बाथरोगको उपचार यसरी गर्नुपर्छ



विश्वमा नै मानिसहरुमा स्वास्थ्य समस्या एकपछि अर्को थपिँदै गएको पाइन्छ । पछिल्लो समय नसर्ने रोगको वृद्धिसँगै बाथरोग पनि एक जटिल समस्याका रुपमा देखा परेको छ ।

यसमा पनि र्‍युमटोइड आरथ्राइटिस भनेर चिनिदै आएको बाथरोगका बारेमा जान्नु जरुरी छ । यसलाई सामान्य रुपमा आमबाथ, तराईमा गठिया, कर्णाली भेगमा रागन, अर्घाखाँचीतिर खर्डचुरो भनेर पनि चिनिन्छ ।

र्‍युमटोइड आरथ्राइटिस के हो ?

र्‍युमटोइड आरथ्राइटिस वयष्क तथा बढ्दो उमेरमा देखिने एक दीर्घ बाथरोग हो । बाथरोग (आरथ्राइटिस) भन्नाले शरीरका जोर्नी र यससँग सम्बन्धित अन्य अंगहरु (हाड, मांसपेशी र यिनीहरुलाई एक–आपसमा जोडेर सम्बन्ध स्थापित गर्ने नसाहरु) दुख्ने, सुन्निने र जोर्नी अररो भई राम्ररी काम गर्न नसक्ने अवस्था बुझिन्छ ।

सम्पूर्ण जनसंख्याको करिब एक प्रतिशतमा देखिने यो रोग नेपालमा करिब २ लाख ५० हजारजति व्यक्तिलाई भएको अनुमान गर्न सकिन्छ ।

कसरी हुन्छ ?

विभिन्न खोज र अनुसन्धानका बाबजुद पनि यो रोगको यकिन कारण पत्ता लाग्न सकेको छैन । वैज्ञानिकहरुका अनुसार मानिसको वंशाणु र विभिन्न वातावरणीय तत्वहरुले यो रोग गराउनमा प्रमुख भूमिका खेलेका हुन्छन् ।

र्‍युमटोइड आरथ्राइटिसमा जोर्नीलाई घेरेर राख्ने भित्री झिल्लीमा सुजन हुन्छ । यसले गर्दा केही महिनाभित्रै जोर्नीवरपरको कुरकुरे हाड नष्ट हुन गई जोर्नीको संरचना बिग्रन जान्छ ।

यसरी चिन्ने

र्‍युमटोइड आरथ्राइटिस नेपाली समाजमा जीउ र जोर्नी दुख्ने समस्याको एक प्रमुख कारण हो । रोगको शुरु अवस्थामा हातगोडाका जोर्नीहरु (विशेष गरी औंलाहरु, नाडी, कुहिना, कुम, घुँडा र गोलीगाँठा) दुख्ने, सुन्निने र अररो हुन्छन् ।

बिहानपख र दिन ढल्दै गएपछि हातगोडा कक्रक्क हुनाले चियाको गिलास समाउन, टाँक लगाउन, धारा खोल्न, ढोकाको चुकुल खोल्न तथा राति सिरक तान्नसमेत अप्ठ्यारो हुने गर्दछ ।

रोग कडा भएको खण्डमा मन्द ज्वरो आउने, शरीरमा रगतको कमी हुने, हातगोडामा गिर्खाहरु देखा पर्ने, आँखा रातो हुने र दुख्ने तथा मुटु, फोक्सोलगायत शरीरका अन्य अंगहरुमा सुजन भई ज्यानै जोखिममा पर्न सक्छ ।

यो रोगमा शरीरको रोगविरुद्ध लड्ने प्रतिरोधात्मक शक्तिमा हास आउने भएकोले निमोनिया, छाला तथा मूत्रमार्गजस्ता अंगको इन्फेक्सन बढी र जटिल रुपमा देखिने सम्भावना हुन्छ ।

दीर्घकालीन असरहरु

समयमै सही उपचार नभएमा -युमटोइड आरथ्राइटिस बढ्दै गई हातगोडाका जोर्नीहरु बिग्रने, बाङ्गिएर कुरुप हुने तथा जाम हुने सम्भावना हुन्छ ।

कसै–कसैमा भने रोग लामो समयसम्म हराएर पुनः बल्झिन सक्छ । दुखाइ पनि केही समयको अन्तरालमा घट्ने–बढ्ने भैरहन सक्छ ।

र्‍युमटोइड फ्याक्टर

धेरैले आर.ए.फ्याक्टर भनेर चिन्ने र्‍युमटोइड फ्याक्टर सामान्यतया र्‍युमटोइड आरथ्राइटिसका बिरामीहरुको रगतमा पाइने आफ्नै शरीरको प्रतिरोधात्मक शक्तिविरुद्ध उत्पन्न भएको एक किसिमको प्रोटिन हो ।

यो रोगबाट ग्रसितमध्ये करिब दुई तिहाइ बिरामीको रगतमा देखिने यस्तो प्रोटिन कहिलेकाहीँ स्वस्थ मानिस तथा बाथबाहेकका अन्य रोगीहरुमा पनि देखिन सक्छ । त्यसैले र्‍युमटोइड फ्याक्टर पोजिटिभ देखिँदैमा बाथरोग भयो भन्ने हुँदैन । रोगको निदानमा सहयोगी मात्र हुने यो जाँच पटक–पटक गरिरहनु जरुरी पनि हुँदैन ।

र्‍युमटोइड आरथ्राइटिसको उपचार

मधुमेह, उच्च रक्तचाप तथा मुटुको रोगजस्तै र्‍युमटोइड आरथ्राइटिस पनि पूर्णरुपमा निको पार्न नसकिने एक दीर्घरोग हो । जोर्नीको सुजन कम गरी यसलाई बिग्रनबाट जोगाउनु तथा बिरामीको कार्यक्षमता एवं उत्पादनशीलतामा ह्रास आउन नदिनु बाथरोगको उपचारको मुख्य उद्देश्य हो ।

र्‍युमटोइड आरथ्राइटिसको उपचारमा विभिन्न औषधिहरु, फिजियोथेरापी तथा अन्य कतिपय घरेलु प्रविधिहरुको समेत प्रयोग गरिन्छ । कतिपय अवस्थामा जोर्नीको शल्यचिकित्साको पनि आवश्यकता पर्न सक्छ । र्‍युमटोइड आरथ्राइटिसको उपचारमा मुख्यतः रोगलाई नियन्त्रण गर्ने (डिजिज मोडिफाइङ) र सुजन कम गर्ने (एन्टइन्फ्लामेटोरी) औषधिहरु प्रयोग गरिन्छ ।

एकाध जोर्नीमा मात्र रोगले च्यापेको खण्डमा त्यो जोर्नीमा सोझै स्टेरोइड औषधिको सुई दिएर पनि सुजन कम गर्न सकिन्छ । सुजन कम गर्ने तथा रोगलाई नियन्त्रणमा राखेर सम्भाव्य जटिलताबाट जोगाउने विभिन्न औषधिहरु विज्ञ चिकित्सकको सल्लाह र निगरानीमा रोगको कडापन र प्रकृति हेरी लामो समयसम्म र सम्भवतः जीवनभर पनि सेवन गर्नुपर्ने हुन सक्छ ।

खाने औषधिहरुको सेवनले कुनै फाइदा नपुगेको वा सिकिस्त बाथरोग भएको अवस्थामा बायोलोजिक औषधिहरु (जस्तै– टीएनएफ, एएलएफए) प्रयोग गर्नुपर्ने हुन सक्छ । यो केही खर्चिलो भए तापनि खाने औषधिको तुलनामा बायोलोजिक औषधिहरुको प्रभावकारिता अलि बढी भएको पाइन्छ । उपचारको क्रममा आएको सुधार हेर्न तथा औषधिको हानिकारक असर एवं रोगका जटिलताहरु मूल्यांकन गर्नको लागि नियमित रुपमा स्वास्थ्य परीक्षण तथा रगत जाँचको आवश्यकता पर्दछ ।

धेरै दुखेका तथा अन्य सुन्निका जोर्नीहरुलाई पर्याप्त आरामको जरुरत पर्दछ । नियमितरुपमा मनतातो पानीले सेकेर पनि दुखाइ र अररोपन कम गर्न सकिन्छ । तर जोर्नी जाम हुनबाट जोगाउनको लागि जोर्नीको दुखाइ र सुजन कम हुनेबित्तिकै जोर्नी चलाउन र पर्याप्त कसरत गर्न थाल्नुपर्दछ ।

खानेकुरा र र्‍युमटोइड आरथ्राइटिस

र्‍युमटोइड आरथ्राइटिसका बिरामीहरुलाई यथेष्ट मात्रामा क्यालोरी, प्रोटिन र भिटामिनयुक्त स्वस्थकर तथा सन्तुलित भोजनको आवश्यकता पर्दछ । शरीरमा रोगको दीर्घ प्रभाव तथा औषधिको सम्भावित हानिकारक असरहरुबाट जोगिन पनि यस्तो खाना अत्यावश्यक हुन्छ ।

हाम्रो समाजमा विभिन्न खानेकुराहरुले यो रोग बढाउने विश्वास गरिन्छ, तर यसमा कुनै वैज्ञानिक आधार भेटिएको छैन। धूमपानले र्‍युमटोइड आरथ्राइटिस बढाउन सक्ने, औषधिको प्रभावकारिता घटाउन सक्ने तथा विभिन्न हानिकारक असरहरुसमेत निम्त्याउन सक्ने भएकोले यसबाट टाढै रहनुपर्दछ । त्यस्तै, जाँड–रक्सीको सेवनले औषधिको हानिकारक असरलाई बढाउन सक्ने भएकोले यसबाट पनि जोगिनु जरुरी छ ।

नेपाली समाजमा स्याल तथा चिप्लेकीराको मासु खाएर स्यालको मासुबाट तयार पारिएको रक्सी सेवन गरेर, बिजुलीको तेल तथा रक्सीले जोर्नी सेकेर वा विभिन्न जडीबुटीको प्रयोगबाट बाथरोगीलाई फाइदा पुग्ने विश्वास गरिन्छ, जसमा कुनै वैज्ञानिक आधार भने छैन ।

प्राकृतिक चिकित्सा, एक्युपञ्चर, एक्युप्रेसर लगायतका विभिन्न वैकल्पिक उपचार पद्धतिले जोर्नीको दुखाइबाट क्षणिक राहत दिए पनि रोग नियन्त्रण गर्न तथा सम्भाव्य जटिलताबाट जोगाउन खासै सहयोग गरेको पाइएको छैन ।

(पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल मेडिसिन विभाग प्रमुख प्रा.डा. बुद्धि पौड्यालसँग साधना प्रतिनिधि भगवती तिमल्सिनाले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्