नशालु वस्तुको प्रभावमा बलात्कार



डा. राजेन्द्र भद्रा

सौन्दर्य प्रतियोगिताका एक सहभागी सुष्मिता रेग्मीले आठ वर्षअघि घटेको घटनाको बारेमा सामाजिक सञ्जालको माध्यमबाट हालसालै आफूमाथि आयोजक मनोज पाण्डेबाट यौनशोषण (बलात्कार) भएको कुरा सार्वजनिक गरिन् ।

त्यसको लगत्तै सामाजिक सञ्जाल र आम सञ्चारमाध्यम मात्र होइन संसद्देखि सडकसम्म त्यसको तरंग फैलियो ।यसका विविध पक्षहरू जस्तो– हदम्याद परिवर्तन गरिनुपर्ने, यौनशोषणमा अन्य व्यक्तिको सहयोग रहेको वा नरहेकोे जस्ता कतिपय विषयमा निकै चर्चा–परिचर्चा भए ।

यो घटनामा सुष्मिताले घटना घट्नुअघि पेयपदार्थ पिएको र त्यसको केही बेरपछि लठ्याएको अनि होस हराएको कुरा बताउनुभएको छ । एक किसिमको बेहोसीको अवस्थामा सो घटना घटेको र बीच–बीचमा केही होस खुल्दा यौन सम्पर्कको क्रियाकलाप भइरहेको थाहा पाएको कुरा उहाँले उल्लेख गर्नुभएको थियो ।

यसले सो घटनामा कुनै प्रकारको नशालु वस्तुको प्रयोग र त्यसको प्रभावमा नै यौनशोषण भएको संकेत मिल्दछ ।त्यसै गरी अर्को एक घटनामा विवाहभन्दा पहिले नै आमा बन्न बाध्य पारिएर अधिकारका लागि अनशन बसेकी निहारिकाको सन्दर्भमा पनि यस्तै खालको यौनशोषणको क्रियाकलाप भएको बुझिन्छ । सो घटनामा निहारिकालाई कुनै वस्तु खुवाइएको केही समयपछि उनी बेहोस भएको कुरा सार्वजनिक भएको छ । यस कुराले उनलाई पनि झुक्याएर नशालु पदार्थ सेवन गराइएको कुरालाई संकेत गर्दछ । यस लेखमा यौनशोषण वा बलात्कारमा नशालु वस्तुको प्रयोगका बारेमा चर्चा गरिँदै छ ।

नशालु पदार्थ र बलात्कार

कतिपय परम्परागत समाज र आधुनिक समाजमा पनि मद्यपानको प्रयोग यौन प्रयोजनको लागि हुने गरेको देखिन्छ । वास्तविकता त्यसो नभए पनि मद्यपानले यौन सक्षमता बढाउने विश्वास गरिन्छ । अर्कोतिर मद्यपान तथा अन्य कतिपय नशालु वस्तुको सेवन गरिएको स्थितिमा यौनकार्यमा स्वीकार्यता बढाउन सहज हुने एवं प्रतिरोध सशक्त नहुने भनेर पनि यसको प्रयोग हुने देखिन्छ ।

यस्ता किसिमका नशालु वस्तु अपरिचितले झुक्याएर सेवन गराउन सक्ने स्थिति कमै हुने गर्दछ । तर परिचित व्यक्तिले भने विभिन्न प्रयोजनको लागि गरिने भेटघाटको सन्दर्भमा पिलाउन सक्छन् । अहिलेको आधुनिक समाजमा भेटघाट वा पार्टी गर्दा मद्यपानको प्रयोग बढ्दो छ । र, यस्तो स्थितिमा मद्यपानको प्रयोग विशेष गरी थाहा दिएरै गर्ने गरिन्छ । एक अनुसन्धानकर्ता कोश (Koss) ले गरेको अध्ययनमा पनि

५५ प्रतिशत भेटघाट बलात्कारका घटनामा मद्यपान वा अन्य नशालु वस्तुको प्रयोग भएको देखिएको थियो ।

परिचित व्यक्तिबाट भेटघाटका बेलामा हुने यस्ता बलात्कारमा पनि रक्सीजस्ता मादक पदार्थ वा रसायनको प्रयोग हुनुले डर लाग्दो स्थिति निम्त्याएको छ । रमाइलो गर्न भेटघाटका अवसर भनौं वा पार्टी तथा भोजभतेरमा रक्सीको सेवन अहिले सामान्य व्यवहार बन्दै गएको छ । यस्ता कुराका प्रयोगले आफूमा भएको हिचकिचाहटलाई कम गर्ने मात्र होइन, निर्णय गर्ने क्षमतालाई पनि नकारात्मकरुपमा असर गर्दछ । हिचकिचाहट कम हुँदा यौनभावना हाबी हुन सक्छ । अचेल मद्यपानबाहेक अन्य कतिपय औषधि पनि यस प्रयोजनको लागि प्रयोग गर्ने गरिएको पाइन्छ ।

बलात्कार गर्न सजिलो होस् भनेर केही निश्चित औषधिहरू युवतीलाई सजिलै कुनै पेयपदार्थ वा खानेकुरामा मिसाएर खुवाइने घटना पनि बढ्दो छ ।माथि उल्लिखित घटना यसको एक उदाहरण हो । भेटघाटका अवसरहरूमा परिचित व्यक्तिहरूबाटै बलात्कारको लागि प्रयोग गरिने यस्ता औषधिलाई ‘डेट रेप ड्रग’ (date rape drug) नामले चिन्न पनि थालिएको छ ।

रेप ड्रग (rape drug) के हो ?

अर्को व्यक्तिलाई क्षमताहीन (incapacitated) गर्ने तथा समर्पित हुन बाध्य पार्ने (render)  बलात्कारलगायत यौन आक्रमणको जोखिमलाई बढाउने कुनै पनि औषधि वा रसायनलाई रेप ड्रग (rape drug) भनिन्छ । यस्ता औषधि वा रसायन विशेषतः प्रेमी–प्रेमिका तथा अन्य परिचित व्यक्तिसँग भेटघाटको परिस्थितिमा हुने भएकोेले यस्ता रसायनलाई ‘डेट रेप ड्रग’ (date rape drug) पनि भन्ने गरिन्छ ।

यस्ता रसायनमध्ये एक प्रमुख मद्यपानमा प्रयोग गरिने रक्सी वा रक्सीजन्य पेयपदार्थ हो । हाम्रो समाजमा सजिलै खरिद र प्रयोग गर्न पाइने भएकाले धेरैले यसको प्रयोगलाई असामान्यरुपमा लिएको पाइन्छ ।गन्ध र स्वादरहित यस्ता औषधि मिसाइएको कुरा पिउने वा खाने व्यक्तिले थाहा नै पाउन सक्दैनन् । यहाँसम्म कि केही औषधिले त सम्झन सक्ने क्षमता नै पनि प्रभाव पार्दछन् । पछि सो समयमा आफूलाई के भएको थियो भन्ने कुरा पनि स्पष्ट भन्न सक्दैनन् ।

राम्रा अध्ययनहरूको अभावमा बलात्कार भएको स्थितिमा यस्ता किसिमका औषधि कत्तिको व्यापकरुपमा हुने गरेको छ, एकिनका साथ भन्न गाह्रो छ । तर अमेरिकामा गरिएको एक अध्ययनमा ३८ प्रतिशत व्यक्तिमा रक्सी (अल्कोहल), ८ प्रतिशतमा निद्रा लाग्ने औषधि अर्थात् बेन्जोडाइजेपिनस (benzodiazepins), ४ प्रतिशतमा गामा–हाइड्रोक्सिबुटिरिक एसिड (GHB/gamma-hydroxybutyric acid र ५ प्रतिशतमा फ्लुनिट्राजेपाम (Flunitrazepam) प्रयोग भएको पाइएको थियो भने ४० प्रतिशतमा त्यस्ता कुनै औषधि प्रयोग भएको पाइएको थिएन ।

नेपालमा यससम्बन्धमा अध्ययन नभएकाले यहाँ के–कस्ता औषधिको प्रयोग भइरहेको छ भन्ने यकिन भन्न सक्ने स्थितिमा हामी छैनौं । तर माथि उल्लिखित घटनाजस्तै केही खान वा पिउन दिने र सो पछि बेहोस, अर्धबेहोस अवस्थामा यौनशोषण भएका पत्रपत्रिकाका समाचारमा आएको देखिनुले नेपालमा पनि यस्ता औषधिको प्रयोग हुने गरेको कुरालाई पुष्टि गर्दछ । यस कुराले हामी पनि औषधिको प्रयोग गरेर हुने यौनशौषणको बारेमा सजग हुनुपर्ने आवश्यकता छ ।

यस्तो परिस्थितिबाट बच्न के गर्न सकिएला ?

अहिलेको समाजमा साथीसंगतिसँग भेटघाट नै नगरी वा पार्टीमा नगई बस्ने स्थिति हुँदैन । तर यस्तो जमघटमा जाँदा पहिलेदेखिका साथीबाहेक अन्य व्यक्तिहरू जस्तै– साथीका साथी पनि आउने परिस्थितिमा सकिन्छ भने नजानु नै ठीक हुन्छ । त्यस्ता परिस्थितिमा जानुपर्ने स्थिति छ भने विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । कम्तीमा एक्लै नगई अर्को भरपर्दो साथी पनि साथै लाने गर्नुपर्दछ ।

जमघटमा निमन्त्रणा गर्ने व्यक्तिले एक्लै आउनका लागि भन्न वा दबाब दिन सक्छन् तर त्यसो गर्नुहुँदैन । खराब ध्येय छैन भने कुनै एक साथी वा नातेदारलाई साथै लाने कुरामा खासै विरोध हुने स्थिति हुँदैन । यस्ता जमघटमा जाँदा के सावधानी अपनाउने भनेर निम्न कुराहरू सहयोगी हुन सक्छन् ।

– कुनै पनि पेयपदार्थ पिउँदा नयाँ तथा मिसावट नगरिएको, नखोलिएको बोतल वा क्यानबाट मात्र पिउने ।

-एकपल्ट पेयपदार्थको बोतल वा क्यान खोलिसकेपछि नसिद्धिएसम्म त्यसलाई आफ्नो साथमा राख्नुपर्दछ । त्यसो गर्न नसकिएको स्थितिमा बाँकी भए पनि सो नखाने वा नपिउने गर्नुपर्दछ । आवश्यक परेमा अर्को नयाँ बोतल वा क्यानबाट खानुपर्दछ ।

-यदि तपाईंको लागि कसैले पेयपदार्थ तयार गर्दै छ भने त्यसलाई आफ्नो निगरानीमा मात्र बनाउन लगाउनुपर्दछ । धेरैको लागि बनाइएको पेयपदार्थबाट लिइएको भागबाट पिउने गर्नुहुँदैन ।

-तपाईंले यस्ता पेयपदार्थ पिउँदा यसको स्वाद वा रंगमा अलिकति मात्रै परिवर्तन भएको पाउनुभयो भने सो पेयपदार्थ पिउन तुरुन्तै बन्द गर्नुपर्दछ ।

-यसरी सावधानी अपनाउँदा अपनाउँदै पनि कसैले यस्ता औषधि तपाईंलाई दिएको जस्तो लाग्यो भने तुरुन्तै चिकित्सा सहयोग लिन पहल गर्नुपर्दछ । यस्तो बेलामा अप्ठ्यारोमा पर्न नदिन साथैमा रहेको साथी धेरै नै सहयोगी हुन सक्छ । साथै साथी नभएको अवस्थामा आफूले आपतकालीन अवस्थामा गरिने फोनमा तुरुन्तै खबर गरेर सहयोग लिनुपर्दछ ।

यस्तो आपतकालीन फोन निश्चित गर्नुभएको छैन भने आफ्ना मातापिता वा अभिभावकलाई तुरुन्तै फोन गर्नुपर्दछ ।व्यक्तिले गर्न सक्ने यस्ता सावधानीको साथै सरकारले पनि यस्ता औषधि वा रसायनको बिक्री वितरण तथा प्रयोगको सन्दर्भमा कडा निगरानी तथा नियमन गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्