गर्भावस्थामा कुन औषधि खाने कुन नखाने ?



– प्रा.डा. सुमनराज ताम्राकार

प्रसूति रोगको बहिरङ्ग विभागमा निकै बेर सोधपुछ, शारीरिक जाँच गरेर अन्तिममा गर्भवतीको अवधि अनुसारको आवश्यक औषधिहरु लेखिदिएपछि प्रायः गर्भवती महिला तथा तिनका अभिभावकहरुले सोध्ने प्रश्न हो– ‘के गर्भावस्थामा यो औषधि खानुहुन्छ ?’औषधिसम्बन्धी विज्ञान नै लामो समय पढेर बिरामी जाँच्न बसेका चिकित्सकलाई ‘गर्भावस्थामा, स्तनपान गराइरहेको समयावधिमा कुन औषधि दिन मिल्छ, कुन मिल्दैन’ भन्ने ज्ञान–सीप भएकै हुन्छ ।

तैपनि गर्भवती महिला एवं तिनका अभिभावकहरुले चिकित्सकहरुलाई यस्तो प्रश्न सोध्ने गर्छन् ।विभिन्न खाले जङ्क फुड, सडकको चटपटे र पानी–पुरी खानुअघि यी खानेकुरा खानुहुन्छ कि हुँदैन ? आफूले भान्सामा पकाउने तरकारी र फलफूल विषादी मिसिएको, माछा रसायन हालेको, मासु सडेगलेको छ-छैन भन्ने हेक्का राखिदिए कति राम्रो हुन्थ्यो होला ! जे होस्, गर्भावस्थामा औषधि एवं अन्य खानेकुरा के खानुहुन्छ, के खानुहुँदैन भनेर जिज्ञासा राख्नु निकै राम्रो बानी हो ।

 

त्यसो त गर्भावस्थामा फोलिक एसिड, आइरन तथा क्याल्सियमको नियमित सेवन गर्नुपर्दछ । त्यसै गरी गर्भावस्थामा कुनै संक्रमण भएमा वा उच्च रक्तचाप, मधुमेह वा थाइरोइडको समस्या देखिएमा चिकित्सकको सल्लाहमा नियमित औषधि खानुपर्दछ । तर सम्बन्धित विशेषज्ञहरुले सुरक्षित छ भनी लेखिदिएका कतिपय आवश्यक प्रतिजैविक औषधि (एन्टिबायोटिक) तथा अन्य औषधिहरु अर्को पटकको भिजिटमा आउँदा खाएको हुँदैन ।

गर्भावस्थालाई बिगार गर्ला कि भनेर यी औषधि नखाएका कारणले हानि पुग्न पनि सक्छ । जुन कहिलेकाहीँ निकै महँगो साबित हुन सक्छ ।
मेडिकल भाषामा गर्भावस्थालाई हानि पु¥याउने औषधिलाई टेराटोजेन भनिन्छ । टेराटोजेन भन्नाले निश्चित प्रकारको विकलाङ्ग, विरुप ल्याउन सक्ने, भ्रूण वा गर्भेशिशुको निश्चित विकासक्रममा नकारात्मक असर पु¥याउन सक्ने र मात्रा अनुसारको नकारात्मक प्रभाव देखाउन सक्ने क्षमता भएको औषधि बुझिन्छ । गर्भावस्थालाई नकारात्मक असर पुग्ने कारक तत्व (टेराटोजेन) बारे भन्नुपर्दा २५ प्रतिशत वंशाणुगत कारणले हुन्छ भने केवल २ देखि ३ प्रतिशत मात्र औषधिको नकारात्मक प्रभावका कारणले हुन्छ । बाँकी करिब ६५ प्रतिशतको भने कारण खुलेको हुँदैन । जुन वंशाणु तथा वातावरणको संयुक्त प्रभावको कारणले हुन सक्छ ।

किन असर पु-याउँछ ?
गर्भवती महिलाको स्वास्थ्यमा कतिपय यी औषधिले प्रत्यक्ष असर पुग्न सक्छ, जसले गर्दा शिशुको शरीरमा पनि अप्रत्यक्ष असर पुग्न जान्छ । कुनै–कुनै औषधिले अक्सिजन वा अन्य पोषणयुक्त पदार्थ सालबाट छिर्न बाधा पु-याउँछ । यसले गर्दा छिटो–छिटो विकसित हुने तन्तु तथा अङ्गहरुलाई असर पु-याउँछ । यी प्रारम्भिक तन्तुहरुबाट नै पछि निश्चित प्रकारको अङ्ग बन्ने हुनाले शारीरिक विकलाङ्ग उत्पन्न पनि हुन जान्छ ।
कुन औषधि कति मात्रामा प्रोटिनमा टाँसिन तथा चिल्लो (लिपिड) मा घुल्न सक्छ एवं उक्त औषधिको अणुको आकार र साल वा गर्भेशिशुले यसलाई टुक्र्याउन सक्ने क्षमताका आधारमा यसको घातकपनाको लेखाजोखा हुन्छ । यसको अलावा औषधिको आफ्नै रासायनिक अवगुण, यसको गति, गर्भेशिशुमा पुग्ने औषधिको मात्रा, गर्भेशिशुलाई औषधिको प्रभाव भएको अवधि, साल र गर्भेशिशुको विकासक्रमको अवस्था अर्थात् गर्भेशिशु विकसित भइरहँदा औषधिको उपस्थितिले पनि उक्त औषधिको नकारात्मक मापन गरिन्छ ।

एफडीए वर्गीकरण

मानव जीवनमा प्रयोग हुने औषधिहरुले पु-याउन सक्ने नकारात्मक असरलाई मध्यनजर राखी कुनै पनि औषधि कतिको सुरक्षित भनी हेर्न अमेरिकी सरकारले फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन भनेर एउटा निकाय खडा गरिराखेको छ । यही निकायले नै विश्वका प्रायः औषधिहरुको सुरक्षा जाँच्ने गरेको छ । यही एफडीए वर्गीकरण अनुसार मानिसहरुले सेवन गर्ने अधिकतर औषधिहरुलाई वर्ग ‘ए’देखि ‘डी’सम्म र वर्ग ‘एक्स’मा राखिएको छ । उदाहरणको लागि वर्ग ‘ए’को औषधिले गर्भेशिशुलाई कुनै नकारात्मक असर पु-याउँदैन भने वर्ग ‘एक्स’को औषधिले गर्भेशिशुलाई निश्चितरुपमा खराब गर्दछ । गर्भ तुहाउन प्रयोग गर्ने औषधि, रक्सी, विकिरणयुक्त औषधि तथा पदार्थका साथै उच्च रक्तचापका, थाइरोइडका, मानसिक रोगका तथा क्यान्सरका कतिपय औषधिहरु यही वर्गमा पर्दछन् ।

वर्जित औषधिका तीन चरण

पहिलो चरण: (डिम्ब निषेचत भएदेखि १७ दिनसम्म)
यो अवधिको असर पूर्णरुपमा घातक हुने वा नहुने प्रकारको हुन्छ । यो अवधिमा औषधिले डिम्ब निषेचित हुन वा निषेचित भैसकेको डिम्ब गर्भाशयको भित्री तहमा बस्न दिँदैन । त्यसैले यस अवधिमा प्रायः गर्भ तुहिन्छ तर थाहा नहुन पनि सक्छ । किनकि यो अवधिमा अल्ट्रासाउन्ड अर्थात् भिडियो एक्सरे नगरेसम्म गर्भ बसेको छ-छैन, छुट्याउन गाह्रो हुन्छ । र, यस्ता महिलाले महिनावारी अलि टाढिएर बढी मात्रा रगत बगेको सिकायत गर्दछ ।
दोस्रो चरण: (अङ्गप्रत्यङग बन्ने बेलामा अर्थात् १८ दिनदेखि ५५ दिनसम्मको अवधिमा)
यो अवधि निकै महत्वपूर्ण छ । वर्जित गरिएको औषधिले निश्चितरुपमा विकलाङ्ग गराउँछ ।

तेस्रो चरण: (५६ दिन अर्थात् ८ हप्तापछिको अवधिमा)
यो अवधिमा गर्भेशिशुको वृद्धि तथा विकासमा नकारात्मक असर पु-याउँछ । जसले गर्दा कलेजो, फोक्सोजस्ता अङ्गहरुको पूर्ण विकास नहुने, समयभन्दा अगाडि नै मुटुभित्रका नली बन्द हुने हुन्छ । केटी शिशुमा भए जन्मजात प्रकारका पाठेघरमा खराबी देखिन्छ । रक्सी सेवन गर्ने बानी भएकी गर्भिणी महिलाको बच्चामा पनि रक्सीको प्रभावका विभिन्न लक्षण तथा चिन्हहरु देखा पर्दछन् ।

वर्जित औषधिका असर

कुनै समय गर्भवती महिलामा हल्का निद्रा लाग्ने थेलिडोमाइड नामक औषधिको सेवनले नवजात शिशुमा जन्मजात हातखुट्टा नहुने अर्थात् नबन्ने समस्या देखा प-यो । यसले आधुनिक प्रसूति चिकित्सा क्षेत्रमा यति तहल्का मच्चाइदियो कि गर्भावस्थामा जथाभावी औषधि लेख्न जो–कोही हच्किए । त्यसै गरी गर्भावस्थामा इस्ट्रोजेनयुक्त औषधिको प्रभावले कतिपय महिलामा पछि गएर अन्य औषधिले योनिद्वारको क्यान्सर गराएको तथा त्यस्ता महिला गर्भवती बन्न गाह्रो भएको देखियो ।

सिसा (धातु), धूमपान, बढी मात्रामा कफी, बेहोस पार्ने औषधिहरुले गर्भ तुहाउन सक्छ, जन्मजात विकलाङ्ग वा गर्भेशिशुको तौल कम गराउन सक्छ । जसले गर्दा नवजात शिशुको मृत्यु दर बढ्छ । धूमपानले आफ से आफ गर्भ तुहाउने वा साललाई समयअगावै पाठेघरको भित्ताबाट छुट्याउन सक्छ । यसैले गर्दा पाठेघरभित्रै गर्भेशिशुको मृत्यु हुन्छ । महिना नपुग्दै सुत्केरी बेथा शुरु हुन्छ । गर्भेशिशुको वरिपरिको पानीको थैलो फुटाएर सानो सुतक हुन सक्छ ।

यस्तै कुराबाट शिक्षा पाई ग्यास्ट्राइटिस भएकी गर्भवती महिलामा जथाभावी औषधि चलाउनुभन्दा गर्भावस्थाको पहिलो त्रैमासिकमा खासगरी जीवनचर्यामा परिवर्तन ल्याई, दोस्रो त्रैमासिकमा ग्यास्ट्राइटिसको लागि आवश्यक पर्ने झोल औषधि मात्र तथा तेस्रो त्रैमासिकदेखि ग्यास्ट्राइटिसको चक्की तथा क्याप्सुल औषधि दिन थालियो ।सन् २००८ मा क्यानाडामा गरिएको एक अध्ययन अनुसार करिब २० प्रतिशत गर्भिणी महिलामा एफडीए वर्गीकरण अनुसार वर्जित सी, डी, एक्स वर्गका औषधिहरु गर्भावस्थाभरिमा एक न एकपटक प्रयोग गरेको पाइयो । र, कतिपय औषधिले अधिग्रो जाने तथा गर्भेशिशुको मृत्यु हुने गरेको पाइयो ।

पति–पत्नीको दायित्व

कहिलेकाहीँ पुरुष पार्टनर एवं पतिले सेवन गरेको औषधिको कारण पनि गर्भ तुहिने सम्भावना हुन्छ । यी औषधिले वीर्यको उत्पादन तथा यसको गुणस्तरमा असर गरेर भ्रूण नै बन्न गाह्रो हुने तथा गर्भ बसिहाले पनि राम्रो नहुने समस्या हुन सक्छ । मद्यपान सेवनकर्ता बाबुको बच्चामा मुटुको समस्या देखा पर्न सक्छ ।

स्तनपान गराउने महिलामा प्रयुक्त औषधि आयोन बन्ने-नबन्ने खालको तथा त्यसको अणुको तौल कम भएको वा चिल्लो (लिपिड) मा सजिलै घुल्ने हो-होइनको आधारमा कतिपय औषधि सजिलै आमाको दूधबाट बच्चाको शरीरमा गई नकारात्मक असर पु-याउन सक्छ । टेट्रासाइक्लिन, डाइजेपाम, मादक पदार्थ केही उदाहरण मात्र हुन् । त्यसैले जुनसुकै पनि औषधि दूध ख्वाएको ३० देखि ६० मिनेटपछि वा दूध ख्वाउनु ३ देखि ४ घन्टाअगाडि खानु उपयुक्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्