कहिल्यै बिरामी नपर्ने मान्छे शायदै होलान् । कुरा यत्ति हो, कुनै मान्छे धेरै बिरामी पर्छ, कुनै कम । यदि कसैलाई सानोतिनो दुःख–कष्ट, वातावरणीय असर, खानपानका कारण पनि बिसन्चो बनाइदिन्छ, अलिकति चिसो भयो कि रुघाखोकी लाग्छ, ज्वरो आउँछ, धूलो–धुवाँ पर्दा दम बढ्ने, होटलमा खाँदा र बाहिरको पानी पिउँदा पेट बिग्रिने हुन्छ भने त्यस्तो व्यक्ति कमजोर प्रतिरक्षात्मक शक्ति भएको हो । यसको उल्टो, काही जस्तोसुकै तातो–चिसो सहन सक्ने, सबै कुरा पचाउन सक्ने, धूलो, धुवाँ, फोहोर पनि सहन सक्ने छन् भने उनीहरुको प्रतिरक्षात्मक शक्ति बलियो हुन्छ । त्यस्ता मान्छेको शरीर जस्तोसुकै अवस्था आए पनि कीटाणुसँग लड्छ । यसको अर्थ हो, रोग लाग्ने र नलाग्ने भन्ने कुरा शरीरको रोगसँग लड्ने क्षमता कस्तो छ भन्नेमा भर पर्छ ।
कुनै जीवाणु शरीरमा प्रवेश गर्दा, त्योसँग लड्ने रक्षात्मक शक्ति एन्टिबडीहरुबाट प्राप्त हुन्छ । साधारणतया रोगहरु २ प्रकारका हुन्छन्– सर्ने र नसर्ने । संक्रामक रोगहरु ब्याक्टेरिया, भाइरसजस्ता जीवाणुबाट हुने रोगहरु हुन् । नसर्ने रोगहरु जस्तै– मधुमेह, ब्लड प्रेसर, मुटु रोगहरु भने जीवनशैलीसँग जोडिएका हुन्छन् । सर्ने अर्थात् संक्रामक रोगहरु रुघाखोकी, निमोनियालगायतका रोगहरुबाट बच्नका लागि जीवाणुविरुद्ध लड्ने एन्टिबडी शरीरमा हुनुपर्छ ।
नसर्ने रोगबाट बच्नका लागि मानिसको जीवनशैली स्वस्थ हुनुपर्छ ।
कहाँबाट आउँछ प्रतिरक्षात्मक शक्ति ?
भर्खरै जन्मेको बच्चाले आमाको दूधबाट प्रतिरक्षात्मक शक्ति पाउँछ । आमाको दूध पिउन नपाएका बालबच्चामा प्रतिरक्षात्मक शक्ति कमजोर हुने कारण पनि यही हो । रगतमा लिम्फोसाइट भन्ने रक्तकणहरु हुन्छन् । बी लिम्फोसाइट भन्ने रक्तकण बोनम्यारोभित्र सक्रिय हुन्छ र टी लिम्फोसाइट भन्ने रक्तकण थाइमस भन्ने ग्रन्थिमा सक्रिय हुन्छ । यिनीहरुबाट नै एन्टिबडी बन्ने हो । टन्सिल, एपेन्डिक्स सानो उमेरमा फाल्न हुँदैन भन्नुको कारण पनि यी अंगमा रक्षात्मक कणहरु बन्ने भएकोले हो । यसलाई फालेमा प्रतिरक्षात्मक शक्ति कमजोर हुन्छ ।
प्रतिरक्षात्मक शक्ति बढाउनका लागि विभिन्न खोप पनि प्रयोग गरिन्छ । खोपको विकास भनेको चिकित्सा विज्ञानको ठूलो उपलब्धि हो । यसले गर्दा नै ठूला–ठूला संक्रामक रोग एवं मानव जातिलाई सखाप पार्ने रोगमाथि विजय प्राप्त गरेको हो । खोप लगाएपछि यसको असर धेरै समयसम्म रहन्छ । कतिपय खोपको असर त जीवनभर रहन्छ । कतिपयको भने १०–१५ दिनदेखि एक–दुई वर्षसम्म मात्रै असर रहन्छ ।
अवस्था हेरेर खोप दोहो-याइरहनुपर्ने हुन सक्छ । यसैलाई बुस्टर डोज भनिन्छ । शरीरको प्रतिरक्षात्मक शक्ति दुई तरिकाबाट बढाउन सकिन्छ । एउटा हो– खोपको माध्यमबाट रोगसँग लड्ने प्रतिरक्षात्मक प्रणालीको विकास गर्ने । यो कृत्रिम तरिका हो । ब्याक्टेरिया र भाइरस रोगका कारण हुन् । खोप लगाएपछि, ब्याक्टेरिया र भाइरसविरुद्धमा शरीरमा एक प्रकारका कणहरु (एन्टिबडी) उत्पादन हुन्छ र यो रोगसँग लड्छ ।
अर्को प्राकृतिक तरिका छ । प्राकृतिकरुपमै रोगसँग लड्ने क्षमताको विकास गर्ने । खोपबाट गरिने प्रतिरोधी क्षमता विकासका लागि अनुसन्धान धेरै आवश्यक पर्छ, थोरै लगानी र मिहेनतले पुग्दैन । जस्तै– टन्सिलाइटिस मामुली समस्या भए पनि यसविरुद्धको खोप अनुसन्धानकर्ताहरुले अझै पत्ता लगाउन सकेका छैनन् । वैज्ञानिकहरु यसविरुद्धको खोप विकास गर्न चार दशकदेखि लागिपरेका छन् । ब्याक्टेरिया र भाइरसले रुप बदलिरहन्छन् । यसकारण खोपको विकास गर्न निकै गाह्रो पर्छ । त्यसैले प्राकृतिकरुपमा प्रतिरक्षात्मक प्रणालीको विकास गर्नु सबैभन्दा उत्तम हो ।
प्राकृतिकरुपमा प्रतिरक्षात्मक प्रणालीको विकास कसरी गर्ने ? यसका लागि शुरुमा मानव शरीर पञ्च तत्वले बनेको छ भन्ने बुझ्न जरुरी छ । ती पञ्च तत्व भनेको हावा, पानी, माटो, आगो र आकाश हुन् । यी पाँच तत्व नै वास्तवमा प्रकृति हो । विडम्बना ! मानव जाति प्रकृतिबाट टाढा रहन थालेको छ । प्रकृतिसँग नजिक रहेर गर्ने कामभन्दा कोठाभित्रै बसेर सबै काम सक्ने प्रयास गर्छ, मान्छे । अप्राकृतिक खाना खाने, कोठाभित्रै रमाउने, खुल्ला आकाश र घाममा कम बस्ने गर्दा पञ्चतत्वको सम्पर्क एकदमै कम रहन्छ । शरीर पञ्चतत्वले बनेको छ तर मान्छे, पञ्चतत्वको सम्पर्कबाट टाढा रहन्छ । शरीरको प्रतिरक्षात्मक प्रणाली कमजोर हुँदै जानुको कारण, पञ्चतत्वको सम्र्पकबाट टाढा रहनु नै हो ।
पञ्चतत्वसँगको सम्पर्क जति धेरै बढाउन सकिन्छ त्यति नै प्रतिरक्षात्मक प्रणाली बढाउन सकिन्छ ।
हावा:
पञ्चतत्वमध्येको एक हो हावा÷वायु । यो सधैँ रहन्छ । जो सधैँ रहन्छ, त्यो सनातन हो । त्यही वर्तमान हो, प्राण हो । त्यही वर्तमानको सदुपयोग हामीले खुलेर गर्न सक्छौं, एकसुको खर्च नगरीकनै । शरीरलाई हावाको सम्पर्कमा बढीभन्दा बढी राख्नुपर्छ । सानै उमेरदेखि नै बालबालिकालाई हावा लागेको समयमा त्यससँग नजिक राख्ने गर्नुपर्छ । यसरी नियमित रुपमा हावाको सम्पर्कमा राख्दा रोगसँग लड्ने क्षमता बढ्छ । तर ध्यान दिनुपर्ने कुरा– प्रदूषित हावामा होइन, स्वच्छ हावामा राख्नुपर्छ ।
पानी:
पानीलाई पिउने र शरीर पखाल्ने गरेर दुई तरिकाबाट प्रयोग गरिन्छ । यस अर्थमा शरीरको भित्री भाग र बाहिरी भाग दुवै पखाल्न पानी नै प्रयोग गरिन्छ । त्यही पानीले कसैलाई पखाला लाग्छ त कसैलाई केही हुँदैन । यो हुनु भनेको पानी सफा वा फोहोर भएर मात्र नभई सानै उमेरदेखि कस्तो पानी खाएर, चलाएर बसेका छौं भन्ने कुराले पनि निर्धारण गर्छ । मानव शरीरमा ७० प्रतिशतभन्दा बढी त पानी नै छ । त्यसैले शरीरलाई पानी–मैत्री बनाउनका लागि पानीलाई शरीरमा एक्सपोज गर्दै जानुपर्छ । त्यसले शरीरको प्रतिरक्षात्मक प्रणाली विकास गर्न सक्छ ।
माटो:
बालबालिकालाई धूलोमा गयो भनी हामी रोक्छौं । तर उनीहरु सानैदेखि जति माटो वा जमिनसँग नजिक रहन्छन्, त्यति नै शरीरको प्रतिरक्षात्मक प्रणाली विकास हुँदै जान्छ र रोगसँग लड्ने क्षमता बढ्छ । त्यसैले शरीरलाई माटोको सम्पर्कमा बढीभन्दा बढी राख्ने प्रयास गर्नुपर्छ ।
आगो:
आगोलाई तापक्रमसँग जोडेर हेरौं । चिसो र तातो दुवैमा शरीरलाई एक्सपोज गराउन सक्नुपर्छ । शरीरलाई बलियो बनाउन चिसो–तातो दुवै तापक्रममा नजिक रहने वातावरण बनाइराख्नुपर्छ । सानैदेखि चिसोमा नुहाउने बानी गरेकाले अहिले पनि कतिपय वृद्धावृद्धा चिसो पानीमै नुहाउन सक्छन् ।
शरीरलाई भिन्न तापक्रममा जति एक्सपोज गर्न सकिन्छ, त्यति नै तातो वा चिसोको बेला रोग लाग्दैन । रोगसँग लड्ने क्षमता विकास हुन्छ । तातो वा आगोको कुरा गर्दा, सूर्यको प्रकाशमा जति एक्सपोज हुन सक्यो त्यति नै त्यसले फाइदा गर्छ । बिहान सूर्यको प्रकाशमा भिटामिन ‘डी’ एकदमै बढी हुने भएकाले बिहानको घाम ताप्यो भने भिटामिन ‘डी’ खानुपर्दैन । जति सूर्यको सम्र्पकमा रह्यो त्यति नै यसले शरीरलाई आवश्यक पर्ने भिटामिन ‘डी’ दिएर रोगसँग लड्ने क्षमताको विकास गर्छ ।
आकाश:
पाँचौँ तत्व हो आकाश । शरीर अन्त्यमा पञ्चतत्वमा विलिन हुने हो । त्यसमध्ये आकाशमा गएर पनि विलिन हुन्छ । हिजोआज शरीरलाई खुल्ला स्थानमा राख्ने चलन छैन । प्रायः कोठाभित्र नै सीमित राख्ने गरिन्छ । जति खुल्ला आकाशमुनि शरीरलाई एक्सपोज गर्न सकिन्छ त्यति नै बाहिरी वातावरणबाट हुने रोगविरुद्ध प्रतिरोधात्मक क्षमताको विकास हुँदै जान्छ । आजकल टेलिभिजन, मोबाइल र कम्प्युटरजस्ता साना चिजभित्रै आफूलाई कैद गरिरहेको पाइन्छ । यस्तो बन्दी जीवनबाट बाहिर निस्कनुपर्छ । शरीरलाई खुल्ला वातावरणमा जति सक्यो धेरै राख्नुपर्छ । बाहिर निकाल्नु भनेको खुल्ला आकाशमा राख्नु हो ।
यसका साथै खानपिन, व्यायाम, ध्यान, निद्रा र उपवासबाट पनि प्रतिरक्षात्मक शक्ति बलियो बनाउन सकिन्छ ।
खानपान:
प्रतिरक्षात्मक शक्ति बलियो बनाउन खानपानको महत्वपूर्ण भूमिका रहन्छ । खानपानमा हरियो सागसब्जी, फलफूल र गेडागुडीहरुले प्रतिरक्षात्मक शक्ति बलियो बनाउन मद्दत गर्छन् । त्यस्तै भिटामिन ‘सी’, आइरन, कपर, जिंक आदि तत्व भएका खानेकुरा खाने गर्नुपर्छ । यसले पनि प्रतिरक्षात्मक शक्ति बलियो बनाउन सहयोग पु¥याउँछ । तर यस्ता तत्वहरु प्राकृतिक स्रोतबाट लिनुपर्छ । चक्कीहरु खाएर प्रभावकारी हुँदैन ।
व्यायाम र मानसिक स्वास्थ्य:
खानपानजस्तै व्यायामको पनि भूमिका महत्वपूर्ण छ । व्यायाम गर्नाले प्रतिरक्षात्मक शक्ति बढ्नुका साथै शरीर पनि तन्दुरुस्त हुन्छ । तर याद राख्नुपर्ने कुराः मानसिक तनावले प्रतिरक्षात्मक शक्ति कमजोर बनाउँछ र सानोतिनो रोगले पनि झ्याप्पै समाउँछ । तनाव घटाऊ भन्नुको कारण पनि यही हो । यसका लागि प्राणायाम र ध्यान गर्नु उपयोगी हुन्छ । मजबुत मानसिक स्थितिले प्रशस्त मात्रामा प्रतिरक्षात्मक शक्ति बलियो बनाउँछ ।
जाडो मौसममा चिसोको प्रभावले प्रतिरक्षात्मक शक्ति कमजोर बनाउने हो कि भन्ने गरिए पनि, वैज्ञानिक अध्ययनबाट यो पुष्टि भएको छैन ।
निद्रा:
वयष्क मानिसलाई दैनिक ६ देखि ८ घण्टा सुत्नुपर्छ । सुत्दा दिमाग र शरीर दुवैले आराम पाउँछन् । निद्राको समयमा सञ्चय हुने शक्ति शरीरको प्रतिरक्षात्मक प्रणालीको विकासमा जान्छ । यसकारण शरीरको प्रतिरक्षात्मक प्रणालीको राम्रो विकास गर्न ६ देखि ८ घण्टा निद्रा आवश्यक छ ।
उपवास:
उपवास स्वास्थ्यका लागि लाभदायी छ । धेरै प्रकारका उपवास पद्धतिहरु छन् । शरीरले थेग्न सक्ने गरी हप्तामा एक दिन अथवा दैनिक १६ घण्टे उपवास ‘इन्टरमिटेन्ट फास्टिङ’ अथवा एकादशीका दिन बस्ने उपवास बढी चलनचल्तीमा छन् । एउटा निश्चित नियम र अनुशासनभित्र रहेर गरिने उपवासले शरीरको प्रतिरक्षात्मक शक्ति बढाउँछ । विभिन्न अनुसन्धानहरुबाट यो कुरा पुष्टि भैसकेको छ ।