दृष्टिविहीनता र यौनिकता



डा. राजेन्द्र भद्रा

प्रश्न : मेरो एकजना बहिनी पर्ने नातेदार जन्मजात नै दृष्टिविहीन छिन् । उनी अहिले २३ वर्षकी भइन् र स्नातक गरिसकिन् । उनी आफ्ना मनका कुरा मलाई शेयर गर्ने गर्छिन् । गत साता उनले कलेजको एक केटा साथीसँग प्रेम भएको र विवाह गर्ने सोच रहेको भन्दै मसँग सल्लाह मागिन् । मैले खासै केही सल्लाह दिन सकिन । दृष्टिविहीन व्यक्तिले यौन तथा वैवाहिक जीवनलाई अघि बढाउन चाहेमा के–कस्तो समस्या आइपर्ला र के गर्दा उचित होला ? जानकारी पाए आभारी हुने थिएँ ।

– किशोर थापा

उत्तर : हाम्रो समाजमा भएका अपाङ्गतामध्ये दृष्टिविहीनता एक विशेष अपाङ्गता हो । उनीहरुको यौन जीवन नै हुँदैन जस्तो गरिन्छ, मानौं उनीहरु अयौनिक व्यक्ति हुन् । तर यथार्थ यस्तो होइन । दृष्टि भएका व्यक्तिजस्तै नै उनीहरूमा पनि यौनाङ्ग, रागरस र त्यसका क्रियाशीलताको विकास हुन्छ र उनीहरु पनि यौन सुख प्राप्ति गर्ने क्षमता राख्छन् । अर्थात्

दृष्टिविहीन व्यक्तिहरुमा पनि अन्य व्यक्तिहरुमा जस्तै यौनेच्छा हुन्छ र त्यसको प्राप्ति नैसर्गिक अधिकार पनि हो । सदृष्ट व्यक्तिको तुलनामा यौन शिक्षा प्राप्त गर्ने, सम्बन्धको विकास गर्ने कार्यको सन्दर्भमा भने निकै नै फरक स्थिति रहन्छ । तर उनीहरुको यौन जीवन नहुनेचाहिँ होइन । उनीहरूले आफ्नै प्रयास र अन्य व्यक्तिको थोर बहुत सहयोगले आनन्दमय यौन जीवन यापन गर्न सक्ने स्थिति हुन्छ ।

यौन जीवनका असजिलाहरू

यौनिकताको एक महत्वपूर्ण वृत्त ऐन्द्रिकता हो । ऐन्द्रिकताको कुरा गर्दा दृष्टि पक्कै नै एक महत्वपूर्ण पक्ष हो । यो पक्ष कमजोर हुनुले पक्कै धेरै नै फरक पार्दछ । आफ्नो जीवन वा यौन साथी भएको स्थानसम्म पुग्नु, भेटधाट गर्नु, नजिक हुनु दृष्टिविहीनहरुमा समस्या हुन्छ नै । आत्मीयता प्रकट गर्ने वातावरण अनि त्यसको गोपनीयताजस्ता कतिपय कुरामा निकै कठिनाइ हुने गर्दछ ।

आत्मीय सम्बन्धको विकास गर्न, जन्मजात नै दृष्टिविहीन व्यक्तिको लागि आफू कस्तो देखिन्छु भन्ने थाहा नहुने मात्रै होइन साथी कस्तो देखिन्छ भन्ने कुरामा पनि कठिनाइ हुन्छ । दृष्टिविहीनताको स्थितिमा शरीर संरचना, त्यसमा पनि यौनाङ्ग अनि त्यसका यौन संवेदनशील भाग जानकारी लिन तथा प्रयोग गर्न पनि सजिलो हुँदैन । यस्तो प्रतिविम्ब स्पर्शको आधारमा बनाउने क्षमता उनीहरुमा हुन्छ ।

यौनिकताको कुरा गर्दा दृष्टिविहीन व्यक्तिप्रति हेयभाव वा भेदभाव मात्र गरिने होइन कि दुव्र्यवहार पनि बढी नै हुने गर्दछ । त्यसमा पनि यौन दुव्र्यवहार, यौन हैरानी, यौन शोषण अनि बलात्कारसम्म पनि हुने गर्दछ । यौनसम्पर्क गर्दा गर्भ रहन सक्ने र त्यसले धेरै समस्या निम्त्याउने भएकोले यस्तो यौन शोषण वा बलात्कारका कुराको चर्चा विशेष गरी महिलाको सन्दर्भमा हुने गरे पनि पुरुष दृष्टिविहीनले पनि यौन शोषणका समस्या भोग्नुपरेको स्थिति छ ।

विवाह गर्नु र सहज तरिकाले सुखमय वैवाहिक तथा यौन जीवन यापन गर्ने सन्दर्भमा पनि उपयुक्त जीवनसाथी भेट्नु आफैँमा सजिलो कार्य होइन । दृष्टि भएको व्यक्तिका तुलनामा विवाह तथा पहिलो यौन सम्पर्क सामान्यता ढिलो अर्थात् बढी उमेरमा हुने गर्दछ । प्रत्यक्षरुपमा दृष्टिविहीनताको कारण यौन जीवनमा असर पर्नुका साथै यसले वृत्ति विकास र अर्थ–सामाजिक स्थितिमा पनि प्रभाव पार्छ । जोडीमध्ये एकमात्र दृष्टिविहीन भएको स्थितिमा सन्तान जन्माउने र एकजनाले हेरचाहको जिम्मेवारी बहन गर्ने निर्णय लिन सक्लान् तर दुवैजना नै दृष्टिविहीन भएको स्थितिमा सन्तान जन्माउने र उनीहरूको लालनपालनको नैसर्गिक अधिकार प्राप्त गर्न सजिलो छैन ।

पूर्वाधार नभएको अवस्थामा नयाँ स्थानमा घुमघाम गर्ने, रमाइलो गर्नेजस्ता कतिपय कुराबाट दृष्टिविहीनहरु वञ्चित रहने स्थिति छ । यसले नयाँ साथी बनाउने, भएका साथीभाइसँगको सम्बन्धलाई निरन्तरता दिने, सम्बन्ध प्रगाढ बनाउने कुरालाई पनि सीमित गरिदिन्छ । यसको प्रत्यक्ष वा अप्रत्यक्ष असर यौन जीवनमा पनि पर्न सक्छ । परिवारका सदस्य वा हेरचाह गर्ने व्यक्तिको दृष्टिविहीनलाई अस्वीकार गर्ने वा अति संरक्षण गर्ने प्रवृत्तिले उनीहरूको यौन जीवनमा नकारात्मक प्रभाव पार्दछ । अस्वीकार गर्दा उनीहरूको यौन जीवनलाई चाहिने आवश्यक सहयोग प्राप्त हुँदैन भने अति संरक्षण गर्दा उनीहरूको गोप्यता नै नहुने हुन सक्छ । यौन जीवन प्राप्त गर्ने सन्दर्भमा सुरक्षाका उपाय (जस्तै– कन्डम) सम्मको पहुँच तथा प्रयोग अनि कारणवश कुनै

 

दष्टिविहीनलाई यौन संक्रमण भइहालेमा उपचार केन्द्रमा जान पनि निकै असहज हुन सक्छ । यदि स्वास्थ्यकर्मी दृष्टिविहीन व्यक्तिलाई उपचार गर्न दक्ष छैनन् भने फेरि त्यसका पनि आफ्नै चुनौतीहरू हुन्छन् ।

यौन उत्तेजनामा प्रभाव पर्छ ?

जैविक दृष्टिले यौन उत्तेजनाको प्रक्रिया उस्तै नै भए पनि केही फरक भने हुन्छ । दृष्टि मानवको यौन सन्देश प्राप्त गर्ने प्रमुख ऐन्द्रिक माध्यम हो । यसको लागि केही भौतिक दूरी नै भए पनि दृष्टिको माध्यमबाट सन्देश प्राप्त गर्न सकिन्छ भने ध्वनिबाहेक अन्य कुराको सन्दर्भमा धेरै हदमा सामीप्यताको आवश्यक पर्दछ । दृष्टिविहीनताको स्थितिमा अन्य इन्द्रियमा जस्तै कि स्पर्श, श्रवण, घ्राण (गन्ध), स्वाद अनि शरीरको स्थिति र गतिको अनुमान गर्न सक्ने क्षमता (उचयउचष्यअभउतष्यल) जस्तामा बढी भर पर्नुपर्ने हुन्छ ।

भाग्यवश दृष्टिविहीनहरुको मस्तिष्कमा गज्जबकै क्षमता हुन्छ, जसले अन्य इन्द्रियको सञ्चार गर्ने स्नायु प्रणालीमा नयाँ स्नायुहरू सम्बन्ध स्थापित गर्दछ । अनि दृष्टिसम्बन्धीभन्दा मस्तिष्कको अन्य क्षेत्रमा यो बढी सघनरुपमा स्नायुको सञ्जालको विकास हुन्छ र अन्य इन्द्रियहरू बढी संवेदनशील हुन्छन् ।
यसका साथै तुलनात्मकरुपमा स्नायु प्रणालीमा हुने परिवर्तनले यी इन्द्रियसँग सम्बन्धित स्नायु कोषिकाहरूको बीचमा बढी अन्तरसम्बन्धको विकास गर्दछ । यी इन्द्रियहरू यौन तथा अन्य सन्देश प्राप्तिमा बढी संवेदनशील वा तीक्ष्ण हुने गर्दछन् । यौन–कल्पनाको कुरा गर्दा यौन साथीको सन्दर्भमा उनीहरूले ध्वनि, स्पर्श र गन्धको माध्यमबाट गर्दछन् । ध्वनिको सन्दर्भमा आफ्नो यौनसाथीको सुमधुर आवाज अनि कामुक ध्वनि यौन उत्तेजक हुन्छ ।
यौन उत्तेजनाको सन्दर्भका शारीरिक प्रतिक्रिया भने अन्य व्यक्तिको जस्तै नै हुन्छ अर्थात् लिङ्ग उत्तेजित हुने, अनि योनि तथा भग क्षेत्रमा रक्तप्रभाव बढ्ने र योनिरस आउने हुन्छ । यौन उत्तेजना दृष्टिको माध्यमबाट प्राप्त हुने स्थिति नभए पनि अन्य इन्द्रियहरूले बढी भूमिका खेल्छन् । तर मानव यौन प्रतिक्रिया चक्र उस्तै हुन्छ र यौन चरमसुख प्राप्त गर्दछन् ।

के गर्नु पर्ला त ?

यौन तथा यौनिकता शिक्षाको लागि यौन तथा प्रजनन स्वास्थ्य सामग्री बे्रल लिपि वा श्रव्य सामग्रीको रुपमा बनाइनुपर्छ र दृष्टिविहीन व्यक्तिहरुको पहुँचमा पु-याउनुपर्छ, ताकि उनीहरूले फाइदा लिन सकून् । दृष्टिजस्तो महत्वपूर्ण इन्द्रियको सन्दर्भमा कमी भए पनि अन्य इन्द्रियहरूको माध्यमवाट सिक्न सक्ने क्षमता हुन्छ ।परिवार वा अन्य सहयोगी वा हेरचाह वा उपचार गर्ने व्यक्तिले दृष्टिविहीन व्यक्तिको सुखमय यौन जीवनको लागि के–कस्ता सहयोग गर्न सकिएला भनेर विचार गर्नुपर्दछ । केही उदाहरणको रुपमा भन्नुपर्दा निम्न बुँदाहरूमा संक्षेपमा भन्न सकिन्छ:

  • आवश्यकताको आधारमा गर्भनिरोधका उपयुक्त उपाय अपनाउनका लागि स्वास्थ्यकर्मीले उनीहरूलाई सहयोग गर्न सक्छन् । कन्डम होस् वा खाने चक्की, प्रयोग गर्ने तरिका राम्ररी सिकाउन सक्छन् । महिनावारीको व्यवस्थापनमा पनि प्याडको प्रयोग, त्यसको विसर्जन कसरी गर्ने भन्ने सिकाउन सकिन्छ । तर पूर्वाधार नभएको स्थितिमा छामेर फोहोरको विसर्जन गर्नु अति नै गाह्रो कुरा हो ।
  • – यौन आनन्द प्राप्त गर्ने सन्दर्भमा यौन शिक्षा दिन सक्छन् । यस्तो प्रक्रियामा शरीरको संरचनासँग मिल्ने नमुना ९बलबतयmष्अ mयमभ०ि जस्तै कि लिङ्ग, भगक्षेत्र तथा योनि अनि स्तनको प्रयोग गरेर यौनाङ्ग तथा यौन संवेदनशील अङ्गको संरचना, त्यसको स्पर्श र कसरी यौनसुख प्राप्न गर्न सक्छन् भनेर सिकाउन सक्छन् । यी कुराले वास्तविक रुपमा नै यौनसाथीको सामु हुँदा के अपेक्षा गर्ने भन्ने सन्दर्भमा सजिलो हुने गर्दछ ।
  •  देख्न नसक्ने भएपछि किन शृङ्गार गर्नुप-यो वा चिटिक्क परेर बस्नुप-यो भन्ने प्रश्न हुन सक्छ । तर दृष्टिविहीनताको स्थितिमा पनि यौन जीवनले महत्व राख्दछ, त्यसैले यसमा सहयोग गर्नुपर्दछ ।
  • हस्तमैथुन एक महत्वपूर्ण पाटो हो । यसमा अन्य व्यक्तिको भर पर्नु नपर्ने भएकोले यौनसुख प्राप्तिमा धेरै सजिलो हुन सक्छ । तर हस्तमैथुन व्यक्तिगत यौन क्रियाकलाप होस्, कुनै यौनसम्बन्धी श्रव्य सामग्री सुन्दै गरेको स्थिति होस् वा अर्को व्यक्तिसहित गरिने यौन क्रियाकलापमा संलग्न रहेको अवस्था होस्, गोप्यता अनि गोपनीयताको लागि विशेष सावधानीसमेत अपनाउनुपर्छ । यसमा हेरचाह गर्ने वा सहयोगी व्यक्तिले निकै सहयोग गर्न सक्छन् ।
  • सम्बन्धको विकासको लागि भेटघाट गरिने वा यौनसम्पर्क राखिने स्थान सुरक्षित छ कि छैन भन्ने अर्को निकै चासोको विषय हो । भेटघाट वा यौक्रियाकलाप यदि गलत दिशातिर जान लागेको स्थिति जस्तै– शोषण वा हिंसा हुने स्थिति आयो भने अन्य दृष्टि भएका व्यक्तिको तुलनामा दृष्टिविहीन व्यक्तिलाई निकै गाहौ हुने गर्दछ । यस सन्दर्भमा हेरचाह गर्ने वा सहयोगी व्यक्तिले विशेष सावधानी अपनाउनुपर्दछ ।
  • यौन भावना बढेसँगै यौनको दृष्टिले आकर्षित हुने अनि आत्मीय सम्बन्ध कायम गर्न चाहने प्रक्रियालाई सहयोग गर्न सकिन्छ । भेटघाको स्थानसम्म पु-याउने-ल्याउनेदेखि लिएर सो स्थलको वातावरण कस्तो छ हेर्ने, सुरक्षाका उपाय सिकाउने गर्नुपर्दछ ।

सामाजिकरुपमा घुलमिल हुने मानव प्रवृत्ति हो । यसको लागि पनि दृष्टिविहीन व्यक्तिलाई सजिलो हुँदैन । धेरै असजिलो हुँदा र निरन्तर हेयभाव वा भेदभाव खप्नुपर्दा आत्मसम्मान खस्किन सक्छ । यस्तो स्थितिमा आत्मसम्मानको रक्षा गर्न विशेष सहयोग गर्नुपर्दछ ।जन्मदा दृष्टिशक्ति भएको तर कुनै कारणले पछि दृष्टिविहीन बन्न पुगेको वा दृष्टिशक्ति कमजोर भएको व्यक्तिको सन्दर्भमा भने अवस्था हेरी यौनसम्बन्धी कुरा सिकाइ तथा अनुभव अनि क्षमता फरक–फरक हुन सक्छ र त्यसै अनुसार उपयुक्त सहयोगी कदम चालिनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्