रक्सीको कुलत कसरी छुटाउने ?



लक्ष्मण अधिकारी

जाँडरक्सीको कुलतले गर्दा व्यक्ति र परिवार आजित हुन्छन् तर यसको लागि स्तरीय उपचार चाहिन्छ भन्ने कुरा धेरैले बुझ्दैनन् । बरु परिवारले ‘बदमास, नैतिक पतन भएको’ भन्ने, एकोहोरो ‘रक्सी छोड’ भन्ने तर उपचारमा सहयोगचाहिँ गर्न नचाहने । कतिपय त ‘रक्सीको लत ग्यारेन्टीका साथ छुटाउने’ भनेर विज्ञापन गर्ने रिह्याब सेन्टरहरुको चंगुलमा फसेर ठूलो रकम गुमाइरहेका हुन्छन्, यद्यपि फाइदा भने भएको हुँदैन ।

रक्सी सेवनले धेरै हानि गरेकोले छोड्छु भनेर चाहे पनि दुव्र्यसनीले छोड्न सक्दैन, बरु अनेक शारीरिक, मानसिक रोगले ग्रस्त बन्दै जान्छ । के रक्सीको लत छुटाउन सकिँदैन त ? यसको कुनै वैज्ञानिक उपचार नै हुँदैन ? हुन्छ भने सही उपचार कसरी हुन्छ ? यससम्बन्धमा मदिरालगायत अन्य लागू पदार्थको लत लागेकाहरुको उपचारमा विशेष अनुभव प्राप्त डा. रवि शाक्यसँग कुराकानी गरी यो लेख तयार गरिएको छ । डा. शाक्य मानसिक एवं लागू पदार्थ समस्यासम्बन्धी विशेषज्ञ  (psychiatrist) एवं पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक हुनुहुन्छ । यससम्बन्धी विवरण उहाँकै शब्दमा:

तस्वीर: उजोल डंगोल

 

मानिस किन रक्सी खान्छ ?

‘मनोवैज्ञानिक दृष्टिकोणले हेर्दा आफ्नो चेतनाको स्तर (level of consciousness) लाई परिवर्तन गर्न मानिसले नशालु पदार्थ खाने गर्छन् । नशालु पदार्थ दुई किसिमका छन् । एउटा हाम्रो होसलाई चनाखो बनाउने र अर्को दिमाग सुस्त बनाएर आनन्दको अनुभूति गराउने । अर्थात् चेतन अवस्थालाई परिवर्तन गर्ने । परापूर्वकालदेखि नै यो कुरा पत्ता लगाएर मानिसले प्रयोग गर्दै आएका छन् ।

हामीले खाने चिया, कफी पनि नशालु पदार्थ नै हुन् । निद्रा लाग्यो भने यी पेय खान्छौँ । कतिपय मानिसहरु काम गर्दागर्दै पट्यार लाग्यो, आलस्यजस्तो भयो भने चुरोट खान्छन् ।रक्सीले दिमाग सुस्त बनाउने, चेतनालाई कमजोर बनाउने गर्छ । त्यसैले रक्सी खाँदा लाज–सरम नमान्ने, धेरै बोल्ने, उत्तेजित हुने हुन्छ । नशालु वस्तुको सेवनले दिमागको ब्रेक छोडिदिएपछि दौडेको जस्तो हुन्छ, यसले दुर्घटनातिर लैजान्छ ।

‘कुनै कार्य गर्नुहुँदैन’ भनेर नियन्त्रण गर्ने ब्रेक लुज भइदिएपछि बढी बोल्ने, उत्तेजित हुने गर्छन्, रमाइलो अनुभव गर्छन् । लगातार लामो समय प्रयोग गर्दा खाने बानी पर्दै जान्छ । संसारभर नै प्राकृतिकरुपमा उपलब्ध हुँदै आएको र बजारमा पनि सहजै पाउने भएकोले जाँडरक्सी सबै मानव सभ्यतामा प्रयोग हुँदै आएको छ । रक्सीले चिन्ता, पीडालाई अस्थायी रुपमा बिर्साउँछ, तर त्यो समाधान होइन । यसले त रक्सीको लतका साथै अरु समस्या जन्माउँछ ।’

यसकारण मदिरा खानुहुँदैन

‘धेरै मानिसले जाँडरक्सीबाट कलेजो मात्र बिग्रन्छ भन्ने बुझेका छन्, तर शारीरिकरुपमा यसले असर नपार्ने कुनै अंग नै छैन । छाला, मसल, रक्तसञ्चार प्रणाली, मुटु, कलेजो, मिर्गौला, फोक्सो, पाचन प्रणाली आदि सबै सिस्टममा यसले असर गर्छ । बढी सेवन गरेपछि दिमागलगायत शरीरका सबै प्रणालीलाई बिगार्छ । मदिरा सेवनले दिमागमा पार्ने असरलाई विभिन्न अवस्थामा विभाजन गरेर हेर्न सकिन्छ ।
इन्टक्सिकेसन: मदिरा खानेबित्तिकै उसको दिमागको काम गर्ने क्षमतामा ह्रास आएर अनुपयुक्त व्यवहार गर्ने अवस्थालाई हामी मात्तिएको वा इन्टक्सिकेसन (Intoxication) भन्छौँ । कोही थोरै खाए पनि मात्तिन्छ भने कोही धेरै खाए पनि मात्तिदैन ।

हार्मफुल युज: यस अवस्थामा ऊ पटक–पटक मदिरा सेवन गर्छ । उसलाई शारीरिक, मनोवैज्ञानिक असर पर्ने, सामाजिक, कानुनी समस्या पनि पर्ने हुन्छ । यस्तो समस्या हुुन्छ भन्ने थाहा हुँदाहुँदै पनि उसले बेला–बेलामा मदिरा सेवन गरिरहेको हुन्छ । यस अवस्थालाई मदिराको हानिकारक प्रयोग (हार्मफुल युज) अर्थात् मदिराको दुरुपयोग भन्छौँ । उसले मदिरा सेवन गरेर गरेको व्यवहारका कारण प्रहरीले समातेको, दुर्घटना भएको, मानिसहरुसँग झगडा भइरहेको उसलाई महसुस भए पनि पटक–पटक (दैनिक होइन) मदिरापान गरिरहेको हुन्छ ।

एडिक्सन: लामो समयसम्म मदिरा सेवन गर्दै जाँदा उसको शारीरिक, मानसिक अवस्थामा नै एक किसिमको परिवर्तन आउँछ र उसलाई सामान्य हुनका लागि पनि मदिरा सेवन नगरी हुँदैन । बरु खाँदा ऊ ठीक हुन्छ, तर नखाँदाचाहिँ गडबड । त्यस्तो अवस्थालाई हामी डिपेन्डेन्स अर्थात् दुव्र्यसन (एडिक्सन) को अवस्था भन्ने गर्छौं ।
‘हार्मफुल युज’ अवस्थामा ऊ नखाँदा ठीक स्थितिमा हुन्छ । ‘दुव्र्यसन’ अवस्थामा चाहिँ खाएन भने ऊ गडबड अवस्थामा पुग्छ । उसको शरीर, दिमागले केही काम गर्न सक्तैन । सामान्य हुनका लागि पनि उसले खानै पर्ने हुन्छ । खाएन भने ऊ असामान्य हुन्छ ।

यो अवस्थामा रक्सी खाएपछि सोचमा परिवर्तन आउँछ । खाएपछि आफ्नै श्रीमतीलगायत सबैलाई शंका गर्न थाल्छ (साइकोसिस अवस्था) । कसैलाई रक्सी खाएपछि उदास हुने, रोएको रोयै गर्ने हुन्छ । चिन्ता लाग्ने, डर लाग्ने (मुड डिसअर्डर) हुन्छ । यसलाई अल्कोहल इन्ड्युज साइकियाट्रिक डिसअर्डर पनि भनिन्छ ।’

 

उपचारमा आउने अवस्था

‘धेरैजसो डिपेन्डेन्स अर्थात् दुव्र्यसन अवस्थामा उपचारका लागि आउँछन् । यो अवस्थामा पनि व्यक्ति ‘मलाई रक्सीको लत लाग्यो, छुटाउनुप¥यो’ भनेर आउने होइन । मदिराको सेवनले उसलाई अरु रोगहरु भइरहेको हुन्छ, कतिपय त बेहोस भएको अवस्थामा, जाँडरक्सीकै कारण दुर्घटनामा परेको अवस्थामा, लिभर सिरोसिस भएर रगत बान्ता हुने, दिसामा रगत जाने भएपछि बल्ल डाक्टरकहाँ पुग्छन् ।

८० प्रतिशत जति अरु शारीरिक रोग वा दुर्घटनामा परेपछि अस्पतालका विभिन्न विभागमार्फत आउँछन् र २० प्रतिशत जतिचाहिँ रक्सीले समस्या भयो भनेर मानसिक रोग विभागमा सीधै आउँछन् । ऊ डिपेन्डेन्स स्टेजमा पुगेको हुन्छ । परिवार वा अरु कुनै दबाबका कारण ऊ मदिरापान गर्न छोड्छ तर नखाँदा उसलाई समस्या हुन्छ ।

ऊ असामान्य अवस्थामा पुग्छ । अनि हाम्रो सम्पर्कमा आउँछ । खाएर डिपेन्डेन्स स्थितिमा पुगेको मानिसलाई नखा भनेर मात्र हुँदैन, जबर्जस्ती गरियो भने त्यो मानिसको ज्यान पनि जान सक्छ । उसलाई यससम्बन्धी विशेषज्ञको निगरानीमा रक्सी छुटाउनुपर्छ । हाम्रो समाजमा जनचेतना एकदमै कमजोर छ । ‘उसले जानेरै रक्सी खाइरहेकोले यो उसकै समस्या हो’ भन्छन् र उसैलाई जिम्मेवार बनाएर छोडिदिन्छन् । अनि यस्ता मानिस प्रायः डाक्टरकहाँ आउने भनेको नै शारीरिक रोग वा दुर्घटना भएपछि वा रक्सी नखाँदा असामान्य हुन थालेपछि नै हो ।’

उपचार गर्नुपर्ने अवस्था (CAGE questionnaire)

‘मदिरा खानेलाई उपचारको आवश्यकता परेको-नपरेको थाहा पाउन आफैँले आफूलाई चारवटा प्रश्न गरेर जाँच्नुपर्छ । जस्तो–
१. आफूले खाने रक्सीको मात्रा कम गर्नुपर्ने महसुस हुन्छ कि ? (Cut down)

२. तपाईंले रक्सी खाएको बेला अरुले ‘अब नखाऊ’ भन्दा आलोचना गर्दा रिस उठ्छ कि ? (Annoyed)
३. आफूले रक्सी खाएकोमा आफैँलाई पछुतो हुन्छ कि ? (Guilty)

४. बिहान उठेर आँखा खोल्नेबित्तिकै पहिला रक्सी खान मन लाग्छ कि ? (Eye-opener)

यी चारवटा प्रश्नमध्ये कुनै एकको जवाफ एस भन्ने आयो भने विशेषज्ञको मद्दत लिएर उपचार गर्नुपर्ने अवस्था आयो भन्ने बुझ्नुपर्छ ।’

रक्सीको लतले के गर्छ ?

‘रक्सीको लत लागेर दुव्र्यसनको अवस्थामा पुगेपछि कुन समयमा, कति र कहाँ रक्सी खाने भन्ने उसको नियन्त्रणमा हुँदैन । म अब जुनसुकै बेला, जहाँ पायो त्यहीँ रक्सी खान्न, आज एक प्याग मात्र खान्छु भनेर दृढ संकल्प गरेको हुन्छ तर यो उसको नियन्त्रणमा हुँदैन, खाइदिन्छ ।९९ प्रतिशतलाई मदिरा सेवनले क्षति गर्छ भन्ने थाहा हुन्छ र ९० प्रतिशतले छोड्न कोशिश पनि गरिरहेका हुन्छन्, तर सक्तैनन् ।उसलाई सधैँ रक्सीको तलतल भइरहन्छ । दिमागले रक्सीबाहेक केही सोच्दैन ।

यस्तो हुन्छ कि ऊसँग पैसा नभए उधारो माग्न, सापटी माग्न पनि लाज मान्दैन । त्यो पनि नभए घरबार बेच्न, शरीरका अंग, अस्मिता बेच्न पनि तयार हुन्छ । रक्सीले उसको शारीरिक, मानसिक प्रणाली नै गडबड हुन्छ । त्यो बेला उसको लागि रक्सी अमृतभन्दा महत्वपूर्ण भइदिन्छ ।रक्सी नखाँदा हात काम्ने, मुटु ढुकढुक गर्ने, टाउको दुख्ने, रिँगटा लाग्ने हुन्छ । उसको होसहवास नै उड्छ, चेतनाले काम गर्दैन । अनौठो अनुभव हुन थाल्छ । कोही नबोले पनि कानमा आवाज आउने, अनौठो कुरा देख्ने, सुन्ने हुन्छ ।

रक्सीमा निर्भर (डिपेन्डेन्स) भएको मानिसले खान नपाउँदा मर्ने बेलामा प्रायले देखेँ भनेका– यमदूत, नर्क, राक्षस, सर्प, भ्यागुता, गोही, बाघ आदि देखेको अनुभव गर्छन् । पाटन अस्पतालमा हाल भर्ना भएका यस्ता बिरामीले अहिले पनि त्यस्तै व्यवहार गर्छन् । ओपीडीमा आउँदा पनि होस पु¥याएर पाइला राख्छन् । ‘किन त्यस्तो गरेको ?’ भन्दा उल्टै ‘के ग-या यो भुइँभरि भ्यागुता छ, बिच्छी, सर्प छ’ भन्छन् । ‘यहाँ गन्ध एकदमै छ, रगत पोखिएको छ, जताततै दिसैदिसा छ, के गरेको यस्तो ?’ भन्दै कराउँछन् ।
कुरा गर्दागर्दै तर्सिन्छ अनि लुक्छ । ‘के भयो ?’ भन्दा अचम्मको हात्ती आयो, ठूलो गाडी आएर गयो, अनौठा जीव देखेँ भन्छ । यो वास्तवमा उसको दिमागमा आउने, देख्ने कुराहरु नै हुन् ।

रक्सीको दुव्र्यसनमा पुगेको मानिसले दुई–तीन दिन रक्सी खान नपाउँदा हुने यो विशेष अवस्था हो । यो ज्यादै खतरनाक अवस्था हो । यो अवस्थामा पुगेका मानिसको मृत्यु दर ३० प्रतिशत छ ।हालसालै एकजना युवा श्रीमतीलाई प्रसूति गराउन भर्ना गरेर अस्पतालमा कुरुवा बसेका थिए । त्यहीँ बेहोस भएछन् । उनलाई दिनदिनै रक्सी खानुपर्ने रहेछ, अस्पतालमा खान नपाउँदा बेहोस भएका रहेछन् ।’

रक्सी पूरै निषेध गर्न सकिन्छ ?

‘रक्सी पूरै नखाऊ भन्न सकिँदैन । मानिसहरुमा आदिकालदेखि नै नशा गर्ने प्रवृत्ति छ । रक्सीलाई विभिन्न कालखण्डमा बन्द गर्ने प्रयास गरियो तर सफल भएन । कतिपय देश एवं धर्म सम्प्रदायमा रक्सी निषेध गरिएको छ तर त्यहाँ पनि पूरा बन्द कहिल्यै पनि भएको छैन । हामीले भन्दा ‘रक्सी नखाऊ’ नै भन्ने हो ।

रक्सीको दुव्र्यसन भएका धेरैलाई मैले भेटिसकेँ तर जँड्याहा हुनका लागि योजना गरेर खान थालेको एकजना मानिस पनि भेटेको छैन । कसैले पनि यस्तो योजना गर्दैन । अलि–अलि खाँदै जाँदा जँड्याहा हुन पुग्छ । यो कुरा सबैले बुझ्नुपर्छ र परिस्थितिअनुसार उपचार पनि आवश्यक पर्छ भन्ने कुरा हेक्का राख्नुपर्छ ।

मानिसको सोच–विचार, पढाइ–लेखाइले जँड्याहा हुने-नहुने कुरा निर्धारण गर्ने होइन । घरको दुईजना मानिस उत्ति नै रक्सी खान्छन्, एकजनाचाहिँ नखाई पनि बस्न सक्ने, अर्कोचाहिँ नखाई नसक्ने हुन्छ । दुईजना उस्तै साथीहरुमा एकजना थोरै खाएर पनि जँड्याहा भइसक्छ, उसको भन्दा कैयौँ गुणा बढी अर्कोले खाँदा पनि ऊचाहिँ कन्ट्रोलमा हुन्छ । त्यसकारणले व्यक्तिको शारीरिक संरचनाले नै ऊ जँड्याहा बन्छ कि बन्दैन भन्ने कुरा निर्धारण गरेको हुन्छ ।

केटाकेटी, महिलालाई ‘रक्सी नखाऊ’ त्यत्तिकै भनेको होइन । केटाकेटीको शारीरिक संरचना, कलेजोको अवस्था यस्तो हुन्छ कि थोरै अवधि खाए पनि ऊ जँड्याहा बनिहाल्छ । महिलाको केसमा पनि त्यही हो ।
किशोर–किशोरीहरुले १८ वर्षभन्दा कम उमेरमा मदिरा खान नपाउने नियम धेरै देशमा छ । गर्भवतीले पनि मदिरा सेवन गर्नुहुँदैन । बाइलोजिकल कारणले उनीहरुमा दुव्र्यसनी हुने जोखिम बढी हुन्छ ।’

दुव्र्यसन कसरी छुटाउने ?

‘दुव्र्यसन भएको छुटाउने स्टान्डर्ड उपचार विधि छ । रक्सी नखाँदा बिरामीलाई जे–जे लक्षण आउँछन्, ती लक्षणलाई ठीक पार्ने औषधि दिनुपर्छ । उसलाई निद्रा लागोस्, अनौठो कुरा नदेखोस्, नतर्सियोस् भन्ने उद्देश्यले यो औषधि दिने हो । उनीहरुलाई भिटामिन, ग्लुकोज पनि दिनुपर्ने हुन सक्छ । साथै अरु शारीरिक रोगको उपचार गर्नुपर्ने हुन्छ ।

दोस्रो स्टेजचाहिँ पुनरावृत्ति (Relapse) एवं रोकथाम (prevation) को हुन्छ । यो निरन्तर मेहनत गरिरहने प्रक्रिया हो । औषधि बन्द गरेर अस्पताल छोडेपछि उसलाई समस्या नहोस्, नदोहोरियोस् भनरे थप कार्यक्रम राख्नुपर्ने हुन्छ । उपचार गर्दा मनोवैज्ञानिक, सामाजिक र बायलोजिकल तीनै पक्षलाई हेर्नुपर्छ । उसका विशिष्ट समस्याहरु समाधान गरिदिनुपर्छ । यसको लागि वैज्ञानिक उपचार पद्धति छ ।

कतिपयले ‘रक्सी छुट्छ, रोग निको हुन्छ, समस्या समाधान हुन्छ भनेर धर्म पनि परिवर्तन गराएर उल्लु बनाउँछन् तर यसरी हुँदै हुँदैन । रक्सी छुटाउन धर्म परिवर्तन गराउनेहरुले पनि प्रशस्त रक्सी खाने गर्छन्, समस्या पनि थुप्रै हुन्छन् । धर्मले रक्सी छुट्ने भए उनीहरु धर्म मान्दामान्दै किन दुव्र्यसनी भएका त ?

उपचारले पनि पूरै निको हुन्छ भन्ने ग्यारेन्टी गर्न गाह्रो छ । जसले ग्यारेन्टी गर्छ उसले उल्लु बनाएर पैसा कमाउने उद्देश्यले यसो गरेको हो । राम्रो उपचार गरेर पनि ७० प्रतिशतले एक वर्षभित्रमा दोहो¥याएको पाइन्छ । त्यसको लागि व्यक्ति, परिवार चनाखो हुनुपर्छ ।
यो समस्या पूर्णरुपमा निर्मूल नहुने भएकोले अहिले विश्व स्वास्थ्य संघले क्षति न्यूनीकरण  (Harm reduction) को अवधारणा ल्याएको छ । मात्रा कम गरेमा, खाने पटक घटाएमा क्षति कम हुन्छ । त्यसैले पूर्ण निको पार्न नसके पनि क्षति न्यूनीकरण गर्न सकिन्छ । तलतल लाग्ने समस्या कम गराउन सकिन्छ ।दुव्र्यसनीहरुलाई मानसिक समस्या पनि भएको हुन्छ । लागू पदार्थ र मानसिक रोग एक–अर्काका पूरक हुन् । करिब ९० प्रतिशतलाई यो दुवै समस्या सँगसँगै हुन्छ । त्यसैले कुनै एकलाई मात्र उपचार गरेर हुँदैन ।’

दुव्र्यसन हटाउन सकिन्छ

काठमाडौं उपत्यकाका एकजना ४० वर्षीय शिक्षित व्यवसायील् रक्सीको दुव्र्यसनमा परेर परिवारलाई दिक्क पारेछन् । बिहानदेखि नखाई केही गर्न नसक्ने, खाँदा–खाँदा कन्ट्रोल नै नहुने । अफिसमै पनि खाइदिने, बाटोमै लड्ने स्थिति भएपछि श्रीमतीले ‘रक्सी नछोड्ने हो भने म डिभोर्स दिन्छु’ समेत भनिछन् ।

उनको एकजना साथीले मलाई पनि चिन्ने भएकाले ‘उपचारका लागि एकपटक त चान्स देऊ’ भनेपछि परिवारसँग उनी उपचार गर्न मकहाँ आए । उनलाई भर्ना गरेर उपचार ग-यौँ । तुरुन्त लत छुटेन । दुई वर्षमा चारपटक भर्ना ग-यौँ । त्यसपछि उनको रक्सीको दुव्र्यसन छुट्यो ।उनले एकथोपा पनि रक्सी नखाएको अहिले पाँच वर्ष भयो । परिवारले ‘उनको मात्र दोष होइन’ भनेर बुझे र उपचारमा ल्याए, धैर्य गरे । अहिले उनीहरुको परिवार राम्रो अवस्थामा छ । टुट्नबाट जोगिएको छ ।’

अस्पतालमा उपचार सुविधा

‘पाटन अस्पतालमा यस्ता दुव्र्यसनीको उपचारका लागि मानसिक रोग विभाग छ । त्यसको लागि डाक्टरहरुको टिम छ । मंगलबार जाँडरक्सीसम्बन्धी हेर्ने भनेर तोकिएको छ, तर अरु दिन आउँदा पनि हेरिन्छ । भर्ना गरेर उपचार पनि गरिन्छ । भर्ना गरेर उपचार गर्ने दुई हप्ताको प्याकेज पनि छ । दुव्र्यसनीले ओपीडीमा जँचाएर भर्ना भई उपचार गराएको राम्रो हो । भर्ना गर्ने बेलामा उसलाई सबै कुरा सम्झाएर, बुझाएर फ्यामिली काउन्सिलिङ गरी भर्ना गर्छौं । तर १४ दिनमा जादु नै हुनेचाहिँ होइन । निरन्तर मिहिनेत गर्नुपर्छ ।

यो सरकारी अस्पताल भएकाले सस्तो छ । एक दिनको बेड चार्ज ३५० रुपियाँ छ । औषधिको खर्च पनि दैनिक १०० रुपियाँले पुग्छ । खाना खर्चचाहिँ आफ्नो हुन्छ । यसबाहेक विपन्न व्यक्तिलाई निःशुल्क गर्ने पनि नीति छ । कसैले म सुविधा सम्पन्न ठाउँमा बस्छु भन्छ भने ६ हजार जाने प्राइभेट बेडको पनि व्यवस्था छ । तर उपचारको गुणस्तरचाहिँ सबै एउटै हो ।साइकोलोजिकल टेस्ट गरेको ५ सय रुपियाँसम्म लिने गरिएको छ । काउन्सिलिङ त ७० रुपियाँमा हुन्छ । प्राइभेट रिह्याब सेन्टरहरुले एक घण्टा काउन्सिलिङ गरेको ६ हजारसम्म लिएको पाएको छु । हाम्रोमा उपचार खर्च त संसारकै सस्तो भने पनि हुन्छ । त्यसमा पनि तिर्न नसक्नेका लागि त निःशुल्क पनि हुन्छ ।’

नीति–निर्माताले बुझ्नुपर्ने

‘मदिरा स्वास्थ्यदेखि अनेक सामाजिक, कानुनी समस्याको जड हो । नसर्ने रोगहरुको कारणमा लागू पदार्थ नै मुख्य छ । कानुन तोड्नुपर्दा झन्डै ९० प्रतिशत मानिसले रक्सी खाने गर्छन् । झगडा गर्न, कसैलाई कुट्न, चोर्न जानुपर्दा पहिले रक्सी खाने गर्छन् । लैंगिक हिंसा, घरेलु हिंसा, बलात्कार हुनुअघि पनि रक्सीको प्रयोग भएको पाइन्छ ।

बिहान ६ बजेदेखि अबेर रातिसम्म औषधि पसल खुलेका हुँदैनन् तर थुप्रै रक्सी पसल खुलेका हुन्छन् । औषधि नै नपुगेका दुर्गम स्थानमा पनि रक्सी पुगेको छ । हामी रक्सीको मामलामा धेरै छाडा भएका छौँ । यसले देशलाई धेरै घाटा पु-याइरहेको छ । त्यसैले

सरकारले मदिरालाई यति खुकुलोसँग छोड्नुहुँदैन ।अहिले कतिपय अधिकारवादी महिला ‘खुलारुपमा रक्सी खान पाउनुपर्छ’ भन्छन् । राम्रो संस्कृति भएको तीज अहिले महिलाले आधिकारिकरुपमा रक्सी खान पाउने चाडको रुपमा विकास हुँदै छ ।

‘अहिलेसम्म वाइन खान नजान्ने कस्तो पाखे !’ भनेर उडाउने गरिएको छ । हाम्रो समाजमा ‘छोरा मान्छेले, राति ड्युटी गर्नेले, सेना, प्रहरी, ड्राइभरले, तनावमा परेकाले रक्सी खान्छ त’ भन्ने गरिन्छ । यस्तो सोच गलत हो, यसमा परिवर्तन ल्याउनुपर्छ ।दुव्र्यसनको समस्या बढ्दै गएकोले उनीहरुको उपचारका लागि सरकारी स्वामित्वको एउटा छुट्टै राष्ट्रिय स्तरको दुव्र्यसनी उपचार केन्द्र खोल्न आवश्यक देखेको छु र त्यसका लागि म प्रयासरत छु ।

सबैको सहयोग भए अवश्य पूरा होला । सरकारले रक्सीबाट धेरै राजस्व उठाउँछ, रक्सीका कारण मानिसहरुमा आइपरेका समस्या निराकरण गर्न पनि सरकारले जिम्मा लिनुपर्छ भन्ने मलाई लाग्छ ।’जे होस्, जाँडरक्सी नखाएकै राम्रो हो । रक्सीको दुव्र्यसनमै पुगिसकेको अवस्थामा उपचारको आवश्यकता पर्छ । त्यसका लागि परिवारको समझदारी महत्वपूर्ण हुन्छ ।

प्रतिक्रिया दिनुहोस्