के तपाईंले गर्ने मनोरञ्जन सही छ ?



 

डा. क्षितिज बराकोटी (प्राकृतिक चिकित्सक)

स्वास्थ्यको लागि स्वस्थ खानपान, राम्रो दिनचर्या आदि भएर मात्र पुग्दैन । यसका लागि जीवनलाई रमाइलो पनि बनाउनुपर्दछ । तर रमाइलो गर्न नजानेर वा क्षणिक रमाइलोमा भुलेर तपाईं–हामी आफ्नो स्वास्थ्यलाई मात्र हैन जीवनलाई नै जोखिममा पारिरहेका हुन्छौं । जीवनलाई रमाइलो बनाउनुपर्छ तर रमाइलोकै कारण समस्या उत्पन्न नहोस् भन्नेतिर पनि ध्यान दिनु जरुरी छ ।
रमाइलो र स्वास्थ्य
सही ढंगले जीवन बिताउन सकियो भने जीवन रमाइलो र आनन्दमय हुन्छ । सुखमा मात्र हैन, दुःखमा पनि हाँसीखुशी रहन सक्नुपर्दछ ।रमाइलो गर्ने तौरतरिकाहरुले दुःख–पीडाहरुलाई भुलाउन सकिन्छ ।

निरस र निराश जीवनमा रस र आशा जगाउन सकारात्मक क्रियाकलापले महत्वपूर्ण भूमिका खेल्दछ ।

सही ढंगबाट गरिने मनोरञ्जनले हाम्रो शरीरमा खुशी उत्पन्न गर्ने हर्मोनहरुको उत्पादन बढ्छ । फलस्वरुप खुशी र आनन्द आउँछ, रोग प्रतिरोधक एवं रोग निवारण हुने क्षमता बढ्छ । यसरी नै मनोरञ्जन र रमाइलोपनले अनेक लाभहरु पाउन सकिन्छ । यससम्बन्धी चर्चा गर्नु सान्दर्भिक हुन्छ ।

 

 

मानसिक लाभ: जीवनलाई रमाइलो बनाउने गतिविधिहरुले तनाव घटाउन मद्दत गर्दछ । रमाइलो गर्ने बानी भएका मानिसमा तनावलगायत अन्य मानसिक समस्याहुँदैन । यदि भइहालेपनि मनोरञ्जनका गतिविधिले नै कैयन मानसिक समस्याहरुमा उपचारको कामगर्दछ ।शारीरिक

स्वास्थ्यलाभ :स्वस्थकर मनोरञ्जनले शारीरिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्दछ । उदाहरणकालागि खेलकुदबाट मनोरञ्जन लिने, शारीरिक अभ्यासमा रमाउने, योगका विभिन्न अभ्यासहरुमा आनन्द मान्ने आदिबाट शारीरिक स्वास्थ्य उन्नत हुन्छ । यसरी नै मानसिक आनन्द दिनेखालका शारीरिक वा मानसिक क्रियाकलापहरुको उचित प्रभाव पनि अन्तस्रावी ग्रन्थि र हर्मोन, स्नायु, मुटु आदिमा पर्दछ ।यसबाट अनेक लाभ पाउन सकिन्छ ।
रोगव्यवस्थापन: सही ढंगले गरिएका रमाइला गतिविधिले शारीरिक मात्र होइन मानसिक रोगहरुलाई पनि लाभ दिन्छ । उदाहरणका लागि मोटोपन, हृदयरोग, उच्च रक्तचाप आदिमा स्वस्थकर मनोरञ्जनले चिकित्सा विधिसरह काम गर्दछ ।परिवारिक रमाइलोले परिवारमा र समाज एवं समुदायका बीच गरिने स्वस्थ मनोरञ्जनले सामाजिक स्वास्थ्य र सम्बन्धहरुको विकास पनि हुन्छ ।

रमाइलो गर्ने नराम्रा बानी

मनोरञ्जनका नाममा गरिने खराब बानीहरुले हाम्रो स्वास्थ्यलाई नराम्रो मोडमा लैजान्छ ।हामीले रमाइलो गर्ने नाममा जानी नजानी अनेक गल्तीहरु गरिराखेका हुन्छौं, जसलाई सुधार्नु जरुरी छ । केही उदाहरणहरुः

खाएर रमाइलो: जुनसुकै खुशीयालीमा हामी रमाइलो गर्छौं । यस्तो रमाइलोको साधन भोजभतेर नै हुन्छ । आफ्नो शरीरको क्षमता अनुरुप

खानपानको प्रयोग गर्नु सामान्य नै हो । तर क्षमताभन्दा बढी एवं रोगावस्थामा खानु पनि खतरापूर्ण हुन सक्छ । त्यसमा पनि रमाइलो गर्ने नाममा भोजभतेरमा मद्यपानको अत्यधिक प्रयोग भएको पाइन्छ । रक्सी भएन भने भोजै भएन भन्ने गलत मानसिकता फैलिएको छ । नियन्त्रणविना नै यसरी मद्यपान गर्नु घातक बन्दै गइरहेको छ । झन् यसको लत लागेकाहरुमा अत्यधिक मद्यपान गर्ने र नियन्त्रणबाहिर जाने हुन्छन् ।

भोजभतेरमा अत्यधिक संख्यामा परिकारहरु राख्ने, चिया–कफी वा कोल्ड ड्रिंक्स, स्न्याक्स, मेन खाना, डेजर्ट आदिको नाममा घण्टौं बसेर खाइरहने बानी बसेको देखिन्छ ।

त्यसमा पनि दिनदिनै भोजमा जानुपर्ने अवस्था आयो भने त्यसलाई शरीरले धान्नै नसक्ने भई अनेक रोगहरु लाग्न सक्छ । टिभी हेर्दै खाने, यात्रा गर्दा वा कुनै बहाना बनाएर खाइरहने लगायत अनियन्त्रित रेस्टुरेन्ट कल्चर हाम्रा नराम्रा बानीहरु हुन्, जसलाई सुधार्नु जरुरी छ ।

मोबाइलबाटआनन्द लिनेः कतिपय व्यक्तिहरु मोबाइलमा गेम खेलेर घण्टौं समय कटाउँछन्, फेसबुक वा अन्य सामाजिक सञ्जालमा दिन काट्छन् ।अथवा युटुब आदिमा भिडियो हेर्छन् । थोरै समय चलाउनु वा हेर्नु त सामान्य नै हो तर घण्टौं यसकै पछाडि लाग्नुचाहिँ समस्या नै हो । यसरी नै लामो समय मोबाइल चलाउँदा पनि समयको बर्बादीसँगै त्यसबाट निस्कने विकिरणले हानि गर्छ ।

यस्ता उपकरणहरुले हामीमा आलस्य उत्पन्न गरिरहेका छौं र शारीरिक कार्य गर्ने, प्रगति गर्ने क्षणलाई गुमाइरहेका छौं । यसको आशक्ति घटाउनु अति जरुरी भैसकेको छ । यसरी नै सामाजिक सञ्जालमा विभिन्न पोस्ट गर्ने, टिकटक वा अन्य भिडियो बनाउने, लाइभमा आउने आदिबाट समेत रमाइलो गर्ने गरिएको छ । कतिपय व्यक्ति हौसिएर जथाभावी पोस्ट गर्ने गर्दा समस्यामा परेको पाइन्छ ।

तास खेलेर अस्वस्थ रमाइलो: रमाइलोका लागि कहिलेकाहीँ केही क्षणका लागि तास खेल्दा केही बिग्रँदैन, तर तास जुवाका रुपमा खेलिनुहुँदैन । जुवा र लतका रुपमा यसको प्रयोग भयो भने जिन्दगी बर्बाद हुन्छ । कैयौं व्यक्तिहरु जुवातासलाई जमघटको उद्देश्य बनाउँछन् ।

कहिलेकाहीँको पारिवारिक भेटघाट वा पिकनिकमा समेत पूरा समय तास खेलेर बिताउने समूह पनि हुन्छ । यस्तो अवस्थामा अरुको नजरमा पनि त्यस्ता व्यक्तिको सम्मान कम हुने,अरुलाई पनि दिक्क बनाउने र आफैंमा पनि वास्तविक स्वस्थ मनोरञ्जन नहुने हुन्छ ।

बस्ने खेल अनुपयोगी: धेरै व्यक्तिहरु समय काट्नकै लागि लामो समय क्यारामबोर्ड, बाघचाल, बुद्धिचाल, लुँडो तथा मोबाइल वा ट्याब कम्प्युटरका गेमजस्ता एकै ठाउँमा बसेर खेल्ने खेलहरुमा समय खर्च गर्दछन् । यस्ता खेलहरु पनि स्वस्थ मनोरञ्जन गर्ने साधनहरु हुन्, तथापि शारीरिक रुपमा निष्क्रिय खेलभन्दा सक्रिय खेललाई बढी प्राथमिकता दिनुपर्दछ । ठूला मानिसले यस्ता खेलहरु खेल्नाले बच्चाहरुले त्यसबाट सिक्छन् ।

 

 

स्वस्थकर मनोरञ्जन

खेलकुदबाटआनन्द: रमाइलोका लागि हामी खेलहरु खेल्न सक्छौं । कुन खेल खेल्ने भन्ने कुरा हामी कतिजना छौं र कहाँ छौं भन्नेमा भर पर्दछ । साथै उमेर, अभिरुचि, क्षमता तथा शारीरिक अवस्था अनुरुप खेल्न सक्छौं । उदाहरणका लागि ब्याड्मिन्टन, भलिबल, फुटस्टल, कपर्दी, दौड, पौडी, क्रिकेट आदिलाई लिन सकिन्छ ।
यस्ता खेलहरु प्रतिस्पर्धाका रुपमा वा त्यसै पनि खेल्न सकिन्छ । खेल खेल्दा पनि नियमित खेलेका र शारीरिक अभ्यास गरेकाहरुलाई मात्र सहभागी गराउनुपर्छ नत्र एक्कासी सहभागिताले स्वास्थ्य जोखिम उत्पन्न गर्ने सम्भावना रहन्छ ।

संगीत सुनेर आनन्द:  एक्लै बस्दा वा समूहमा पनि संगीतले आनन्द दिन्छ । सुमधुर, सुन्दा मनलाई आनन्द आउने, शरीरमा पनि तरंग छर्ने खालका गीतहरु सुन्नुपर्छ । निराशावादी, दिक्क लाग्ने, दुःख–पीडावादी, तनाव उत्पन्न गर्ने, चर्को स्वरयुक्त गीतले बेफाइदा गर्दछ । गीत–संगीत सुनेकै कारण कतिपयले आत्महत्या पनि गरेका सुनिन्छ । सकेसम्म रमाइलो खालका संगीत सुन्ने गर्दा आफ्ना दुःख, पीडा र तनावहरु भुल्न सकिन्छ ।

विछोड, दुःख र पीडाका गीत–संगीतले आफ्नो दुःख र समस्यालाई स्मृति पटलमा ब्युँझाइदिन्छ र रमाइलोलाई टाढा भगाइदिन्छ । कतिपय गीत–संगीत मस्त निद्रा दिने, शारीरिक–मानसिक थकान घटाउने र पूर्ण विश्राम दिने खालका हुन्छन् ।मन्त्र, कविता, बाँसुरी, सीतार आदिका धुन आदि पनि उपयोगी हुन्छन् ।

नाचगान: जीवनलाई रमाइलो र आनन्ददायी बनाउने माध्यम नाचगान पनि हो । आपूmलाई रमाइलो लाग्ने र आनन्द आउने खालका गीत–संगीतमा नाच्न, झुम्न र मजा लिन सकिन्छ । यसरी नै भजन–कीर्तनका रुपमा पनि नाच्न सकिन्छ । एकल वा सामूहिक नाच मात्र हैन गायन पनि रमाइलोको प्रयोग हुन सक्छ । यस्ता नाचगानहरु स्वयंंले गरेर वा हेरेर मात्र पनि रमाइलो लाग्न सक्छ ।

हिँडेर आनन्द: हिँडेर पनि मजा आउँछ ।प्रातःभ्रमण, सन्ध्याकालीन हिँडाइ, सुरक्षित स्थानमा रात्रिकालीन पदयात्रा पनि निकै आनन्ददायी हुन्छ । आध्यात्मिक क्षेत्रमा गरिने यात्रा, प्राकृतिक क्षेत्रका ओराली–उकालीहरुमा गरिने हाइकिङ वा पदयात्रा रोमाञ्चक हुन्छन् ।

हिउँ पर्दा हिउँमा हिँड्ने र खेल्ने रमाइलो बेग्लै हुन्छ । तर वनविहार, हिँउक्षेत्र र जोखिमयुक्त ठाउँमा घुम्दा भने गाइडको साथ र पर्याप्त खानपिन, औषधि एवं सुरक्षाका साधन आवश्यक हुन्छ ।

कतिपयलाई लेक लाग्ने समस्याले खतराको स्थिति पनि निम्त्याउन सक्छ । यस्तो हिँडाइ तबमात्र आनन्ददायी हुन्छ, जबसम्म हिँडाइ वा यात्रा अवधिभर तपाईंको स्वास्थ्य राम्रो हुन्छ । त्यसैले धेरैदिनको यात्रामा स्वस्थकर खानपान र दिनचर्याको आवश्यकता पर्छ । पहिल्यै कुनै स्वास्थ्य समस्या भएमा चिकित्सकको परामर्श लिइहाल्नुपर्छ ।

दृश्यावलोकन: प्रकृतिका दृश्यावलोकन गर्नुको मजा नै बेग्लै हुन्छ । नदी, ताल, हिमाल, पहाड, वन, पार्कहरु आदिमा घुम्नु र हेर्नु शारीरिक तथा मानसिक दुवै दृष्टिकोणले निकै लाभदायक हुन्छ । यसरी नै नयाँ स्थान, चित्र, सांस्कृतिक क्रियाकलापहरु आदिको अवलोकनबाट पनि मानसिक आनन्द लिन सकिन्छ ।

पिकनिक: रमाइलोको एउटा उपाय पिकनिक पनि हो । पिकनिकमा सामूहिक रमाइलोलाई ध्यान दिनुपर्छ । हिजोआज पिकनिक पनि भीडभाड र नजिकै हुने चर्को ध्वनिको प्रदूषणका कारण खल्लो प्रतीत हुन्छ । तर कसैलाई यस्तै पनि रमाइलो लाग्न सक्छ भने ठीकै हो । यदिभीडभाड बढी मन नपर्नेले बिदाका दिनभन्दा बाहेक पिकनिक जान पनि सकिन्छ ।

पिकनिकमा घैँटो फुटाइ, डोरी तान्ने, म्युजिकल चियर, बेलुन फुटाउने, जोडी बनाइ खुट्टा बाँधेर दौडने आदिबाट रमाइलो गर्न सकिन्छ । यसरी नै सामूहिक नाचगान, कविता वाचन, बिंगो, जोक, गोलाप्रथाबाट गरिने प्रस्तुति आदि सैयौं रमाइला र प्रायः समूहका सबै इच्छुक सहभागीलाई खेलाउने गरी योजना बनाउने गर्नुपर्दछ । पिकनिकमा खाजा र खाना पनि स्वस्थकर छनौट गर्नुपर्छ । साथै खानाका धेरै परिकार राख्नुहुँदैन । जाँडरक्सी नराख्ने वा साथीभाइलाई नियन्त्रित किसिमले मात्र मद्यपान गराउने निश्चित गर्नुपर्दछ ।

आध्यात्मिक रमाइलो:

रमाइलो गर्ने अत्यधिक प्रचलित माध्यम धार्मिक क्षेत्रको घुमघाम, पूजाआजा, सत्संग, भजन–कीर्तन, संस्कारकर्महरु  आदि पनि पर्दछन् । आध्यात्मिक गतिविधिले दिने आनन्द झन् बढी हुन्छ ।

योगाभ्यासबाट रमाइलो: योग यस्तो विधा हो, जसले भौतिक तथा अभौतिक दुवै प्रकारले आनन्दित बनाउँछ । बहिरंग योगका अंगहरु जस्तै– षटकर्म, यम, नियम, आसन, प्राणायाम, प्रत्याहार आदिले सामूहिक तथा व्यक्तिगत अभ्यासका क्रममा निकै आनन्दको अनुभव हुन्छ ।

यसरी नै अन्तरंग योगका अंगहरु जस्तै– धारणा, ध्यान र समाधिको साधनाले प्राप्त हुने आनन्द दीर्घकालीन हुन्छ ।यसरी नै कर्मयोग, ज्ञानयोग, भक्तियोग, मन्त्रयोग, लययोग आदि अनेक योगमार्गहरुको प्रयोगबाट पनि शारीरिक, मानसिक, सामाजिक एवं आध्यात्मिक आनन्दको प्राप्ति हुन्छ । त्यसैले दैनिक योगाभ्यासको बानी गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्