शरीरका लक्षणप्रति सजग बनौं



– डा. क्षितिज बराकोटी प्राकृतिक चिकित्सक

के तपाईंको शरीरमा कुनै लक्षण वा चिन्ह देखिएको छ ? शरीरमा देखिने परिवर्तनहरुप्रति सजग हुन सकियो भने समयमै रोगको अवस्था पत्ता लगाई उपचार गर्न सकिन्छ । हाम्रो शरीर आफैँ डाक्टर र ल्याब पनि हो । शरीरले दिने संकेत वा सूचना रोग निदानको प्राकृतिक उपाय पनि हो ।चिकित्सकले बिरामी जाँच्ने क्रममा शरीरका विभिन्न अंगहरुलाई जाँच गर्दछन् । तर सबै स्वस्थ वा अस्वस्थ व्यक्तिहरुले समेत यसमा ध्यान दिन आवश्यक छ । ती जाँचका पक्षहरु निम्नानुसार छन्:

शारीरिक अवस्था: शारीरिक तथा मानसिक स्वास्थ्यको अवस्था प्रकट हुने ठाउँ शरीरको हाउभाउ, स्वरुप र अनुहारको अवस्था हो । अनुहार सुन्निएको, पीडा भएको, मुख बांगिएको, मनोदशा गडबडी, अनुहारको भाव आदि अनेक कुराहरुको ज्ञान पाउन सकिन्छ । यसको लागि स्वस्थ-अस्वस्थ अवस्थाको आँकलन व्यक्ति स्वयंले गर्न सकिन्छ । घरका परिवार वा साथीभाइको सहयोगले पनि यसमा भूमिका खेल्न सक्छन् । अस्वाभाविक संकेत र लक्षण देखिएमा चिकित्सकलाई देखाइहाल्नुपर्दछ ।

उचाइ र तौल: स्वस्थ शरीरको लागि उचाइ र तौलका बीच सन्तुलन कायम गर्नु आवश्यक छ । यसका लागि स्वस्थ-अस्वस्थ अवस्थामा तौलको अभिलेख राख्नुपर्दछ । उमेरअनुसार हुनुपर्ने तौलको बारेमा जानकारी लिइराख्दा रोगको पहिचान, उपचारमा सहयोग पुग्छ । यसको लागि उमेरअनुसारको हुनुपर्ने तौलको चार्ट हेरेर तौल घटाउन, बढाउन सकिन्छ ।
कतिपय औषधोपचार उचाइ र तौलका आधारमा पनि गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा निर्जलीकरणले तौल घट्ने वा सुन्निएर तौल बढ्ने पनि हुन सक्छ । एक्कासी अस्वाभाविक तौल घटबढको अवस्था अनेक कारणले हुन्छ । यसलाई समयमै निदान र निराकरण गर्नुपर्छ । इन्टरनेटका आधिकारिक साइटहरुमा उचाइअनुसारको हुनुपर्ने सामान्य तौल हेर्न सकिन्छ ।

छालाको संकेत:शरीरमा समस्या हुँदा त्यसको प्रभाव छालामा देखिन्छ र छालामा देखिने संकेत तथा लक्षणहरुबाट कतिपय रोग र अवस्थाहरुको अनुमान गर्न सकिन्छ । छालामा देखिने रंग, दाग, सुन्निने, तापक्रम आदिले विभिन्न समस्या वा अवस्थाहरुलाई संकेत गर्दछ ।

आँखाको संकेत:आँखाको नानी तथा आँखाभित्रको अरु भाग, ढक्कन, आँखाबाहिरको वरिपरिको छाला, दृष्टिशक्ति, आँखामा हुने परिवर्तन आदिबाट के रोग कति मात्रामा जटिल छ, थाहा पाउन सघाउँछ । आँखाको मात्र नभएर अनेकौं अंगमा हुने असरको लक्षण आँखामा देखा पर्दछ । आँखामा मात्र परीक्षण गर्ने आइरिस डायग्नोसिस एक समयमा नेचुरोपेथीमा निकै प्रचलित थियो ।

मुखभित्रको संकेत: जिब्रो, ओठ, गिजा, दाँत, तालु, घाँटीलगायत बोलाइ आदि मुखको भित्री भागबाट पनि स्वास्थ्यको अवस्था थाहा पाउन

सकिन्छ । जिब्रो फोहोर वा बाक्लो छ भने पाचन वा नाकको समस्या, टाइफाइड वा अन्य ज्वरो आएको मान्न सकिन्छ । जिब्रो चलाउँदा हुने अस्वाभाविक पन, टन्सिलको अवस्था, मुखभित्र घाउ भएको अवस्था, घाँटीमा सुन्निएको वा दाना वा बिमिराजस्तो आएको, स्वर धोद्रो भएको, बोल्नमा कठिनाइ आदि लक्षण वा संकेतलाई पनि विचार गर्नुपर्दछ ।

कपालको संकेत: विभिन्न समस्यामा कपालसम्बन्धी समस्याहरु पनि देखिन्छन् । कपालको रंग, बाक्लो वा पातलोपना, मसिनोपन, फुस्रोपना, कपाल झरेको अवस्था आदिबाट छालाको रोग, मेटाबोलिक डिस्अर्डर, थाइराइडको गडबडी आदिको निदान गर्न सघाउँछ ।

नङको संकेत:नङको आकारमा फरकपना, चेप्टोपना, मध्यभाग उठेको वा नङको आधार तल–माथि भै नमिलेको, सेतो तथा नीलो दाग, नङको कुनामा समस्या, नङको रंगमा आएको परिवर्तन, वरपरको छालामा सुन्निने आदिलाई हेरेर पनि शरीरको अवस्था अनुमान गर्न सकिन्छ । श्वासप्रश्वास प्रणालीका रोगहरु जस्तै– फोक्सोको क्यान्सर, क्षयरोग, जीर्ण फोक्सोरोग, हृदयरोगलगायत दीर्घरोग एवं तीव्रावस्थामा रक्तसञ्चार तथा अक्सिजनको कमीका कारणले नङमा नीलोपन देखा पर्ने हुन्छ । यसरी नै कलेजोको सिरोसिसलगायत पित्तथैली, पित्तनलीको समस्या, अल्सरेटिभ कोलाइटिसजस्ता रोगहरुले पनि नङमा संकेत वा लक्षणहरु देखिन्छन् ।

जन्डिस: आँखामा देखिने पहेँलोपनाले रगतमा बिलिरुबिनको मात्रा बढेको देखाउँछ । पित्तथैली, कलेजोका जीर्णरोग, पित्तनली वा यसको वरपरका अंगमा भएको रोग वा अवरोधजस्ता समस्याले गर्दा जन्डिसका लक्षणहरु देखा पर्दछन् । आँखाको सेतो भाग, जिब्रोको तल, छाला, नङ, दिसापिसाब आदिमा हुने पहेँलोपन वा फुस्रोपनाले जन्डिसलाई संकेत गर्दछ । गिलबर्ड सिन्ड्रोमका रुपमा पनि खास समस्या नभैकन पनि जन्डिस देखिन सक्छ । रगतमा लिभर फङ्क्सन टेस्ट तथा पेटको अल्ट्रासाउन्ड गर्दा के कारणले जन्डिस भएको हो भन्ने थाहा पाउन सकिन्छ । कारणअनुसार जन्डिसमा प्रकट हुने रंगमा केही फरक हुन सक्छ ।

रक्ताल्पता: शरीरमा रगतको मात्रा कमी हुने समस्यामा आँखाको तल्लो वा माथिल्लो ढकनीमा रातो हुनुपर्दछ तर रगतको कमी हुँदा त्यहाँ फुस्रो–पहेँलो देखिन सक्छ । यसरी नै गिजा, नङ, छाला तथा जिब्रोको तल्लो भागमा हेर्दा पनि त्यस्तै पहेँलोयुक्त रक्ताल्पताको लक्षण देखिन्छ । छालामा सेतो वा हल्का पहेँलोपना पनि देखिन सक्छ । रगतमा हेमोग्लोबिन तथा हिमाटोक्रिट परीक्षणबाट रक्ताल्पताको अवस्था जान्न सकिन्छ । बाह्य वा आन्तरिक रक्तस्राव, कुपोषण, पेटका कृमिहरु तथा पोषणको कमी (आइरन, फोलिक एसिड, भिटामिन बी १२ को कमी) जस्ता कारणले रक्ताल्पता हुने हुन्छ । केही कडा रोगहरु जस्तै– बोनम्यारो सुक्ने रोगका कारण हुने अप्लास्टिक एनिमिया तथा रक्तक्यान्सरका कारण हुने, अपुष्ट हेमोग्लोबिन बन्ने र रगत चढाइरहनुपर्ने रोग थालासिमिया, विशेष आनुवांशिक कारणले हुने सिकल सेल एनिमियाजस्ता विभिन्न प्रकारका रक्ताल्पता हुन्छन् ।

पानीको अवस्था: शरीरमा लगभग ६५ देखि ७५ प्रतिशत पानी हुन्छ । पानीको कमी भएमा त्यस अवस्थालाई निर्जलीकरण (dehydration) भनिन्छ । बढी पखाला तथा बान्ता हुने, पसिना तथा अत्यधिक गर्मीमा शरीरको पानी घट्ने र उचित पानी नपिउनेजस्ता कारणले यस्तो अवस्था आउँछ । यस्तो बेलामा छाला बढी खुम्चिने, चाउरिने, सुख्खा हुने हुन्छ र औंलाले समातेर छाला तान्दा बढी तन्किने एवं पातलो हुने हुन्छ । शरीर दुब्लो, आँखा बढी गाडिने, अनुहार मलिन, जिब्रो तथा मुख सुख्खा देखिने हुन्छ । पानीको कमी भएमा अनेक समस्या आइपर्छन् । त्यसैले निर्जलीकरण हुँदा पानी तथा झोल कुराहरु प्रशस्त पिउनुपर्छ ।

लिम्फ नोड तथा गलग्रन्थि: बंगाराको तलतिर घाँटी, कानको पछाडि गर्दन, काखी र काँछ (तिघ्राको जोर्नीको अगाडिको भाग) मा लिम्फ ग्रन्थिहरु रहेका हुन्छन् । छामेर वा हल्का थिचेर तिनको आकार बढेको वा दुखेको छ कि छैन (दुवैतिर) हेर्नुपर्दछ । ज्वरो आएको÷नआएको अवस्था पनि हेर्नुपर्छ । यसरी नै गलग्रन्थि थाइराइड बढेको वा सुन्निएको शंका लागेमा चिकित्सकको सल्लाह लिनुपर्छ । यसमा पनि थुक निल्न गाह्रो हुने, गाँड बढेको देखिने वा घाँटी सुन्निएको अनुभूति हुन सक्छ ।

नीलोपना: फोक्सोमा अक्सिजनको कमीका कारण शरीरका विभिन्न भागमा छाला गाढा नीलो देखिन्छ । प्रायः श्वासप्रश्वासका बिरामी, मुटुका रोगीमा यस्तो लक्षण देखिन्छ । खासगरी नाकको पोरा एवं टुप्पो, ओठ, नङ र कानको बाहिरी छालामा यस्तो नीलोपना देखिने हुन्छ । फोक्सोले राम्ररी अक्सिजन सोस्न नसक्दा, मुटुमा अशुद्ध रगत मिसिएको अवस्थामा समेत यस्तो नीलोपना आउँछ । यस्तो अवस्थामा जिब्रोको तल बढी नीलो देखिन्छ । साथै शरीरको विभिन्न भागमा रक्तसञ्चार कम हुँदा, अत्यधिक चिसोले असर परेमा त्यस्ता भागहरुमा नीलोपना देखिन्छ ।

सुन्निने :  खासगरी सुन्निने समस्या भए÷नभएको जाँच्न हातको औँलाले छालाको भागमा केहीबेर थिच्नुपर्दछ । थिच्दा बढी खाल्टो बन्दछ भने त्यो सुन्निएको अवस्था हो । छालाको तल तरल बढी जम्मा हुनुका कारण यसरी सुन्निने हुन्छ । समस्या वा अवस्था अनुरुप कहिले पूरा शरीरमा त कहिले आंशिक रुपमा सुन्निने हुन्छ । मुटुको रोग, मिर्गौलाको रोग, कलेजोको सिरोसिस आदि कारणले सुन्निन्छ । कहिलेकाहीँ लामो यात्राका क्रममा समेत गोडा सुन्निने हुन्छ । आवश्यक सल्लाहको लागि चिकित्सकलाई जाँच गराउन जरुरी हुन्छ ।

आधारभूत परीक्षणहरु

कुनै पनि समस्या हुँदा सर्वप्रथम केही प्रमुख शारीरिक जाँच आवश्यक पर्दछ । यसका लागि भाइटल टेस्टका रुपमा निम्न जाँचहरु गरिन्छन् ः
नाडीको चाल (Pulse rate): हृदयगतिअनुसार नै नाडीगति हुन्छ । एक मिनेटसम्म नाडीगतिको जाँच गर्दा ७० देखि ८० सम्मको नाडीगतिलाई सामान्य मानिन्छ । व्यायाम गर्दा, ज्वरो आउँदा, बढी मानसिक तनाव, डर आदि अवस्थामा नाडीगति बढ्छ । सबै चिकित्सा पद्धतिमा नाडीको जाँचलाई प्राथमिकता दिइएको हुन्छ । नाडीको जाँच गर्दा नाडीगति मात्र होइन, नाडीको गति नियमित वा अनियमित कस्तो छ, मन्द छ कि उच्च वा मध्यम के छ आदिबाट रोगको गम्भीरता, रोगको प्रकार, बिरामीको अवस्था आदिबारे जान्न सकिन्छ ।

रक्तचाप : कुनै पनि समस्या हुँदा रक्तचाप जाँचिन्छ । सामान्यतया वयष्क उमेरका व्यक्तिको सामान्य माथिल्लो वा सिस्टोलिक रक्तचाप ११० देखि १३०-१३९ सम्म र तल्लो वा डायस्टोलिक रक्तचाप प्रायः ७० देखि ९० भित्र हुनुपर्दछ । सरदर सामान्य रक्तचाप १२०-८० हुनुपर्दछ । १३९-८९, १४०-९० देखि १५९-९९ धेरै रक्तचाप बढेको अवस्था हो । १६०-१०० वा सोभन्दा माथिको अवस्था उच्च रक्तचापको अत्यन्तै बढेको अवस्था हो, जुन समयमै नियन्त्रण नगरे घातक परिणाम हुन सक्दछ । उच्च रक्तचापको समयमै व्यवस्थापन नगर्दा अनेक जटिलताहरु आउन सक्ने हुँदा खानपान, जीवनशैली आदिमा ध्यान दिएर चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्दछ । रगतमा लिपिड प्रोफाइलमा गडबडीलगायत मुटु, रक्तनली, गलग्रन्थि तथा मिर्गौला रोग आदिका कारण यस्ता समस्याहरु आउँछन् ।
यसरी नै रक्तचाप धेरै नै कम भएमा पनि समस्या आइपर्न सक्छ । अनेक पोषक तत्वको कमी, रक्ताल्पता, संक्रमण, पानीको कमी, बढी श्रम आदि कारणले रक्तचाप घट्ने हुन्छ । रिंगटा, बेहोसलगायत श्वासप्रश्वासमा गडबडी, शरीर लुलो हुने आदि भएमा चिकित्सकको सल्लाह लिनुपर्छ । कसैलाई अपवादस्वरुप रक्तचाप कम भए पनि सामान्य नै मानिन्छ ।

तापक्रम: शरीरको ताप नाप्न एक मिनेटसम्म मुख, काखी, तिघ्रा र पेटको जोर्नी (काँछ) वा मलद्वारमा थर्मामिटरको प्रयोग गरिन्छ । फरेनहाइट वा सेन्टिग्रेटमा यसको मापन हुन्छ । शरीरको सामान्य तापक्रम ९८ देखि ९९ डिग्री फरेनहाइट हुन्छ र ९९ डिग्री फरेनहाइटभन्दा माथि गएमा त्यसलाई ज्वरो मानिन्छ । संक्रामक तथा अन्य कारणहरुले ज्वरो आउने गर्छ । १०४ डिग्री फरेनहाइटभन्दा माथि भएमा त्यसलाई हाइपरथर्मिया र शरीरको न्यानोपना घटेर तापक्रम ९६ डिग्री फरेनहाइटभन्दा तल भएमा त्यसलाई हाइपोथर्मिया भनिन्छ । यसले घातक अवस्था निम्त्याउन सक्छ ।

ज्वरो नाप्दा प्रायः काखीमा नापिन्छ । तर काखीमा भन्दा मुख र मलद्वारमा एकदेखि डेढ डिग्रीजति तापक्रम बढी हुन्छ, त्यसैले काखीमा नापेको तापक्रममा एक जोडेर वास्तविक ज्वरो मान्नुपर्दछ । प्रायः शरीरमा संक्रमण भएको अवस्थामा ज्वरो आउँछ । संक्रमणको कारण तथा स्तरअनुरुप ज्वरो आउने तरिका, समय र गम्भीरता निर्भर गर्दछ । ज्वरोमा तत्काल ध्यान दिइहाल्नुपर्दछ । कहिलेकाहीँ शरीरको तापक्रम नबढे पनि ज्वरोजस्तै अनुभूति हुन सक्दछ ।

श्वासप्रश्वासको गति: बिरामी वा स्वस्थ व्यक्तिलाई श्वासप्रश्वासको गन्ती गरिँदै छ भन्ने थाहा नदिईकन अर्कैतिर ध्यान मोडेर घडी हेर्दै पेटमा हात राखेर वा नाडी छामेजस्तो गरी प्रत्यक्ष हेरेर पनि कतिपटक श्वास लिँदै छ वा छोड्दै छ भन्ने जाँच गरिन्छ । लिएर छोड्ने प्रक्रियालाई एक मान्दा सामान्य अवस्थामा स्वस्थ वयष्क व्यक्तिले १२ देखि २० पटक श्वास फेर्छ भने भर्खर जन्मेका र १ वर्षभन्दा तलका उमेरमा २० देखि ४० सम्म पनि श्वासदर पुग्ने हुन्छ । श्वासप्रश्वास प्रणाली तथा मुटुका रोगीमा श्वासप्रश्वासको दर निकै बढी हुन्छ, जसलाई शीघ्र उपचारको आवश्यकता हुन्छ ।

प्रतिक्रिया दिनुहोस्