तपाईंका घरमा हाम्रा डाक्टर



१. म ३६ वर्षको भएँ । मेरो तौल पनि ठीकै छ । बेलाबेलामा पेटभन्दा माथि मुटुको छेउछाउमा दुख्छ । मुटुसम्बन्धी समस्या हो कि भनेर जिल्ला अस्पतालमा जँचाउन जाँदा मुटुको समस्या होइन, पेटको डाक्टरलाई जँचाउन जानू भने । मलाई पेटको समस्या हो जस्तो लाग्दैन । मलाई सामान्य ग्यास्टिक मात्र छ । कहाँ जाऊँ ? म दोधारमा परेको छु । सही सल्लाह पाए आभारी हुने थिएँ ।

– मदन कार्की, उदयपुर ।

मदन कार्कीजी, तपाईंले भनेजस्तो तल्लो छाती वा पेटको माथि, मुटुको छेउछाउ दुख्नु पेटको कारण, छातीको कारण, ग्यास्टिकको कारण, मुटुको कारण, हड्डी–मांसपेशी दुखेर वा स्नायु दुखेर जे कारणले पनि हुन सक्छ. । त्यसैले सबैको लक्षण विश्लेषण गरेर कुनै एउटा कारण निक्र्याेल गर्न अनि मुटुको दुखाइ हो वा होइन भन्ने स्पष्ट हुन जरुरी छ ।मुटुको समस्या हो वा होइन भन्ने स्पष्ट हुनका लागि मुटुसम्बन्धी अस्पताल गएर वा अन्य अस्पतालहरुमा मुटुको डाक्टर भेटेर आवश्यक परीक्षण गर्नुपर्छ । आफ्नो परिवारमा चिनीरोग, रक्तचापको समस्या नभएमा, मुटुको रोग वा हृदयघात भएको घटना नभएमा, शरीरको तौल ठिक्क भएमा, धूमपान तथा मद्यपानको बानी नभएमा मुटुको समस्या नहुन पनि सक्छ ।

साथै दुखाइ पनि २० मिनेटभन्दा बढी अति नै दुख्ने, पसिना आउने नभएमा मुटुको समस्या हुने सम्भावना निकै नै कम हुन्छ. । साधारण ग्यास्टिक धेरै नेपालीमा पाइन्छ । साथै हाम्रो खानपिन पनि ग्यास्टिक गराउने खालको नै हुन्छ । त्यसैले तपाईंले भनेजस्तो ग्यास्ट्रिक हुन पनि सक्छ.। अहिलेको लागि अमिलो, पिरो, धेरै चिसो, तातो, तारेको अनि खस्रो खानेकुरा बार्ने गर्नुस् । दूधको चिया नपिउने, भोको पेट धेरै नबस्ने बानी गर्नुस् । यसले ग्यास्टिक अलि–अलि कन्ट्रोल हुन सक्छ । त्यसपछि समय मिलाएर एकपटक काठमाडौं आई फिजिसियन वा पेटको डाक्टरलाई देखाउनुहोस् ।

२. मेरा हातका नङहरु पहिला अलि कैलो–कैलो रंगका थिए, करिब ६ महिनादेखि अलि सेता भएर आएका छन् । यो रोग हो कि होइन ? हो भने यसको समाधान के होला ?

– रेणु, विराटनगर ।

रेणुजी, हातका नङहरुले हामीलाई स्वास्थ्यका केही सूचना अवश्य दिन्छन् । रक्तअल्पता भएको, फंगल संक्रमण, क्याल्सियमको कमी लगायत कतिपय स्वास्थ्य समस्यामा नङको परीक्षण, विश्लेषण धेरै नै लाभदायी हुन्छ.। यहाँले भनेजस्तो नङ सेतो–सेतो भएर जानुको कारण क्याल्सियमको कमी हुन सक्छ । साथै नङकै आन्तरिक समस्या वा अरु पोषणमा कतै केही कमी भएर पनि त्यस्तो हुन्छ. । सबभन्दा सहज र तथ्यपरक निदान एवं उपचारका लागि सम्बन्धित चिकित्सकलाई भेट्नु नै उपयुक्त हुन्छ । त्यसैले एकपटक छालारोग विशेषज्ञलाई भेटेर नै परामर्श गर्नुहोला । यो सेवा विराटनगरमा पनि उपलब्ध छ ।

३. मेरी ४ वर्षीया छोरीको बोली राम्रोसँग खुलेन । यसलाई सामान्य बनाउनका लागि कहाँ उपचार गर्न जाँदा उचित होला ? कि यो सामान्य नै हो कि ? जवाफको अपेक्षा गर्दछु ।

– सौरभ, ताहाचल, काठमाडौं ।

सौरभजी, कोही–कोही बच्चा अलि ढिलो गरेर बोलेका घटना यत्रतत्र सुन्ने गरिन्छ । कान नसुन्दा बोल्न नै सिक्न नसक्ने पनि हुन्छ । यस्तो भएको हो भने डर हुन्छ, नत्र भने बोली आउने जस्तो हुन्छ. । बच्चालाई बढी घुलमिल गराउन स्कुलमा राखिदिएमा बोल्ने गति अलि बढ्ने पनि हुन्छ । बच्चा घरमा एक्लै भएमा साथी मिलाएर खेल्ने, बोल्ने, घुलमिल गराउने वा त्यस्तो परिवेश मिलाएमा छिटो प्रगति होला.। यस्तोमा सल्लाह गर्नलाई एकपटक बालरोग विशेषज्ञ देखाउनुस् अनि एकपटक सुन्ने–बोल्ने सल्लाहकार ९ज्भबचष्लन ब्लम क्उभभअज त्जभचबउष्कत० लाई भेट्नुभएमा केही वैज्ञानिक आधारसहित सेवा पाउन सकिन्छ ।

४. महिनावारी प्राकृतिक नियम हो भन्छन्, तर कसैलाई ९–१० वर्षमै शुरु हुन्छ, कसैलाई १४–१५ वर्षमा मात्र भएको पनि देखेँ । किन यस्तो फरक हुन्छ ?

– सृष्टि, दोलखा ।

सृष्टिजी, तपाईंले भनेको सत्य हो । यो प्राकृतिक नियम हो । शारीरिक विकासका क्रममा सबै महिलामा उचित समयमा यो देखा पर्छ नै । हरेक मान्छेको शारीरिक विकास, खानपान, वातावरण, हावापानी, वंशाणुगत अवस्था, महिलामा उत्पादन हुने महिला यौन हर्मोनको मात्राजस्ता धेरै कुरामा आधारित भएर फरक–फरक समयमा यो देखा पर्न सक्छ । त्यसैले त्यस्तो भएको हो । जस्तो– तराईमा, गर्मी ठाउँमा अलि छिटो १०–१२ वर्षमै देखिन सक्छ भने पहाडी तथा हिमाली भेगमा यो १४–१५ देखि १९–२० वर्षसम्म पनि लम्बिएर देखिन्छ । यो कुनै हिसाबकिताबको जस्तो ठ्याक्कै हुने नभई धेरै कारक तत्वहरुले प्रभाव पार्ने र आफ्नो समयमा प्राकृतिकरुपमा हुने गर्छ । यसलाई यसै अनुरुप बुझ्नुपर्र्छ ।

५. हाम्रो विवाह भएको १५ वर्ष भयो र अहिले हामी ४० र ४२ वर्षमा लागेका छौँ । हामीले कति कोशिश गर्दा पनि सन्तान प्राप्त भएन, उपचार गर्दा–गर्दा थाकिसक्यौँ तर सफल भएन । हामी निकै निरासामा छौँ । यसको समाधानको लागि अन्तिम केही उपाय भए बताइदिन अनुरोध छ ।

– बाँस्तोला दम्पती, कलंकी ।

तपाईंहरुले उपचार गर्दा–गर्दा थाकिसकेको भनाइ बुझ्दा सबै सम्बन्धित चिकित्सक भेटिसकेको अनि सम्पूर्ण सम्भावित उपायहरु अपनाइसकेको पनि हुन सक्छ । वा नेपालमा गरिने सबै उपचार विधिहरुका बारेमा ज्ञान नभई साधारण प्रयास गरेर छोडेको पनि हुन सक्छ. ।

यहाँहरुको उमेर आइडियलबाट अलि माथि गैसकेको भए पनि आश नै मार्ने स्थिति भने भैसकेको छैन । यो भन्दा अधिक उमेर भएका दम्पती पनि सन्तान लाभ र सन्तान सुख प्राप्त गर्न सफल भएका धेरै घटना छन् ।त्यस्तै कतिपयको विवाह गरेको १८–२० वर्षपछि पनि विना कुनै चिकित्सकीय क्रियाकलाप बच्चा भएका घटनाहरु छन् । त्यसैले अझै पनि कुनै योग्य चिकित्सक अनि अस्पताल वा निःसन्तान केन्द्रमा सम्पर्क गर्दा लाभ हुन सक्छ । त्यसको लागि उक्त स्वास्थ्य संस्था निःसन्ताको उपचार गर्दा राम्रो प्रतिफल प्राप्त गरेको, सफल उपचार दर वा रेकर्ड राम्रो भएको हेरेर सम्पर्क गर्नु उचित हुन्छ. ।

नेपालमा स्त्रीरोग विशेषज्ञहरु ठिक्क गर्भाधान हुने समय मिलाई पुरुषको वीर्य महिलाको पाठेघरमा सिरिन्जले पठाएर गर्भ टिकाउने प्रयास गर्छन् । जसको सर्भाइकल फ्याक्टर वा अन्य अज्ञात कारणले प्राकृतिक रुपमा गर्भाधान हुन सकेको हुँदैन । उनीहरुले पटक–पटक प्रयास गर्दा सफल नभएमा टेस्ट ट्युब बेबी प्रविधि अपनाउन पनि सकिन्छ । यस प्रविधिमा २० देखि ४० प्रतिशतसम्म सफल हुने गरेको पाइएको छ. । नेपालमा यस्तो सेवा दिने निःसन्तान केन्द्रहरु धेरै छन् । यसमध्ये रेकर्ड राम्रो भएको हेरेर सम्पर्क गर्नुहोस् । यहाँलाई सफलताको शुभकामना छ । तर निरास भने कहिल्यै नहुनुहोस् । एक दिन सफलता मिल्छ ।

प्रतिक्रिया दिनुहोस्