गलत लागे पनि गर्न बाध्य पार्ने मानसिक रोग : ओसीडी



लक्ष्मण अधिकारी

दि तपाईँलाई कुनै कार्य गर्नु गलत हो भन्ने लाग्दालाग्दै पनि त्यो कार्य नगरी सन्तोष नै नहुने बानी परेको छ भने त्यो मानसिक रोग ‘ओसीडी’ पनि हुन सक्छ ।

ओसीडी भएको मानिसलाई कुनै गम्भीर रोग लागेको छ भन्ने भ्रम परेर पटक–पटक डाक्टरकहाँ जाने, अरुले छोएका कम्प्युटर, पैसा, टेलिफोन सेट धुन मन लाग्ने, ताल्चा राम्ररी लाग्यो भन्ने भइसकेपछि पनि ढुक्क नभएर बारम्बार चेक गर्न मन लाग्ने, अनावश्यक कुरामा भय पैदा भइरहने, सरसफाइ गरिरहन, हात धोइरहन मन लाग्ने जस्ता अनेक सोच र कार्य गर्नुपर्ने प्रवृत्तिको विकास भएको हुन्छ ।

यो अनावश्यक सोच वा कार्य हो भन्ने लागेर पनि छोड्न सक्तैन । यसले दैनिक जीवनका क्रियाकलापमा प्रभाव परेर आफू पीडित हुने मात्र होइन, परिवारलाई समेत ठूलो पीडा पुगिरहेको हुन्छ र उपचारको खोजी गर्नुपर्ने स्थिति बन्छ ।ओसीडी के हो, किन हुन्छ ? बानी व्यहोरामा कस्ता परिवर्तन आउँछन् र उपचार कसरी गरिन्छ ? भन्ने सम्बन्धमा वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. विश्वबन्धु शर्मासँग कुराकानी गरी यो लेख तयार गरिएको छ ।

ओसीडी के हो ?

ओसीडी अर्थात् अप्सेसिभ कम्पल्सिभ डिसअर्डर न्युरो बायोलोजिकल डिसअर्डर हो । ओसीडी भनेको अनियन्त्रित सोचाइ, इच्छा, कल्पना हो जसले अनिच्छित रुपमा व्यक्तिलाई बाधा व्यवधान पु-याइरहेको हुन्छ र सामान्य जीवनमा एक किसिमको हस्तक्षेप गरिरहेको हुन्छ ।ओसीडी भएको बिरामीलाई अनावश्यक सोचहरु आउने तथा कार्यहरु गर्न मन लाग्ने भइरहन्छ । बिरामीलाई त्यस्ता सोच तथा कार्यहरुको कुनै अर्थ नभएको, कुनै उपयोगिता नभएको अनावश्यक र आधारहीन हुन् भन्ने अनुभूति त हुन्छ, तर रोक्न सक्तैन । बिरामीले त्यस्ता अनावश्यक सोचाइ र कार्य ‘अब गर्दिन’ भनेर निश्चय गर्छ, तर रोकिँदैन । कहिले विचार मात्र आउँछ, कहिले कार्य गर्न मन लाग्छ र कहिले विचार र कार्य दुवै गर्न आफैँमा दबाब सिर्जना हुन्छ ।

कसैलाई मारुँ–मारुँ, काटुँ–काटु जस्तो लाग्ने विचारहरु पटक–पटक आइरन्छ । तर कसैलाई घातचाहिँ गरिहाल्दैन । यस्ता अनिच्छित विचारहरुका कारण ऊ आफैँ डराएको हुन्छ ।बिरामीले गलत कार्य तथा गलत सोच छोड्न वा रोक्न कोशिश गर्छ तर जति कोशिश ग-यो उति बढ्छ ।

विचार र व्यवहारमा आउने यस किसिमको परिवर्तनलाई चिकित्सकीय भाषामा ओसीडी (Obsessive-Compulsive Disorder/OCD) भनिन्छ । ओसीडी बायोलोजिकल, न्युरोलोजिकल फ्याक्टरको कारणले हुन सक्छ । ओसीडीलाई खासै रुपमा वंशाणुगत भन्ने गरिएको छैन । मस्तिष्कमा नै क्षति भएर भएको भन्ने मान्यता नै प्रबल रुपमा छ ।

आफ्नै जीवनकालमा विभिन्न घटनामा परेर, गहिरोसँग दिमागमा प्रभाव परेर त्यसको असरका रुपमा देखा परेको हुन सक्छ । त्यसैले आजकल यसलाई एकथरीले मानसिक रोगमा भन्दा पनि बढी न्युरोलोजीतिर राख्न थालेका छन् । केही अध्ययनले मानिसको मस्तिष्कमा सेरोटोनिन नामक रसायनको असन्तुलनले पनि हुन्छ भन्ने देखाएको छ ।

ओसीडी जसलाई पनि हुन सक्छ । खाली उसको पृष्ठभूमि, पढाइको स्तर, सांस्कृतिक पृष्ठभूमि आदिको आधारमा विषय फरक हुन सक्छ तर कुनै समुदाय वा ठाउँको मानिस वा समूहको व्यक्तिलाई हुन्छ भन्ने हुँदैन । एड्सको बारेमा सुनेकै छैन भने ऊ एड्स लाग्यो भनेर त्रसित त हुँदैन तर उसले अरु रोग लाग्छ भनेर डराएको हुन सक्छ ।

उपचारबाट ओसीडीलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ ।

कसलाई हुन्छ ओसीडी ?

ओसीडीले कुनै पनि वर्ण, जातीयता, सामाजिक वर्गका पुरुष, महिला र केटाकेटीलाई उत्तिकै असर गर्छ, यसलाई चाहिँ हुँदैन भन्ने छैन ।अलि–अलि अब्सेसिभ भावना हामी सबैमा हुन्छ । घरमा साँचो लगाएको ठीक छ-छैन भनी हेरेर गइसकेपछि पनि पुनः फर्की–फर्की हेर्ने बानी हुन्छ । विभिन्न ताल्चाहरु, बैंकको लकरमा साँचो राम्रोसँग लागिसकेपछि मात्र चाबी निकाल्न मिल्छ । यस्तो हुन्छ भन्ने थाहा भइसकेपछि पनि कतिपय मानिस आफ्नो लकरको ताला जाँचिरहन्छन् ।

कुनै वस्तुप्रति हाम्रो भावनात्मक महत्व धेरै छ भने हामी निश्चिन्त हुन चाहन्छौँ । कुनै चिजलाई कति महत्व दिएका छौँ, त्यसले हाम्रो व्यवहारमा भूमिका खेलिरहेको हुन्छ । त्यसैले होला ओसीडी नभएका व्यक्तिहरुले पनि आफ्ना बहुमूल्य सामान राखेको लकरमा ताल्चा पटक–पटक जाँचेर निस्कन्छन् । चेकमा सही गरेपछि पटक–पटक रकम ठीक छ-छैन भनेर हेरिरहन मन लाग्ने हुन्छ ।गाडी चलाउन लाग्दा कागजपत्र र गाडीको ब्रेक पुनः चेक गर्न मन लाग्छ । एक–दुईपटक चेक गर्नु सामान्य हो, तर ओसीडी भएको व्यक्तिलाई बारम्बार चेक गर्न मन लाग्छ ।

यो रोगले असर गरेको मुख्यतः तीनवटा क्षेत्रमा यसका लक्षण देखिन्छन् । एउटा स्वास्थ्यसम्बन्धी हो । जस्तो– रोगका किटाणु सर्ने हुन् कि, मलाई एड्स भयो कि, मलाई क्यान्सर भयो कि, टीबी लागिसक्यो कि भनेर विचार दोहोरिने हुन्छ । जाँच गरिरहन मन लाग्छ, शंका निवारण नै हुँदैन अनि विभिन्न डाक्टरहरुकहाँ धाइरहने हुन्छ ।दोस्रो धार्मिक क्रियाकलाप र व्यवहारसँग सम्बन्धित छ । तेस्रो फोहोरमैला, गन्धबाट अलग भई सफा भएर बस्ने कुरासँग सम्बन्धित छ । फोहोर नभएको ठाउँमा पनि फोहोर छ भन्ने सोच लिई त्यही किसिमका अनावश्यक चिन्ता र व्यवहार गरेको देखिन्छ ।

ओसीडी–पीडितको व्यवहार

ओसीडीको समस्या भएको मानिस सामान्य हुन्छ । आपूmलाई अरुले के भन्लान् भनेर आफ्नो रोगले ल्याएको बानी सुधार्न खोज्ने, कसैलाई जानकारी नदिने र लुकाउने प्रवृत्ति हुन सक्छ । घरपरिवारमा सबैलाई थाहा भए पनि बाहिरका मानिसलाई थाहा नहोस् भनेर अन्त गएको बेलामा त्यस्तो नगर्ने वा लुकी–लुकी गर्ने प्रयास गर्छ ।

हल्का ओसीडीका कैयौँ बिरामीहरु हुन्छन् । हल्कारुपमा लिँदा त्यसलाई फोबिया पनि भनिन्छ । फोबिया भनेको डर हो । यसमा चाहिँ मेरो डर कृत्रिम हो, यसबाट मुक्त हुनुपर्छ भन्ने बिरामीलाई थाहा हुन्छ । तर त्यो डरलाई मनबाट हटाउन सक्दैन । रेबिजको निराधार डर भएका बिरामी धेरै पाइन्छन् ।

कुनै टोलमा रेबिज भएको कुकुर छ भन्ने सुनेपछि साधारण मानिस पनि सतर्क हुन्छन्, त्यो टोलमा हिँड्दा कुकुर देख्नासाथ होसियार हुन्छन् । घरकै कुकुरले पनि -याल काढ्यो वा हात चाट्यो भने पनि सुई लगाउन अस्पताल जान्छन् र कुकुरको विशेष निगरानी गर्छन् । यो अस्वाभाविक होइन । तर ओसीडी भएको बिरामीले यो भन्दा फरक व्यवहार गर्छन् ।

जस्तोसुकै कुकुर बाटोमा उभिएको देख्यो भने पनि त्यो बाटो भएर हिँड्दैन । कुकुर पालेको मानिसको घरमा पनि जाँदैन । यतिसम्म कि कुकुर पालेको मानिस घरमा आयो वा बाटोमा भेट्यो भने हात नमिलाउने, नबोल्ने हुन्छ । कुकुर पालेको मानिस नजिक प¥यो, भेट्यो वा हात मिलायो, आफ्नो सामान चलाइदियो भने पनि डाक्टरकहाँ परीक्षणका लागि पुगिहाल्ने प्रवृत्ति हुन्छ । कहीँ कुकुर लेखेको देख्यो भने त्यो पनि पढ्न गाह्रो लाग्छ ।

बजारमा घाममा सुकाएर बनाइएका विभिन्न किसिमका तयारी खाद्यवस्तुहरु (तितौरा, मस्यौरा, अचार, सिम्टा आदि) पाइन्छन् । यी वस्तु कहाँ–कसरी बनाइन्छ भन्ने प्रायः खोजी पनि गरिँदैन । तर ओसीडीका बिरामीलाई यी खानाहरु घाममा सुकाउँदा कुकुरले चाटेको र रेबिजको किटाणु सरेको हुन सक्छ भन्ने भय हुन्छ । रेबिजको किटाणु घाममा केही मिनेटभन्दा बढी बाँच्न सक्तैन भन्ने थाहा पाएर पनि त्यस्ता खानेकुरा खान डराउँछ । केही गरी खाइहालेमा उसको मनमा छटपटी भइरहन्छ । अनि अस्पताल पुग्छ र डाक्टरलाई पटक–पटक सोध्ने गर्छ ।
ओसीडीबाट मुक्त हुनका लागि बिरामीको दिमागले नगरी नहुने क्रिया या सोचको सट्टामा कुनै नयाँ सजिलो वा सहज खालको कार्य रचना पनि गर्छ ।

कसैलाई हात धोइरहने बानी छ भने उसलाई हात धुन नपाउँदा छटपटी हुन्छ । यसको विकल्पमा दिमागमा ‘तीनपटक विनापानी हात माड्दा छटपटी जान्छ’ भन्ने सोच आउन सक्छ । तीनपटक हात रगड्ने वा रुमालमा पुछ्ने पनि हुन सक्छ । साबुन–पानीले तीनपटक हात धुने बानी भएको मानिसले हात धुन साबुन भएन वा पानी कम छ भने तीनपटकसम्म ‘साबुन, पानी, हात’ भनेर मन्त्रजस्तै पढ्न सक्छ । यसैबाट नगरी नहुने क्रिया पूरा भएको उसलाई भान पर्ने, चित्त बुझ्ने हुन सक्छ । घरमा भएको सबैभन्दा सफा चिजलाई छोएपछि सफा भएको अनुभव गर्न सक्छ ।

कोही ‘यो नाक मेरो होइन, चराको थुतुनो राखिदिए, यो काटेर अर्को राम्रो हाल्नुप-यो’ भन्दै जिद्धि गर्छ । कसैलाई मेरो अनुहार बाङ्गो छ वा टेढो छ भन्ने अनौठो विश्वासले सताएको हुन्छ । अनि ठीक पारिदिन बारम्बार आग्रह गर्ने हुन्छ । यस्ता कतिपयले दुई–तीनपटक अपरेसन नै गरिसकेका हुन्छन् ।

सिजोफ्रेनियामा ओसीडी भएकाहरुमा आत्महत्याको खतरा धेरै हुन्छ । उनीहरुले आफ्नो शरीर विकृत देख्छन् र घरबाट निस्कँदैनन् । यसलाई डिस्मर्फिक डेलुजन भनिन्छ । प्रायः अनुहार, रुप, आकृति, शरीरको बनावट आदि विकृत छ भन्ने भ्रमबाट पीडीत हुन्छन् र सोही अनुसारको व्यवहार गर्छन् ।

 

ओसीडीका विभिन्न प्रवृत्ति

वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. विश्वबन्धु शर्माले आफूकहाँ ओसीडीको उपचार गर्न आएका विभिन्न किसिमका बिरामीको प्रवृत्तिबारे जानकारी दिनुभएको छ । अनौठो लाग्ने यस किसिमका केसहरुबाट पनि ओसीडीलाई राम्ररी बुझ्न र समाधान खोज्न सकिन्छ ।
रोग सर्ने भय:

रोग सर्छ भन्ने त्रास भएको एकजना युवा उपचारका लागि आएका थिए । उनी रोग सर्छ भनेर कुनै पनि कुरा छुन नचाहने, दुवै हात पकेटमा राखिराख्ने गर्दा रहेछन् । कतै जाँदा ढोका पनि अरुले नै खोलिदिनुपर्ने रहेछ । भ_याङ चढ्दा, गाडी चढ्दा पनि केही नछोई जान खोज्दा रहेछन् । उपचारका लागि आउँदा मेरो अगाडिको टेबुल पनि छोएनन् । उनी कसैसँग हात मिलाउन पनि नचाहने रहेछन् । निकै लामो उपचार गरेपछि टेबुल छुन, हात मिलाउनसम्म शुरु गरेका थिए । तर हात मिलाए पनि, टेबलमा हात राख्न थाले पनि पछि धुने गरेको उनले बताएका थिए । रोग सर्छ भन्ने त्रास पूरै गइसकेको थिएन ।

ओसीडीका बिरामीमा आफूलाई एड्स भयो कि भन्ने ठानेर रगत परीक्षण गरिरहने गर्छन् । एड्स छैन भन्ने रिपोर्ट आए पनि उनीहरुलाई ढुक्क हुँदैन, ‘पक्कै मलाई झुक्किएर अरुको रिपोर्ट दियो होला’ भन्ने सोच रहिरहन्छ । उनीहरुलाई सोध्दा असुरक्षित यौनसम्पर्क गरेको पनि हुन्न, कसैको रगत पनि लिएको हुँदैन तर पनि मनमा त्रास भइरहेको हुन्छ । अनि पुनः परीक्षण गर्न पुग्छन् । एड्स, रेबिजजस्ता कडा रोगको बारेमा अनावश्यक शंका गर्ने प्रवृत्ति ओसीडीका बिरामीमा बढी पाइन्छ ।
एउटै ब्रान्डको साबुन खोज्ने:
उपचारका लागि आएकी एक महिलालाई सधैँ एउटै ब्रान्डको साबुन चाहिने बानी परेको रहेछ । कुनै बेला त्यो ब्रान्डको साबुन काठमाडौंमा नपाइँदा उनी त्यो साबुन किन्न रक्सोलसम्म पनि पुगेकी रहिछन् । त्यो साधारण हात धुने साबुन नै हो, तर पनि उनलाई त्यही ब्रान्डकै साबुन नभई नहुने । त्यो ब्रान्डको साबुन पाउनासाथ धेरै किनी लुकाएर राख्ने र आफू मात्र प्रयोग गर्ने गरेकी रहिछन् । अरु साबुनले धोए पनि हुन्छ भन्ने त उनलाई लाग्थ्यो तर धुने बेलामा चित्त नबुझने । अरु साबुनले धुँदा सफा हुँदैन जस्तो लाग्ने, सफा भएको देखिँदा पनि मनले अस्वीकार गर्ने र त्यही खोज्ने ।
यस्तो समस्या भएका मानिसलाई लामो समय उपचार र परामर्शको आवश्यकता पर्छ । उनले लामो समयको औषधि उपचार र परामर्शबाट आफ्नो बानीमा धेरै परिवर्तन आएको जानकारी गराएकी थिइन् ।

जे पनि धुनुपर्ने:

ओसीडीबाट पीडित भएका व्यक्ति अरुले आफ्ना पैसा कम्प्युटर, टेलिफोन, कलम आदि छोइदिँदा वा यस्ता सामान अरुबाट लिनुपर्दा धुने प्रवृत्तिका हुन्छन् । उनीहरुको यस्तो बानीले परिवारलाई पनि दिक्क पारेको हुन्छ ।मकहाँ आएका एकजना सरकारी कर्मचारीलाई कार्यालय तथा घरको कम्प्युटर धोइरहनुपर्ने बानी परेको रहेछ । साथै टेलिफोन, टेलिभिजन सेट पनि पानी नपर्ने गरी धुनुपर्ने रहेछ ।

यसबाट उनका परिवार पनि आजित भएका रहेछन् । अलि पछिचाहिँ परिवारका सदस्यले प्लास्टिकको खोलभित्र हालेर धुने व्यवस्था गरेका रहेछन् । त्यसरी बाहिरबाट धुँदा पनि उनलाई सन्तोष नै हुने रहेछ ।तर अलि पछि रोग बढ्दै गएकाले उनलाई प्लास्टिकभित्र हालेर धोएको चित्त बुझेन अनि खोल निकालेरै धोएर कम्प्युटर, फोन, टेलिभिजन सेटहरु पनि बिगारेछन् । उनलाई डिप्रेसन पनि भएकोले त्यसको लक्षणस्वरुप ओसीडी देखा परेको थियो । औषधि एवं परामर्शबाट उनलाई अलि सुधार भइरहेको थियो ।

अर्की एक महिलालाई चाहिँ नुहाइरहनुपर्ने बानी परेको रहेछ । आफू पनि नुहाइरहने र छोराछोरीलाई पनि बाहिरबाट आएपछि हरेकपटक नुहाउनै पर्ने, लुगा धुनै पर्ने । यस्तो प्रवृत्तिबाट परिवाका सदस्य निकै पीडित भएका रहेछन् ।उपचार गर्न ल्याउने बेलामा उनका दुईवटा साना बच्चाहरुले निको भएन भने ममीलाई उतै जंगलतिर फ्याँकेर आउनू भनेको उनका श्रीमान्ले रुँदै सुनाएका थिए । ‘मेरो कारणले बच्चाहरुले यसो भनेका हुन् भन्ने आमालाई थाहा छ । बच्चाको त्यो कुरा सम्झेर उनी रुन्छिन् पनि । तर आफ्नो बानी परिवर्तन गर्न सक्तिनन्’, उनका पतिले सुनाएका थिए ।

मैले केही दिन उपचार गरेँ, त्यति धेरै फाइदाचाहिँ भएन । यस्ता बिरामीलाई कुनै काम गरिरहनुपर्ने बानी परेको हुन्छ । यस्तो बानीलाई बिरामीको मनबाट अर्कोतिर लैजान सिकाउनुपर्छ, जुन निकै कठिन हुन्छ । निको भएर दोहोरिने सम्भावना पनि धेरै हुन्छ । उनलाई बिहेवियरल थेरापीले केही फाइदा गर्न सक्छ ।ओसीडीका कतिपय बिरामीलाई सधैँ एकै ठाउँमा चुठ्न जान मन लाग्ने हुन सक्छ, त्यसो नगरी चित्तै बुझ्दैन ।

कुनै बिरामीलाई बाटोमा हिँड्दा कसैलाई दायाँ र कसैलाई बायाँ (महिला, पुरुष) पार्ने प्रवृत्ति विकास भएको हुन्छ । यसो गर्न नसक्दा घरबाटै निस्कँदैनन् । कसैलाई एकैचोटि तीनवटा पान वा चुरोट किनेर बाँड्ने र खाने बानी परेको हुन्छ ।

कसैलाई अरु ट्वाइलेट गएपछि मात्र आफू जानुपर्ने र त्यसपछि पनि अरु कोही ट्वाइलेट गइदिनुपर्ने बानी परेको हुन्छ । कसैलाई कसैको नाम जपिइरहनुपर्ने र त्यो अरुले पनि मन्त्रजस्तै जपिदिएपछि मात्र सन्तोष हुने हुन्छ । यस्ता अनेक किसिमका बानी व्यहोरा ओसीडीको सिकार भएका मानिसमा देखा पर्छन् । कतिपयलाई धार्मिक खालका श्लोकहरु दोहो-याउने, मन परेका धार्मिक कार्यहरु दोहो¥याएर गर्नुपर्ने प्रवृत्ति देखिन्छ ।

उपचार गर्न सकिन्छ

डा. विश्वबन्धु शर्मा भन्नुहुन्छ, ‘करिब चार दशकअघि मैले बिरामी हेर्न शुरु गर्दाको अवस्थाभन्दा अहिले कैयौँ गुणा ओसीडीका बिरामीहरु बढेका छन् ।‘ओसीडीलाई उपचारले धेरै हदसम्म निको पार्न सकिन्छ । यो रोग आफैँ कम भएर जाने र फेरि पछि बल्झिने पनि हुन्छ । साइकोथेरापी वा बिहेवियरल थेरापी राम्रोसँग गर्दा यसको उपचार प्रभावकारी हुन्छ तर समय अलि लामो लाग्ने हुन सक्छ । बिरामीलाई भित्रैदेखि महसुस गराएर मनमा आउने विचारलाई दबाउने क्षमताको विकास गर्नुपर्छ । यसमा कग्नाइटिभ बिहेवियरल थेरापी(CBT) निकै लाभदायक मानिन्छ ।

त्यस्तै डिसेन्सटाइजेसन गरेर त्रास कम गर्दै पनि लैजान सकिन्छ । औषधिले पनि केही काम गर्छ । त्यस्तो विचार आउँदा अर्को कार्य गर्ने । जस्तो– पढ्ने, गीतार बजाउने सोख भए बजाउने, गीत गाउने आदि बानी व्यहोराको विकास गरिदिनुपर्छ । यसरी विभिन्न किसिमका तरिकाहरु अपनाउँदा फाइदा पुग्छ ।

ओसीडीका सामान्य लक्षण देखिन थालेपछि जतिसक्दो छिटो उपचार सेवा लिँदा ओसीडीको प्रभावलाई अति खराब अवस्थामा पुग्नबाट रोक्न सकिन्छ । पहिला ओसीडीमा उपयोग हुने औषधिहरु खासै प्रभावकारी थिएनन्, अहिले चाहिँ प्रभावकारी औषधि आएका छन् । यसमा धेरै आशा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्