बच्चालाई गाईको दूध दिनु कति उपयुक्त ?



डा. रामदेव पण्डित (आयुर्वेद चिकित्सक)

गर्मी मौसममा खाना र पानी उपभोगको शैली नमिलेर बच्चाहरुमा सामान्यतः दिसा पातलो आउने, दिसामा रगत देखिने, बान्ता गर्ने समस्या देखा पर्दछ । साथै धेरै बच्चालाई यस बेला पखाला लाग्ने पनि गर्दछ ।

आयुर्वेदको मान्यताअनुसार गृष्म र वर्षा ऋतुमा मानिसको शरीर–बल र मनोबल निकै कमजोर हुन्छ । सामान्य जीवनशैलीमा थोरै मात्र हेरफेर हुँदा पनि शरीरको कमजोर बलले सन्तुलन गर्न सक्दैन र रोग देखिन्छ । त्यसकारण यी ऋतुमा बच्चा तथा ठूला मानिसहरु अन्य ऋतुमा भन्दा बढी बिरामी हुने गर्दछन् ।

६ महिनासम्मका बच्चाहरुका लागि आमाको दूध नै सम्पूर्ण पोषक तत्व र ऊर्जाको स्रोत हुन्छ । तर आमाको शरीरमा बच्चालाई चाहिने पर्याप्त मात्राको दूध बन्दैन भने गाईको दूध बच्चालाई दिनु हितकारी कि अहितकारी ? ६ महिनामाथिका बच्चाहरुलाई अन्नको साथै आमाको दूध पनि दिइन्छ ।

त्यस बेला आमाको शरीरमा बच्चालाई चाहिने पर्याप्त मात्राको दूध बन्दैन भने गाईको दूध बच्चालाई दिनु उपयुक्त हुन्छ कि नाइँ ? त्यस्तै अन्न खाने वर्गका बच्चाहरुलाई गाईको दूध दिनु ठीक हो कि गलत ? ‘बच्चालाई गाईको दूध सेवन: भ्रम र यथार्थ’ शीर्षकमा कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा. राजकुमार विकको विचार एउटा अनलाइनमा प्रकाशित भएको थियो ।

त्यस लेखमा व्यक्त अस्पष्ट जानकारीहरुले सर्वसाधारणको भ्रम मेटाउनुको सट्टा झनै भ्रम बढाएको मैले महसुस गरेँ । लेखमा विषयलाई परम्परागत अभ्यासभन्दा आधुनिक चिकित्सा विज्ञानको अभ्यास विपरीत चित्रित हुन गएकोले उक्त लेखको विषय विवादितसमेत बनेको छ ।

हजारौं वर्षदेखि परम्परागतरुपमा बच्चाहरुलाई गाईको दूध दिने संस्कार एवं परम्परा हामीकहाँ छ, जसलाई सतही तथ्य र तर्कले गलत स्थापित गर्न सक्दैन । हजारौं वर्षको अभ्यासको प्रत्यक्ष परिणामको जगमा उभिएर ‘गाईको दूध बच्चाको अमृत हो’ भन्न सकिन्छ । निःसन्देह गाईको दूध बच्चाको लागि सर्वथा हितकारी नै हुन्छ । साथै ‘गाईको दूध केही बच्चाहरुका लागि हितकारी नहुन पनि सक्छ’ भन्ने यथार्थ पनि बुझ्नु जरुरी हुन्छ । विश्वमा सबैका लागि उपयुक्त हुने कुनै एउटा खाना आजसम्म बनेको छैन, बन्न सम्भव पनि हुँदैन ।

कुनै पनि वस्तु वा विधि सबैका लागि उपयुक्त हुन्छ भन्ने ठान्नु ठीक होइन । एउटै रोगको लागि पनि रोगीअनुसार फरक–फरक औषधि हुन्छ । केही खास समूहका लागि उपयुक्त वा अनुपयुक्त देखिएको वस्तु वा विधिलाई सबैका लागि उपयुक्त वा अनुपयुक्त भनी सामान्यीकरण गर्नु भ्रम उत्पन्न गर्नु मात्र हुन्छ । जैविक हिसाबले हरेक व्यक्ति आफैँमा पृथक र विशेष हुन्छ ।
आधुनिक चिकित्सा विज्ञानमा गाईको दूधको प्रोटिन एलर्जी (CMPA) विषय चर्चा भएको पाइन्छ । एलर्जीसम्बन्धी गरिएका धेरै अनुसन्धानहरुबाट यस तथ्यलाई पुष्टि गरिएको छ ।

आधुनिक चिकित्सा विज्ञानका अनुसार धेरै बच्चाहरुलाई गाईको दूधमा हुने प्रोटिनबाट एलर्जी हुने गर्दछ । विभिन्न संस्थाहरु (अन्तिममा हुर्नुहोस्) ले निकालेको तथ्यांकअनुसार बच्चाहरुमा २ देखि ५ प्रतिशतमा यस्तो समस्या देखिने गरेको छ । यिनै अध्ययनहरुका अनुसार संसारमा ५ वर्षमुनिका बालबालिकामा हुने एलर्जीमध्ये सबैभन्दा बढी खाद्यपदार्थको एलर्जीको मुख्य कारण गाईको दूध मानिएको छ ।

हजुरबुबा, हजुरआमाले बच्चाको लागि गाईको दूध राम्रो हुन्छ भनेर दूध खुवाउनु कुनै पनि मानेमा गलत होइन । हजुरबुबाको त्यो अनुभवपरक ज्ञानलाई अन्धविश्वास र अवैज्ञानिक ठान्नु पनि सही हुँदैन । ७०–८० वर्षको अनुभव सयौं अनुसन्धानको तथ्याङ्कभन्दा बढी विश्वसनीय हुन्छ ।

दूध खुवाएपछि दूधको कारणले नै यदि कुनै बच्चा विशेषमा कुनै गम्भीर समस्या देखिन्छ भने त्यो गाईको दूधको प्रोटिनको कारणले (CMPA) हुन सक्छ । जसको लक्षणहरुको रुपमा : बान्ता तथा पखाला हुने, दिसामा रगत देखिने, खान मन नगर्ने, खाना सर्काउने, खानेबित्तिकै हुलुकहुलुक निकाल्ने, छालामा डाबर आउने, रुघाखोकी लाग्ने, दमको समस्या देखिने, शरीर चिलाउने, ओठ सुन्निने, लगातार रोइराख्ने, पेट दुख्ने, रक्तअल्पता हुने, आइरनको कमी हुने, कब्जियत हुने, उमेरअनुसारको तौल नबढ्ने, कहिलेकाहीँ श्वास फेर्न गार्हो हुने, हातखुट्टा लुलो हुनेदेखि ज्यान जान सक्ने पनि हुन सक्छ ।

यस्तो बेला गाईको दूध उक्त बच्चाको लागि दिनु ठीक हुन्न भन्ने बुझ्नुपर्छ । त्यस्ता विशेष प्रकृतिका बच्चाहरुलाई पनि गाईको दूध फरक विधिले प्रयोग गर्ने विकल्पहरु भने रहन्छ । गाईको दूध प्रयोग गर्दा निःसर्तरुपमा गाई स्वस्थ भएकै हुनुपर्छ । गाईलाई दिइने खानपानले पनि गाईको दूधको गुणस्तरलाई अवश्य पनि असर गरेको हुन्छ । गाईको प्रजातिले गाईको दूधको गुणस्तरमा अवश्य नै फरक पार्दछ ।

जर्सी र लोकल गाईका दुई प्रसिद्ध प्रजाति हुन् । लोकल गाईको दूधमा ‘ए टु’ प्रकार (A2 type) को प्रोटिन पाइन्छ, जुन प्रोटिन आमाको दूधमा पनि पाइन्छ । तर जर्सी गाईको दूधमा ‘ए वान’ प्रकार (A1 Type) को प्रोटिन पाइन्छ, जुन मानिसको शरीरमा पच्न गाह्रो हुन्छ ।  बच्चालाई गाईको दूध सेवन गराउनु सर्वथा उचित हो । तर अनुसन्धान प्रतिवेदनहरुका अनुसार गाईको दूध सेवन गर्दा त्यसमा भएको प्रोटिनको कारण ५ प्रतिशत बच्चालाई एलर्जी हुन सक्छ र गम्भीर खालका लक्षणहरु देखिन सक्छन् । त्यस विचारणीय पक्षलाई ध्यानमा राखेर बच्चालाई निर्बाधरुपमा गाईको दूध सेवन गराउनुपर्दछ ।

बच्चालाई खुवाइने गाईको दूध हरेक हिसाबले गुणस्तरीय र कीटाणु एवं विषाणुरहित हुनुपर्छ । बजारमा पाइने गाईको प्रशोधित दूध सहज विकल्प भए पनि त्यसलाई गाईको दूधसँग तुलना गर्न मिल्दैन । अतः भ्रममा नपरौं । बच्चाको लागि गाईको दूध हानिकारक होइन, तर सचेततापूर्वक त्यसको प्रयोग गरौं ।

(Diagnosis and Rationale for Action against Cow’s Milk Allergy- DRACMA, European Society for Paediatric Gastroenterology Hepatology and Nutrition-ESPGHAN, The American Academy of Pediatrics-AAP and National Institute of Allergy and Infectious Diseases-NIAID Guidelines)

प्रतिक्रिया दिनुहोस्