उपवास स्वस्थ रहने एक उपाय



  • डा. अरुणा उप्रेती

हिन्दु धर्मावलम्बीहरु धर्म–परम्पराको हिसाबले विभिन्न विधिबाट उपवास बस्छन् । हरेक महिनामा दुई दिन एकादशीको दिन अन्न नखाई फलफूल, फलफूलको रस, पानी र दूध मात्र खाएर उपवास गर्नेहरु पनि धेरै छन् । तिजको अवसरमा महिलाहरुले निर्जल उपवास बस्ने चलन अहिले पनि छ । हप्ताको कुनै एक दिन कुनै एक देवताको नाममा उपवास बस्ने चलन पनि चलिरहेको छ । कतिपयले शुक्रबार सन्तोषी माताको नाममा उपवास बसेर गुड र चना मात्र खाने पनि गर्छन् ।

बौद्ध धर्मावलम्बीहरुमध्ये कतिपयले दिउँसो खाएपछि एकैचोटि भोलिपल्ट मात्र खाने गर्छन् । यो पनि उपवासको एक प्रकार हो । कतिपय बुद्धिष्ट योगीहरु दिनमा एक छाक मात्र खान्छन् । कतिपयले रोटी मात्र खाएर उपवास गर्छन् । दक्षिण भारतमा उपवासको दिन रोटी नखाई भात खान्छन् ।

मुस्लिम धर्मावलम्बीहरु रमादानको बेला एक महिनाभरि बिहान सूर्य उदाएदेखि नअस्ताएसम्म केही खाँदैनन् अर्थात् उपवास गर्छन् । यस्तै गरी कृश्चियन धर्मावलम्बीहरु पनि कुनै न कुनै तरिकाले उपवास बस्छन् ।दिनदिनै मासु खाने व्यक्तिहरु हप्ताको दुई दिन मासु नखाँदा पनि वर्त बसेको भन्ने गर्छन् । केही व्यक्तिहरु उपवासको दिन लसुन, प्याज, गोलभेँडा, नहाली बनाएको सात्विक भोजन ग्रहण गर्दा पनि उपवास (व्रत) बसेको मान्छन् । जुन तरिका अपनाए पनि कुनै न कुनै खाना खान छोड्नु, छाक छोड्नु आदि पनि उपवासकै तरिका मानिन्छ ।

 

उपवासको अर्थ संकेतमा दुई शब्द मिलेर बनेको छ । उप अर्थात् नजिक, वासको अर्थ निवास (बस्ने ठाउँ) अर्थात् नजिकै बस्ने । यसको दार्शनिक अर्थ हो– हामी शरीरको मागभन्दा माथि उठेर आफ्नो शरीरभित्रको दैवी शक्तिको नजिक आउन सकूँ ।
सामान्यतया विनाभोजन, विनापानी केही समय बस्ने प्रक्रियालाई उपवास भन्ने बुझिन्छ । तर खाना नखाएर मात्रै आफूलाई चिन्न सकिन्छ, शक्ति प्राप्त गर्न सकिन्छ भन्नेचाहिँ होइन । बुद्धले ज्ञान पाउन ४९ दिनसम्म दीर्घ उपवास गरेका थिए । तर उनले ज्ञान प्राप्त गर्न सकेका थिएनन् ।

उनी बेहोस भएर ढल्ने अवस्थामा पुगेकाले सुजाताले उनलाई ‘खिर’ खान दिएपछि उनी स्वस्थ भए र तपस्या गरेपछि बुद्धत्व प्राप्त गरे । यसरी लामो समय व्रत बस्ने विचार बुद्धले त्यागे र ध्यान विधि अपनाए ।धर्मका नाममा उपवास गर्ने संस्कृतिलाई पहिला अन्धविश्वास र अवैज्ञानिक मानिन्थ्यो भने अहिले

विभिन्न वैज्ञानिक अनुसन्धानले ‘उपवासले उपचार पनि गर्न सकिन्छ’ भनेर सिद्ध गरेका छन् । आयुर्वेद विज्ञानमा त हजारौँ वर्षदेखि मन, आत्मा र शरीर स्वस्थ राख्न उपवासको महत्वपूर्ण भूमिका हुन्छ भन्ने उल्लेख छ ।

चिकित्सकीय दृष्टिले उपचार गर्नेहरुले ३ दिन, ५ दिन, १० दिन, १५ दिन पनि उपवास गर्छन् । यस्तो उपवास चिकित्सकको निगरानीमा बसेर गर्नुपर्छ ।सिकागोको इलिनोइस विश्वविद्यालयमा गरिएको एक अनुसन्धानले विभिन्न तरिकाले गरिएको उपवास जस्तो– हप्तामा ५ दिन खाने तर दुई दिन उपवास बस्ने, एक दिनमा १६ घन्टा उपवास बस्ने (इन्टरमिडेन्ट फास्टिङ) आदि विधिले पनि स्वास्थ्य सुधार गर्न मद्दत गर्छ भन्ने देखाएको छ ।

उपवास गर्दा भोक लागेपछि कसै–कसैलाई केही क्षण टाउको दुखेजस्तो हुने, वाकवाक लाग्नेजस्तो पनि हुन सक्छ । यस्तो बेलामा पर्याप्त पानी पिएर यो समस्या कम गर्न सकिन्छ । कतिपयले त उपवास बस्दा फलफूल, काँचो वा उसिनेको तरकारी पनि खान्छन् । यसले गर्दा शरीरमा रेसादार तत्व पर्याप्त मात्रामा जान्छ र कब्जियत हुन पाउँदैन । कतिपयले १८ घन्टा नखाने, ४ घन्टा मात्र खाने पनि गर्छन् । यो पनि इन्टरमिडेन्ट फास्टिङकै एक रुप हो ।

यो लेख लेख्ने क्रममा मैले सन् १९३२ जुनमा भारतबाट प्रकाशित (उपवास–चिकित्सा) नामक उपवाससम्बन्धी पुस्तक पनि पढँे । यो पुस्तक वेबसाइटमा पनि उपलब्ध छ । यो पुस्तक पढ्दा लाग्यो कि झन्डै ९० वर्षअघि पनि उपवासको महत्वबारे वैज्ञानिक तरिकाले विश्लेषण गरिएको रहेछ । हिन्दी भाषामा लेखिएको यो पुस्तकका सबै तथ्यहरुसँग सहमत हुन नसकिए पनि यस पुस्तकमा समावेश गरिएका कतिपय तथ्यहरु अहिलेका आधुनिक चिकित्सकले वैज्ञानिक अनुसन्धान गरेर लेखेका तथ्यहरुसँग मेल खाएको पाइएको छ ।

तौल घटाउन उपवास

गिरी थरका ३५ वर्षीय एक युवा कुनै संस्थामा सवारी चालक छन् । झन्डै ५ फिट ६ इन्च अग्ला उनलाई माछा–मासु नखाई नहुने बानी थियो । ३२ वर्षको उमेर नपुग्दै भुँडी ठूलो भयो र उनको तौल ८० केजी पुग्यो । उच्च रक्तचाप भएर काम गर्न नै समस्या हुन थाल्यो । चिकित्सकले उनलाई तौल घटाउने सल्लाह दिए । तर यो काम त्यति सजिलो थिएन ।

ती युवकले अनुशासनमा बस्नलाई एक धार्मिक व्रत लिए । रुद्राक्षको माला पनि लगाए । माछा–मासुको सेवन छोडे । ‘रुद्राक्ष लगाउँदा माछा–मासु खानुहुँदैन’ भनेर उनकी बज्यैले भनेकी रहिछिन् । उनले त्यसै गरे । एक महिनामा गिरी नामका ती युवकको ३ किलो तौल कम भयो । उनको भुँडी पनि केही हदसम्म घट्यो । माछा–मासु छोड्दा पहिला त गाह्रो भएको थियो तर ४–५ दिनपछि माछा–मासुको तलतल कम भयो ।

उनी भन्छन्, ‘म अझै तौल घटाउने विचारमा छु । अब शनिबार र बिहीबार मासु खान्न । बाहिर जाँदा पनि नखाने विचार गरेको छु । बेलुका ६–७ बजे नै रोटी, तरकारी र दूध खाएपछि पेट पनि हलुको हुँदो रहेछ । मासु खान छोडेपछि भात पनि कम खाइँदो रहेछ । अहिले मेरो स्वास्थ्य पनि राम्रो भएको छ ।’ उनले व्रत नभने पनि यो एक प्रकारको उपवास नै हो ।

मोटो भएपछि कलेजोमा बोसो जम्छ र बिस्तारै कलेजोको काम गर्ने शक्ति कम हुन्छ । पछि कलेजोको क्यान्सर, मुटुरोग आदि हुन सक्छ । वैज्ञानिक अनुसन्धान अनुसार

कलेजोमा बोसो जम्ने कारणमध्ये रक्सी सेवन, पत्रु खाना, अत्यधिक मोटोपन नै हो । हामीले खाएका खाना पनि पचेपछि कलेजोमा जान्छ अनि मात्र शरीरको अन्य भागमा ।तर रक्सी नखाने मानिसहरुलाई पनि कलेजोमा बोसो जमेको पाइन्छ ।

यसको प्रमुख कारण मोटोपन हो । मोटोपनको कारण पत्रु खाना, अस्वस्थ जीवनशैली हो । एसियामा झन्डै ३० प्रतिशत जनसंख्या कलेजोमा बोसो जम्ने समस्याबाट पीडित छन् । भारतमा ३०–४० प्रतिशत मानिसको कलेजोमा बोसो जमेको अध्ययनमा पाइएको छ । यो रक्सीको कारणले मात्र भन्दा पनि मोटोपन, धेरै गुलियो खाना, मधुमेह वा मधुमेहपूर्वको अवस्थाले हुन्छ ।

सन् २०१८ मा दिल्लीका एक निजी स्कुलका छात्रछात्रामा गरिएको एक अध्ययनअनुसार झन्डै २० प्रतिशत विद्यार्थीको कलेजोमा बोसो जमेको पाइएको थियो । यसको मुख्य कारण पत्रु खाना र बढी गुलियो खाना खानु नै रहेको थियो । यी विद्यार्थी ५–१० वर्ष उमेर समूहका थिए । यी मध्ये २२ प्रतिशत सामान्य तौलका विद्यार्थी र ४५ प्रतिशत विद्यार्थीको कलेजोमा बोसो जमेको पाइएको थियो । (हिन्दुस्थान टाइम्स, अप्रिल, २०१८) सम्बन्धित विज्ञहरुका अनुसार यस्तो बोसो जम्दै गएमा पछि गएर कलेजोमा अनेक समस्या उत्पन्न गराउने भएकोले खानपिनमा सानैदेखि ध्यान दिनुपर्छ ।

सन् २०१५ मा गरिएको एक अध्ययन अनुसार अमेरिकाका ३० प्रतिशत जनसंख्यालाई कलेजोमा बोसो जम्ने समस्या थियो । यी मध्ये ६६ प्रतिशत मानिसमा मधुमेह भएको वा अति मोटापनको समस्या भएको पाइएको थियो । मोटोपना, मधुमेह भएको मानिसले चिकित्सकको निगरानीमा उपवास गरेर स्वस्थ जीवनशैली अपनाएमा मोटोपन र मधुमेह नियन्त्रणमा आउँछ । साथै कलेजोमा बोसो जम्ने समस्या पनि कम हुन्छ ।

उपवाससँगै केही हल्का व्यायाम पनि गरियो भने मोटोपनको समस्यामा छिटो समाधान हुन्छ र शरीरमा ताजापन पनि आउँछ । शरीरका अङ्ग–प्रत्यङ्गहरु चलायमान हुन्छन् । उपवास बस्नु भनेको मन र शरीरलाई अनुशासनमा राख्नु पनि हो ।सबैको लागि उपवास गर्न सहज नहुन पनि सक्छ । यसको लागि पूर्ण ध्यान अनुशासन र दृढ इच्छाशक्ति चाहिन्छ । शुरुमा व्रत बस्दा पहिले खाना कम खाने, मासुजन्य पदार्थहरु सकेसम्म नखाने, कुनै दिन तरकारी र फलफूल मात्रै खाने गर्न सकिन्छ । बेलुका ६ बजे खाएपछि भोलिपल्ट बिहान ६ बजेसम्म केही नखाँदा पनि १२ घन्टे उपवास हुन जान्छ ।

यसरी थोरै–थोरै समय बढाएर उपवास बस्दा शरीरको रोगसँग लड्ने शक्ति बढ्छ, कब्जियत सुधार हुन्छ । धेरै काम गरेर पेटको आन्द्रा थाकेको हुन्छ । उपवासले त्यो थकान मेट्छ । जे भए पनि गर्भवती, दूध ख्वाउने आमा, बिरामी भएर भर्खर उठेकाले उपवास गर्नुहुँदैन ।

तर एक हप्ता व्रत बस्दैमा स्वास्थ्यका सबै समस्या समाधान हुँदैनन्, मोटोपन पनि कम भइहाल्दैन । जीवनशैलीमा नै परिवर्तन ल्याएर, स्वस्थ भोजन खाएर, कम खाना खाने गरेर मानसिक र शारीरिक रुपमा स्वस्थ रहन सकिन्छ । व्रत बस्दा शरीरबाट इन्सुलिन नामक हर्मोन कम निस्कन्छ । यसले गर्दा शरीरमा ऊर्जा दिन कोष–कोषमा रहेको ग्लुकोज निस्कन्छ । बारम्बार यसो गरेपछि तौलमा कमी आउँछ, रोगहरु नियन्त्रणमा आउँछन् र स्वास्थ्य राम्रो हुन्छ । अनि हप्तामा एक दिन उपवास किन नबस्ने त ?

 


यसरी उपवास नबसेकै बेस

५५ वर्षीया इसा नामकी एक महिला मंगलबार र शुक्रबार व्रत बस्ने, माछा–मासु नखाने गर्थिन् । मैले उनलाई एक दिन सोधेँ– ‘तिमी माछा–मासु खान्नौ, व्रत पनि हप्तामा दुई दिन लिन्छ्यौ । गाह्रो हुँदैन त ?’उनले भनिन्– ‘म व्रत बसेको दिन दूध र आधा दर्जन केरा खान्छु । .दूधमा पकाएर साबुदाना वा रोटी, तारेको आलु र केही फलफूल खान्छु । बेलुका लसुन–प्याज केही नहालेको दाल, तरकारी र भात खान्छु । यसरी सात्विक खाना खाँदा गाह्रो हुँदैन ।’

‘यसरी बिहानदेखि बेलुकासम्म यति धेरै खाएपछि कसरी उपवास भयो त ?’ मैले सोधेँ । उनले भनिन्– ‘भात दुई छाक खान्न, सात्विक खाना खान्छु नि !’उनले दुई छाक भात, लसुन, प्याज नखानुलाई नै उपवास भन्ने बुझेकी रहिछन् । तर दिनको तीनचोटि यसरी खाँदा त उनको पेटले आराम गर्ने मौका नै पाएन । यसरी व्रतको नाममा बढ्ता खानु उचित छैन । यसरी उपवास नबसेकै बेस ।

उपवास र नोबेल पुरस्कार

जापानिज वैज्ञानिक योशिनोरी ओह्सुमीले सन् २०१६ मा चिकित्सातर्फको नोबेल पुरस्कार पाए । उनको वैज्ञानिक अध्ययन नै मुसाहरुमा उपवास बस्दा कसरी खराब कोषहरु नष्ट भएर जान्छन् र नयाँ स्वस्थ कोषहरु बन्छन् भन्ने थियो ।यो अनुसन्धानको सिलसिलामा खाना नदिई मुसालाई लामो समय राख्दा तिनीहरुको शरीरमा खराब कोषहरु नष्ट भएको पाइयो । यदि खराब शारीरिक कोष नष्ट नभए क्यान्सरमा परिणत हुन सक्छ भन्ने कुरा यो अध्ययन प्रतिवेदनमा उल्लेख छ । यो प्रक्रियाले गर्दा शरीर स्वस्थ हुन शुरु हुन्छ । यस किसिमको उपवासले शरीरका कोषहरुमा बूढो हुने प्रक्रियालाई पनि ढिलो गर्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्