महिलाको खुट्टा किन धेरै दुख्छ ?



अक्सर गरेर महिलाका खुट्टा, कम्मरमा दुखाइको महसुस भइरहेको हुन्छ । यो समस्या कम उमेरमा पनि देखिन्छ तर उमेर बढ्दै गएपछि अझ थपिँदै जान्छ । खुट्टामा अचानक दुखाइ महसुस हुनु, खुट्टामा भारीपन हुनु, थकाइ लाग्नु र कमजोरी हुनु, उभिँदा, हिँड्दा कठिनाइ हुनु, खुट्टा सुन्निएको देखिनु, मांसपेशीहरु तन्किएको महसुस हुनु आदि खुट्टा दुखाइका लक्षण हुन् । यो दुखाइ विभिन्न कारणले हुन्छ ।

भिटामिन ‘डी’को कमी

महिलाहरुको खुट्टामा दुखाइ हुनुको मुख्य कारण पोषक तत्वहरुको कमी नै हो । विशेष गरी शरीरमा भिटामिन ‘डी’को कमी भयो भने खुट्टाको दुखाइ हुन सक्छ । भिटामिन ‘डी’को कमी हुँदा खुट्टाका मांसपेशीहरुमा दुखाइ हुन सक्छ । त्यसैले यदि तपाईंको खुट्टा अन्य कुनै कारणविना दुख्न थालेको छ भने भिटामिन ‘डी’ पाइने खानाहरुको मात्रा बढाउनुहोस् । यसले समाधान भएन भने चिकित्सकको सल्लाह लिनुहोस् ।

अग्लो हिल लगाउनु

आजकल अधिकांशजस्तो शहरिया महिलाहरु हाइ हिल भएको जुत्ता लगाउन मन पराउँछन् । यो हाइ हिल महिलाको खुट्टाको दुखाइको कारण बन्न सक्छ । यसका अतिरिक्त गलत साइजका जुत्ता–चप्पल लगाउनाले पनि खुट्टामा दुखाइ हुन सक्छ । यदि तपाईंलाई अक्सर खुट्टा दुख्ने भएको छ भने हिलवाला जुत्ता–चप्पलको सट्टा अरु आरामदायी जुत्ता–चप्पल लगाउनुहोस् ।

बाथ (गठिया)

गठिया पुरुष वा महिला दुवैलाई समस्या गराउने रोग हो । यसले जोर्नीहरुमा दुखाइ गराउँछ । साथै शरीरमा सुजन पनि हुन सक्छ । महिलालाई गठियाको कारण पनि दुखाइ हुन सक्छ ।

मोटोपन

मानिसको मोटोपन कैयौँ रोगहरुको कारण बन्न सक्छ । मोटोपनको कारणले खुट्टामा पनि दुखाइ महसुस हुन सक्छ । वास्तवमा हिँड्दा शरीरको सम्पूर्ण भार खुट्टामा परेको हुन्छ । यसले महिलाहरुको घँुडा तथा खुट्टामा दुखाइ हुन सक्छ । यसको सर्वोत्तम समाधान भनेको शरीरको तौल नियन्त्रण गर्नु नै हो । यसले शरीरको अरु स्वास्थ्य पनि राम्रो बनाउँछ ।

संक्रमण

कतिपय अवस्थामा शरीरको हाड वा कुनै कोषमा संक्रमण भएको कारणले पनि खुट्टामा दुखाइ भएको हुन सक्छ । संक्रमणको कारणले हुने दुखाइ संक्रमणको प्रभाव परेको भागमा मात्र हुन्छ । यो निकै पीडादायक पनि हुन सक्छ । यस अवस्थामा खुट्टा सुन्निने, रातोपना हुने पनि हुन सक्छ । यदि खुटटको कुनै एक भागमा मात्र दुखाइ भएको छ भने चिकित्सकको सल्लाह लिन आवश्यक छ ।
स्लिप डिस्क
स्लिप डिस्क महिलाहरुमा देखिने सामान्य समस्याजस्तो भइसकेको छ । यो अवस्थामा स्पाइनको डिस्क आफ्नो स्थानबाट बाहिर आउनु हो । यो डिस्कले स्पाइनल कर्डको नसालाई दबाइदिन्छ । यस कारणले खुट्टामा पीडा हुन सक्छ । स्लिप डिस्कको कारणले पिठ्युँको तल्लो भागदेखि खुट्टासम्म दुखाइ हुन सक्छ । कहिलेकाहीँ स्लिप डिस्कको समस्या गम्भीर पनि हुन सक्छ ।

खुट्टामा हुने दुखाइ कसैलाई लामो समय र कसैलाई कहिलेकाहीँ हुन सक्छ । यस्तो समस्या भएमा यसको कारण धेरैजसो त आफैँले पत्ता लगाउन सकिन्छ । कारण पत्ता लगाएपछि आफैँले समाधान पनि गर्न सकिन्छ । यदि सकिएन भने बल्ल चिकित्सककहाँ जानुपर्छ ।

स्रोत: ओन्ली माइ हेल्थ

प्रतिक्रिया दिनुहोस्