फिट्किरीमा लुकेको स्वास्थ्य



रोहिणी घिमिरे

तपाईंले फिट्किरी (alum) का बारेमा केही न केही सुन्नुभएकै होला । यो हाम्रा लागि नौलो वस्तु होइन, शताब्दीयौं अघिदेखि औषधिको रुपमा फिट्किरीको प्रयोग हुँदै आएको छ । यसको वैज्ञानिक नाम पोटासियम आल्मुनियम सल्फेट हो ।

यो सेतो र हल्का गुलाबी दुई रंगमा पाइन्छ । प्रायः हामीले प्रयोग गर्ने फिट्किरीचाहिँ सेतो नै हुन्छ । आयुर्वेदमा यसलाई भष्मको रूपमा पनि प्रयोग गरिन्छ । घाँटी खसखस हुँदा र खोकी लाग्दा आमाले फिट्किरीको टुदक्रा आगोमा फुराएर दिएको अहिले पनि याद आउँछ ।

सानोतिनो चोट लाग्दा रगत निस्कन नदिन र वर्षादको समयमा खुट्टाको संक्रमण कम गर्न फिट्किरी प्रयोग गरिने चलन गाउँतिर अद्यापि छ । दाह्री काटेपछि एन्टिसेप्टिकको रूपमा अनुहारमा लगाउने गरेको पनि पाइन्छ । फिट्किरीको सेवनले दम, खोकी र दाँतको समस्यामा पनि राहत मिल्छ ।

तर तपाईंले कहिल्यै फिट्किरी मिलाएको पानीले नुहाउनुभएको छ ? यसको प्रयोगले तपाईंको स्वास्थ्यलाई केही मात्रामा होइन, धेरै मात्रामा फाइदा मिल्छ । फिट्किरी–पानीले नुहाउँदा कपाल झर्न कम हुन्छ ।

यसले तपाईंको टाउकोसहित शरीरको फोहोर हटाउन मद्दत गर्छ । साथै शरीरबाट निस्कने पसिनाबाट आउने दुर्गन्ध पनि हट्छ । आउनुहोस्, जानिराखौँ फिट्किरी–पानीले नुहाउँदाका केही स्वास्थ्य लाभहरू ।

छालाको सुन्दरता बढाउँछ

फिट्किरी छालाका लागि निकै फाइदाजनक मानिन्छ । फिट्किरीमा एस्ट्रिन्जेन्ट गुण हुन्छ । यसले छालालाई कसिलो बनाउने काम गर्छ । त्यसैले फिट्किरी मिलाएको पानीले नुहाउँदा अनुहारको चाउरीपना कम हुन्छ ।

फिट्किरीको पानीले पिग्मेन्टेसन, छालामा दाग र रातो हुनेजस्ता समस्याबाट छुट्कारा पाउन मद्दत गर्छ । अनुहारको सौन्दर्य बढाउनका लागि समेत फिट्किरी–पानीले अनुहार धुन सकिन्छ । आयुर्वेदले पनि डण्डिफोर र छालासम्बन्धी समस्याबाट छुट्कारा पाउन फिट्किरी प्रयोग गर्न सुझाव दिएको छ ।

जुम्रा–चाया हटाउँछ

फिट्किरीमा एन्टी–ब्याक्टेरियल गुण हुन्छ । यसले तपाईंको कपाल र टाउकोमा हुने संक्रमणबाट बचाउनुका साथै राम्रोसँग सफा गर्छ । मनतातो पानीमा फिट्किरी हालेर नुहाउँदा जुम्राको समस्या पनि समाधान हुन्छ ।

यदि तपाईं यसबाट बढीभन्दा बढी फाइदा लिन चाहनुहुन्छ भने बेलुका पानीमा फिट्किरी हाल्नुहोस् र बिहान सो पानीले टाउको नुहाउनुहोस् । यसो गर्नाले टाउकोमा भएका जुम्रा हट्नुका साथै चायाको समस्या पनि समाधान हुन्छ । टाउकोमा जमेको धूलो/माटो पनि सफा हुन्छ ।

पसिनाको दुर्गन्ध हटाउँछ 


गर्मीमा पसिनाको दुर्गन्ध आउँदा ठूलै समस्या हुन्छ । साथीभाइ वा कसैको नजिक जान पनि सरम हुन्छ । गर्मी मौसममा कसै–कसैलाई नुहाएको केही समयपछि नै पनि पसिना आउन थाल्छ । यसरी बढी पसिना आउने मानिसले त झन् फिट्किरी मिलाएको पानीले नुहाउनु हितकर हुन्छ ।

फिट्किरीमा एस्ट्रिन्जेन्ट र एन्टिसेप्टिक गुण हुन्छ, जसले तपाईंको शरीरबाट आउने पसिनाको दुर्गन्धलाई रोक्नको लागि काम गर्छ । फिट्किरीले तपाईंका लागि एन्टी–इन्फ्लेमेटरी र प्राकृतिक अत्तरको रूपमा पनि काम गर्दछ । छालामा हुने खुल्ला छिद्रहरूका लागि पनि फिट्किरी–पानीले नुहाउनु लाभदायक मानिन्छ ।

यदि तपाईंको खुट्टामा दुर्गन्ध आउँछ वा कुनै प्रकारको फङ्गल इन्फेक्सन भइरहेको छ भने तातो पानीमा फिट्किरी हाली त्यसले दैनिक खुट्टा धुनुहोस् । नरिवलको तेलमा फिट्किरी पाउडर मिसाएर पनि लगाउन सकिन्छ ।

कपाल बढ्न मद्दत गर्छ

फिट्किरीमा पोटासियम र सोडियम पाइन्छ । त्यसैले कपालको विकासका लागि पनि फिट्किरी–पानीले नुहाउनु फाइदाजनक हुन्छ । त्यस्तै दाह्री–कपाल काट्दा छाला खोस्रियो वा काटियो भने फिट्किरी लगाउनु प्रभावकारी मानिन्छ ।

यसले कपाल फुल्ने समस्याबाट पनि बचाउँछ । यसका लागि फिट्किरी पिसेर गुलाबजलमा मिसाउनुहोस् अथवा फिट्किरीको पानीमा गुलाबजल मिसाएर नुहाउन सकिन्छ । यसो गर्दा तपाईंको कपाल बढ्नसमेत मद्दत पुग्छ ।

पिसाब संक्रमणमा लाभ


जसलाई युरिन इन्फेक्सनको बारम्बार गुनासो हुन्छ, उनीहरुले विशेष गरी फिट्किरी सेवन गर्नुपर्छ । गुप्तांग सफा गर्नको लागि फिट्किरी राम्रो विकल्प मानिन्छ ।

फिट्किरी–पानीले सफा गर्दा यसले फोहोर हटाउनुका साथै पिसाब संक्रमणलगायत अन्य प्रकारको संक्रमणको सम्भावना कम हुन्छ ।

जोर्नी दुखाइमा लाभ

फिट्किरीको पानीले नुहाउनुलाई एक हिसाबले दुखाइ कम गर्ने उपचारजस्तै मानिन्छ । जसरी तातो पानीले जोर्नी र स्नायुका लागि राम्रो गर्छ, त्यसै गरी तातो पानीमा फिट्किरी मिसाएर नुहाउँदा तपाईंको दुखाइलाई कम गर्न मद्दत गर्छ ।

फिट्किरीमा म्यांगानिज पाइन्छ, म्यांगानिजमा एन्टी–इन्फ्लेमेटरी गुण हुन्छ, जुन हड्डी सुन्निन र दुखाइ कम गर्न सहयोगी मानिन्छ ।

मुखको गन्ध हटाउँछ

फिट्किरी–पानीको मद्दतबाट मुखबाट आउने दुर्गन्धबाट पनि छुट्कारा पाउन सकिन्छ । यसमा एन्टी–ब्याक्टेरियल गुण हुन्छ, जुन तपाईंको मुख सफा गर्न बढी प्रभावकारी मानिन्छ ।

यसमा पाइने एस्ट्रिन्जेन्ट गुण दाँतको दुखाइ कम गर्न र गिजा–दाँत सफा गर्न निकै सहयोगी मानिन्छ । यदि तपाईंको मुखमा घाउ–खटिरा आउने समस्या छ भने फिट्किरी–पानीले कुल्ला गर्नुहोस् । यसका लागि फिट्किरी हालेको मनतातो पानी मुखमा लिई कुलकुल गरेर कुल्ला गर्नुहोस् । दिनमा दुई–तीनपटक कुल्ला गर्दा केही दिनमा आराम हुँदै जान्छ ।
पानीमा फिट्किरी फुटाएर हाल्नुको सट्टा पिसेर हाल्नुहोस् ।

यदि तपाई कुनै प्रकारको एलर्जीबाट पीडित हुनुहुन्छ वा कुनै जटिल स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्छ भने चिकित्सकको सल्लाहपछि मात्र फिट्किरीको सेवन गर्नुहोस् । साथै दैनिक र धेरै मात्रामा फिट्किरीको प्रयोग हानिकारक पनि साबित हुन सक्छ । यसमा भने सचेत हुनै पर्छ ।

स्रोत : onlymyhealth.com

प्रतिक्रिया दिनुहोस्