नुन किन बार्ने ?



रोहिणी घिमिरे

हाम्रा हिन्दु धर्मशास्त्रीहरुले व्रत बस्दा होस् वा आफन्तको मृत्यु हुँदा नुन खानुहुँदैन भनेर कडाइका साथ लागू त गरे, तर किन खानुहुँदैन भनेर वैज्ञानिक तर्क प्रस्तुत गर्न सकेनन् । यसरी विनातर्क पाप–पुण्यसँग जोडेर मात्रै अब कोही मान्नेवाला छैनन् । त्यसैले यस्ता मान्यताहरुमा वैज्ञानिक तथ्यहरु प्रस्तुत गर्न सक्नुपर्छ । धार्मिक कारणले मात्र होइन, वैज्ञानिक कारणले पनि नुन अधिक खानुहुँदैन भन्ने कुरा प्रमाणित भइसकेको छ ।

नुन प्राचीन कालदेखि नै अधिकांशले स्वादका लागि खाँदै आएको नुनिलो पदार्थ हो । हामीले दाल, तरकारी, अचार आदिमा हालेर स्वादका लागि दैनिक खाने गरेको नुनको स्रोत प्रायः समुद्र वा नुनिलो ताल हो । समुद्रको पानीलाई वाष्पीकरण गरेपछि समुद्री नुन बन्छ । प्रायः यो नुन सेतो हुन्छ । यो नुन निकाल्ने स्थानको प्रकृतिअनुसार यसको रंगमा केही फरक पनि हुन सक्छ । समुद्रको पानीबाट तयार गरिने भएकाले यो नुनलाई अशुद्ध मानिएको हो ।

यस नुनमा सोडियमको मात्रा बढी हुने भएकाले यसको अधिक सेवन हानिकारक हुन्छ । यसले उच्च रक्तचाप निम्त्याउन सक्छ । त्यसैले डाक्टरहरुले सधैँ खाइरहने समुद्री नुनको सेवन कम गर्न सल्लाह दिन्छन् । यो नुन कुनै पनि रोगको कारणसमेत बन्न सक्छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो नुन दैनिक ५ ग्रामसम्म खानु उचित हुन्छ । यसभन्दा बढी खाएमा स्वास्थ्यका लागि हानिकारक मानिएको छ । यहाँ नुनको मात्रा शरीरलाई आवश्यक पर्छ भन्ने कुरा पनि बिर्सनुहुँदैन । हुन त यसको केही मात्रा सागपातबाट प्राकृतिक रुपमा पनि प्राप्त भइरहेको हुन्छ ।

कहिलेकाहीँ खानामा नुन बार्नु पनि व्रत बस्नु (Fasting ) जस्तै हो । व्रतोपासनाका बेला वा आफन्तको देहान्त भएपछि निश्चित दिनसम्म नुन बार्नुपर्ने हाम्रो धार्मिक मान्यता नै छ । नुनको सेवन कम गरी स्वस्थ रहनका लागि नै यसरी नुन सेवनमा नियन्त्रण गरिएको हो भन्ने बुझ्न गाह्रो छैन । पहाडको खानीबाट निकालेको सिधे नुनको सेवनलाई चाहिँ धार्मिक शास्त्रले निसिद्ध गरेको छैन । यता वैज्ञानिक दृष्टिले हेर्दा पनि सिधे नुनको सेवनचाहिँ स्वास्थ्यका लागि लाभदायक हुने देखिएको छ ।

सिधे नुनचाहिँ किन छुट ?

सिधे नुन पहाडका खानीहरुबाट निकालिन्छ । यो क्रिस्टलका रुपमा पाइने खनिज हो । यो नुन प्रायः पाकिस्तानको सिन्धु नदीको आसपास हिमालय क्षेत्रमा चट्टानका रुपमा पाइन्छ । आइरन अक्साइड तथा अन्य खनिजको उपस्थितिका कारण यस नुनको रंग सेतो, हल्का गुलाबी अथवा बैजनी हुन्छ । स्मरण रहोस्, सिधे नुनलाई आगोमा हाली प्रशोधन गरेपछि वीरे नुन बन्छ ।

सिधे नुनले समुद्री नुनको जस्तो स्वास्थ्यमा नकारात्मक असर नगर्ने भएर नै हाम्रा पुर्खाहरुले जुठो बार्दा वा व्रत बस्दा खान हुने परम्परा बसालेका हुन् । ऋषि वाग्भटले व्रतमा सिधे नुन सेवन गर्न सकिने बताएका छन् । आयुर्वेदमा पनि यस नुनलाई गुणकारी मानिएको छ । यो नुन सेवन गरेपछि मधुर रसमा परिणत हुने कुरा बताइएको छ । कफसम्बन्धी दोषमा यसले लाभ मिल्छ । यसले उच्च रक्तचाप तथा पेटसम्बन्धी समस्या हुँदैन । यसमा सोडियम, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, तामा, म्यागनिज, लौहतत्वजस्ता ८४ प्रकारका आवश्यक पोषक तत्व सन्तुलित रुपमा हुन्छ ।

सिधे नुनमा अन्य नुनको तुलनामा सोडियमको मात्रा कम हुन्छ । सोडियमको मात्रा कम हुने भएकाले उच्च रक्तचापको समस्या निम्त्याउने सम्भावना हुँदैन । यस नुनमा अन्य नुनको तुलनामा खनिज तत्व धेरै पाइने हुँदा स्वास्थ्यवद्र्धक मानिएको हो । सिधे नुनमा पाइने मिनरल्सले विभिन्न बिमारबाट बचाउने काम गर्छ । यो नुनले पाचनरस निर्माण गर्छ, जसले गर्दा राम्रोसँग पाचन हुन मद्दत पुग्छ । यस नुनको गन्ध पनि हुँदैन । यी सबै कारणले सिधे नुनलाई शुद्ध मानिएको हो । त्यसैले व्रत एवं जुठो बारेको बेलामा खान हुन्छ भन्ने मान्यताको विकास भएको हो ।
फ्रिजेनियस इन्स्टिच्युट, बेलायतले गरेको अध्ययनले सिधे नुनमा भएको तत्वले शरीरमा पानीको सन्तुलन कायम राख्ने, पाचन तथा शोषण कार्यमा मद्दत गर्ने, मांसपेशी बाउँडिन नदिने, रक्तचाप नियन्त्रणमा राख्ने, बुढ्यौली हुनबाट बचाउने जस्ता कार्य गर्ने देखाएको छ ।

सिधे नुनका फाइदा बुँदागतरुपमा

१. ब्लड प्रेसरको नियन्त्रण गर्ने: सिधे नुन उच्च रक्तचाप नियन्त्रण गर्नमा लाभदायक हुन्छ । यसका साथ यसले कोलेस्टेरोल कम गर्न पनि मद्दत गर्छ, जसले गर्दा हार्ट अट्याकको खतरा कम हुन्छ ।

२. स्ट्रेस कम गर्ने: सिधे नुनले स्ट्रेस कम गर्छ । यसका साथै यसले सेरोटोनिन र मेलाटोनिन हर्मोन्स सन्तुलनमा राख्छ, जसले गर्दा तनावसँग लड्न मद्दत पुग्छ ।

३. शारीरिक दुखाइ कम गर्ने: सिधे नुनले मांसपेशीको दुखाइ र जोर्नीको दुखाइ कम गर्छ ।

४. साइनसको दुखाइ कम गर्ने: साइनस अर्थात् पिनासको दुखाइबाट छुट्कारा पाउनका लागि सिधे नुन फाइदाजनक हुन्छ । साथै पत्थरीको समस्या छ भने सिधे नुनलाई कागती–पानीमा मिलाएर पिउने गर्दा पत्थरी गल्न शुरु हुन्छ ।

५. दमको समस्या कम गर्ने: दम, डायबिटिज र आर्थराइटिसका बिरामीका लागि सिधे नुनको सेवन फाइदाजनक हुन्छ । निद्रा नआउने समस्यामा पनि सिधे नुनको सेवन लाभदायक मानिन्छ ।

साधारण नुन र सिधे नुनमा फरक

  • सिधे नुन सीधै चट्टानबाट प्राप्त हुन्छ तर साधारण नुन नुनिलो समुद्र वा तालको पानीलाई वाष्पीकरण गरेपछि प्राप्त हुन्छ ।
  •  सिधे नुनको क्रिस्टल एकदम सुख्खा हुन्छ भने साधारण नुनमा ओस आर्थात् आद्र्रता (dehydrate)हुन्छ ।
  • सिधे नुनले भोजनबाट आद्र्रता अवशोषण गर्छ तर साधारण नुन शरीरमा समाहित हुन केही समय लाग्छ ।
  •  सिधे नुनले आद्र्रता अवशोषण गर्ने हुँदा तुरुन्तै पग्लन्छ तर साधारण नुनले चाँडो आद्र्रता अवशोषण गर्न नसक्ने हु्ँदा छिटो पग्लँदैन ।
  • सिधे नुन उच्च रक्तचापमा लाभकारी हुन्छ भने साधारण नुन हानिकारक हुन्छ ।
  • सिधे नुनले हाम्रो शरीरमा पानीको मात्रा सन्तुलन राख्न मद्दत गर्छ भने साधारण नुनले शरीरमा निर्जलीकरण (मभजथमचबतभ) गर्छ ।
  • धार्मिक मान्यता अनुसार व्रतोपवासमा सिधे नुन खान हुन्छ तर साधारण नुनलाई निषिद्ध गरिएको छ ।
    (www.aajtak.in/lifestyle/health लगायतका वेबसाइटमा उल्लिखित कुरालाई आधार मानेर तयार पारिएको)
प्रतिक्रिया दिनुहोस्