‘सुपर फुड’ भ्रम र वास्तविकता



 

डा. अरुणा उप्रेती

कोरोना कालपछि मानिसहरुलाई खाना र स्वास्थ्यबारे निकै चासो बढ्न थालेको छ । शरीरको रोगसँग लड्ने शक्ति बढाउन ‘स्वस्थकर खाना’को महत्वबारे धेरैले बुझ्दै गएका छन् ।

कोरोना महामारीताका कतिपय पोषण विज्ञले ‘सुपर फुड’ खानुपर्छ भनेपछि आजकाल बजारमा ‘सुपर फुड’ स्वास्थ्यको लागि चाहिन्छ भनेर ‘सुपर फुड’ किन्नेहरु बढेका छन् । तर ‘सुपर फुड’ के हो त ? भन्ने विषयमा चाहिँ कतिपय उपभोक्ताहरु अल्मिलिइरहेको पाइन्छ ।

बिबीसीका अनुसन्धानकर्ताहरुले १ सयवटा भन्दा बढी खानाहरुको विश्लेषण गरेर दैनिक पोषणमा कस्तो खाना खाए सन्तुलन हुन्छ, हामीले खानुपर्ने उत्कृष्ट ‘सुपर फुड’ के–के हुन् भनेर खानाहरुलाई क्रमबद्ध गरी रिपोर्टसमेत प्रकाशित गरेका छन् । यस रिपोर्टमा हामीले सजिलै प्राप्त गर्न सकिने र हामीबीच लोकप्रिय खानाहरु पनि समेटिएका छन् ।

तर यस्ता खाद्यवस्तुहरु खाँदैमा पूर्ण लाभ प्राप्त हुँदैन । यसलाई तयार गर्ने प्रक्रिया पनि सही हुनुपर्छ । यी ‘सुपर फुड’ लाई कसरी पकाउँदा त्यसको पौष्टिक तत्व कायम रहन्छ भन्ने पनि विचार गर्नुपर्छ ।

उदाहरणका लागि अमला, कागती, सुन्तला भिटामिन ‘सी’ले भरिपूर्ण ‘सुपर फुड’ हुन् । तर यस्ता फलफूल तताएपछि भिटामिन ‘सी’ नष्ट हुन्छ । त्यसैले नउमालीकनै खानुपर्छ । मन तातो पानीमा कागती हालेर खाँदाचाहिँ यसको भिटामिन ‘सी’ नष्ट हुँदैन

‘सुपर फुड’

‘सुपर फुड’ भनेको त्यस्तो भोजन हो, जसमा शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण पोषण तत्व हुन्छ । यो स्थानीय वा आफ्नो देशभित्रै फल्छ, शरीरको रोगसँग लड्ने शक्ति प्रदान गर्छं, रोग लागिहाले पनि छिट्टै तङ्ग्रिन मद्दत गर्छ ।

प्रायः हामी के विचार गर्छौं भने, ‘सुपर फुड’ भनेको विदेशीले मात्र खान सक्ने, महँगो र स्थानीय रुपमा पहुँच नै नभएको खाना हो । वास्तवमा यो एक भ्रम मात्र हो । कतिपय ‘सुपर फुड’ त हामीले दिनदिनै प्रयोग गरिरहेका पनि हुन्छौं । तर यसको महत्वको बारेमा हामीलाई थाहै नभएको पनि हुन सक्छ ।

भारतकी प्रसिद्ध पोषणविद् रुजिता दिवाकरले आफ्नो ‘सुपर फुड’ नामक पुस्तकमा हामी वरिपरिका कतिपय भोजन नै ‘सुपर फुड’ हुन् भनेर उल्लेख गरेकी छन् । उनका अनुसार ‘सुपर फुड’ भनेकै अनेक तरिकाले प्रयोग गर्न सकिने पोषणयुक्त भोजन हो ।

 

वर्तमान समयमा हरेक हप्ता हामीले नाम नै नसुनेका नयाँ–नयाँ खाद्यबवतुहरुलाई ‘सुपर फुड’ भनेर प्रचार गरेको सुनिन्छ, देखिन्छ । अनि आम मानिसहरु ती खाद्यवस्तुहरु खरिद गर्न दौडिहाल्छन् । तर ती सबै ‘सुपर फुड’ होइनन् ।

पोषण विज्ञहरुको भनाइअनुसार ‘महँगा र विदेशबाट ल्याइएका खानाहरु ‘सुपर फुड’ होइनन्, बरु परम्परादेखि चलिआएका हाम्रो जिब्रोमा स्वाद दिने, शरीरलाई स्वस्थ बनाउने र जरुरत परेको बेलामा औषधिको काम पनि गर्ने भोजन नै ‘सुपर फुड’ हुन् ।’

त्यसै गरी बिबीसीले पनि हाम्रा वरिपरि रहेका कतिपय भोजनलाई नै ‘सुपर फुड’ भनेर उल्लेख गरेको छ । हामीकहाँ सहजै पाइने केही ‘सुपर फुड’बारे यहाँ सामान्य चर्चा गर्ने प्रयास गरिएको छ ।

सखरखण्ड र अदुवा

कतिपयले सखरखण्डलाई ‘गुलियो आलु’ पनि भन्छन् । तर आलुसँग यसको सम्बन्ध छैन । नेपालमा प्रायः व्रत बसेको बेला खाइने सखरखण्ड भिटामिन ‘ए’ र ‘सूक्ष्म पोषक तत्वले’ भरिपूर्ण भएकोले नै यो विशेष भोजन भएको छ । तर यसलाई पकाउँदा केहीबेर मात्र पकाउनु ठीक हुन्छ । धेरैबेर पकाउँदा यसमा रहेका पौष्टिक तत्वहरु १२ प्रतिशतसम्म नष्ट हुने गरेको पाइएको छ ।
सखरखण्ड शिशुलाई ख्वाउँदा पनि उत्तम हुन्छ । यसमा क्याल्सियम, भिटामिन बी १२ र केही लौहतत्व पनि हुन्छ । यसलाई विभिन्न तरकारीमा मिसाएर खान सकिन्छ । हाम्रो दैनिक जीवनमा तरकारी, दाल, चना, चिउरामा हालेर खान सकिने यो ‘सुपर फुड’ लाई हामीले धेरै प्रयोगचाहिँ गरेका छैनौैं ।

त्यस्तै प्रकारले सबैका भान्छामा रहने अदुवालाई हामीले ‘सुपर फुड’ भनेर प्रायः विचार नै गरेका हुँदैनौं । अदुवामा एन्टिअक्सिडेन्टको मात्रा धेरै हुन्छ । यसलाई पाचन प्रणाली सुधार्न र चिसोको उपचार गर्न औषधिको रुपमा प्रयोग गरिन्छ । परम्परागत उपचारक वैद्यहरु भन्छन्, ‘अदुवा र कागती भएको घरमा वैद्यको जरुरत पर्दैन’ अर्थात् रोग नै लाग्दैन ।
अरु बेला वास्ता नगरिए पनि भाइतिहारमा नभई नहुने कटुसलाई बीबीसीका वैज्ञानिकले ‘सुपर फुड’ भनेर उल्लेख गरेका छन् । यो खाना एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ । यसले शरीरको कोशिकाहरुलाई विषाणुयुक्त हुनबाट बचाउँछ ।

फर्सी

शायद सहजै पाइने भएको हुनाले हो कि हामीले फर्सीलाई त्यति धेरै महत्व दिने गरेका छैनौँ । अस्ट्रेलियामा चाहिँ फर्सीलाई निकै महत्व दिइन्छ, दैनिक खानामा अनिवार्य प्रयोग गरिन्छ । त्यहाँ फर्सीको सुप हामीकहाँ दाल खाएजस्तै गरी खाइन्छ । यसमा भिटामिन ‘ए’ धेरै हुन्छ ।

फर्सीको तरकारी बनाएर, चना–बोडीमा मिसाएर पनि खान सकिन्छ । फर्सीलाई मासुमा मिसाएर खाने चलन पनि छ । यो उसिनेर खान सकिन्छ, अचार बनाएर पनि खान सकिन्छ । फर्सीको खिर बनाएर खाने चलन पनि छ । यसरी विभिन्न तरिकाले अन्य भोजनमा मिश्रण गरेर खाँदा यसको पौष्टिकता अझ बढ्न जान्छ । शिशुलाई आमाको दूधबाहेकका खाना दिन शुरु गर्दा फर्सी दिन सकिन्छ ।

हरियो तरकारी

गाजर, डल्ले खुर्सानी, हरियो खुर्सानी, लसुन, प्याज आदि प्रयोग नहुने नेपाली भान्छा कमै मात्र हुन्छ । प्रायः स्वादको लागि खाइने यी वस्तुहरु पनि ‘सुपर फुड’ नै हुन् । यिनमा धेरै औषधीय गुणहरु छन् भन्ने कुरा अनुसन्धानकर्ताहरुले सिद्ध गरिसकेका छन् ।

शिशुलाई गाजर उसिनेर, लेदो बनाएर दिँदा भिटामिन ‘ए’का साथै अन्य सूक्ष्म पोषक तत्व पनि पुग्छ । ठूलो मानिसले पनि गाजर उसिनेर, तरकारी बनाएर, दालमा हालेर खान सक्छन् । सलादको रुपमा काँचो खाँदा पनि हुन्छ । गाजरलाई भात, चिउरा, भुजामा पनि मसिनो गरेर हाल्न सकिन्छ । यसको खिर वा हलुवा पनि स्वादिलो र स्वस्थकर हुन्छ ।
घिउसिमीलाई पनि ‘सुपर फुड’ मानिन्छ । यसमा भएको विशेष रासायनिक तत्वले शरीरमा कोलेस्ट्रोलको स्तर घटाउँछ । यसले गर्दा मुटुको रोग लाग्ने सम्भावना कम हुन्छ ।

हरियो तरकारी जस्तो– मेथी, रायो, पालुङ्गो, पुदिना आदि पनि ‘सुपर फुड’ नै हुन् । यसमा रहेका विशेष तत्वहरुले शरीरलाई छिटो बुढ्यौलीतर्फ धकेल्ने प्रक्रियालाई कमजोर पार्छन् । यस्ता तरकारीमा एन्टिअक्सिडेन्टस (Antioxidants) प्रशस्त पाइन्छ । साथै यसमा पर्याप्त मात्रामा रेसादार पदार्थ पनि हुन्छ । यसले पेटको स्वास्थ्य राम्रो राख्न र मोटोपन घटाउन मद्दत गर्छ ।
हाम्रो समाजमा कर्कलोको पात पनि अपहेलित नै छ । कुनै तरकारी नपाए मात्रै कर्कलो खाने हो भन्ने धेरैको सोचाइ रहेको पाइन्छ । वास्तवमा यसमा रहेको फलामको तत्व र पातमा पाइने प्रोटिनको उच्च मात्राले यसलाई ‘सुपर फुड’ बनाएको छ । विशेष गरी ऋषि पञ्चमीमा कर्कलो र भात खाने चलन छ ।

अरु बेला त्यति प्रयोग गरिन्न । कर्कलोको पात र डाँठ मासको दालमा मिसाएर मस्यौरा बनाउन सकिन्छ । यसरी मस्यौरा बनाएर राखेपछि यसलाई अनेक तरिकाले प्रयोग गर्न सकिन्छ । यी दुवै वस्तुमा रहेको प्रोटिनको मिश्रण उच्च स्तरको हुन्छ । मस्यौराको लेदो तरकारी आदि बनाउन सकिन्छ । सुकाएर राखेको मस्यौरा लामो समय सुरक्षित राख्न सकिन्छ ।वास्तवमा ‘सुपर फुड’ भनेको त्यस्तो भोजन हो, जसलाई अनेक तरिकाले पकाएर पनि खान सकिन्छ र औषधिको गुणले युक्त हुन्छ ।

फलफूलहरु

विभिन्न प्रकारका स्थानीय र मौसमी फलफूल जस्तै– अम्बा, भोगटे, हलुवावेद, सीताफल, बयर, सुन्तला, आँप, अनार आदि सबै नै ‘सुपर फुड’ हुन् । तर अनार र आँपजस्ता महँगा फलचाहिँ राम्रा अनि अम्बा, हलुवावेदजस्ता फलचाहिँ नराम्रा भन्ने खालको सोच राखेको पाइन्छ ।

विभिन्न वैज्ञानिक अनुसन्धान प्रतिवेदनहरुका अनुसार महत्व नपाएका यस्ता फलफूल पनि अनेक सूक्ष्म पोषक तत्वले भरिपूर्ण हुन्छन् । यी फलहरुले मानिसको बुढ्यौलीलाई पछि सार्न पनि मद्दत गर्छन् । साथै यी फलहरुमा रेसादार तत्व पनि पर्याप्त हुन्छ, जुन स्वास्थ्यका लागि अति जरुरी हुन्छ । त्यसरी नै पैयुँ, बयर, काफल आदि फलफूल पनि महत्वपूर्ण छन् ।

थारुहरु बयरलाई सुकाएर बोक्रा र बियाँसमेत राखी मीठो अचार बनाउँछन् । यो अचार भात, रोटी, चिउरासँग खाँदा स्वादिष्ट त हुन्छ नै, साथै स्वास्थ्यका लागि पनि लाभदायक हुन्छ । बयरबाट बनाएको अचार ‘सुपर फुड’ हो भन्ने कुरा हामी कतिपयलाई विश्वास नै नलाग्ने जस्तो हुन्छ ।

नेपालमा केही समयअघि मात्र फल्न शुरु गरेको किबी फलमा पोटासियम र म्याग्नेसियम धेरै हुन्छ । शरीर स्वस्थ राख्नका लागि हरेक दिन यस्ता सहजै पाइने फलफूलमध्ये कुनै न कुनै प्रयोग गर्नु लाभदायक हुन्छ ।

स्वादिलो ‘सुपर फुड’ बदाम

बदाममा सखर हाली यसबाट विभिन्न किसिमका लड्डु बनाएर पनि खाने गरिन्छ । यसले शरीरको ऊर्जा बढाउँछ । बदाम सस्तो तर प्रोटिन र राम्रो चिल्लो भएको तत्व हो । बदामलाई उसिनेर, पिसेर, भुटेर र जुनसुकै भोजनमा हालेर खान सकिन्छ । भात, चिउरा, दाल आदिमा पनि यो प्रयोग गर्दा स्वाद र स्वास्थ्य लाभ दुवै मिन्छ । बालबालिकाको भोजनमा बदाम मिसाएर खान दिने हो भने उनीहरुलाई चाहिने प्रोटिन तत्व भरपूर मात्रामा उपलब्ध हुन्छ ।

टुसा उमारेको बदाम भनेर सुन्दा कतिलाई अचम्म लाग्न सक्छ । तर काँचो बदामलाई क्वाँटीजस्तै टुसा उमारेर खान सकिन्छ । यसो गर्दा त्यसको पौष्टिकता अझ बढ्न जान्छ । काँचो वा भुटेको दुवै बदामको अचार पनि बनाउन सकिन्छ । गोलभेँडा, तील, बदाम, आलस हालेर बनाएको अचार, रोटी, चिउरा, दालसँग मीठो गरेर खान सकिन्छ । बदाम तुलनात्मकरुपमा काजु, नरिवल आदिभन्दा धेरै सस्तो छ । तर पनि यो अपहेलित ‘सुपर फुड’ हो । वर्षभरि सहजैसँग पाइने बदामलाई हरेक हप्ता कुनै न कुनै छाकहरुमा प्रयोग गर्दा स्वास्थ्य राम्रो हुन्छ ।

ओमेगा ३ ले स्वास्थ्य राम्रो पार्छ भन्ने कुरा वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको छ । दक्षिण अमेरिकामा पाइने ‘चिया सिडमा’ धेरै ओमेगा पाइन्छ भन्ने बुझेका नेपालीहरु जतिसुकै महँगो भए पनि किन्न तयार हुन्छन् । तर ओमेगा धेरै पाइने र स्थानीय स्तरमै सहजै र सस्तो मूल्यमा पाइने आलसचाहिँ प्रयोग गर्दैनन् । यो अलि अनौठो स्वभाव हो । आलस पनि ‘सुपर फुड’ नै हो ।

‘सुपर फुड’ आलसलाई अनेक तरिकाले प्रयोग गर्न सकिन्छ । यसलाई भिजाएर, टुसा उमारेर, छोप बनाई दहीमा हालेर, सुपमा हालेर खान सकिन्छ । यसमा भएको रेसादार तत्व क्याल्सियम, ओमेगा–३ ले बालबालिकाको शरीर र मस्तिष्क स्वस्थ राख्छ । अनेक रोगहरुबाट पनि बचाउँछ । विशेष गरी महिलाहरुको शरीरमा हड्डी कमजोर हुने प्रक्रियालाई रोक्न पनि आलसले मद्दत गर्छ ।

लट्टेको साग’ हाम्रो समाजमा अति नै अपहेलित ‘सुपर फुड’ हो । त्यसै गरी विभिन्न दलहन, चामल आदि पनि ‘सुपर फुड’ नै हुन् । दाल र चामललाई मिसाएर बनाएको खिचडी उत्तम भोजन हो । तर दाल–भात दिनदिनै खाने हुनाले यसको महत्व नै बिर्सिएका छौं ।

हामीले ‘सुपर फुड’को नाममा महँगो भोजन किन्न पर्दैन । स्वस्थकर तरिकाले फलाएको अनि सकेसम्म आफ्नै जिल्ला वा देशभित्र फलेका, उम्रिएका भोजनलाई विभिन्न उचित तरिकाले तयार गरेर, पकाएर खाँदा त्यो भोजन ‘सुपर फुड’ बन्न पुग्छ ।

प्रतिक्रिया दिनुहोस्