कफी : स्वास्थ्यका लागि कति फाइदा ?



डा. प्रकाशराज रेग्मी

कफीको स्वादमा रमाउनेहरु विश्वमा धेरै छन् । धेरैलाई कफीको नसाबारे थाहा छैन । कफी र रक्सी दुवैमा नसा लाग्ने तत्व हुन्छ । कडा कफी पिउने बानी भएकाहरुलाई कफी र रक्सीमध्ये एउटा छोड्नुपर्दा उनीहरु रक्सी छोड्छन् । रक्सी छोड्न सक्ने तर कफी छोड्न नसक्ने भनेको रक्सीमा भन्दा पनि कडा नसा कफीमा छ भनी बुझ्नुपर्छ ।

चुरोटमा हुने निकोटिन र रक्सीमा हुने अल्कोहलले स्वास्थ्यमा गम्भीर असर पार्छ । रक्सी र चुरोटको लत बसेकाहरुले यो छोड्दा हात काम्ने, टाउको दुख्ने, छटपटी लाग्नेजस्ता समस्या देखा पर्छन् । यसलाई विड्रअल इफेक्ट भनिन्छ । कफीको लत बसेकाहरुले कफी पिउन नपाउँदा यस्तै अवस्था उत्पन्न हुन्छ ।

संसारमा धेरै पिइने पदार्थहरुमध्ये एक हो कफी । विकसित राष्ट्रहरुमा आधा जनसंख्याले कफी सेवन गर्ने गरेका छन् । त्यहाँ प्रत्येक दिन एकजनाले सरदर तीन कप कफी पिउने गर्छन् । कफीको उत्पादन भने सबैभन्दा बढी विकासोन्मुख राष्ट्रहरुमा हुने गरेको छ । कफीको खेती संसारका ७० भन्दा बढी देशहरुमा गरिन्छ । सबैभन्दा धेरै कफी उत्पादन गर्ने देश ब्राजिल हो । यो देशले संसारको कुल ३५ प्रतिशत कफी उत्पादन गर्दछ । नेपालमा पनि कफीको उत्पादन हुन्छ । नेपालमा पाल्पा र गुल्मीका कफीहरु प्रख्यात छन् ।

रक्सीमा इथानोल र चुरोटमा निकोटिन भएजस्तै, कफीमा क्याफिन हुन्छ । यसमा एक प्रकारको लत वा नसा बस्छ । मान्छेले एकपटक पिएपछि फेरि पनि पिऊँ–पिऊँ जस्तो लाग्ने कारण यही हो ।एक मझौला कप कफीमा सय मिलिग्राम क्याफिन हुन्छ । स्वास्थ्यका दृष्टिल दैनिक २ सयदेखि ४ सय मिलिग्रामसम्म क्याफिन पिउन सुरक्षित मानिन्छ । अर्थात् एकजनाले २ देखि ४ कपसम्म दैनिक कफी पिउन सक्छन् । तर कफी पिउन हुने-नहुने भन्ने कुरा व्यक्तिको स्वास्थ्यको स्थितिमा भर पर्छ । क्याफिन तत्व कफीमा मात्रै नभएर चकलेट, चिया, कोल्ड ड्रिंक्स र इनर्जी डिंक्समा पनि पाइन्छ । इनर्जी डिं«क्स पिऊँ–पिऊँ लाग्ने कारण पनि क्याफिनको नशा लागेर हो ।

कफीले स्वास्थ्यमा असर पार्छ भन्ने कुरा विज्ञानले पनि पुष्टि गरेको छ । यसले दिमाग र मुटुमा असर पार्छ । यसले दिमाग र मुटुलाई उत्तेजित बनाउँछ । त्यस्तै पाचन प्रणालीमा पनि असर गर्छ । थोरै प्रयोगले खासै असर नगरे पनि, धेरै हुनेबित्तिकै पाचन प्रणालीमा असर पार्छ । धेरै भन्नाले दैनिक ४ कपभन्दा बढी कफीलाई मान्नुपर्छ । कफी धेरै पिउँदा छटपटी हुने, चक्कर लाग्ने, हात काँप्ने, निद्रा नलाग्ने, मुटुको धड्कन बढ्ने, ब्लड प्रेसर बढ्ने, अपच हुनेजस्ता समस्या देखिन सक्छन् । धेरै भयो भने मृत्युसमेत हुन सक्छ ।

दिनमा ५० कप देखि १०० कपसम्म कफी पियो भने मृत्युसमेत हुन सक्छ । दश हजार मिलिग्राम क्याफिन शरीरमा प-यो भने तत्काल मृत्यु हुन सक्छ । कसै–कसैलाई अलिकति कफी पिउनेबित्तिकै असर पर्छ पनि । यसलाई कफीमा सेनसेटिभ भएको भनिन्छ ।

कुनै व्यक्तिलाई कफी शरीरमा पर्नेबित्तिकै आनन्द हुन्छ भने कतिपयलाई छटपटी हुन्छ । कफीमा सेन्सेटिभ भएकाहरुलाई थोरै कफीले पनि छटपटी गराउने, जीउ तातेर आउने, मुटु हल्लिने, निद्रा नपर्ने, अपच हुने, रक्तचाप बढ्ने, छिटो–छिटो पिसाब लाग्नेजस्ता स्वास्थ्य समस्या उत्पन्न गराउँछ । मुटुको धड्कन खराब भएकाहरुले दैनिक १ कपसम्म कफी पिउनु सुरक्षित मानिन्छ ।

कफीले स्वास्थ्यमा पार्ने असरबारे धेरै अनुसन्धानहरु भएका छन् । कफी सेवन नगर्नेहरुको तुलनामा कफी सेवन गर्नेहरु धेरै वर्ष बाँच्ने गरेको कुरा वैज्ञानिक अनुसन्धानहरुले पुष्टि गरेका छन् । दैनिक २ देखि ४ कपसम्म कफी पिउनेहरुमा अरुको तुलनामा १६ प्रतिशतले मृत्यु दर कम भएको पाइएको छ भने २१ प्रतिशतले हृदयघातबाट हुने मृत्यु घटेको पुष्टि भएको छ ।

हृदयघात भइसकेकाहरुका लागि पनि कफीको सेवन लाभदायी देखिन्छ । दैनिक २ देखि ४ कपसम्म कफी पिउँदा यसले स्वास्थ्यमा राम्रो असर पार्छ । विज्ञानले के पनि भन्छ भने, कफीले मधुमेह र मुटुरोगबाट बचाउन मद्दत गर्छ । दिमागसम्बन्धी रोगः अल्जाइमर्स, डिमेन्सिया र डिप्रेसन हुनबाट रोक्छ । पार्किन्सन्स रोग, लिभर सिरोसिस र क्यान्सर हुनबाट पनि धेरै हदसम्म रोक्छ ।

हिजोआज धेरै मानिसलाई कलेजोमा बोसो जम्ने रोग छ (नन अल्कोहोलिक फ्याटी लिभर) । यसलाई पनि कफीले घटाउँछ भन्ने वैज्ञानिक मान्यता छ । तर गर्भवती महिला र १८ वर्षमुनिका बालबालिकाले कफी नपिउँदा राम्रो हुन्छ । किनकि, उनीहरुलाई कफीमा हुने क्याफिनले नकारात्मक असर पु-याउँछ । विज्ञानले भन्छ– एक कप कफी गर्भवतीहरुका लागि समेत सुरक्षित छ तर यो भन्दा बढी भएमा गर्भपात हुने वा कम तौल भएको बच्चा जन्मिने खतरा बढ्छ ।

क्याफिन एक प्रकारको लागू पदार्थ वा नशा हो । यसले रक्सीले जस्तै त नराम्रो नगर्ला, तैपनि नकारात्मक असर भने गर्छ नै । भरसक आफ्नो शरीरको स्थितिलाई विचार गरेर कफी पिउँदा राम्रो हुन्छ । दूध र चिनी नहालेको ब्ल्याक कफी पिउँदा स्वाद, सन्तुष्टि र सुस्वास्थ्यसमेत पाउन सकिन्छ ।

अतः कफी सेवनबारे मेरा सल्लाह–सुझाव:

१. कफीमा क्याफिन हुन्छ, यसले नशा लाग्छ । दैनिक ३ देखि ४ कपसम्म कफी पिउँदा स्वास्थ्यलाई राम्रै असर गर्छ ।
२. क्याफिनमा सेन्सेटिभ भएका व्यक्तिहरुले कफी नपिएकै बेस हुन्छ । यदि कसैलाई कफी पिएपछि छटपटी हुने, मुटु छिटो–छिटो चल्ने, निद्रा नपर्ने आदि समस्या देखिन्छ भने यो क्याफिनमा सेन्सेटिभ भएको लक्षण हो ।
३. १८ वर्ष उमेरमुनिका र गर्भवती महिलाहरुले कफी नपिउँदा बेस हुन्छ ।
४. दैनिक ४ कपभन्दा बढी र धेरै कडा कफी नपिएको राम्रो हो ।
५. आफ्नो स्वाद अनुसारको कफी पिउने गर्नुहोस् । कालो, दूध–चिनी नहालेको ‘ब्ल्याक’ अथवा ‘मिल्क विथ सुगर’, ‘कफी लाटे’, ‘अमेरिकानो’, ‘एक्सप्रेसो’, ‘क्यापुचिनो’ आदि जुन स्वादिलो लाग्छ छानी–छानी पिउने गर्नुहोस् । यसबाट स्वाद, सन्तुष्टि र सुस्वास्थ्य प्राप्त हुन्छ । तर होस पु¥याउनुहोस्– दैनिक ४ कपभन्दा बढी कफी नपिउनुहोस् ।

प्रतिक्रिया दिनुहोस्