प्रेमसम्बन्ध अस्वीकार भए के गर्ने ?



 

डा. राजेन्द्र भद्रा

प्रश्न : अहिले म २३ वर्षको भएँ । केही समयअघिदेखि एक युवतीलाई मन पराउँछु । हामी साथीको रुपमा बरोबर सँगै बिताउने गरेका छौँ । मैले प्रेम प्रस्ताव राख्ने सोचेको निकै भयो तर उनले अस्वीकार गर्ने हुन् कि भन्ने भयले प्रस्ताव राख्न सकिरहेको छैन । मैले के गर्दा ठीक होला ? सुझावको अपेक्षामा छु ।

– डम्बर कार्की, मोरङ

अस्वीकार्यताको भय

मानव एक सामाजिक प्राणी भएकाले अन्य व्यक्तिको ध्यान प्राप्त गर्नु एउटा आधारभूत कुरा हो ।

अन्य व्यक्तिसँगको दीर्घ सम्बन्धको सन्दर्भमा कुरा गर्दा सम्मान, समझदारी र स्वीकार्यताको कुरा आउँछ, जुन हाम्रो शारीरिक तथा मानसिक विकासको लागि आवश्यक हुन्छ ।

तर सबै व्यक्तिले सधैँ नै यी कुरा प्राप्त नगर्न सक्छन् । केही मात्राको इन्कारीलाई सामान्य मान्न सकिएला, किनकि सबै व्यक्तिले सबैलाई स्वीकार गर्दैनन् ।

दीर्घकालीन रुपमा अस्वीकार्यता भोगेका व्यक्तिमा आत्म–सम्मानमा कमी, निराशापन, एक्लोपन, आक्रामकता बढ्ने हुन्छ । यसका साथै भविष्यमा अस्वीकार्यताको भय हुने मात्रै होइन, आत्म–आलोचक हुने र स्व–अस्वीकार्यता हुने प्रवृत्ति देखिन्छ ।

केही व्यक्तिहरू यी कुरामा अन्य व्यक्तिभन्दा बढी नै संवेदनशील हुन्छन् र उनीहरूमा विशेष गरी अन्य व्यक्तिबाट स्वीकार्यता प्राप्त गर्न सकिँदैन कि भन्ने भय हुने गर्दछ । यसलाई हामीले ‘अस्वीकार्यताको भय’ भन्न सक्छौँ ।

कारण के होला ?

यस्तो किन हुन्छ त ? भन्ने सन्दर्भमा विभिन्न सिद्धान्तहरू विद्यमान छन् । बाल्यास्थामा नै मातापिता अनि हजुरआमा तथा बुबा, दाइ तथा दिदी, शिक्षकजस्ता अभिभावकत्वमा महत्वपूर्ण भूमिका भएका व्यक्तित्वबाट अस्वीकार्यता अनुभव गरेका वा भोगेका भए उनीहरूमा यस्तो भय जागृत हुन सक्ने सम्भावना बढी हुन्छ ।

यस्ता अस्वीकार्यताको अनुभव उनीहरूले प्रत्यक्ष वैरभाव, उपेक्षा, बाल्यवस्थामा हेरचाहमा अरुचि देखाउनुजस्ता कुराबाट गरेका हुन सक्छन् ।

 

त्यसदेखि बाहेक कुनै आघातपूर्ण घटना जस्तै कि मातापिताको देहावसान वा उनीहरूलाई अस्वीकार गर्नु, कलिलै उमेरमा मातापिता वा अभिभावकले त्याग्नु, विद्यालय वा अन्य स्थानमा थिचोमिचो भोग्नुपर्ने स्थिति आउनु वा उनीहरूलाई हास्यको पात्र बनाइनुजस्ता कतिपय कुरा पनि पर्दछन् ।

वयष्क अवस्थामा पहिलेको अस्वीकार्यतासँग मिल्दोजुल्दो कुराले त्यसलाई पुनः अस्वीकार्यताको भयलाई शुरुवात गर्न सक्छ । आर्थिक रुपमा सबल नभएको, दक्ष नभएको, जागिर नपाएको वा शारीरिक रुपमा आकर्षक नभएको भन्ने सोचजस्ता कुराले यसलाई अस्वीकार्यताको भयलाई बिउँताउन सक्छ ।

विशेष गरेर दबाबपूर्ण वा तनावयुक्त स्थिति जसको प्रतिफल कस्तो आउँछ, सो पक्का नभएको स्थितिमा अस्वीकार्यताको भय बढी हुन सक्छ । यस्ता स्थिति पहिलो प्रणय भेटघाट (डेटिङ), नयाँ व्यक्तिसँगको भेटघाट, जागिरको लागि दिइने अन्तर्वार्ता, व्यापारिक सौदाबाजीको लागि गरिने भेटघाट हुन् ।

यौन जीवनमा प्रभाव

यौन जीवनको सन्दर्भमा विभिन्न किसिमको नकारात्मक प्रभाव पर्न सक्छ । आफू अपूर्ण भएको र आफ्नो यौनसाथीको स्पर्श र यौन क्रियाकलापको कार्यको शुरुवात गर्दा त्यसलाई निको नमान्ने हुन्छ ।

यौनसाथीसँग अन्तरंग सम्बन्ध राख्न बाध्य हुँदा घृणाको अनुभूतिसमेत हुने गर्दछ । यस्तो स्थितिमा यौन चरमसुख प्राप्त गर्न पनि गाह्रो हुने हुन्छ । आफैंमा केही कमजोरी छ भन्ने ठान्ने भएकोले सम्बन्ध पनि राम्ररी राख्न सक्ने स्थिति हुँदैन । उसमा आफ्ना यौन आवश्यकताहरू आफ्नो यौनसाथीलाई व्यक्त गर्न सक्ने स्थिति हुँदैन । सम्बन्ध धेरै नै बिग्रँदा पारपाचुकेसम्मको स्थिति आउन सक्छ ।

यौनसम्बन्धी कुरामा पुरातन सोच राख्ने व्यक्तिमा यस किसिमको भय बढी हुन सक्छ । अस्वीकार्यताले हाम्रो सबैभन्दा ठूलो भयलाई निम्त्याउँछ । हामी माया पाउन योग्य छैनौं र जिन्दगी एक्लै जिउने स्थिति, मूल्यहीन भएकोतर्फ उन्मुख छौँ भन्ने देखिन्छ ।

भय हुँदा के नगर्ने ?

यसरी अस्वीकार्यताको भय भएका व्यक्ति यौन क्रियाकलाप गर्नुपर्ने स्थितिबाट पर भाग्न प्रयासरत हुन्छन् । यस्ता परिस्थितिमा मिल्न कोशिश पनि गर्दछन् । यसै क्रममा कतिपय व्यक्तिले यसरी अस्वीकार्यताको भयको सामना गर्न गलत तरिका अपनाउन सक्छन् । तर यस्तो नगर्नु नै उचित हुन्छ । के–कस्ता कुरा यसमा पर्दछन् त ?

-आफूलाई गाह्रो भए पनि अन्य व्यक्तिलाई खुशी पार्न सक्दो कार्य गर्ने ।

-आफ्ना कुरा, विचार तथा चाहनाहरू दृढ तरिकाले नराख्ने ।

-कहिले निष्क्रिय र कहिले आक्रामक व्यवहार गर्ने । निरन्तर गुनासो गर्ने, प्रतिबद्धता पूरा नगर्ने, काममा ढिलाइ गर्नेजस्ता कुरा गर्ने ।

– अस्वीकार्यताको भयले आफू जे–जस्तो व्यक्ति हो त्यही रुपमा प्रस्तुत नहुने ।

– भावनात्मक रुपमा पर भाग्ने ।

– विश्वसनीय नहुने आदि ।

समाधानका लागि के गर्ने ?

अस्वीकार्यताको भय एक तीतो यथार्थ हो र सबैले कुनै न कुनै बेलामा धेरथोर भोगेका हुन्छन् । महत्वपूर्ण कुरा त्यसको पछि नलाग्नु हो । यस्तो किसिमको भय हुनु वा अति संवेदनशील हुनुले प्रगति तथा खुशीयाली दुवैमा नै नकारात्मक असर पर्दछ ।

अस्वीकार्यता आफैंमा पीडादायक हुन्छ र यसको भय एकदमै दुःखदायी । यो भावनात्मक पीडाको समाधानका लागि हामीले निम्न उपाय गर्न सक्छौं ।

-सर्वप्रथम के–कस्ता कुराले भयको शुरुवात गर्छ, सो पत्ता लगाउनुहोस् । पत्ता लगाइसकेपछि त्यस भयलाई सामना गर्न तयारी गर्नुहोस् । हतास नभई जीवनलाई अघि डो-याउने प्रयास गर्नुपर्छ ।

-कसैले अस्वीकार ग-यो भन्दैमा आफूमा कमी भएको वा आफूलाई नै दोषी ठान्ने वा अस्वीकार गर्ने व्यक्तिलाई दोषी वा खराब ठान्ने गर्नुहुँदैन । कसैले अस्वीकार गर्दैमा तपाईंमा कुनै कमी वा दोष भएको प्रमाणित हुने होइन । कुनै परिस्थितिमा तपाईंले अस्वीकार्यता भोग्नुभयो भने पनि यसको अर्थ तपाईंमा कमी भएको कारणले नहुन सक्छ । बरु अस्वीकार गर्ने व्यक्तिमा अन्य कतिपय कारणले स्वीकार गर्न सक्ने स्थिति नभएको हुन सक्छ ।

-कुनै महिला वा पुरुषसामु प्रणय सम्बन्धको सन्दर्भ वा अन्य सन्दर्भमा जाँदा आफू जस्तो हो त्यही रुपमा प्रस्तुत हुनुहोस् । अस्वीकार्यताको भयको कारणले उसलाई अस्वाभाविक रुपमा खुशी पार्न प्रयास नगर्नुहोस् ।कसैले वा कुनै परिस्थितिमा तपाईंले अस्वीकार्यता भोग्नु नै भयो भने पनि संसार धेरै ठूलो छ र त्यहाँ तपाईंलाई स्वीकार गर्ने, माया गर्ने थुप्रै व्यक्तिहरू भेटिन्छन् भन्ने कुरा बिर्सनुहुँदैन । त्यसैले निराशापन आफूमा आउन दिनुहुँदैन ।

महत्वपूर्ण कुरा के हो भने, आफू वा अरुलाई यसमा दोषी ठान्ने गर्नुहुँदैन । यसो गर्दा झनै समस्या आउने गर्दछ । कसैले अस्वीकार ग-यो भन्दैमा संसारकै अन्त्य हुने होइन ।

पक्कै अर्को व्यक्ति वा परिस्थितिमा तपाईंलाई स्वीकार गर्ने व्यक्ति पाइन्छ नै । हामीले हाम्रा निकटतम आफन्तजन गुमाएको अवस्थामा समयले त्यसलाई बिस्तारै निको पार्दछ ।

त्यसै गरी समय बित्दै जाँदा अस्वीकर्यताको चोट पनि कम हुन्छ ।यी सब प्रयासका बाबजुद तपाईंलाई अस्वीकार्यताको भय वा यसको कारणले तनाव धेरै भएमा मनोविज्ञ वा मनोरोग विशेषज्ञको सहयोग लिनुपर्ने हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्