तपाईका घरमा हाम्रा डाक्टर



भाइरसको रुप परिवर्तन हुने क्रममा आएको ‘ओमिक्रोन’ पहिलेको भेरिएन्टभन्दा कमजोर भएको छ भन्छन्, वास्तविकताबारे प्रस्ट पारिदिनुभए आभारी हुने थिएँ ।

– शिव परियार, दोलखा ।


शिवजी, तपाईंले भनेको सही हो । अहिलेसम्मको अध्ययन तथा कोरोनाको कोर्सले देखाए अनुसार ‘ओमिक्रोन’ स्वरुपको कोरोना भाइरस अलि कम हानिकारक देखिएको छ । यसको बिरामी हुने समयावधि पनि अलि छोटो पाइएको छ । साथै कम मात्रामा निमोनिया गराउने अनि बढी घाँटी खसखस गराउने र खोकी लाग्ने हुन्छ ।

यसबाट संक्रमितको मृत्युदर पनि कम पाइएको छ । तेस्रो भेरिएन्ट भए तापनि यसको नराम्रो पक्ष पनि छ । त्यो हो अघिल्लो ‘डेल्टा’ स्वरूपभन्दा यो धेरै नै सरुवा, बढी नै संक्रमण गराउने खालको छ । त्यस्तै पहिले संक्रमण हुँदा परिवारमा एक–दुईजना पोजिटिभ देखिए पनि धेरै नेगेटिभ देखिन्थे तर यसमा भने परिवार सबै एकैपटक पोजिटिभ भएर आक्रान्त भएको पाइएको छ ।

अहिलेको स्वरूपको संक्रमण व्यापक भएर जटिल बिरामी पनि त्यही अनुपातमा बढ्न सक्ने सम्भावना भने छ । अहिले हामीसँग यस भेरिएन्टको एक महिनाको मात्रै अनुभव छ । लामो समयको यसको कोर्स अनि जटिलता हामीलाई थाहा हुनै छ ।

यसको अर्थ सहज अनि हल्का रोगको प्रकृति देखिए तापनि ढुक्क हुने अवस्था भने छैन । स्वास्थ्यका मापदण्ड अनुसार मास्क लगाउने, भीडभाड नगर्ने, दूरी कायम गर्ने, हात धुने वा स्यानिटाइजर गर्ने गरिरहनु आवश्यक छ ।

ओमिक्रोनले धेरैलाई आक्रान्त पारिरहेको देखियो, कस्ता लक्षण देखिएमा ओमिक्रोनको शंका गर्नुपर्छ र उपचार कसरी गर्नुपर्ला बताइदिनुहुन्छ कि ?

– रञ्जु थापा, बालाजु, काठमाडौं ।


रन्जुजी, ओमिक्रोन भन्ने प्रकृतिको कोरोना अलग्गै रोग होइन । अलग्गै लक्षण देखिने पनि होइन । सबै कोरोना रुघाखोकीकै रुपमा देखिन्छन् । अलि–अलि फरक भन्ने कोर्स, जटिलता अनि अलि बढी कुन लक्षण व्यापक छ भन्ने कुरा मात्रै हो ।

ज्वरो, घाँटीमा खसखस, खोकी, जीउ दुख्ने यसमा बढी देखिन्छ भने गन्ध अनि स्वाद जाने र निमोनिया हुने कम देखिएको छ । सबै प्रकृतिका कोरोना विनालक्षणका हुन पनि सक्छन् । थाहा नै नपाईकन संक्रमण भएर निको भएको पनि हुन सक्छ ।

अलि–अलि पनि साधारण लक्षण देखिएकोमा सबभन्दा महत्वपूर्ण कुरा परीक्षण गर्ने, चिकित्सकको सम्पर्क अनि परामर्शमा रहने, घरमा आइसोलेसनमा बस्ने, गाह्रो भएमा वा अक्सिजनको मात्रा घट्न गएमा तुरुन्त अस्पताल जाने र आफूले सकेसम्म अरुलाई नसार्ने हो ।

यसको कुनै भर छैन, हल्का भए तापनि अहिले हेर्नुस् मृत्यु पनि भैरहेको पाइएको छ । त्यस्तै काठमाडौंमा पर्याप्त र्आइसीयु शय्याहरु ७०–८० प्रतिशत भरिएका छन् । त्यो खतरालाई अवमूल्यन गर्न त भएन नि !

प्रायः बिहान मेरो जिब्रोमा बाक्लो सेतो कस बसेको हुन्छ । अरु समस्या त छैन, तैपनि जिब्रो अलि सेतो देख्दा केही भयो कि भन्ने लाग्छ । यो कुनै रोग हो कि सुझाव पाऊँ ।
– ज्ञान तण्डुकार, ठिमी, भक्तपुर ।


ज्ञानजी, जिब्रोमा सेतो बाक्लो कस बस्ने धेरै कारण हुन सक्छ । धेरैजसो पेटसम्बन्धी समस्या भएको अवस्थामा यस्तो देखिन्छ । अपच, चिनी रोग, जुका, ग्यास्टिक तथा पेट/आन्द्राका अन्य समस्या भएमा यो समस्या देखिन सक्छ ।

अरु कुनै समस्या नहुनाले त्यति आत्तिन त परेन तर पनि एकपटक फिजिसियन वा पेट वा आन्द्रा विशेषज्ञ देखाएमा उचित सल्लाह पाइनेछ ।

मेरो घाँटी, छाती बेला–बेलामा पोल्ने, अमिलो पानी आउने हुन्छ । यसको समाधान कसरी गर्न सकिएला ?
– खगेन्द्र त्रिपाठी, झापा ।


खगेन्द्रजी, यहाँको समस्याले दिएका लक्षणहरु अनि हामी नेपालीको खाना खाने बानी तथा खानाको प्रकृति अध्ययन गर्दा यहाँलाई ग्यास्टिक भएजस्तो लाग्यो । यसलाई शुद्धरुपमा भन्दा ग्यास्ट्राइटिस (Gastritis) भनिन्छ ।

हुन त अरु समस्या हुन नसक्ने होइन, यहाँको उमेर अनि अन्य स्यास्थ्य पृष्ठभूमि पनि थाहा भएन । हृदयघात, पित्तथैलीको पत्थरी, फोक्सोको झिल्लीको संक्रमण आदि पनि सम्झनुपर्ने समस्या हुन् । तर पनि सबभन्दा कमन र धेरै भेटिने ग्यास्टिक नै हुनाले त्यसबारेमै केन्द्रित भएर सल्लाह गरौँ ।

सबभन्दा महत्वपूर्ण कुरा आहारविहारमा ख्याल गर्नुप-यो । अमिलो, पिरो अनि चिल्लो नखानुस् । धेरै चिसो अनि तातो पनि नखानुस् । खालि पेट धेरैबेर नबस्नुस् । चिन्ता लिने नगर्नुस् । यति गर्दा पनि कम नभएमा औषधि खान सकिन्छ । यसको लागि पेटरोग विज्ञ वा फिजिसियन भेटेर सल्लाह गर्न सकिन्छ ।

कहिलेकाहीँ इन्डोस्कोपी गरेर वा रगतबाट वा अरु तरिकाले ग्यास्टिक गराउने जीवाणु परीक्षण गरेर पनि त्यसलाई निर्मूल पार्नुपर्ने हुन सक्छ । त्यसैले त्यहाँको जिल्ला अस्पताल वा अरु शिक्षण अस्पतालमा गएर पेटरोग विशेषज्ञ भेटमा निर्देशित निदान तथा उपचार हुन सक्ने सल्लाह दिन चाहन्छु ।

म ५८ वर्षको भएँ । पिसाब गर्दा पहिलेको जस्तो पर पुग्ने धारा आउ“दैन । यो सामान्य हो कि कुनै रोगको लक्षण हो ? रोग भए कहाँ उपचार गर्ने ? जानकारी पाऊ“ ।

– झङ्क सेढाईं, पकनाजोल, काठमाडौं ।


झङ्कजी, धेरैजसो पुरुषहरुमा ५० वर्ष नाघेपछि प्रोस्टेट भन्ने ग्रन्थि बढ्ने हुन सक्छ, जुन पिसाबथैलीको घाँटीमै अवस्थित हुन्छ । यो ग्रन्थि बढेपछि पिसाबको नलीमा अवरोध हुन्छ र अवरोधको मात्राअनुसार लक्षण देखिन सक्छ । अलि–अलि अवरोध भएमा पिसाबको धारोको शक्ति नहुने, धारो राम्रो नलाग्ने, पिसाब रोक्न गाह्रो हुने, छिन्–छिन्मा पिसाब लाग्ने र साह्रो नै अवरोध भएमा पिसाब पूरै रोकिने हुन सक्छ ।

यहाँको पनि पिसाबको धारोको फोर्स कम भएको हुनाले त्यो सम्भावना भयो । त्यो समस्याको सम्भावित कारण वा प्रोस्टेट ग्रन्थिको नापो थाहा पाउन पेटको भिडियो एक्सरे (Ultrasound) गर्नुपर्ने हुन्छ । त्यसपछि यसबारे थाहा पाउन सकिन्छ । अर्को सम्भावना, उमेर अनुसार पनि पिसाबको धारोको फोर्स घट्न सक्छ ।

तपाईंको बसाइ काठमाडैंमै भएकोले कुनै अस्पताल वा क्लिनिकमा गएर त्यो भिडियो एक्सरे गर्न सल्लाह दिइन्छ । शुरुमै चिकित्सक भेट्ने मनसाय भएमा मूत्र शल्यचिकित्सक (Urosurgeon) भेटेर परामर्श गर्न पनि सक्नुहुन्छ । वीर अस्पताल, शिक्षण अस्पताल वा अन्य कुनै पनि अस्पतालमा गई यस्ता शल्यचिकित्सक भेटेर सल्लाह गर्न सक्नुहुनेछ ।

मानिसको दिमाग टाउकोको दायाँतिर हुन्छ, मोबाइलमा कुरा गर्दा सकेसम्म देब्रे कानतिर राख्नुपर्छ भनेको मैले कतै पढेँ । के यो सही हो ? सही जानकारीका लागि अनुरोध छ ।
– सुवास दाहाल, इनरुवा ।


सुवासजी, मानिसको दिमाग टाउकोको जताततै, वरिपरि, दायाँ–बायाँ, अघि–पछि सबैतिर हुन्छ तर एउटा कुरा के भने देब्रे शरीरको नियन्त्रण गर्ने केन्द्र दाहिनेपट्टि हुन्छ भने दाहिनेतिरको शरीर नियन्त्रण गर्ने केन्द्र देब्रेतिर हुन्छ ।

त्यसैले देब्रेतिर दिमागमा रक्तश्राव वा इन्फाक्र्ट (स्ट्रोक) भएमा दाहिने पाखो नचल्ने (एबचबथिकष्क) हुन्छ भने दाहिनेतिर त्यस्तो भएमा देब्रे पाखो नचल्ने हुन्छ ।

जहाँसम्म मोबाइल प्रयोग गर्ने कुरा छ र सुरक्षित हुने कुरा छ, दाहिने–देब्रे जता गरे पनि वा राखे पनि सकेसम्म कमभन्दा कम प्रयोग गर्ने, मिल्छ भने स्पिकर प्रयोग गरेर कानमा कमभन्दा कम राख्ने गर्न सकिन्छ ।

मेरो आँखाले नजिक देख्न कठिन भएपछि जँचाएर चश्मा लगाउन थालेको थिएँ । अहिले सजिलो लेन्स आएको छ भन्छन् । चश्माको सट्टा आँखाभित्र राख्ने लेन्स लगाउनु राम्रो हो कि होइन ? सुझाव पाउँ ।

– देवेन्द्र महर्जन, सीतापाइला, काठमाडौं ।


देवेन्द्रजी, आँखा कमजोर भएमा पावर जँचाएर आवश्यकता अनुरुपको चश्मा वा आँखाभित्र लगाउने कन्ट्याक्ट लेन्स लागाउनु आवश्यक छ, जुन यहाँले गर्नुभएकै कुरा हो । जहाँसम्म कुन राम्रो भन्ने कुरा गर्दा यो राम्रो र अर्को नराम्रो भन्ने हुँदैन । दुवैको काम आँखाको दृष्टि सहज तुल्याई पावर मिलाएर लेख्न–पढ्न सहज गराउने अनि टाउको नदुख्ने गराउने हो ।

बाहिर लगाउने चश्मा धेरै सहज हुन्छ । साथै स्याहार गर्न पनि सजिलो हुन्छ । आँखाभित्र लगाउने लेन्सलाई सुक्न नदिनका लागि विशेष पानीजस्तो पदार्थ प्रयोग गर्नुप-यो, आँखामा लगाउन पनि विशेष ध्यान दिनुप-यो, राम्रोसँग फिट गरी आँखामा मिलाएर राख्नुप-यो, त्यो लेन्स सधैँ सफा हुनुप-यो आदि ।

यदि चश्मा लगाउन/देखाउन मन पर्दैन भने अर्को कुरा, त्यस्तै पेसाले पनि चश्मा नलगाएको माग भएमा त्यो लेन्स उपयुक्त हुने निश्चय नै हुन्छ । होइन भने लेन्स लगाउँदा आँखा रातो हुने र इरिटेसनको पनि सधैँ डर हुने हुन्छ । त्यसैले भन्न सकिन्छ– छनोट आ–आफ्नो, जे राम्रो होला त्यही गर्न सकिन्छ ।

(सकेसम्म छोटो र एकपटकमा एउटा मात्र स्वास्थ्यसम्बन्धी जिज्ञासा  [email protected], [email protected] वा पो.ब.नं.२०४५ काठमाडौंमा पठाउनुभएमा मुटुरोग विशेषज्ञ एवम् फिजिसियन डा. हरिहर खनालले सल्लाह सुझाव दिनुहुनेछ ।)

प्रतिक्रिया दिनुहोस्