गुलियो कति खाने ?



डा. प्रकाशराज रेग्मी

हाम्रो समाजमा एउटा भनाइ छ– ‘रातो राम्रो गुलियो मीठो ।’ सबैलाई मीठो खान मन पर्छ । धेरैलाई गुलियो खानेकुरा मीठो लाग्छ । मीठो भनेकै गुलियो हो भन्ने धेरै जनाको बुझाइ छ । स्वास्थ्यका दृष्टिकोणले गुलियो खानेकुरा कति लाभदायी छन् र गुलियो खानेकुरा कति खाने भन्नेबारे यस लेखमा वर्णन गरेको छु ।

‘गुलियो’ एउटा स्वाद हो । यो स्वाद चिनी मिसिएका खानेकुरामा पाइन्छ । प्राकृतिक स्रोतबाट बनेको चिनी फलफूल, तरकारी र अन्नहरुमा पाइन्छ । उद्योगहरुले उत्पादन गर्ने चिनी कृत्रिम हो र यो धेरै प्रकारको हुन्छ । मीठो स्वाद दिनका लागि हामीले चिया, कफी, दूध, सर्बत, रोटी, मिठाईलगायत धेरै खानेकुराहरुमा चिनी मिसाउने गर्दछौं ।

उद्योगहरुले उत्पादन गर्ने तयारी खानेकुराहरु जस्तै– बिस्कुट, केक, कुकिज आदि र बोतलमा बन्द गरिएका पेयपदार्थहरु जस्तै– कोक, फ्यान्टाहरुमा धेरै मात्रामा चिनी मिसाइएको हुन्छ । यस्ता गुलिया खानेकुराहरु स्वास्थ्यका लागि हानिकारक हुन्छन् ।

चिनी कार्बोहाइड्रेट्स समूहको खाद्यपदार्थभित्र पर्दछ । चिनीका विभिन्न रुप र नामहरु छन् । ती हुन्– ग्लुकोज, फ्रुक्टोज, सुक्रोज, डेक्सट्रोज, ल्याक्टोन, गालाक्टोज, माल्टोज, सेलुलोज आदि । यी मध्ये ग्लुकोज, फ्रुक्टोज र गालाक्टोज अलि हलुका र साधारण प्रकृतिका चिनीहरु हुन्, जसलाई मोनोस्याकाराइड भनिन्छ ।

यिनीहरु सजिलै पानीमा घुलिन्छन् र यिनीहरुबाट तुरुन्तै ऊर्जा प्राप्त हुन्छ । अलि गरुङ्गा र जटिल प्रकृतिका चिनीहरुको समूहमा सुक्रोज, ल्याक्टोज, माल्टोज, सेलुलोज, स्टार्च आदि पर्दछन् । यिनीहरु दुई वा सो भन्दा बढी मोनोस्याकाराइड मिलेर बनेका हुन्छन् । जस्तै– ग्लुकोज र फ्रुक्टोज मिलेर सुक्रोज बन्दछ ।

ग्लुकोज र गालाक्टोज मिलेर ल्याक्टोज बन्दछ । यस्तै प्रकारले दुईवटा ग्लुकोज मिलेर माल्टोज बन्दछ । यी जटिल चिनीहरु हाम्रो शरीरभित्र पाचनरसको असरबाट ग्लुकोजमा टुक्रिन्छन् । मह, फलफूल र तरकारी प्राकृतिक चिनीका महत्वपूर्ण स्रोतहरु हुन् । उखुमा सुक्रोज हुन्छ ।

उखुलाई पेलेर यसबाट निस्किएको रसलाई प्रशोधन गरेर उद्योगहरुले चिनीको उत्पादन गर्दछन् जुन टेबल चिनीको रुपमा सबैको घर–घरमा पुग्दछ । यो चिनीलाई चिया, रोटी, मिठाई, पेयपदार्थ आदिमा मिसाई मीठो मानेर खाइन्छ । ल्याक्टोज यस्तो चिनी हो, जुन वनस्पतिबाट निकाल्न सकिँदैन । यो दूधमा मात्र पाइन्छ ।

विश्वमा मान्छेले अत्यन्तै ठूलो मात्रामा चिनीको खपत गर्दछन् । एउटा व्यक्तिले बर्सेनि सरदर २४ किलो चिनी खपत गर्दछ । अमेरिकीहरुले यसको दोब्बर मात्रामा अर्थात् बर्सेनि ५० किलोसम्म चिनीको खपत गर्दछन् । धेरै मात्रामा चिनीको उपभोग गर्नाले मोटोपना, मधुमेह, मुटुरोगजस्ता स्वास्थ्य समस्याहरु उत्पन्न हुन्छन् ।

विश्वमा चिनी नखाने कुनै जात, वर्ग, लिङ्ग छैन । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार प्रत्येक व्यक्तिले आफूलाई आवश्यक दैनिक ऊर्जा (क्यालोरी) को ५ प्रतिशतसम्म मात्र चिनीको उपभोग गर्नुपर्दछ । यो भनेको २ हजार क्यालोरी ऊर्जा चाहिने व्यक्तिले १ सय क्यालोरीसम्म ऊर्जा दिने मात्रामा चिनी लिनुपर्छ ।

१ ग्राम चिनीले ४ क्यालोरी ऊर्जा दिन्छ । २५ ग्राम चिनीले १ सय क्यालोरी ऊर्जा दिन्छ । २५ ग्राम भनेको ५ चिया चम्चा हो । यस प्रकार २ हजार क्यालोरी ऊर्जा बराबरको खाना खाने व्यक्तिले दैनिक ५ चिया चम्चासम्म मात्र चिनीको उपभोग गर्नु स्वास्थ्यवद्र्धक मानिन्छ ।

यो भन्दा बढी चिनीले विभिन्न रोग उत्पन्न गराउन सक्छ । हामीले एक कप चियामा २ चम्चा चिनी हाल्छौं । दिनमा ४–५ कप चिया खाँदा ८–१० चम्चा चिनी हुन जान्छ । ५ सय मिलिलिटरको मझौला कोकाकोलामा १२ चम्चा चिनी हुन्छ । आधा कप आइसक्रिममा ५ चम्चा चिनी हुन्छ । एउटा रसवरी वा लालमोहनमा ४ चम्चा चिनी हुन्छ ।

यस प्रकार हामीले सजिलै बुझ्न सक्छौं कि विचार नगरी खाने हो भने हामीले आवश्यकभन्दा धेरै गुणा बढी मात्रामा चिनी खाइराखेका छौं । यसैको एउटा नतिजा हो– नसर्ने रोगहरु जस्तै– मोटोपना, मधुमेह, उच्च रक्तचाप, मुटुरोग, मानसिक रोग आदि बढ्दै जानु ।

चिनी, पाचन प्रणाली र इन्सुलिन

खानाको रुपमा मुखभित्र पसेपछि विभिन्न पाचनरस (इन्जाइम) को असरबाट जटिल चिनी साधारण चिनीहरुमा टुक्रिन्छ । ल्याक्टोजलाई ल्याक्टाजले, माल्टोजलाई माल्टाजले र सुक्रोजलाई सुक्राजले टुक्र्याइदिन्छन् । यिनीहरुबाट शरीरमा ग्लुकोज, फ्रुक्टोज र गालाक्टोज बन्दछन्, जसले ऊर्जा प्रदान गर्दछन् ।

अन्तिममा गएर पु्रmक्टोज र गालाक्टोज पनि ग्लुकोजकै रुपमा परिवर्तन हुन्छन्, जुन शरीरले ऊर्जाको रुपमा प्रयोग गर्छ । प्रयोग नभएको ग्लुकोज, फ्रुक्टोज र गालाक्टोज कलेजो र मांसपेशीमा स्टोर भएर रहन्छन् । यिनीहरु अत्यधिक मात्रामा जम्मा भएमा बोसोमा परिवर्तन भई पेट र अन्य भागहरुमा जम्मा हुन्छन् ।

ग्लुकोजलाई ऊर्जामा परिवर्तन गर्न इन्सुलिन नामक हर्मोनको आवश्यकता पर्दछ । इन्सुलिनले ग्लुकोजलाई कोशिकाभित्र पठाउन मद्दत गर्छ, जहाँ ग्लुकोजबाट ऊर्जा उपन्न हुन्छ । इन्सुलिन भएन भने ग्लुकोज कोशिकाभित्र पस्न सक्दैन र रगतमै जम्मा भैरहन्छ । ग्लुकोजको मात्रा रगतमा बढ्दै जाने रोगलाई मधुमेह भनिन्छ ।

चिनीको लत

रक्सी र चुरोटमा जस्तै चिनी, गुलियो खानेकुराहरु र प्रशोधित कार्बोहायड्रेट्सयुक्त खानेकुराहरुमा पनि लत बस्छ । गुलियो वा कार्बोहाइड्रेट्स धेरै भएको खानेकुरा खाने बानी परेपछि त्यो खाइराख्न मन लाग्छ । चकलेट, आलु, केक, आइसक्रिम, बिस्कुट आदि खाने बानी परेपछि यसमा लत बस्छ ।

यस्तो लत हिजोआजका बालबालिका र युवायुवतीहरुमध्ये धेरैमा बसेको देखिन्छ । लत बसेको खानेकुरा छिन्–छिन्मा खाइराख्न मन लाग्छ । यस्तो लतले शारीरिक तथा मानसिक दुवै प्रकारका स्वास्थ्य समस्या उत्पन्न गराउँछ । गुलियो खानेबित्तिकै यसलाई पचाउन शरीरमा इन्सुलिन निस्किन्छ ।

छिन्–छिन्मा खाने बानीले इन्सुलिन पनि छिटो–छिटो निस्किनुपर्ने हुन्छ । यसो हुँदा शरीरमा धेरै मात्रामा इन्सुलिन जम्मा हुन पुग्छ र यसको काम गर्ने क्षमता कमजोर भएर जान्छ । इन्सुलिन थाक्छ । यसै समयमा तनावको हर्मोन अर्थात् कोर्टिजोल उत्पादन हुन्छ । गुलियो खाने बानीले तनाव उत्पन्न गराउँछ र पछि गएर मान्छे डिप्रेसनको सिकार हुन सक्छ ।

चिनी र स्वास्थ्य समस्याहरु

गुलियो खानेकुरा खानै हुँदैन भन्ने होइन । स्वस्थ व्यक्तिले ठीक मात्रामा खाँदा गुलियोले खासै बेफाइदा गर्दैन । हाम्रो खानामा कार्बोहाइड्रेट्स बढी हुन्छ । हामीले दुई छाक भात खान्छौं । यसैबाट प्रशस्त मात्रामा शरीरलाई चाहिने ग्लुकोज र ऊर्जा प्राप्त हुन्छ ।

यसमाथि थप गुलियो खाना वा चिनी खायो भने शरीरलाई चाहिनेभन्दा बढी ऊर्जा जम्मा हुन्छ, जसका कारण मोटोपना बढ्छ । आवश्यकभन्दा बढी क्यालोरी खाने ग¥यो भने मोटोपना, मधुमेह, मुटुरोग, क्यान्सर, दाँतका रोगहरु, कलेजोमा बोसो जम्ने, मानसिक तनाव, डिप्रेसनजस्ता स्वास्थ्य समस्याहरु उत्पन्न हुने सम्भावना बढेर जान्छ ।

शरीरलाई आवश्यकभन्दा बढी क्यालोरी दिने खाना नखाने र आहारलाई सबै थरीका पौष्टिक तत्वहरुसहितको सन्तुलित बनाउने प्रयास सबैले गर्नुपर्छ । मोटोपना घटाउन गुलियो खान छोड्नुपर्छ । यस्तै प्रकारले मधुमेह रोगबाट पीडितहरुले पनि क्यालोरीको हिसाब गरेर कम कार्बोहाइड्रेट्सयुक्त खाना खानु उचित हुन्छ ।

मुटुरोगीहरुका लागि चिल्लोभन्दा गुलियो खाना बढी हानिकारक हुन्छ । मानसिहरुलाई यो भ्रम छ कि चिल्लो पदार्थ रक्तनलीमा गएर जम्छ र हृदयघात हुन्छ । वास्तवमा भन्ने हो भने धेरै गुलियो खाएर यसबाट शरीरभित्र बन्ने बोसोले हृदयघातको सम्भावनालाई बढाउँछ ।

खानामा भएको खराब चिल्लो (ट्रान्सफ्याट) ले अवश्य हानि गर्दछ तर असल चिल्लो (घिउ, दूध, दही, माछा, मासु) आदि ठीक मात्रामा खाँदा स्वास्थ्यलाई फाइदा गर्छ । यसकारण भनेको हो– घिउ खान डराउनुपर्दैन, बरु चिनी खान डराउनुपर्दछ ।

हिजोआज धेरैलाई नसर्ने रोगहरुको समस्या छ । गुलियो र प्रशोधित कार्बोहाइड्रेट्स धेरै भएको खाना खाएमा रोग लाग्ने सम्भावना बढ्छ । स्वस्थ रहन सन्तुलित भोजन लिनुका साथै चिनी मिसाइएको र प्रशोधन गरिएको कार्बोहाइड्रेट्सयुक्त खाना सकेसम्म कम मात्रामा उपभोग गर्ने सल्लाह दिन्छु ।

प्रतिक्रिया दिनुहोस्