भोजनको गहना : बेसार



डा. रामदेव पण्डित (आयुर्वेद चिकित्सक)

बेसार दक्षिण एसियाको रैथाने वनस्पति हो । अदुवा कुलको यो वनस्पतिको कन्दलाई काँचै वा सुकाएर त्यसको धूलो बनाई प्रयोग गरिन्छ । पश्चिमी समाजमा भन्दा नेपाल र भारतीय समाजमा बेसारको प्रयोग अधिक हुन्छ ।

भान्सामा पाक्ने खानामा प्रायः बेसारको प्रयोग गर्ने गरिन्छ । बेसारले खानेकुरालाई पहेँलो रंग प्रदान गर्दछ । खानामा बेसारको प्रयोग गर्नुको सामान्य कारण खानाको आकर्षण बढाउन हो । बेसारको प्रयोग परापूर्व कालदेखि नै हुँदै आएको छ । खानामा बेसारको प्रयोग गर्नुलाई एउटा परम्परा वा संस्कृतिको रुपमा मान्न सकिन्छ ।

आजको वैज्ञानिक समयमा बेसारमाथि गरिएका धेरै अध्ययनले बेसारमा धेरै खाले औषधीय गुणहरु भएको तथ्य सार्वजानिक गरेको छ । बेसारमा पाइने विविध वानस्पतिक रसायनहरुले बेसार बहुगुण सम्पन्न हर्बल औषधि वा सप्लिमेन्टको रुपमा स्थापित भएको छ । बेसारमा कक्र्यमिन नामक रासायनिक पदार्थ प्रमुखरुपमा पाइन्छ ।

बेसारमा इम्युनिटी बद्र्धक गुण र तत्वहरु हुने भएकोले कोरोना कालमा पनि आयुर्वेद एवं वैकल्पिक चिकित्सा पद्धतिमार्फत कोरोना भाइरसको रोकथामका उपाय र व्यवस्थापनसम्बन्धी सरकारी निर्देशिकामा दैनिक रूपमा खानामा निश्चित मात्राको बेसार प्रयोग गर्न सुझाव दिइएको थियो ।

बेसार स्वतन्त्ररुपमा वा खानामा मिसाएर वा अन्य खाद्य एवं पेयपदार्थहरुमा मिसाएर प्रयोग गर्न सकिन्छ । मात्रा मिलाएर बेसारलाई जसरी सेवन गरे पनि त्यसले अपेक्षित लाभ दिन्छ । बेसारबाट उच्चतम लाभ प्राप्त गर्न त्यसको प्रयोग गर्ने समय र अवस्था पनि मननीय हुन्छ ।
बेसार सबैले प्रयोग गर्ने दैनिक उपभोग्य वस्तु भएकोले यसको माग बढ्दो छ । मागअनुसारको आपूर्तिका लागि नेपालमा भारत, म्यान्मार र इथियोपियाजस्ता देशहरूबाट बेसार आयात गर्ने गरिन्छ ।

आफैँले खेतबारीमा रोपेको बोटबाट संकलित कन्दबाट निर्मित धूलो बेसार शुद्ध हुन्छ । बजारमा उपलब्ध बेसारमा मिसावट भएको हुन सक्छ । बजारमा बेचिने मिसावट भएको बेसार प्रयोग गर्दा शरीरलाई अपेक्षित लाभभन्दा हानि हुन सक्ने खतरा रहन्छ । सामान्यतया नेपालमा पाइने बेसारमा लिड क्रोमेट, स्टार्च, चक (खरी) आदिको मिश्रण गरेर बेच्ने गरेको पाइन्छ, जुन स्वास्थ्यका लागि सर्वथा हानिकारक हुन्छ । गुणस्तरीय बेसारमा कक्र्यमिन नामक रासायिक पदार्थ एक वा एक प्रतिशतभन्दा माथि हुनुपर्छ ।

अत्यधिक बेसार सेवनले कलेजो, मिर्गौलामा समस्या भएकाहरूलाई जोखिम हुन सक्छ । स्वस्थ मानिसले आफ्नो तौलअनुसार प्रतिदिन चारदेखि आठ ग्रामसम्म बेसार सेवन गर्न उचित हुन्छ ।पानी मिसाइएको गिलासमा बेसार हालेर केही समय छोड्दा चक मिसिएको रहेछ भने तल थिग्रिने र मैदालगायतका वस्तु प्रयोग भएको छ भने डल्लो पर्ने हुन्छ । यसरी बेसारको गुणस्तर घरेलु विधिबाट परीक्षण गर्न सकिन्छ ।
बेसारले शरीरमा जलन कम गर्ने काम गर्छ ।

बुढेसकालमा हात–पाखुरा दुख्ने समस्या हुन नदिन पनि बेसारको भूमिका महत्वपूर्ण हुन्छ । त्यस्तै एन्टी–अक्सिडेन्ट गुणका कारण छिट्टै छाला चाउरी नपर्नेजस्ता फाइदा दिन्छ । बेसारले शरीरमा ताप उत्पन्न गराउने भएकोले पित्त प्रकृतिका व्यक्तिहरुले यसको अधिक प्रयोग गर्नु अहितकर हुन्छ । रगत पातलो बनाउने भएकोले केही खास रोगीहरुमा रक्तस्राव गराउने खतरा पनि रहन्छ ।

बेसारलाई भिटामिन र खनिजहरुको मुख्य स्रोत मानिन्छ । दूधमा बेसार मिसाएर बनाइएको मिश्रणलाई हिजोआज गोल्डेन मिल्क भनिन्छ । इम्युनिटीका लागि कोरोना कालमा गोल्डेन मिल्कको प्रयोग र प्रचार व्यापकरुपमा गरिएको थियो । बेसारमा भिटामिन ए, क्याल्सियम, फसफोरस, आइरन आदि तत्व प्रचुर मात्रामा पाइन्छ ।

बेसारलाई महसँग पनि खान मिल्छ । यसरी महसँग खाइएको बेसारले पनि शरीरको संक्रमण मार्दछ, साथै शरीरको इम्युनिटी बढाउँछ । बेसार–पानीले नियमित कुल्ला गर्दा मुख र घाँटीभित्र हुने विभिन्न खाले संक्रमणबाट छुटकारा पाउन सकिन्छ । छालामा हुने विभिन्न खालको एलर्जीमा पनि बेसारको धूलो सेवन गरिन्छ । साथै लेप बनाएर समेत लगाइन्छ । बेसारमा एन्टिब्याक्टेरियल, एन्टिभाइरल र इम्युनिटी वद्र्धक शक्ति हुन्छ, जसको कारण रुघा–मर्की लाग्दा पिइने काढामा बेसार राख्ने चलन छ ।

परम्परागतरुपमा खानामा हानिरहित रुपमा आकर्षण प्रदान गर्न प्रयोग गरिने बेसारको धेरै खाले औषधीय गुणहरु पनि रहेको प्रमाणित भएपछि अहिले बेसारको महत्व र उपयोग झनै बढेको छ । बेसारमा शरीरका विष (टक्सिन) हरु निर्विष बनाउने क्षमता पनि हुन्छ । यसै कारण कलेजोमा हुने विभिन्न विषयहरुको सञ्चयलाई डिटक्स (निर्विष) गराउन पनि बेसारको प्रयोग गरिन्छ ।

बेसारमा हुने एन्टिअक्सिडेन्ट र एन्टिएलर्जिक गुणका कारण सौन्दर्य प्रसाधनहरुमा बेसारको व्यापक प्रयोग हुन्छ । अनुहारमा लगाउन बनाइने घरेलु फेस प्याकदेखि सौन्दर्य वृद्धिका लागि बजारमा पाइने विभिन्न क्रिमहरुमा पनि बेसार अनिवार्यरुपमा प्रयोग भएको हुन्छ ।
शरीरमा जमेर बसेको अतिरिक्त बोसोलाई काट्ने अद्भूत क्षमता पनि बेसारमा हुन्छ ।

मोटोपन भएका व्यक्तिहरुले बेसारको नियमित सेवन गर्दा शरीरको अनावश्यक बोसो घटाएर शरीर सुडौल र सुन्दर बनाउँछ । बेसारमा एन्टिभाइरल औषधीय गुण पनि हुने वैज्ञानिक अनुसन्धानले देखाएको छ । यसर्थ बेसारको प्रयोग भाइरल ज्वरो, कोभिड, रुघाखोकी आदिमा दैनिक सेवन गर्न सल्लाह दिइन्छ ।

धेरै मान्छेले बेसारको वास्तविक महत्व नबुझेर नियमितरुपमा प्रयोग नै नगरेको पाइन्छ । बेसारको अभावले लिभर अस्वस्थ हुने, पेटमा ग्यास बन्ने आदि विभन्नि समस्या देखिन थाल्छ ।

बेसारलाई तेलमा भुटेर वा आगोमा डढाएर प्रयोग गर्नु सर्वथा हानिकारक हुन्छ । यसरी बेसारको सबै खाले औषधीय गुण नष्ट मात्र हुँदैन, शरीरमा क्यान्सर लगाउनेसम्मका तत्वहरुको उत्पादन हुन्छ । बेसारलाई प्राकृतिक स्वरुपमा नै प्रयोग गर्नु सर्वथा प्रभावकारी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्