नाबालिग र यौन सम्पर्कको सहमति



डा. राजेन्द्र भद्रा

हालैसालै मात्र पत्रपत्रिका तथा विद्युतीय सञ्चार माध्यमहरूमा चर्चा पाएको एक विषय थियो चलचित्र कलाकार पल साह र उनको एक किशोरीसँगको यौन सम्बन्ध । विशेष गरी अदालतमा बलात्कारको मुद्दा परेपछि पक्ष–विपक्षमा मत राख्दै सामाजिक सञ्जालमा पनि निकै नै चर्चा–परिचर्चा एवं वादविवाद पनि भयो । अहिले पनि अदालतको निर्णय आइसकेको छैन । सञ्चार माध्यममा आएका कुराहरू हेर्दा यस घटनामा अनेक विषयहरू थिए तर यसमा उठेको एक विषय थियो– ‘यौन सम्पर्क सहमतिमा भएको थियो कि असमहतिमा नै’ भन्ने । अनि यसको साथै आउने अर्को प्रश्न हो– नाबालिगको सहमतिमै भएको पनि नाबालिग भएकाले त्यसले मान्यता नपाउने कानुनी स्थिति ।
यस अंकमा यौन सम्पर्कको लागि सहमति दिन सक्ने उमेरका सन्दर्भमा चर्चा गरिँदै छ ।

सहमति दिन सक्ने उमेर

सहमति दिन सक्ने उमेरको सामाजिक, आर्थिक तथा कानुनी पक्षका विविध कार्यमा विशेष महत्व हुने गर्दछ । विशेष गरी बालबालिकामा सो क्षमता नहुने भएको मानिने भएकोले महत्वपूर्ण निर्णय गर्दा उनीहरूको मातापिता वा अभिभावकको सहमति वा स्वीकृति आवश्यक मानिने गर्दछ । सजिलो भाषामा भन्नुपर्दा उनीहरूलाई नाबालिग भनिन्छ । बालिग भएपछि मात्र विषय हेरी निर्णय लिन पाउने हुन्छ । केही स्थितिमा निश्चित उमेरको भएपछि मात्र ती कार्य गर्न सक्षम ठानिन्छ ।

विभिन्न कार्यको लागि यस्तो उमेर तोकिएको हुन्छ । जस्तै कि मतदान गर्ने वा उम्मेदवार हुने, चुरोट वा मादक पदार्थ पिउन पाउने, जुवा खेल्न पाउने, सवारीसाधन चलाउन अनुमति पाउने इत्यादि ।त्यसै गरी निश्चित उमेरपछि मात्रै कारखानामा काम गर्न-गराउन पाउने नियम छ । त्यस्तै कुनै अपराध कार्य गरेमा पनि सजायको प्रकृति फरक हुने स्थिति रहन्छ । यौन तथा प्रजनन स्वास्थ्यको सन्दर्भमा भने विवाहको उमेर, उपचारको लागि अनि यौन सम्पर्कको लागि सहमति दिने प्रमुख छन् ।

सहमति दिने उमेरमा विविधता

माथिका कतिपय कुराहरूमा देशअनुसार यी उमेर फरक–फरक भएको पाइन्छ । विवाहको उमेरलाई हेर्ने हो भने समयअनुसार यी उमेरमा पनि परिवर्तन भएको पाइन्छ ।संसारभरि नै अहिले हेर्ने हो भने यौन सम्पर्कको सहमति दिने उमेर करिब ९ वर्षदेखि २१ वर्षसम्म भएको पाइन्छ । एसियाको कुरा गर्दा यमनमा ९ वर्ष छ भने हङकङमा २१ वर्ष छ । अफ्रिकाको हकमा सुडानमा १२ वर्ष र क्यामेरुन तथा नाइजरमा २१ वर्ष छ । संयुक्त राज्य अमेरिकामा राज्यअनुसार १६ देखि १८ वर्ष रहेको पाइन्छ भने क्यानाडामा १६ वर्ष छ । कतिपय देश जस्तै– साउदी अरेबिया, लिबिया, इरान, कुवेत आदिमा यौन सम्पर्कको लागि विवाहित हुन जरुरी छ ।

त्यसै गरी अर्को महत्वपूर्ण पक्ष भनेको विवाहको लागि सहमति जनाउन सक्ने उमेर हो । यमनमा यो १५ वर्ष छ भने हङकङमा २१ वर्ष छ । सुडानको हकमा यौवनास्थामा पुगेपछि विवाह योग्य उमेर मानिन्छ भने क्यामेरुन र नाइजरमा २१ वर्ष । संयुक्त राज्य अमेरिकामा राज्यअनुसार फरक पर्ने भए पनि धेरैजसो राज्यमा यो १८ वर्ष छ भने क्यानाडामा यो १८ वा १९ वर्ष छ ।सहमति दिन सक्ने उमेरमा पनि समयअनुसार देशहरूले परिवर्तन गरेको पाइन्छ ।

बेलायतमा सन् १८७५ मा विवाहका लागि (यौन सम्पर्क) सहमतिको उमेर १३ वर्ष थियो भने पछि सन् १८८५ मा १६ वर्ष बनाइयो । त्यस्तै गरी सन् १९२९ मा यसलाई १८ वर्ष बनाइयो । त्यसै गरी स्पेनमा यो उमेर १३ वर्ष रहेकोमा सन् २०१३ मा १६ वर्ष बनाइयो ।नेपालमा यौन सम्पर्कलाई सहमति जनाउन सक्ने उमेर १८ वर्ष र विवाह गर्ने उमेर २० वर्ष बनाइएको छ । यो हालसालै बनाइएको नियम हो ।

मस्तिष्कको विकास र यौन

कुनै पनि व्यक्तिको जीवनमा यौन सम्पर्कको लागि सहमति दिनु एक महत्वपूर्ण निर्णय हो । यसको लागि शारीरिकरुपमा मात्र होइन, मानसिक र सामाजिकरुपमा पनि परिपक्व हुनु आवश्यक हुन्छ ।
किशोरावस्थामा मस्तिष्क विकास हुने क्रममा नै हुन्छ । किशोरावस्थाका व्यक्तिहरू यौन क्रियाकलाप तथा अन्य कतिपय क्रियाकलापतिर विशेषरुपमा आकर्षित हुने गर्दछन् । मस्तिष्कको एक भाग जसलाई हामीले प्री–फन्टल कर्टेक्स (pre-frontal cortex) भन्दछौं, त्यसले हाम्रो नियन्त्रण प्रणालीलाई सञ्चालन गर्दछ । यस नियन्त्रण प्रणालीले

आत्मनियन्त्रणको नियमनको कार्य गर्दछ । यसले आवेग अनि कुनै कार्य गरिहाल्न पर्ने व्यग्रतालाई नियन्त्रण गर्दछ ।किशोरावस्थाको पछिल्लो उमेरमा नपुगुन्जेल प्री–फन्टल कर्टेक्सको विकास राम्ररी भइसकेको हुँदैन । यसैले गर्दा उनीहरूले आवेग तथा व्यग्रतालाई नियन्त्रण गर्न सक्दैनन्, दीर्घकालीन असरहरूका बारेमा सोच्न सक्दैनन् र सही निर्णय लिन सक्दैनन् । यी कुराले उनीहरूलाई जोखिमपूर्ण काममा सहभागी हुने जोखिमलाई बढावा दिन्छ ।

सहमति र बलात्कार

शारीरिकरुपमा एक हदसम्म विकास भए पनि मस्तिष्क राम्रोसँग विकास नभइसकेको कारणले नै उनीहरूले कतिपय महत्वपूर्ण निर्णय गर्न सक्दैनन् भन्ने आधारमा नै कुनै कार्य गर्न निश्चित उमेर तोक्ने गरिएको पाइन्छ । विशेष यौन तथा प्रजनन क्षेत्रमा भने यो झनै महत्वपूर्ण छ । किनकि किशोरावस्थामा नै यौन भावना तीव्र तरिकाले बढिरहेको हुन्छ र यौन दुर्घटनामा पर्न सक्ने स्थिति हुन्छ ।

यौन सम्पर्क वा विवाहको लागि निश्चित उमेर तोक्नुको मुख्य कारण यौन उत्पीडन वा शोषणबाट बालबालिकालाई बचाउनु र किशोरावस्थामा नै हुने जोखिमयुक्त गर्भलाई कम गर्नु हो भन्ने देखिन्छ । एक किसिमले किशोर–किशोरीको यौनिकता तथा यौन क्रियाकलापलाई नियन्त्रण गर्नु पनि हो ।

यौन सम्पर्कको लागि दिइने सहमति कुनै दबाब, चलाखी, नशालु औषधि वा मद्यपानको प्रभावमा नभएको हुनुपर्दछ । यस्तो सहमति कुनै बेला दिइए पनि जुनसुकै बेला उल्ट्याउन सकिने किसिमको हुनुपर्दछ । त्यसै गरी यस्तो सहमति के–कस्ता कुराका लागि दिइएको, पहिले नै पूर्णरुपमा जानकारी भएको हुनुपर्दछ । साथै आफूले चाहेको यौन क्रियाकलापअनुसार हुनुपर्दछ ।

यस परिप्रेक्ष्यमा नाबालिगले यौन सम्पर्कको लागि सहमति जनाए पनि ऐनले परिभाषित गरेको उमेर नपुगेको स्थितिमा भने त्यसलाई कानुनी मान्यता प्राप्त हुँदैन र सहमतिबेगर भएको यौन सम्पर्क बलात्कार नै ठहरिने गर्दछ ।

तर्क–वितर्कका केही कुरा

यौन सम्पर्कको सहमति उमेर यति धेरै राखिनुहुन्न भन्ने मत राख्ने गरिएको पनि पाइन्छ । उनीहरु ‘शारीरिकरुपमा विकास भइसकेर यौनेच्छा तीव्र हुने भइरहेको अवस्थामा पुगिसकेपछि पनि यौनेच्छा प्राप्तिमा बन्धन राख्नुहुँदैन’ भन्ने तर्क राख्छन् । साथै उनीहरु ‘सहमतिमा पनि यसरी यौन सम्पर्क राख्न नपाउनु त्यति तर्कसंगत नभएको’ विचार राख्छन् ।

यौवनावस्थामा प्रवेशको उमेर अहिले कम हुन थालेको स्थितिमा यौन सम्पर्कको सहमतिको उमेर घटाउनुपर्ने माग पनि उठेका छन् । उनीहरुको भनाइमा ‘यस्ता बन्देजले प्राकृतिकरुपमा विकसित हुने स्वस्थ यौन विकासलाई अपराधीकरण गर्दछ । यौन सम्पर्कको अपराधीकरण भएपछि उनीहरूलाई दिइनुपर्ने यौन तथा यौनिकता शिक्षा तथा गर्भनिरोधसम्बन्धी शिक्षालाई पनि सीमित गर्दछ ।’

‘किशोर–किशोरीको स्वतन्त्रता तथा सशक्तीकरणको क्षयीकरण हुने’ तर्क पनि उनीहरु गर्दछन् । यसरी उमेर तोके पनि कतिपय व्यक्ति त्यसमा पनि अपराधीहरूले यी उमेरको प्रतिबन्धलाई मान्ने गर्दैनन् र खासै प्रभावकारी नभएको तर्क उनीहरु राख्छन् । तर यसरी किशोरावस्थाको पछिल्तिरको उमेरलाई यौन सम्पर्कको सहमति दिन सक्ने उमेर तोकिनुले बालबालिका वा किशोर–किशोरीमा हुने यौन शोषण वा यौन उत्पीडनबाट बचाउने, देह व्यापारमा लाग्नबाट बचाउने, जोखिमपूर्ण स्थितिमा भएका किशोर–किशोरीको उद्धार गर्न सकिने, किशोर–किशोरी जोखिमपूर्ण यौनक्रियामा लाग्नबाट बचाउने र यौन संक्रमण तथा गर्भ रहनबाट बचाउने हुन्छ । यसका साथै यदि नाबालिगले कुनै निर्णय गरे भने पनि त्यसबाट पर्ने असरबाट एक हदसम्म बचाउँछ ।

प्रतिक्रिया दिनुहोस्