने वा अनावश्यक सोच गर्ने गर्दा एकाग्रता भंग भई पेट सफा नहुने हुन्छ । दिसा गर्ने काममा पनि एकाग्रता चाहिन्छ । एकाग्रताले पेटका नसाहरुमा उत्तेजना ल्याएर आन्द्राको गतिशीलतामा वृद्धि ल्याउँछ । कतै–कतै शौचकर्ममा कानमा जनै हाल्ने र नबोल्ने परम्परा पनि यसै कारण हुन सक्छ ।

दिसापिसाब ठीक राख्ने उपाय

उचित किसिम र मात्रामा हरियो तरकारी, सलाद, चोकर आदिको प्रयोग गरेमा त्यसबाट पेट सफा हुन्छ । बढी भारी र विकृत खानपानले दिसापिसाब गडबड हुन्छ । आफ्नो शरीरको क्षमता र अवस्था अनुसार पनि खानपान गर्नुपर्दछ । पानीको मात्रा र शुद्धतामा पनि ध्यान दिनुपर्दछ ।

खानपान, उचित बानीव्यवहार, नियमित योगाभ्यास, प्राकृतिक चिकित्सा (हिपबाथ, मडथेरापी, एनिमा आदि) ले पनि दिसापिसाबलाई स्वस्थ राख्न मद्दत गर्दछ । दिसापिसाब गडबड गर्ने रोगहरुका लागि स्वयंले बढी ध्यान दिने र चिकित्सकको सल्लाह लिने गर्नुपर्दछ ।

दिसापिसाब गडबडी भएमा प्रयोगशालामा जाँच गर्नुपर्छ र आवश्यक परे एक्सरे, अल्ट्रासाउन्ड, ग्यास्ट्रोसकोपी, कोलोनोस्कोपी आदिले जाँच गर्नुपर्ने हुँदा चिकित्सकलाई देखाउनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्