दागको सफाइमा नुन



कतिपय सफाइ सामग्री महँगा हुन्छन् । अनेक रसायन मिश्रण भएकाले त्यस्ता सामग्रीको प्रयोगले कहिलेकाहीँ नोक्सानी पनि व्यहोर्नुपर्ने हुन्छ । त्यस्ता महँगा सामग्रीको सट्टा आफ्नै भान्सामा उपलब्ध हुने नुन प्रयोग गरेर पनि कतिपय दागहरु हामीले सजिलै सफा गर्न सक्छौं । नुनको प्रयोग गरेर सफा गर्न सकिने दागहरुका बारे यहाँ उल्लेख गरिन्छ ।

खियाको दाग :

नुनको प्रयोगले खियाको दाग सफा गर्न सकिन्छ । यसका लागि कागतीको रस वा भिनेगरको पनि आवश्यकता पर्छ । खियाको दाग पूर्णतया सुख्खा हुनुपर्छ । यदि सुख्खा छैन भने सुख्खा गराउनुपर्छ । कागती भएमा सर्वप्रथम त्यस दागमा कागती निचोरेर रस हाल्नुस् । त्यसपछि त्यहाँ नुन छर्नुस् । नुनको तहले कागतीको रस छोपियोस् । यसलाई आधा घण्टासम्म त्यसै छोडिदिनुस् । त्यसपछि कपडा वा स्पन्जले सफा गर्नुस् । आवश्यक परेमा यसलाई पानीले पखाल्नुस् । यदि कागतीको सट्टा भिनेगर भएमा सबैभन्दा पहिले एक चम्चाजति भिनेगरमा नुन मिसाउनुस् । यो मिश्रणलाई खियाको दागमा स्प्रे गर्नुस् वा लगाउनुस् । केही समय त्यसै रहन दिनुस् अनि पुरानो टुथब्रसले रगड्नुस् । दाग सफा हुनेछ । आवश्यकता परेमा पछि पानीले पखाल्न पनि सक्नुहुन्छ ।

 

 

 

 

 

 

 

 

 

सिङ्कको दाग:
भान्साको सिङ्क वा सावरहेडमा पहेँलोपन वा कत्लाहरु देखिन सक्छ । यसलाई ‘क्याल्सियम बिल्डअप’ पनि भनिन्छ । नुन र कागतीको संयोजनलाई यसविरुद्ध लड्ने योद्धा मानिन्छ । तपाईंको सावरहेड वा भान्साको सिङ्कमा यस्तो समस्या छ भने कागती काटेर आधा भागमा नुन छर्किई त्यसले रगड्नुस् । एकछिन्मै सफा हुन्छ । यसले तामाबाट बनेका वस्तु झनै टल्काउँछ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

पसिनाको दाग:
प्रायः हामी सबैलाई पसिना आउने गर्छ । लगाएको कपडामा समेत पसिनाको दाग बस्न सक्छ । थोरै नुन र तातो पानीको प्रयोग गरेर सो पसिनाको दाग हटाउन सकिन्छ । त्यसका लागि एक लिटर मनतातो पानीमा चार चम्चा नुन मिसाउनुस् । सो पानीमा दाग लागेको कपडा भिजाउनुस् । एकछिन् पछि धोएर सुकाउनुस् । पसिनाको दाग जान्छ । ध्यान दिनुपर्ने कुरा के छ भने, यो उपाय सबै कपडाका लागि उपयुक्त हुँदैन । साटनजस्ता कमजोर कपडाहरू नुनमा राख्नुहुँदैन । यसले कपडा नै बिगार्न पनि सक्छ ।

 

 

 

 

 

 

 

 

 

 

कटिङ बोर्डको दाग:
कटिङबोर्ड प्रयोग गर्दागर्दै केही दिनमै फोहोर हुन सक्छ । प्रयोग गरेपछि पखाल्ने गरे पनि नयाँजस्तो देखिन गाह्रो छ । नुन र कागतीको प्रयोगले कटिङ बोर्ड सफा गर्न सकिन्छ । सर्वप्रथम बोर्डमा अलिकति नुन छर्कनुस् । त्यसपछि कागती काटेर यसमा रगड्नुस् । यसले सबैभन्दा कडा दाग पनि बाहिर निकाल्न मद्दत गर्नेछ र बोर्ड सफा हुनेछ ।

ड्रेन पाइपको कस:
विभिन्न कस टाँसिएर अवरुद्ध भएको ड्रेन पाइप खुलाउन महँगो ड्रेन क्लिनरको आवश्यकता पर्दैन । अलिकति नुन भए पुग्छ । त्यस्तो पाइपमा नुन हाल्नुस् । त्यसमा मनतातो पानीले फोर्स गर्नुस् । यसले पाइपमा टाँसिएका कुरा सफा गर्छ ।

 

 

 

 

 

 

 

 

 

 

 

चिया–कफीको दाग:
कहिलेकाहीँ जतिसुकै प्रयास गरे पनि चियाको कप पूर्णरूपमा सफा हुँदैन । त्यस अवस्थामा नुनले राम्रो काम गर्छ । ओसिलो कपडामा अलिकति नुन हालेर कपको दागमा रगड्नुस् । केही समयको प्रयासले तपाईंको मगको दाग सफा हुनेछ ।

 

 

 

 

 

 

 

 

 

दागको अवशोषणमा नुन:
प्रायः सबै प्रकारका दागहरूमा नुनले काम गर्छ । दाग अवशोषण गर्न नुन राम्रो मानिन्छ । यदि गलैँचामा केही पोखियो वो छिर्का परेर दाग बस्यो भने तुरुन्तै सो दागमा केही नुन छर्कनुस् । यसले दागलाई बाहिर निकाल्न मद्दत गर्छ । त्यसपछि कपडाले शोषण गरी सो दाग हटाउन सकिन्छ ।

 

 

 

 

 

 

 

 

नुनको स्क्रब:
नुहाउनुको उद्देश्य सफा हुनु हो । यस क्रममा मृतछालाका कोशिकाहरू पनि हटाउने इच्छा हुन्छ । यसका लागि तपाईं स्क्रब किन्न सक्नुहुन्छ तर स्क्रबमा मिलाइएको माइक्रोप्लास्टिकहरू वातावरणका लागि राम्रो मानिदैन । यसको सट्टा समुद्री नुनले पनि काम गर्छ । १०० ग्राम समुद्री नुन लिनुस् । यसलाई १०० मिलिलिटर बदामको तेल वा नरिवलको तेलसँग मिलाउनुस् । यसमा आवश्यक सुगन्धित तेलका केही थोपा पनि राख्न सक्नुहुन्छ । अब तपाईंका लागि नयाँ स्क्रब तयार भयो । यसको प्रयोग गर्न सक्नुहुन्छ ।
प्रस्तुति ः रोहिणी
स्रोत:  www.tips-and-tricks.co/cleaning

प्रतिक्रिया दिनुहोस्