सरकारले देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरिरहेको छ । उक्त खोप चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म देशभरका बालबालिकालाई लगाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। संगीता कौशल मिश्राले जानकारी गराउनुभएको छ ।
१५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई लक्षित गरी खोप लगाउने उहाँले जानकारी दिनुभयो । नेपाल सरकारको लक्ष्य अनुसार उक्त अवधिमा ९५ प्रतिशत बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइसकिने छ ।
टाइफाइडको १६ लाख भायल खोप नेपालका लागि गाभी(ग्लोबल एलाइन्स फर भ्याक्सिनेसन)ले निःशुल्क उपलब्ध गराउने निश्चित भएको र भारतबाट २ लाख भायल खोप आउँदै गरेको स्वास्थ्य मन्त्रालयका वरिष्ठ फार्मेसिस्ट बडेबाबु थापाले जानकारी दिनुभएको छ ।
एक भायल खोपमा ५ मात्रा हुने र १८ तारिखमा पनि पुनः अर्को खोप नेपाल आउने कार्यक्रम रहेको उहाँले बताउनुभयो । नेपालमा ज्वरो आएका धेरैजसोलाई टाइफाइड ज्वरो भनिन्छ । तर ज्वरो सबै टाइफाइड हुँदैन । टाइफाइड हुनलाई टाइफाइडको किरा उम्रनुपर्छ । टाइफाइडको किरा उम्रनुलाई मल्टिड्रग टाइफाइड भनिन्छ । यो खालको टाइफाइड नेपालमा अहिलेसम्म देखिएको छैन ।
नेपालमा देखिएको टाइफाइड गम्भीर प्रकृतिको नभएको पाइएको २ वर्षअघि भएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । सो अनुसन्धान कान्ति बालअस्पताल, धुलिखेल अस्पताल, नेपालगन्ज अस्पताल र धरान अस्पतालले संयुक्त रुपमा गरेका थिए । धुलिखेल अस्पतालले नेपालमा टाइफाइडका कारण के–कति बिरामीको मृत्यु भएको छ भन्ने बारे अध्ययन गरेको थियो । सो अध्ययनमा टाइफाइडका कारण धेरै मानिस मरेको पाइएन ।
धुलिखेल अस्पतालले टाइफाइड नेपालको निश्चित एरियामा मात्र हुन्छ कि नेपालभरि हुन्छ भन्ने विषयमा पनि अनुसन्धान गरेको थियो । उक्त अनुसन्धानमा देशका प्रायः सबै ठाउँमा अलि–अलि टाइफाइड पाइएको उल्लेख छ । गाभीले सन् २०२१ सम्म टाइफाइडविरुद्धको उक्त खोप उपलब्ध गराउने लक्ष्य लिएको थियो ।
टाइफाइडको खोपले कति काम गर्छ र यसको प्रभावकारिता कस्तो छ भन्ने विषयमा डा. बुद्ध बस्नेतलगायतको टिमले पाटन क्षेत्रलाई केन्द्रविन्दु बनाएर गरेको अध्ययन प्रतिवेदनमा सो खोपले फाइदा पुग्ने उल्लेख गरेको थियो । त्यसपछि नेपाल सरकारले विश्व स्वास्थ्य संगठनसँग खोपका लागि आग्रह गरेको र गाभीले निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।
गाभीले एक वर्षअघि नै यो खोप भारतको पान्टा बायोटेकसँग खरिद गरिसकेको भए पनि नेपालमा कोरोनाविरुद्धको खोप अभियान चलिरहेको अवस्थामा खोप भण्डारणको अभाव भएकै कारण ढिलो गरी नेपाल ल्याइँदै गरेको स्रोतले बताएको छ । विकसित मुलुकमा यस्तो खोप खासै प्रयोग गर्दैनन् ।
फोहोर खानपानमा टाइफाइडको किरा उम्रने हुनाले गरिब मुलुकका धेरै मानिसहरु यो रोगको सिकार बन्छन् । यसले सीधै मान्छे मर्दैन र सरसफाइ गरे रोग नै लाग्दैन । त्यसकारण सरसफाइ कम भएका गरिब बस्तीमा बसोबास गर्नेलाई खोप लक्षित हुनु बढी उपलब्धिमूलक हुने देखिन्छ ।
भगवती तिमल्सिना