तपाईंका घरमा हाम्रा डाक्टर



आजकल प्रायः व्यक्तिमा उच्च रक्तचापको समस्या देखिन्छ । रक्तचाप भनेको के हो, यो किन हुन्छ, यसलाई कसरी सन्तुलित गर्न सकिएला ?

– अर्जुन तिवारी, स्याङ्जा 

अर्जुनजी, रक्तचाप भन्नाले रक्तनलीहरुमा मुटुको पम्पद्वारा सृजित चाप, रगतको आफ्नै भोलुमको चाप अनि रक्तनलीहरुको लचकताद्वारा सृजित चापको एकमुष्ट चाप हो, जुन रक्तनलीको भित्तामा महसुस गरिन्छ । ठूलो जनसमूहमा धेरै स्वस्थ व्यक्तिहरुमा पाइने चापलाई नर्मल रक्तचाप मानेर आइएको छ ।

त्योभन्दा बढी भएको खण्डमा त्यसैलाई ‘उच्च रक्तचाप’ भनिन्छ । साधारणतया ११० देखि १४० पारोको मिलिमिटरसम्मको माथिल्लो रक्तचाप, जसलाई सिस्टोलिक भनिन्छ तथा ६० देखि ९० पारोको मिलिमिटरसम्मको तल्लो रक्तचाप, जसलाई डायस्टोलिक भनिन्छ, यसैलाई नर्मल रक्तचाप मानिन्छ । त्योभन्दा तल वा माथिको चापलाई अस्वाभाविक वा एबनर्मल मानिन्छ । यही मानिएको नर्मल रक्तचाप पनि उमेर, लिंग, स्वास्थ्य अवस्था अनि आफ्नो नियमित सधैँको रक्तचापअनुसार चिकित्सक खासगरी मुटुरोग विशेषज्ञको निर्णयअनुसार नर्मल वा अलि–अलि उच्च वा धेरै उच्च मानी वर्गीकरण गरिन्छ अनि के गर्ने भनेर निर्णय गरिन्छ ।

उच्च रक्तचाप हुने कारण प्रकृति हेरेर मानिएअनुसार दुई प्रकारको हुन्छ । पहिलोलाई प्राथमिक उच्च रक्तचाप (Essential Hypertension) भनिन्छ, जसको कुनै एउटा निश्चित कारण नभएर जीवनशैली वा वातावरण वा सामाजिक कारणले हुन्छ । बहु कारक तत्वहरुबाट विकसित हुने हुनाले निश्चित यही कारण भन्न सकिन्न । त्यस्ता कारक तत्वमा मानसिक तनाव, खानपिन, अधिक तौल, धूमपान, मद्यपान, प्रदूषण जे पनि हुन सक्छ । यस प्रकारको उच्च रक्तचापको उपचारमा रक्तचाप घटाउने औषधि प्रयोग गरिन्छ । साथै जीवनशैली सुधार्न पनि जरुरी हुन्छ । यस प्रकारको रक्तचाप ९७–९८ प्रतिशतसम्म पाइन्छ । दोस्रो प्रकारको उच्च रक्तचापलाई अंग्रेजीमा Secondary Hypertension भनिन्छ, जुन कुनै अमुक परिस्थितिले गर्दा विकास हुन्छ । समाजमा यस किसिमको उच्च रक्तचाप २–३ प्रतिशतसम्म हुन्छ । त्यसको उपचारको लागि त्यो कारणलाई नै निर्मूल वा नियन्त्रण गर्नुपर्ने हुन्छ । साथै रक्तचाप घटाउने औषधि पनि चलाउने गरिन्छ । उच्च रक्तचाप साह्रै व्यापक भएको पाइएको छ । यो समाजमा एक तिहाइ व्यक्तिमा पाइने हुनाले र यसको जटिलता धेरै नै डर लाग्दो हुनाले पनि नियमित जाँच्न र सम्बन्धित विशेषज्ञ भेटेर परापर्श लिन अति नै आवश्यक छ ।

अहिले कोरोना मत्थर भएजस्तो छ । मान्छेले विवाह, व्रतबन्ध र पार्टीहरु गर्न थाले । चुनाव हुन थाल्यो । स्कुल, कलेज खुले । तर पनि स्वास्थ्य मन्त्रालयको विज्ञप्तिअनुसार २०–३० जना दैनिक बिरामी हुने गरेका छन् । भारतमा अर्को लहर आयो भनेको सुनिदै छ । चीनमा फेरि चौथो लहर फैलिएको भन्दै छन् । यो के हो, कसलाई बढी डर हुन्छ र हामीले के गर्नुपर्ला ? स्पष्ट
पारिदिनुहुन्थ्यो कि ?
– मानबहादुर पौडेल, स्याङ्जा । हाल: काठमाडौं ।
मानबहादुरजी, यहाँले अति नै सान्दर्भिक प्रश्न सोध्नुभएको छ । कोरोना रोग कोरोना भन्ने भाइरसले गराउँछ । SARS CoV- 2 भन्ने भाइरसको खास प्रकृतिको बनावटअनुसार श्रीपेच वा मुकुटजस्तो देखिएकोले यसलाई कोरोना वा कोभिड भनियो । यो बर्ड फ्लु, स्वाइन फ्लुजस्तै गरेर श्वासप्रश्वासको समस्या गराउने रोग हो । यो फरक भाइरस भएकोले फरक लक्षणसहितको रोग देखा पर्छ । भाइरस प्रकृतिमा आफैं बनावटमा परिवर्तित हुने गुणअनुसार म्युटेसन भएर विभिन्न किसिमका भाइरस विकास हुन्छन्, जसलाई ‘भ्यारियन्ट’ भनिन्छ । सोही अनुसार अल्फा, बेटा, गामा, डेल्टा नामाकरण गरियो । हरेक नयाँ उत्पत्ति भएको भ्यारियन्टअनुसार तथा सर्वस्वीकार्य ग्रिक वर्णमाला

(Alphabet) अनुसार नामाकरण गरियो । त्यसपछिको प्रकृतिको नाम अर्को वर्णमालाअनुसार ‘XI’ हुनेमा चीनका राष्ट्रपतिको नामसँग उस्तै भएकोले एकैपटक सोह्रौं अक्षर ‘ओमिक्रोन’ राखियो । अहिले डेल्टापछि ओमोक्रोन अनि यी दुवैको मिश्रित डेल्टाक्रोन भन्ने पनि देखियो अनि ओमिक्रोनको पनि B.1.1.529; BA.1; BA.1.1; BA.2 तथा BA.3 प्रकृति वर्गीकरण गरिएको छ । डेल्टापछिका सबै प्रकृति बढी सरुवा पाइए पनि कम जटिल, हल्का खालको पाइयो भने पूर्ण भ्याक्सिन लगाएकाहरु कम बिरामी भएको अनि मृत्यु पनि कम भएको पाइएको छ । बिरामी हुने र मृत्यु हुने धेरैजसो वृद्ध उमेरका, अन्य रोग भएकाहरु पाइएको छ । अहिले पनि भारत, चीन, कोरिया, हङकङमा यो कोरोना बढ्दो देखिएकोले सावधानी अपनाउन छोड्ने बेला भैसकेको छैन । छिमेकी देशसँग हाम्रो सम्पर्क अधिक छ भने विदेशीहरु पनि विभिन्न देश भएर आउने हुनाले जनस्वास्थ्यका मापदण्ड अपनाएको नै राम्रो । कसरी सचेत भन्ने कुरामा हामी सबै अभ्यस्त भइसकेका नै छौं । संक्रमण केही देखिए पनि मृत्यु निकै कम देखिएको छ । त्यसैले धेरै नै प्यानिक नभई सतर्क हुन जरुरी छ ।

म २२ वर्षको भएँ । सानैदेखि चुरोट खाने लत बसेको छ । यो लत छुटाउन चाहन्छु । यसको लागि उपयुक्त सुझावको प्रतीक्षामा छु ।
– सुरज, धनकुटा ।
सुरजजी, सानो उमेरदेखि चुरोट खाने लत बसेको भन्नुभयो । त्यो राम्रो पक्ष किञ्चित होइन । तर तपाईंले यो लत छुटाउन चाहन्छु भन्नु एकदमै राम्रो पक्ष हो, सकारात्मक कुरा हो । छोड्न चाहन्छु भन्नु नै आधाजस्तो छोड्नु हो, जसको भित्र मनैदेखि चुरोट छोड्ने धारणा विकास हुन्छ उनीहरु छोड्न सफल हुन्छन् । त्यसैले प्राकृतिक रुपमा अलि–अलि गरेर छोड्ने योजना बनाई तयारीमा लाग्नुभएमा त्यति गाह्रो होलाजस्तो लाग्दैन । यदि दिनमा १० खिल्ली चुरोट लिने गरेको भए आजैदेखि ८ वटामा झार्नुस् । ३–४ दिनपछि फेरि ६ वटामा झार्नुस् । अर्को ३–४ दिनपछि ४ वटामा झार्ने कोशिश गर्नुस् । यसै गरी अन्त्यमा एकवटामा झारेर ४–५ दिनपछि त्यो पनि छोड्नुस् । चुरोट सम्झिएर तलतल लागेमा ल्वाङ, केही दिन सुकुमेल लिने गर्नुस् । यो त दैनिक १० वटा चुरोट लिनेको लागि भयो । त्यो संख्या यदि अर्कै भएमा त्यही अनुपातमा अलि–अलि गर्दै घटाएर छोड्नु सबभन्दा राम्रो प्राकृतिक बाटो हो । यसमा महत्वपूर्ण कुरा भित्री आत्मबल तथा तत्परता नै हो । आफैँले छोड्नुपर्ने भनेर मनैदेखि विश्वस्त भएमा यो छोड्न धेरै गाह्रो नहोला । यदि यो सहज उपायले पार नलागेमा चिकित्सकको सहयोग लिने, नक्कली चुरोटको वा वैकल्पिक सुर्तीको उपयोगसहित प्रतिस्थापन गरेर चुरोट छुटाउन सकिन्छ । यसको लागि नजिकैको अस्पतालमा गएर फिजिसियनसँग परामर्श
गर्न पनि सकिन्छ ।

म ५५ वर्षको भएँ । मलाई राति ५–६ पटक उठ्नुपर्छ । दिउँसो पनि पिसाब रोक्न सक्दिन, छिन्–छिन्मा लागिरहन्छ । अलि–अलि पोल्ने पनि गर्छ । पिसाब पनि थोरै हुन्छ । पिसाब गर्दा थोपा यताउता हुने अनि लगाएको सुरुवालमा चुहुने हुन्छ । पिसाब पनि थोरै–थोरै तर पटक–पटक हुन्छ । यो के कारणले होला ? मैले कहाँ कसलाई देखाउनुपर्ला ?

– सन्तोष झा, रौताहट ।
सन्तोषजी, तपाईंको समस्या तथा लक्षण हेर्दा प्रोस्टेट भन्ने ग्रन्थि बढेको अनुमान गर्न सकिन्छ । यो ग्रन्थि लोग्नेमान्छेको पिसाब थैलीको घाँटीमा हुन्छ । पुरुषको मूत्रनली यो ग्रन्थिको भित्रबाट बाह्य यौनांगसम्म जाने गर्छ । यो पुरुषको लागि यौनग्रन्थि नै हो । यो ग्रन्थि उमेर ढल्कँदै गएपछि ४५–५० वर्षपछि करिब–करिब ५० प्रतिशत पुरुषको हकमा बढेर जान्छ र पिसाब अवरोध गर्न सक्छ । हो, तपाईंको पनि सोही ग्रन्थि बढेजस्तो लाग्यो । धेरै नै कम प्रतिशतमा यो ग्रन्थि बढेर क्यान्सरसमेत विकसित हुन सक्ने हुनाले पूर्ण र शीघ्र परीक्षण गर्न अनि आवश्यक उपचारमा जान अति जरुरी छ । पहिले–पहिले यो समस्याले विनानिदान नै मान्छेको मृत्युसम्म हुने गथ्र्यो भने आज चिकित्सा विज्ञानको विकासले यसको सहज उपचार सम्भव भएको छ ।

यो समस्याको निदान तथा आवश्यक उपचारको लागि एकपटक युरो शल्यचिकित्सक भेट्न जरुरी हुन्छ । त्यसको लागि भरतपुरमा वा काठमाडौंमा आएर सम्बन्धित चिकित्सक भेटी परामर्श लिन सल्लाह दिइन्छ । अहिले चिकित्सक नभेटेसम्मका लागि ०.४ मिलिग्रामको Tamsolosun भन्ने एक चक्की बेलुका राति खाने गर्नुस् अनि मिलेसम्म पेटको भिडियो एक्सरे अर्थात् अल्ट्रासाउन्ड गराएर छिटो सम्बन्धित
चिकित्सकलाई भेट्नुस् ।

प्रतिक्रिया दिनुहोस्