महिलामा यौन चरमसुख प्राप्तिमा कठिनाइ



डा. राजेन्द्र भद्रा

 

प्रश्न : म अहिले ३१ वर्षकी भएँ र मेरो श्रीमान् ३४ वर्ष । हामी दुवैजना पर्याप्त रुपमा यौन सम्पर्कमा संलग्न हुन्छौं । वैवाहिक जीवन राम्रै छ । हामी दुवैले प्रशस्तै यौन आनन्द प्राप्त गर्ने गरेका थियौं तर अहिले आएर मलाई यौन आनन्द प्राप्त गर्न केही कठिनाइ भएको अनुभव भएको छ । के गरेमा मेरो यो समस्या समाधान गर्न सकिएला ? जानकारी पाए आभारी हुने थिएँ ।

 सोनी थापा


उत्तर : यौन चाहना र यौन व्यग्रता हामीलाई प्रकृतिले दिएको एक विशेषता हो । यौनसम्बन्धी हाम्रा चासो तथा चाहनाहरू मस्तिष्कबाट शुरू हुन्छन् । यी सबै कुराहरूको संयुक्त प्रभावबाट नै यौनसम्बन्धी क्रियाकलापहरू निर्देशित हुन्छन् । यौन सम्पर्क होस् वा अन्य यौन क्रियाकलाप, त्यो वास्तवमा शारीरिक, मानसिक र भावनात्मक कुराहरूको समन्वयमा हुने एक जटिल प्रक्रिया हो ।

यौन उत्तेजनाको शुरुवातदेखि त्यसको अन्त्यसम्मको कुरालाई हेर्दा हाम्रो शरीरमा केही परिवर्तनहरू एक निश्चित प्रकारले भएका देखिन्छन् ।

सो यौन उत्तेजनाप्रति हाम्रो शरीरले देखाएको प्रतिक्रया भएर नै यसलाई मानव यौन प्रतिक्रिया चक्र )human sexual response cycle) भनिन्छ र यसैको एक चरणको रुपमा हामीले चरमसुख पाउने गर्दछौं ।

यौन प्रतिक्रिया चक्र

मानव यौन प्रतिक्रिया चक्रका चारवटा निम्न चरणहरु हुन्छन् ।ती हुन् :

१. उत्तेजनाको चरण अर्थात् एक्साइटमेन्ट फेज (Excitement Phase)

२. प्लाटो फेज (Plateau Phase)

३. चरमसुख अर्थात अर्गाज्म फेज (Orgasm Phase),

४. रिजोलुसन फेज (ResolutionPhase) ।

प्लाटो फेजमा भएको यौन स्टिमुलेसन (stimulation) निरन्तर रुपमा बढाउँदै लान सकिएमा एक यस्तो विन्दुमा पुगिन्छ, जसमा पुगेपछि व्यक्ति यौन तनावबाट मुक्त हुन्छ । यसको अवधि निकै नै छोटो हुने भए पनि मानव यौनजीवनमा यस चरणको विशेष महत्व छ, किनभने यस बेला नै मानिसले प्राप्त गर्न सक्ने सुख वा आनन्दहरूमध्ये शायद सर्वोत्कृष्ट सुखको अनुभव गर्दछ ।

यसैलाई चरमसुख भनिन्छ । स्वर्गीय आनन्द, चरम आनन्दजस्ता कैयौँ शब्दहरू यसका लागि प्रयोग हुने गर्दछन् । तर कतिपय स्थितिमा व्यक्तिलाई यौन चरमसुख प्राप्त गर्न कठिनाइ हुने गर्दछ ।

पर्याप्त उत्तेजित गराउने प्रयास गरेर पनि नियमित रुपमा चरमसुख प्राप्त गर्न गाह्रो भएमा त्यसलाई ‘यौन चरमसुख अप्राप्ति’को स्थिति (anorgasmia) भन्न सकिन्छ ।

यौन चरमसुख प्राप्तिमा कठिनाइ हुने कारणहरू

व्यक्ति–व्यक्ति र समय अनुसार प्राप्त गरिने यौन चरमसुखको तीव्रतामा भिन्नता हुने गर्दछ र त्यसै गरी चरमसुखसम्म ल्याउन गरिने यौन उत्तेजनामा क्रियाकलापको समय र तीव्रतामा पनि ।

तपाईंलाई कष्टकर हुने गरी नै लामो समयसम्म यौन चरमसुख प्राप्त गर्न नसकिएको स्थिति हुन सक्छ । यौन चरमसुख प्राप्त गर्न धेरै नै ढिलाइ हुने हुन सक्छ । यौन चरमसुख अप्राप्ति विभिन्न किसिमका हुन्छन् ।

  • जीवनमा अहिलेसम्म कहिल्यै पनि यौन चरमसुख प्राप्त नगरेको ।
  • पहिले यौन चरमसुख प्राप्त गर्ने गरेको तर अहिले यौन चरमसुख प्राप्त गर्न कठिनाइ भएको ।
  •  केही परिस्थितिमा मात्रै यौन चरमसुख प्राप्त गर्न सक्ने जस्तै– मुख–मैथुन गर्दा मात्र, हस्तमैथुन गर्दा मात्र वा केही निश्चित यौन साथीसँगको यौन सम्पर्कमा मात्र ।
  •  तर जस्तोसुकै परिस्थिति भए पनि यौन चरमसुख प्राप्त गर्न नसक्ने स्थिति केही महिलाहरूमा हुन सक्छ ।यौन क्रियाकलाप जस्तै यसको क्रममा प्राप्त हुने यौन चरमसुख शारिरीक, भावनात्मक तथा मानसिक कुराहरूको जटिल प्रतिक्रियावाट उत्पन्न हुने एक नतिजा हो । यसको अप्राप्तीमा विभिन्न कारणहरू हुन सक्छन् ।

शारीरिक कारणहरू :

  • गम्भीर प्रकृतिका रोगहरू : गम्भीर रोगहरूले शारीरिक साथै मानसिक समस्या पनि गराउँछ । यस्तो स्थितिमा यौन चरमसुख प्राप्तिमा गाह्रो हुन्छ ।
  • स्त्रीरोग वा समस्या : कतिपय स्त्रीरोगका उपचार गर्दा पाठेघर निकालिएको वा क्यान्सरको शल्यक्रिया गरिएको स्थितिले यौन चरमसुख प्राप्तिमा कठिनाइ हुन सक्छ । पीडायुक्त यौन सम्पर्कको स्थितिमा पनि कठिनाइ हुन्छ नै ।
  • औषधिको प्रयोग : चिकित्सकको सिफारिसमा वा पसलबाट सीधै किनेर खाइने कतिपय औषधिहरू जस्तै कि उच्च रक्तचाप, मानसिक रोग, एलर्जी, निराशापन आदिको उपचारका लागि सेवन गरिने केही औषधिहरूले यौन चरमसुख प्राप्तिमा कठिनाइ हुने गर्दछ ।
  • धूमपान तथा मद्यपान: धूमपानले यौनाङ्गमा रक्तप्रभाव राम्ररी हुन दिँदैन, जसले चरमसुख प्राप्तिमा कठिनाइ ल्याउँछ । त्यसै गरी अत्यधिक मद्यपानले चरमसुख प्राप्तिमा बाधा पु¥याउँछ ।
  •  उमेर : उमेर बढ्दै गएपछि शारीरिक संरचनामा, हर्मोनको मात्रामा, स्नायुमा र रक्त प्रणालीमा आउने परिवर्तनका कारणले यौन क्रियाकलाप र चरमसुख प्राप्तिमा नकारात्मक प्रभाव पर्दछ । विशेष गरी महिनावारी बन्द हुने वा बन्द भएपछि त महिलामा यौन क्रियाकलाप र यौन चरमसुख प्राप्तिमा धेरै नै कठिनाइ हुने गर्दछ ।

मानसिक कारणहरू :

  • विभिन्न मानसिक समस्या, जस्तै कि चिन्ता वा निराशापन
  • नकारात्मक शारीरिक प्रतिविम्ब
  • तनाव अनि आर्थिक समस्या
  • सांस्कृतिक वा धार्मिक विश्वास
  • लज्जाबोध, ग्लानि
  • विगमा भएका यौन तथा भावनात्मक हिंसा

सम्बन्धका समस्याहरू :

  • दम्पतीमा द्वन्द्व नसुल्झिएको अवस्था
  • यौन आवश्यकता तथा रुचिका बारेमा राम्ररी कुराकानी नहुनु
  • विश्वासघात वा सम्बन्धमा धोका हुनु
  •  अन्तरङ्ग साथीबाट हिंसा हुनु
  • एक–आपसमा तालमेल नभएको अवस्थामा पनि यो समस्या आउन सक्छ ।

यौन चरमसुख प्राप्त गर्न के गर्न सक्लिन् ?

सर्वप्रथम त यसको लागि तपाईंमा कुनै गम्भीर प्रकृतिका रोग, सम्बन्धमा समस्या, कार्यबोझ वा अन्य कारणले कुनै तनाव छ कि छैन, विचार गर्नुपर्छ । माथि उल्लेख गरिएका कतिपय कारण तपाईंमा छन् कि छैनन् भन्ने कुरा तपाईंलाई सहजै थाहा हुने कुरा हो । तपाईंलाई छ जस्तो शंका लाग्छ भने सर्वप्रथम त त्यसको निदान र उपचार गर्नुपर्दछ ।

अहिले विभिन्न सञ्चारमाध्यमको प्रभावले यौन चरमसुख प्रत्येक यौन सम्पर्कमा प्राप्त हुनुपर्दछ जस्तो लाग्न सक्छ । तर यन्त्रजस्तो हामीले हरेक क्रियाकलापमा यौन चरमसुख प्राप्त नै गर्नुपर्दछ भन्ने सोच राख्नु सही होइन ।

सधैँ यौन चरमसुख प्राप्त नगरे पनि तपाईंलाई ठिक्कै छ जस्तो लागेको छ भने यो खासै चिन्ताको विषय होइन । तर तपाईंलाई यसले पिरोल्ने गरेको छ भने यसको समाधानको लागि केही प्रयास गर्न जरुरी हुन्छ ।

पूर्वीय संस्कृतिमा सम्भोग शब्दको प्रयोग गरिन्छ र यो सम तथा भोग शब्दहरूको योगबाट बनेको छ । दुवैले समान रुपमा भोग गर्ने भन्ने अर्थ हो । पुरुष तथा महिलाको यौन प्रतिक्रिया चक्रमा हुने भिन्नता तथा अन्य कारणले हरेक यौन सम्पर्कमा यो सम्भव हुन सजिलो छैन ।

कुनै यौन सम्पर्क पुरुषकोमा भने कुनै महिलाको यौनसुख प्राप्तिलाई ध्यानमा राखेर यौन क्रियाकलापमा संलग्न हुन सके महिलाले यौन सम्पर्कबाट यौन सम्पर्क प्राप्त गर्न सहज हुन्छ । यौन प्रतिक्रिया चक्रमा मात्रै होइन, महिलाको यौनाङ्गको फरकपनलाई पनि ध्यान दिइनुपर्छ ।

तपाईंलाई थाहै होला, महिलाको सबैभन्दा यौन संवेदनशील अंग ‘भगाङ्कुर’ बाहिरतिर नै हुन्छ । सामान्यतया पुरुष माथि र महिला तल रहेर गरिने यौन सम्पर्कले महिलाको भगाङ्कुरको घर्षण गर्दैन ।

महिला माथितिर रहेर महिलाले आफूले चाहेजस्तो कटी प्रदेशलाई चलाउन सक्छिन्, जसले गर्दा महिलालाई यौनसुख प्राप्त गर्न सहज हुन्छ । यसलाई हात वा औँलाले नै चलाएर यौन चरमसुख प्राप्त गर्न सकिन्छ । यौन प्रसाधन जस्तै कि भाइब्रेटरको प्रयोग पनि अर्को उपाय हो । हुन सक्छ तपाईंलाई यौन उत्तेजनाको मात्रा तथा तीव्रता नै पर्याप्त नभएको हुन सक्छ ।

यसलाई बढाउन सक्दो कोशिश गर्नुभयो भने त्यसले तपाईंलाई यौन चरमसुखसम्म पु¥याउन सक्छ । तपाईंले हस्तमैथुन गरेर यौन आनन्द पाउने गर्नुभएको छ वा छैन, सो जानकारी लेख्नुभएको भए पनि जवाफ दिन सजिलो हुने थियो ।

हस्तमैथुन गर्ने क्रममा तपाईंले आफ्ना यौन संवेदनशील अंगहरूका बारेमा थाहा पाउन र के–कसो गरेमा अत्यधिक आनन्द प्राप्त गर्न सकिन्छ भन्ने कुरा थाहा पाउन सकेमा सहयोग मिल्छ ।

त्यसदेखि बाहेक, योनि, स्तन तथा अन्य यौन संवेदनशील अंगको मर्दन, घर्षण अनि चलाउने जस्ता अनेक क्रियाकलापहरूमा संलग्न हुन सकिन्छ । यस्तै अन्य अनेक नयाँ प्रयोगहरु पनि गर्न सकिन्छ ।

पुरुषहरूजस्तै नै महिलाहरू पनि यौन उत्तेजक दृश्य, स्पर्श अनि यहाँसम्म कि परिकल्पनाले उत्तेजित हुन्छन् । यौन क्रियाकलापमा संलग्न हुँदा पाक् क्रीडामा संलग्न भएमा यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न विशेष गरी महिलालाई सजिलो हुन्छ । यसले यौन सम्पर्कमा संलग्न दुवैजनालाई यौन चरमसुख साथसाथै प्राप्त गर्न मद्दत पनि गर्छ ।

त्यसका साथै तपाईंले आफ्नो श्रीमान्सँगको सम्बन्धमा केही समस्या आएको छ वा छैन सो पनि विचार गर्नुप¥यो । यदि कुनै समस्या छ भने त्यसलाई सुधार्ने कोशिश गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्