बच्चाको लागि जरुरी पोषक



शिशुको स्वास्थ्यको विकास, वृद्धि तथा राम्रो स्वास्थ्यका लागि शुरुदेखि नै पोषणमा विशेष ध्यान दिनुपर्छ । ६ महिनासम्म त शिशुका लागि मुख्य आहार आमाको दूध नै हो । त्यसपछि चाहिँ आमाको दूधका साथै अरु केही खाना पनि आवश्यक हुन्छ । यसले गर्दा बच्चाको शारीरिक एवं मानसिक विकास राम्रोसँग हुन्छ । जस्तो–

क्याल्सियम:

क्याल्सियम शरीरका हड्डीहरु, दाँतको विकास तथा मजबुतीका लागि जरुरत पर्छ । त्यसैले बच्चालाई क्याल्सियमयुक्त भोजन खुवाउनुपर्छ । जस्तो– दूध, भटमासजन्य खाद्यवस्तुहरु, ब्रोकाउली, गेडागुडी आदि क्याल्सियमका राम्रा स्रोत हुन् । यी वस्तुबाट नरम खाना बनाएर खुवाउन सकिन्छ । हरिया सागसब्जी पनि फाइदाकारक हुन्छन् ।

चिल्लो:

बच्चाहरुको विकासको लागि चिल्लो (Fat) को पनि जरुरत पर्ने भएकाले चिल्लो प्रशस्त भएका खानेकुरा खुवाउनुपर्छ । यसबाट बच्चाहरुलाई ऊर्जा उपलब्ध हुन्छ, मस्तिष्कको विकासमा पनि मद्दत गर्छ । साथै बच्चाको शरीरको छाला, केसलाई स्वस्थ बनाइराख्न पनि मद्दत गर्छ ।

प्राकृतिक चिल्लोयुक्त खाद्यवस्तुहरु जस्तो– एभोकाडो, केरा, ओखर, बदाम, काजु, सखरखण्डलगायत मौसमी फलहरु खानामा समावेश गर्नुपर्छ । यदि बच्चाको तौल कम छ भने यसले तौल बढाउन पनि मद्दत गर्छ ।

आइरन:

बच्चाको राम्रो विकासका लागि आइरन जरुरी हुन्छ । आइरनले बच्चामा रक्तकोशिकाहरुको निर्माण गर्छ । यसले मस्तिष्कको विकासमा पनि सहयोग गर्छ । त्यसैले बच्चाहरुलाई आइरन प्रशस्त भएका खाना दिनुपर्छ । हाम्रो शरीरले हेमोग्लोबिन बनाउनका लागि आइरनको उपयोग गर्छ । यसका साथै केही हर्मोन उत्पादन गर्नका लागि पनि शरीरको लागि आइरनको जरुरत हुन्छ । तोफु, अनार, टमाटर, हरियो तरकारी, चुकन्दर, दालहरु बच्चाको लागि आइरनका राम्रा स्रोत हुन् ।

प्रोटिन र कार्बोहाइड्रेट:

बच्चाहरुको विकासका लागि प्रोटिन र कार्बोहाइड्रेटको निकै आवश्यकता हुन्छ । प्रोटिनले शरीर बढाउन, मांसपेशीहरुको निर्माण गर्न, ऊर्जा प्रदान गर्न मद्दत गर्छ । शिशुलाई स्तनपानका साथै प्रोटिन प्रशस्त भएका खानेकुराहरु अण्डा, एभोकाडो, नट्स, गेडागुडी आदि खुवाउन सकिन्छ ।

जिंक:

जिंक प्रत्येक व्यक्तिको लागि जरुरी हुन्छ । जिंकले बच्चाहरुको कोशिकाहरुको वृद्धि गर्न सहयोग गर्छ । बच्चाको विकास र प्रतिरक्षाका लागि जिंक जरुरी हुन्छ । यसले बच्चाको रोग–प्रतिरोधात्मक क्षमता वृद्धिमा सहयोग गर्छ । यसलाई शरीरले आफैँ बनाउँदैन । दही, दालहरु, दूध, नट्स तथा अन्नहरुमा प्रशस्त मात्रामा जिंक पाइन्छ । बच्चाहरुलाई ६ महिना पुगेपछि स्तनपानको साथै यी खानाहरु पनि खुवाउन सकिन्छ ।

भिटामिनहरु:

शिशुको विकासका लागि केही भिटामिन्सको पनि जरुरत पर्छ । ६ महिनाको भएपछि बच्चालाई स्तनपानको साथै भिटामिनयुक्त खाना खुवाउनुपर्छ । शिशुको विकासको लागि भिटामिन ए, भिटामिन बी कम्प्लेक्स, भिटामिन बी १२, भिटामिन सी, भिटामिन डी, भिटामिन ई र भिटामिन केको जरुरत हुन्छ । यी भिटामिनहरुले बच्चाको शरीरका अलग–अलग अंगमा काम गर्छन् । यी भिटामिन बच्चाका लागि निकै प्रभावकारी एवं उपयोगी मानिन्छन् । ६ महिना पुगिसकेका बच्चालाई आमाको दूधको साथै भिटामिन, मिनरल्सयुक्त खानाहरु खुवाउनुपर्छ । तर ६ महिनाअघिसम्म भने हामाको दूधले नै पुग्छ । तर बच्चाहरुलाई सीमित मात्रामा मात्र यी खाना खुवाउनुपर्छ र आवश्यक पर्दा चिकित्सकहरुको पनि सल्लाह लिनुपर्छ ।

(स्रोत: ओन्ली माई हेल्थ)

प्रतिक्रिया दिनुहोस्