समय नहुँदै प्रसव हुने समस्या



प्रा.डा. सुमनराज ताम्राकार

 

दोस्रोपटक गर्भवती भएकी सलिनाको गर्भ ८ महिनाको चलिरहँदा उनलाई उच्च रक्तचापको समस्याले दुःख दियो । विभिन्न खालको औषधि चलाउँदा पनि उनको उच्च रक्तचाप नियन्त्रणमा आएन । गर्भावस्थामा अनियन्त्रित उच्च रक्तचापको कारण गर्भेशिशुको वृद्धिमा कमी आउने तथा शिशुवरिपरिको पानीको मात्रामा कमी आउने जस्ता जटिलता आउन सक्छन् । यस्तो परिस्थितिमा उपचारमा संलग्न प्रसूति रोग विशेषज्ञ, परिवारजन सबै अनिर्णयको बन्दीजस्तै भइयो ।

डेलिभरी गराउन समय नपुगेका कारण नवजात शिशुमा अनेक समस्या आइलाग्न सक्ने हुन्छ । शिशु बाँच्ने-नबाँच्ने पनि निश्चितता हुँदैन । डेलिभरी नगराऊँ भने शिशुवरिपरिको पानीको कमी एवं कम तौलका कारण कुनै पनि बेला गर्भमै शिशुको मृत्यु हुन सक्छ । समस्या यति मात्र नभई सलिनाको पहिलो सुत्केरी सिजेरियनमार्फत भएको थियो । यसकारण सिजेरियन दोहो-याउनुको विकल्प थिएन । तर शिशु बाँच्ला वा नबाँच्ला, भन्न सक्ने स्थिति थिएन । किनकि पहिले सिजेरियन गरिएकी गर्भवती महिलामा व्यथा लगाउने औषधि राख्न सकिँदैन, किनकि पाठेघर फुट्न सक्छ ।

जे त होला भनी सिजेरियन दोहो¥याउन करै लाग्यो, गरियो । धन्न त्यस्तो अप्रत्याशित नतिजा केही पनि भएन । भलै शिशुको तौल १८ सय ग्राम मात्र भए पनि नवजात शिशुलाई सघन कक्ष (एनआईसीयु) मा राख्न परेन । तर सबैजनाको परिणाम सलिनाको जस्तो नहुन सक्छ ।
सामान्यतया गर्भावस्थाको ४० हप्ता वा २८० दिनवरिपरि सुत्केरी हुने हुन्छ । गर्भावस्थाको २८ हप्तापछि तर ३७ हप्ताअगावै सुत्केरी हुने अवस्थालाई समय नपुग्दै प्रसव भएको मानिन्छ ।

गर्भवती महिलाहरुमध्ये करिब १५ प्रतिशतसम्ममा समय नपुग्दै प्रसव हुने समस्या आइपर्न सक्छ । यसैका कारण नवजात शिशुको मृत्यु तथा रोगी हुने दर अत्यधिक हुन्छ । समय नपुग्दै प्रसव हुने समस्या विभिन्न कारणहरुको समिश्रणले गर्दा हुन्छ ।

समय नपुग्दै प्रसव हुने कारण

यसअघि पटक–पटक गर्भ तुहिएको, यसअघि पनि समय नपुग्दै प्रसव भएको, गर्भावस्थामा पटक–पटक मूत्रनली संक्रमण भएको, धूमपान गर्ने गरेको, आर्थिक स्थिति कमजोर भएको, गर्भावस्थामा पोषण स्थिति कमजोर भएको खण्डमा समय नपुग्दै प्रसव हुने समस्या हुन सक्छ ।

यसको अलावा यसपटकको गर्भावस्थामा उच्च रक्तचाप हुनु, प्रसवअगावै रक्तस्राव हुनु, गर्भेशिशुवरिपरि पानीको मात्रा बढी हुनु, पानीको थैलो फुट्नु, पाठेघरको मुख खुकुलो हुनु, जुम्ल्याहा बच्चा हुनु, पाठेघरमा जन्मजात खराबी हुनु, गर्भेशिशुमा जन्मजात शारीरिक खराबी हुनु, साल गलत ठाउँमा बस्नु, प्रसवअगावै साल छुट्टिनु, सालमा रगतको आपूर्ति कम हुनु, पेटभित्रै शिशुको मृत्यु हुनु, गर्भावस्थामा उच्च ज्वरो आउनु, मिर्गौलाको संक्रमण हुनु अन्य कारक तत्वहरु हुन् ।

त्यसै गरी ब्याक्टेरियल भजाइनोसिस, स्ट्रेप्टोकोकस, ब्याक्टेरोइड्स, क्लामाइडिया, माइकोप्लाज्मा जस्ता जीवाणुहरुका कारणले स्त्री जननेन्द्रियसम्बन्धी संक्रमण हुँदा पनि समयअगावै प्रसव हुने समस्या हुन सक्छ ।संक्रमण, पाठेघरको आकार ठूलो, पाठेघर, आमा तथा गर्भे शिशुमा केही खराबी आदि जस्ता कुनै पनि कारणले गर्दा पाठेघरको मांसपेशी खुम्च्याउने, गर्भेशिशुवरिपरि पानीको थैलो फुट्ने तथा समयअगावै प्रसव शुरु गराउने समस्या हुन्छ ।

सम्भव भएसम्म समयअगावै प्रसव हुने समस्या आउनै दिनुहुँदैन । थप जटिलता नभए प्रसवको रोकथाम गर्ने, प्रसव रोक्नै नसकिने भए उचित तवरले उपचार गर्ने र आवश्यकता अनुसार नवजात शिशुको स्याहार सघनरुपमा गर्नुपर्दछ ।

शिशुमा देखिन सक्ने जटिलताहरु
समयअगावै प्रसवबाट जन्मेका नवजात शिशुहरुमा प्रसवको क्रममा शिशु निस्सासिन सक्ने, नवजात शिशुले आफ्नो शारीरिक तापक्रम नियन्त्रणमा राख्न नसक्ने, श्वास–प्रश्वास प्रणालीमा विभिन्न समस्या देखा पर्ने, टाउकोभित्र रक्तस्राव हुने, बेहोस हुने, मुटु फेल खाने, पिसाब कम हुने वा फिटिक्कै नहुने, ब्रोङ्कोनिमोनिया, मेनिन्जाइटिस, आन्द्रा सुन्निनेजस्ता अनेक थरी संक्रमणको जोखिम बढ्ने, बढ्ता पहेँलोपन (जन्डिस) देखा पर्ने, रक्तअल्पता हुने तथा आँखाको पर्दा तथा नानीमा समस्या आई अन्धोपन हुनेजस्ता जटिलताहरु हुन सक्छन् ।

यसरी समयअगावै जन्मेका नवजात शिशुको तौल १५ सय ग्रामभन्दा माथि भए बाँच्ने सम्भावना ९५ प्रतिशत हुन्छ । भरपर्दो सघन उपचार दिन सकेको खण्डमा ७५० देखि १५ सय ग्राम तौल हुने शिशु बाँच्ने सम्भावना ८० प्रतिशतसम्म हुन्छ । तर गर्भेशिशु २४ हप्ताअगाडिको वा तौल ७ सय ग्रामभन्दा कम हुँदा मृत्यु हुने सम्भावना ९७ प्रतिशतभन्दा बढी हुन्छ ।

माथि उल्लिखित जोखिम तत्वहरु तथा जन्मजात शारीरिक समस्या (विकलाङ्ग) का कारणले करिब दुई तिहाइ नवजात शिशु जन्मेको ४८ घण्टाभित्रै मृत्यु हुने गर्दछ । यदि बाँचिहालेमा पनि सुस्त मनस्थितिका, कान कम सुन्ने, बानीव्यहोराको समस्या, जीर्ण प्रकारको फोक्सोको समस्या, शारीरिक वृद्धि विकासमा समस्या हुने एवं पछि मुटुको रोगी हुन सक्छ ।

रोकथाम

ल्याब जाँचको क्रममा समयअगावै प्रसव हुन लागेकी गर्भवती महिलाको रगत जाँच, पिसाबको सामान्य तथा कल्चर जाँच, योनिस्रावको कल्चर एवं योनिस्रावमा फाइब्रोनेक्टिनको उपलब्धताका साथै अल्ट्रासाउन्डबाट बच्चाको स्वस्थता, पाठेघरको मुखको लम्बाइ एवं सालको स्थितिका साथै सम्भावित कारण थाहा पाउन सकिन्छ ।

तर कतिपय महिलामा समयअगावै प्रसव हुनुको कारण स्पष्ट नभए पनि यसका कतिपय कारक तत्वहरु (जस्तै– पिसाबको तथा स्त्री जननेन्द्रियको संक्रमण) को समयमै उपचार गरेमा, नियमित गर्भवती जाँच गराएको खण्डमा, गर्भवती महिलाको पाठेघर तथा गर्भेशिशुका खराबीअनुसार उचित उपचार गरेमा, समयअगावै प्रसव हुन लागेको शंका लाग्नेबित्तिकै पाठेघरलाई शान्त बनाउने औषधि चलाएमा प्रसव रोक्न सकिन्छ ।

तर प्रसव व्यथा बढ्दै गएमा सघन उपचारको सुविधायुक्त अस्पतालमा रेफर गर्नुपर्दछ ।गर्भवती महिला तथा गर्भेशिशुको स्वास्थ्य समग्रमा ठीक छ भने पूर्ण आराम, यथेष्ट सलाइन पानीका साथै आवश्यकता अनुसारको एन्टिबायोटिक औषधि, प्रसव रोक्ने औषधि, गर्भेशिशुको फोक्सो परिपक्व हुने औषधि दिएर गर्भावस्था लम्ब्याउन सकिन्छ ।

यदि पानीको थैलो फुटिसकेको, गर्भेशिशुवरिपरिको झिल्लीको संक्रमण भइसकेको, गर्भवती महिलामा मधुमेह, रक्तचाप, मुटुको एवं थाइरोइडको स्वास्थ्य समस्या भएको तथा गर्भेशिशुको मुटुको धड्कन असामान्य भएको, गर्भभित्र शिशुको मृत्यु भैसकेको, गर्भेशिशु ३४ हप्ताभन्दा बढी भैसकेको एवं प्रसव व्यथा सक्रिय अवस्थामा पुगिसकेको भए प्रसव व्यथा रोक्नतर्फ लाग्नुहुँदैन । यस्तो परिस्थितिमा नवजात शिशुको लागि सघन कक्ष भएको अस्पतालमा नै प्रसव गराउनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्