काठमाडौं महानगरका स्वास्थ्य कार्यक्रम



काठमाडौं महानगरपालिकाले २०७९ असार ५ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई पनि विशेष महत्व दिएको छ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाहले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्यका निम्न बुँदा समेटिएको छ:

१. स्वास्थ्य सेवाको गुणस्तर र पहुँच अभिवृद्धि गर्न महानगर जनस्वास्थ्य ऐन जारी गरिनेछ ।

२. महानगरवासीहरुको स्वास्थ्य सेवा प्रवद्र्धन गर्न शहरी स्वास्थ्य क्लिनिकहरुलाई स्तरोन्नति गरी शहरी स्वास्थ्य केन्द्रमा रुपान्तरण गरिनेछ । शहरी स्वास्थ्य केन्द्रमार्फत महानगरवासीको नियमित स्वास्थ्य जाँचको व्यवस्था मिलाइनेछ ।

३. महानगरपालिकामा कर तिरेका करदाताहरुको स्वास्थ्य बिमा गर्न आवश्यक प्रबन्ध मिलाइनेछ । बिमा शुल्कको बढीमा ५० प्रतिशत अनुदान उपलब्ध गराइनेछ ।

४. नागरिक आरोग्यता प्रवद्र्धन गर्न उपयुक्त आहार, विहार, ध्यान, योग, प्राणायाम आदिबारे सचेतना कार्यक्रमहरुमार्फत महानगरवासीलाई निरोगी बन्न प्रोत्साहित गरिनेछ । क्यालोरीमा आधारित उपभोग प्रणाली लागू गर्न अग्रणी सेवाप्रदायक संस्थाहरु होटल, रेस्टुरेन्ट, भोजनालय र चमेनागृहलाई त्यस्तो कार्यमा प्राविधिक सहयोग उपलब्ध गराइनेछ ।

५. काठमाडौं उपत्यकाभित्र रहेका सरकारी तथा निजी अस्पतालहरुसँग समन्वय तथा सहकार्य गरी विशेषज्ञ चिकित्सक सेवामा सर्वसाधारण नागरिकको पहुँच वृद्धि गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।

६. महानगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गर्ने विपन्न नागरिकहरुको लागि अस्पतालमा निःशुल्क बेडको प्रबन्ध मिलाइनेछ ।

७. काठमाडौं महानगरपालिकाभित्र एकीकृत एम्बुलेन्स सेवा सञ्चालनको व्यवस्था मिलाइनेछ ।

८. महानगर क्षेत्रभित्र रहेका सबै प्रकारका स्वास्थ्य संस्थाहरुको अभिलेख व्यवस्थित गरिनेछ ।

९. एक विद्यालय एक नर्स र स्कुल सोसियल वर्कर कार्यक्रमलाई आवश्यकता अनुसार विस्तार गर्दै लगिनेछ ।

१०. आयुर्वेद उपचार पद्धतिलाई प्रवद्र्धन गरी जनस्वास्थ्य सेवा अभिवृद्धि गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्