नेगेटिभ रक्तसमूह र गर्भधारणमा सतर्कता



 

प्रा.डा. सुमनराज ताम्राकार स्त्रीरोग विशेषज्ञ

 

सबिनाको तेस्रोपटकको गर्भ पनि सफल भएन । सबिना र उनका श्रीमान्को रक्तसमूह नमिलेकै कारण पटक–पटक गर्भ खेर गएको रहेछ । विशेषतः श्रीमती (महिला पार्टनर) को नेगेटिभ रगत समूह र श्रीमान् (पुरुष पार्टनर)को पोजिटिभ रगत समूह भएको परिस्थितिमा कहिलेकाहीँ यस्तो नमीठो परिस्थिति आइलाग्छ ।

आजको चिकित्सा विज्ञानमा धेरै सम्भावना छन् । नियमित गर्भ जाँच गराएको खण्डमा धेरै हदसम्म यस्तो प्रतिकूल अवस्थामा सुधार ल्याउन सकिन्छ ।

अर्थात् नेगेटिभ रगत समूह भएकै महिला भए पनि त्यस्तो महिलाको गर्भ तुहिएलगत्तै, गर्भावस्थामा कुनै कारणले रगत बगेलगत्तै वा सुत्केरी भएलगत्तै एन्टी डी (Anti D) भन्ने सुईमार्फत दिन सकेको खण्डमा पछि–पछिका गर्भमा त्यतिसारो नकारात्मक असर पुग्दैन ।
तर सबिनाको केस अप्ठ्यारो अवस्थामा आइपुगेको थियो ।

भन्नुको तात्पर्य पहिलो दुईवटा गर्भमा स्वास्थ्य जाँच नै गराएको रहेनछ भने यसपटक पनि गर्भको बेलामा अधिक स्याँ–स्याँ आएर गाह्रो भएपछि मात्र अस्पताल आइपुगेकी थिइन् ।

जाँचपड्तालको क्रममा नेगेटिभ रगत समूहकै कारण गर्भमा पानीको मात्रा निकै बढेको र सास फेर्नमा समस्या आएको पत्ता लाग्यो । नेगेटिभ रगत समूहकै असरस्वरुप गर्भभित्रको शिशुका विभिन्न अंगप्रत्यंग सुन्निएका थिए । तसर्थ यसपटकको गर्भ पनि सफल बनाउन सकिने अवस्थामा थिएन ।

महिला र पुरुषको समागमले मात्र गर्भ रहन सम्भव छ । तर पनि गर्भावस्थामा गर्भेशिशुमा देखिने राम्रो-नराम्रो असरमा आमाकै प्रभाव बढी हुन्छ । उदाहरणको लागि गर्भवती महिलालाई उच्च रक्तचाप, मधुमेह, थाइरोइडको समस्या, रक्तअल्पता, रगत बाक्लिने समस्या आदिको सीधै असर गर्भेशिशुमा पर्न जान्छ ।

जबकि गर्भेशिशुको बुबामा यी स्वास्थ्य समस्या भएको खण्डमा त्यतिसारो असर पर्दैन ।त्यसैले गर्भवती जाँचको क्रममा विशेष गरी स्वास्थ्यकर्मीले महिलाको गर्भपूर्व वा गर्भावस्थाको बेलाको स्वास्थ्य अवस्था तथा माइतीतिरका आफन्तहरुमा विद्यमान स्वास्थ्य समस्याहरुमा अलि बढी नै खोजीनीति गर्दछन् ।

गर्भावस्थामा देखा पर्ने विभिन्न स्वास्थ्य समस्याहरु (गन्धयुक्त योनिश्राव बग्ने, रगत देखा पर्ने, तल्लो पेट दुख्ने, हातगोडा सुन्निने, आँखा धमिलो हुने, टाउको धेरै दुख्ने, अधिक थकान हुने) तथा गर्भवती महिलामा पहिल्यै विद्यमान स्वास्थ्य समस्या वा गर्भवतीकै कारण उत्पन्न स्वास्थ्य समस्याहरु (उच्च रक्तचाप, मधुमेह, मुटुको समस्या, मिर्गौलाको खराबी, मूत्रनली संक्रमण, थाइरोइडको समस्या, छारेरोग, रक्तअल्पता, हेपाटाइटिस, यौनरोग, एचआईभी एड्स आदि) मा जस्तै महिलामा भएको स्वास्थ्य समस्याकै कारण गर्भेशिशुमा असर पर्न सक्ने अर्को समस्या भनेको महिलाको नेगेटिभ रगत समूह पनि हो । त्यसैले पनि नेगेटिभ रगत समूह भएकी गर्भवती महिलाको पनि सम्बन्धित विशेषज्ञको निगरानीमा गर्भावस्थाभरि फरक तवरले व्यवस्थापन गर्नुपर्दछ ।

रक्तसमूह नेगेटिभ हुँदाको प्रभाव

सामान्य तवरमा करिब १० देखि १५ प्रतिशत मानिसको रक्तसमूह नेगेटिभ प्रकारको हुन्छ । अतः गर्भवती महिलाहरुमध्ये करिब १५ प्रतिशत महिलाको रगत समूह पनि नेगेटिभ प्रकारको हुन्छ ।

नेपालमा सम्भावित दम्पतीबीच रगत समूह चेकजाँच गराएर मात्र विवाह गराइदिने चलन छैन र यो त्यति व्यावहारिक पनि छैन । यदि गर्भवती महिलाको रक्तसमूह नेगेटिभ प्रकारको छ र उनको श्रीमान्को रक्तसमूह पोजिटिभ प्रकारको छ भने तिनीहरुबाट जन्मिने शिशुको रक्तसमूह पनि पोजिटिभ प्रकारको हुने सम्भावना निकै बढी हुन्छ ।

यसरी दम्पतीबीचको रगत समूह नमिलेकै परिणामस्वरुप गर्भेशिशुको रगत कुनै कारणले गर्भवती महिलाको रक्तसञ्चार प्रणालीमा गयो भने गर्भवती महिलाको शरीरमा उक्त पोजिटिभ रक्तसमूहविरुद्ध लड्ने तत्वहरु (प्रतिरोधात्मक क्षमता) बनाउँछ ।

यस्तो तत्व यसपछिका गर्भमा आउने शिशुको शरीरमा गयो भने गम्भीर प्रतिक्रिया हुन गई गर्भभित्रै उक्त शिशुको मृत्यु हुन सक्छ ।त्यसैले पनि पहिलोपटकको गर्भ तुहिँदा, गर्भपतन गराउँदा वा सुत्केरी व्यथाको क्रममा मात्र गर्भेशिशुको रगत आमाको शरीरमा जाने हुनाले पहिलो गर्भलाई खासै असर नगरे पनि पछि–पछिका गर्भहरुलाई भने बढ्ता असर पर्दछ । त्यसैले पनि गर्भवती महिलाको रक्तसमूह नेगेटिभ हुनुलाई जोखिमपूर्ण गर्भावस्था मानिएको हो ।

यसरी गर्भवती महिला र गर्भेशिशुको रगतबीच प्रतिक्रिया हुँदा गर्भेशिशुमा गम्भीर रक्तअल्पता हुने, गर्भेशिशुको पूरै शरीर तथा केही अंगहरु सुन्निने, गर्भभित्रै गर्भेशिशुमा पहेँलोपना देखा पर्नेे र गर्भेशिशुको मुटुले काम गर्न छोडी गर्भभित्रै शिशुको ज्यान जाने हुन सक्छ । यसरी गर्भवती महिला र गर्भेशिशुको रगतबीचको गलत प्रतिक्रियाका कारण गर्भेशिशुलाई पर्न गएको असरको गम्भीरतालाई विचार गरी गर्भभित्रै रहँदा वा जन्मिएपछि शिशुको रगत फेर्नुपर्ने पनि हुन सक्छ ।

नियमित गर्भजाँचको क्रममा नेगेटिभ रक्तसमूह भएका गर्भवती महिलामा यस्तो नकारात्मक प्रतिक्रिया भयो कि भनेर पटक–पटक रगत जाँच्नुपर्ने तथा अल्ट्रासाउन्डबाट गर्भेशिशुमा कुनै खराबी देखा पर्न गयो कि जाँच्नुपर्ने हुन्छ । पछि–पछिका गर्भलाई असर नगरोस् भनी गर्भ तुहिएलगत्तै, सुत्केरी भएलगत्तै एन्टी डी (Anti D) सुई दिनुपर्ने हुन्छ । समयमै यस्तो एन्टी डी सुई दिएको खण्डमा पछि–पछिका गर्भलाई त्यतिसारो नकारात्मक असर पु-याउँदैन ।

तसर्थ रक्तसमूह नेगेटिभ भएका महिलामा सिजेरियनका बेला, सुत्केरीपश्चात् पाठेघर खुम्चिने औषधि दिँदा, गर्भावस्थामा पाठेघरबाट पानी निकाली जाँच गर्नुपर्दा, सालनाल निकाल्दा, सालनालमा असर पुग्ने गरी पेट जाँच गर्दा बढी सतर्कता अपनाउनुपर्दछ । त्यसैले कुनै कारणवश गर्भ तुहिँदा, गर्भपतन गराउँदा, कडा प्रकारले पेट जाँच गर्दा तथा गर्भावस्थामा पाठेघरबाट पानी निकाली जाँच गर्नुपर्दा सुरक्षाको दृष्टिले एन्टी डी (Anti D) सुई दिनु राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्