रङ्ग र यौनिकता



डा. राजेन्द्र भद्रा

प्रश्न : अहिले म २१ वर्षको भएँ । स्वाभाविक रुपमा नै मलाई यौन चाहना हुन्छ । तर विशेष गरी रातो रङ्गका लुगामा, अझै रातो लिपस्टिक लगाएकी महिलालाई देख्दा मन नै कसो–कसो हुन्छ । मेरो प्रणय सम्बन्ध हुने सम्भावना नै नभएको थाहा हुँदाहुँदै पनि ममा उनीप्रति यौन भावना जागृत हुन्छ । यी कुराले मलाई असहज बनाउने गर्दछ । रङ्ग र यौन आकर्षणको कुनै सम्बन्ध हुन्छ÷हुन्न र मैले के गर्नुपर्ला ?

-निर्मल थापा

हामी रङ्ग कसरी देख्छौं ?

मानवका इन्द्रियहरूमध्ये दृष्टि पनि एउटा महत्वपूर्ण इन्द्रिय हो । दृष्टिका लागि आँखाको भूमिका हुन्छ । हाम्रो आँखाको रेटिना भनिने भित्री परतमा रड (गोलो नली आकार) र कोन (सोली आकारको) विशेष कोषिकाहरू हुन्छन् । यी दुई प्रकारका कोषिकाहरूमध्ये ‘कोन’ भनिने कोशिकाको मद्दतले बाहिरका प्रकाशबाट आएका सन्देशहरू हाम्रो मस्तिष्कमा पुग्छन् । त्यसपछि हाम्रो मस्तिष्कले अर्थ लगाउँछ, अनि हामी रङ्गको पहिचान गर्छौं । हाम्रो दैनिक जीवनमा रङ्गको महत्वपूर्ण स्थान हुन्छ ।

रङ्गको माध्यमबाट हामीले खाना, वनस्पति तथा प्राणी जगत्का यावत् वस्तुहरू, धातु तथा अधातुजस्ता कतिपय वस्तुहरूलाई सहजै चिन्ने गर्दछौं । रङ्गको पहिचान गर्न सक्नु मावन जीवनको एउटा विशेषता नै हो । हाम्रो जीवनमा यसको विशेष योगदान हुन्छ ।

हामीमध्ये कतिपयले कुनै रङ्ग विशेषमा अधिक अभिरुचि राख्ने वा मन पराउने गर्दछाैँ । यसका साथै हाम्रो जीवनको महत्वपूर्ण पक्ष ‘यौनिकता’मा पनि रङ्गको भूमिका रहेको हुन्छ ।

रङ्ग र यौनिकता

तपाईं रातो पहिरनमा भएका महिलाप्रति यौनिक दृष्टिले बढी आकर्षित हुनु एक स्वाभाविक कुरा हो । स्वाभाविक रुपमा नै उनीहरू बढी आकर्षक देखिन्छन् । रातो रङ्गको विशेष स्थिति हुने हुन्छ ।

साथै अन्य कतिपय रङ्गहरूको पनि यौनिकतासँग प्रत्यक्ष/अप्रत्यक्ष रुपमा केही न केही सम्बन्ध रहेको हुन्छ । तर त्यसमध्ये केही रङ्गहरू विशेष रुपमा यौनिकतासँग जोडिएका हुन्छन् । यौनिकताको सन्दर्भमा केही प्रमुख रङ्गहरूको बारेमा संक्षेपमा चर्चा गरौं।

रातो 

रातो रङ्गलाई रोमान्स अर्थात् प्रणय सम्बन्धसँग जोडिएको मानिन्छ । कतिपय पूर्वेली समाजमा विवाहमा दुलहीलाई रातो पहिरन, अनुहारमा लाली र हत्केला र पैतालामा रातो लगाइदिने चलन छ । अहिले आधुनिक समाजमा रातो गुलाफको थुङ्गा प्रेमी–प्रेमिकालाई पठाउने चलन छ ।

फुङ्ग उडेको वा फिका रङ्गको भन्दा अनुहारमा केही रातोपन हुँदा जैविक रुपमा स्वस्थ रहेको संकेत गर्दछ । व्यक्तिमा रातोपन वा केही लाली हुँदा उक्त व्यक्ति आकर्षक मानिने मुख्य आधार पनि यही हो । यसका साथै अनुहार, ओठमा रक्तप्रभाव बढी हुनुले रातोपन बढ्न जान्छ, जसले यौन आकर्षकता बढाउँछ ।

बजारमा रातो रङ्गको लिपस्टिकको नै बाहुल्यता हुने गरेको पाइन्छ । ओठमा रातो लगाउने चलन करिब १२ हजार वर्षपहिलेदेखि नै भएको अनुसन्धानले देखाएको छ । पुरुषसँग सम्बन्ध अघि बढोस् भन्ने चाहना राख्ने महिलाले आफू आकर्षक देखिन प्रायजसो रणनीतिक रुपमा विशेष गरी रातो रङ्गको पहिरन, शृङ्गार र अन्य सामान बोक्ने गरेको पाइन्छ । विभिन्न अध्ययनहरूले पनि रातो रङ्ग प्रयोग गर्ने महिलाप्रति पुरुष बढी आकर्षित हुने गरेको पाइएको छ ।

रातो रङ्गलाई जोश वा वासना अनि तापसँग पनि जोड्ने गरिन्छ । रगत रातो हुन्छ र यौनिकताको सन्दर्भमा यसले जीवन र जीवनशक्तिलाई प्रतिविम्बित गर्दछ । भनिन्छ, यो रङ्ग रुचाउनेहरु चाँडै नै यौन उत्तेजित हुने र सबै तरिकाबाट यौन आनन्द प्राप्त गर्ने गर्दछन् ।

गुलाबी 

यो रङ्ग रुचाउनेहरू आफूले दिने चाहना भएको भन्दा बढी नै दिन्छु भनेर बाचा गर्ने गर्दछन् भनिन्छ । अहिले यस रङ्गलाई विशेष गरी केटीको रङ्ग भन्ने गरिन्छ । बाल्यावस्थादेखि नै पहिरन, खेलौनालगायत अन्य सामग्रीहरु यही रङ्गको दिने गरिन्छ ।

नीलो 

पूर्वीय समाजमा नीलो रङ्गलाई भगवान् श्रीकृष्णको रङ्गको रुपमा लिइन्छ । यसलाई आकाश, समुद्र र अनन्तताका साथै पुरुषत्वसँग पनि जोडेर हेर्ने गरिन्छ । शान्तिको रङ्ग भनेर चिनिने यो रङ्ग मित्रता, विश्वास र कुराकानीसँग सम्बन्धित मानिन्छ ।

आफ्नो यौनसाथीको आवश्यकतालाई पूरा गर्न संवेदनशील रहने विश्वास गरिन्छ । अहिले यस रङ्गलाई विशेष गरी केटाको रङ्ग भन्ने गरिन्छ र बाल्यावस्थादेखि नै पहिरन, खेलौना अनि अन्य सामग्री यस रङ्गको दिने गरिन्छ ।

कालो 

कालो रङ्गलाई पश्चिमा मुलुकमा मृत्युसँग जोड्ने गरिन्छ । पूर्वीय समाजमा पनि यसलाई खराब वा अशुभका साथै अँध्यारो र क्रोधसँग जोड्ने गरिन्छ । ‘यौन’ जीवनको शुरुवात हो, तर कालो रङ्ग यसको विपरीत पाटोमा छ । खराब आँखा नलागोस् भनेर बचाउन पनि कालो रङ्गको टीका लगाइदिने चलन छ ।

सर्वमान्य नभए पनि यौन अपराधीले रुचाउने रङ्ग मानिन्छ । कालो रङ्ग मन पराउने व्यक्तिहरू विकृत वा बिग्रेका हुन्छन् तथा काम–पीडक हुन्छन् भनिन्छ ।

हरियो 

यसलाई प्रकृतिको रङ्ग मानिन्छ । यो रङ्ग रुचाउनेहरूले यौनको मामिलामा ताजापन तथा निर्बोधता ल्याउने विश्वास गरिन्छ । प्रणय वा वैवाहिक सम्बन्धमा उनीहरुले धोका नदिने विश्वास गरिन्छ ।

पहेँलो 

यो रङ्ग नवीन विचार र घामको प्रतिकका रुपमा लिइन्छ । यो रङ्ग रुचाउने व्यक्तिको यौनेच्छा केही जटिल किसिमको हुने भए पनि आफूलाई परिस्थित अनुकूल बनाउने विश्वास गरिन्छ । भनिन्छ, उनीहरु आफैँ सक्रिय हुने भन्दा यौन जोडीको पहललाई स्वीकार्य गर्ने गर्दछन् ।

सुन्तला 

यो रङ्गले रातो रङ्गका कतिपय पक्षलाई समाहित गर्ने विश्वास गरिन्छ । यो रङ्गमा निको पार्ने (healing) गुण भएको मानिन्छ । यौनिकताको सन्दर्भमा यसलाई यौन परिकल्पनासँग जोड्ने गरिन्छ र पर्याप्त पाक्क्रीडा गर्ने कुरासँग जोड्ने गरिन्छ ।

बैजनी 

यो रङ्गलाई आत्मा, अध्यात्मको रङ्ग मानिन्छ । यसका साथै यसलाई कल्पित वा पौराणिक कुरासँग जोड्ने गरिन्छ । यो आध्यात्मिकतासँग पनि जोडिएको मानिने भएकोले यसलाई रुचाउने व्यक्ति यौनबाट वञ्चित रहने मानिन्छ । यी रङ्ग रुचाउनेहरू धेरै नै परिष्कृत हुने र अरूको भन्दा आफ्नो यौन–सुखमा ध्यान दिने विश्वास गरिन्छ ।

सेतो 

सेतो रङ्ग रुचाउनेलाई स्वच्छता कडारुपमा अवलम्बन गर्ने र यौन कार्यलाई फोहोरी कार्य ठान्ने रहेको विश्वास गरिन्छ । उनीहरू यौनकार्य दिनको उज्यालोमा नगर्ने किसिमका हुन्छन् भनिन्छ । पूर्वीय संस्कृतिमा यो रङ्ग मृत्युसँग जोडिएको पाइन्छ । कसैको मृत्युको आशौचमा बस्दा सेतो पहिरन लगाउने गरिन्छ ।

विधवा महिलाले विशेष गरी सेतो रङ्गको पहिरन लगाउनुपर्ने चलन छ, जुन उनको यौनिकतालाई प्रभाव पार्ने कुरा नै हो । तर पश्चिमा संस्कृतिमा यसलाई पवित्रताको प्रतिक मानिन्छ र अक्षत योनि भएको संकेतको रुपमा विवाहमा दुलहीले सेतो पहिरन लगाउने चलन छ ।

यौनिक अल्पसंख्यक र रङ्ग

तपाईंले यौनिक अल्पसंख्यक र विशेष गरी (Lesbian, Gay, Bi-sexual, Trans-sexual/LGBT) वा गे परेडमा रङ्गीचङ्गी झन्डाको प्रयोग गरिएको देख्नु नै भएको होला । यी रङ्गहरूले विभिन्न एलजीबीटी (LGBT) यौनिक अल्पसंख्यकलाई संकेत गर्दछ (टेबुलमा हेर्नुहोस्) ।

शुरुमा यी सप्तरङ्गी रङ्गहरूको प्रयोग हुन थालेपछि, पछिल्लो समयमा यसलाई बढी समावेशी बनाउन रङ्गहरू थपिएको छ तर पुरानो रङ्ग र त्यसको अर्थ विस्थापित भने भइसकेको छैन ।

कसैले ६ रङ्ग प्रयोग गर्दछन् भने कसैले सप्तरङ्गी (इन्द्रेणी) र कसैले सो भन्दा बढी रङ्गहरूको प्रयोग गरेको पाइन्छ । यसअन्तर्गत पर्ने विभिन्न उपसमूहहरूले आफ्नो पहिचानको लागि विभिन्न रङ्गहरूको संयोजनको प्रयोग गर्ने गर्दछन्।

रङ्ग र लैङ्गिक भिन्नता

अहिले अध्ययनहरूमा तुलनात्मक रुपमा केटीले गुलाबी र केटाले नीलो रङ्गमा बढी अभिरुचि देखाउने देखिएको छ । तर यो कत्तिको प्राकृतिक हो, भन्न सकिने स्थिति छैन । एक अर्को उदाहरणको रुपमा गुलाबी रङ्ग केटी वा महिलाको र नीलो रङ्ग केटा वा पुरुषको ठानिने कुरा आमसञ्चार र शहरी संस्कृतिको प्रभावको कारणले भएको देखिन्छ ।

शहरदेखि दूर आमसञ्चारको प्रभावभन्दा बाहिर रहेका केटा र केटीमा शहरी केटा वा केटीको तुलनामा यीसँग प्रतिरुचि भएको वा परहेज गर्ने रुझान देखिएको पाइएको छैन ।

के गर्नुपर्ला त ?

विभिन्न रङ्गप्रति तपाईं–हाम्रो अभिरुचि हुन सक्छ र कुनै हामीलाई बढी आकर्षक लाग्छ भने कुनै कम । यौन भावना स्वाभाविक हो र रङ्गको प्रभावलाई लिएर धेरै चिन्ता लिनुपर्ने आवश्यकता छैन । एक हदसम्म रङ्गको प्रभाव हुने भए पनि तपाईंमा आफ्नो यौन आचरण नै अनियन्त्रित हुने स्थिति आउँछ भन्ने छैन ।

यी प्रभावका बाबजुद हामीले अहिलेको समाजमा रहनको लागि प्रचलित मूल्य–मान्यता अनुरुपको आचरण गरी यौन भावनाको व्यवस्थापन गर्नुपर्ने हुन्छ । रङ्गको प्रभावमा परेर यौन आकर्षणमा परियो भन्दैमा असामाजिक यौन आचरणको पछि लाग्नु उचित हुँदैन ।

समाजलाई स्वीकार्य प्रणय वा यौन सम्बन्धको सन्दर्भमा तपाईंले वा तपाईंको यौनसाथीले आफूलाई मन पर्ने रङ्गको पहिरन, शृङ्गार वा अन्य सामग्री प्रयोग गर्न सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्