गर्भावस्थाको उच्च जोखिम कसरी नियन्त्रण गर्ने ?



गर्भावस्थाको उच्च जोखिम (हाई रिस्क प्रेग्नेन्सी) कसरी कमी गर्ने भन्ने विषयमा काठमाडौं विश्वविद्यालय शिक्षण अस्पताल धुलिखेलले थप अध्ययन, अनुसन्धानसहितको परीक्षण शुरु गरेको छ । यस विषयमा स्त्रीरोग विशेषज्ञ प्रा.डा. आभा श्रेष्ठसँग साधना प्रतिनिधि भगवती तिमल्सिनाले गरेको कुराकानीको सार:

गर्भावस्थाको उच्च जोखिम (हाई रिस्क प्रेग्नेन्सी) भनेको के हो ?

गर्भवती महिलामा यदि कुनै मेडिकल समस्या देखियो भने त्यसलाई गर्भावस्थाको उच्च जोखिम भनिन्छ । गर्भवती भएको ४ देखि ६ महिनामा मधुमेह, उच्च रक्तचाप हुने, दम भएका महिला गर्भवती हुँदा, पहिला नै मधुमेह भएका वा गर्भावस्थामा नै अरु मेडिकल्ली समस्या आयो भने यस्तो अवस्थाको गर्भवतीलाई गर्भावस्थाको उच्च जोखिम भनिन्छ ।

किन यो महत्वपूर्ण छ ?

किनभने पछिल्लो समय ढिलो गरी विवाह हुन थालेको छ । आफ्नो भविष्य (क्यारियर) राम्रो बनाउने विषयमा उनीहरु केन्द्रित भएका छन् । विवाह गर्ने उमेर पनि २० वर्षपछि छ भने पढाइ सक्दा २२ देखि २५ वर्षको उमेर हुन्छ । त्यसैले गर्भवती हुन पनि ढिलो नै हुन्छ । कसै–कसैको पहिला नै पनि समस्या भएको हुन्छ भने उमेरसँगै मेडिकल समस्या बढ्दै जान्छ । यस्तै कारणहरुले गर्दा गर्भावस्थाको उच्च जोखिम बढ्दै गएको छ । धुलिखेल अस्पतालले शुरु गरेको योजना भने नेपालको लागि नयाँ योजना हो । गर्भावस्थाको उच्च जोखिम न्यूनीकरणका लागि धुलिखेल अस्पतालले पछिल्लो दुई वर्षदेखि छुट्टै वार्डसमेतको व्यवस्था गरी काम गर्न थालिसकेको छ । यहाँ देशभरिका प्रसूति सेवा रहेका अस्पतालहरुले पनि रिफर पठाउन शुरु गरिसकेका छन् ।

उच्च जोखिम थाहा पाउन कुन–कुन समयमा स्वास्थ्य जाँच गरिन्छ ?

मधुमेह भएका गर्भवती बिरामीलाई उचित व्यवस्थापन गर्ने सन्दर्भमा विशेष सतर्कता अपनाइन्छ । सामान्य गर्भवतीलाई भन्दा अलि बढी ध्यान दिनुपर्ने हुन्छ । सामान्य गर्भवतीलाई जस्तो सामान्य उपचार र हेरचाहले पुग्दैन । नर्मल गर्भावस्थामा उनीहरुले जसरी जाँच गर्छन् त्यसरी नभई महिनामै दुईपटक अथवा आवश्यकता अनुसार त्यो भन्दा बढी जाँच गर्नुपर्छ । कुनै पेसेन्टलाई हप्तामा एक–दुईपटक नै बोलाउनुपर्ने हुन्छ । कतिपय अवस्थामा त भर्ना नै गरेर निगरानी गर्नुपर्ने पनि हुन्छ ।
त्यसै गरी उच्च रक्तचाप भएका महिलाहरुलाई पनि बरोबर उच्च रक्तचापको परीक्षण गरी आवश्यकता अनुसारको उपचार गरेर तन्दुरुस्त राख्नुपर्छ । त्यस्तै आज्मा (दम) भएकाहरुलाई पनि विशेष निगरानीमा राख्नुपर्छ । यस्तो अवस्थाका गर्भवतीलाई विशेष गरी उच्च जोखिम अवस्था भनेर छुट्याउँछौं ।

यस्तो गर्दा के हुन्छ त ?

यसो गर्दा पहिलो गर्भवती महिलाको स्वास्थ्य अवस्था राम्रो बनाउन सक्छौं भने दोस्रो स्वस्थ बच्चा जन्माउन सहयोग गर्न सक्छौं । यदि उच्च जोखिम अवस्था पहिचान गर्न सकिएन भने गर्भवती महिला काम्ने, कोमामा जाने र ज्यान नै जोखिममा पर्नुका साथै ज्यान पनि जान सक्छ । यस्तो अवस्थामा गर्भमा भएको बच्चा खेर जाने या मृत्युसमेत हुन सक्छ । यस्तो जोखिमलाई न्यूनीकरण गर्दै लैजान उच्च जोखिम अवस्थाको पहिचान गर्नुपर्छ ।

उच्च जोखिम अवस्थालाई विशेष प्राथमिकतामा राख्न धुलिखेल अस्पतालले के गर्दै छ ?

धुलिखेल अस्पतालमा यो वर्षदेखि नै फेलोसिप पनि शुरु गरेका छौं । उच्च जोखिम अवस्थाका धेरै गर्भवती छन् । यो अस्पतालमा सफलतापूर्वक व्यवस्थापन गरिरहेका छौं । यही विधामा रहेर अध्ययन, अनुसन्धान पनि गरिरहेका छौं र कसरी राम्रो गर्न सकिन्छ भनेर त्यही अनुसारको व्यवस्थापन गरेका छौं । उच्च जोखिम अवस्थाको छुट्टै वार्ड नै बनाई उपचार सेवामा मोनिटर राखेर केन्द्रित गरेका छौं ।

एचडीयु पनि खोलेर गर्भावस्थामा दिनुपर्ने धेरैभन्दा धेरै सेवा दिई विशेष निगरानीमा भर्ना गरेर राख्छौं । धुलिखेल अस्पतालले यो वर्षदेखि विस्तार गरेको यो नयाँ विधा अर्थात् नयाँ योजना र सोचसहितको काम हो ।उच्च जोखिम अवस्थाका गर्भवतीको उचित उपचारका लागि सञ्चालनमा ल्याइएको फेलोसिप कस्तो हो र यसको काम के हो ?

एकजना फेलोलाई फेलोसिप दिइन्छ र उहाँले २ वर्षको कोर्स गर्नुपर्छ । उहाँले विशेष गरी उच्च जोखिम अवस्थाका गर्भवतीमा नै केन्द्रित भएर फेलोसिप गर्नुहुन्छ र व्यवस्थापन गर्नुहुन्छ । मैले उच्च जोखिम अवस्थाका गर्भवतीको व्यवस्थापनका विषयमा ८ वर्षअघि फेलोसिप गरेकी हुँ । अहिले धुलिखेल अस्पतालमै उच्च जोखिम अवस्थाका गर्भवतीका लागि फेलोसिप शुरु गरेर काम गर्न थालिएको छ । नेपालका लागि उच्च जोखिम अवस्थाका गर्भवतीमा उच्च चुनौती नै हुन्छ ।

पहिलाभन्दा अहिले गर्भवतीहरुमा उच्च जोखिम अवस्था बढेको हो ? यदि हो भने यसको कारण के होला ?

पक्कै पनि बढेको छ । उच्च जोखिम अवस्थाको मूल कारण जीवनशैली, खानपान नै प्रमुख भएकाले यो बढ्नेभन्दा घट्ने सम्भावना अत्यन्तै कम छ । त्यसैले हामीले भविष्यमा हुन सक्ने जोखिम अवस्थाको बारेमा अहिले नै तालिम दिने र तालिमप्राप्त जनशक्तिबाट सजग बनाउन सक्यौं भने धेरै राम्रो हुन्छ । यस्तो क्रिटिकल कन्डिसनमा भएका गर्भवतीलाई कुनै पनि बेला जे पनि हुन सक्छ । त्यस्तो अवस्थामा मेडिकल कन्डिसन्सले जटिल बनाएको छ भने भोलि जाऊँला, पर्सि जाऊँला भनेर बस्नुहुँदैन । कतिपयलाई ‘तपाईंलाई राम्रो हुँदैन’ भनी रिफर गरेर पठाइएको हुन्छ । उहाँहरुलाई स्वस्थ आमा र स्वस्थ बच्चा दिन सक्दा हामी आफैंलाई एकदम खुशी लाग्छ ।

एउटी आमालाई बचाउनु भनेको एउटा घरलाई बचाउनु हो । आमालाई केही भयो भने भर्खर जन्मेको सन्तान र परिवारको अवस्था कस्तो हुन्छ ? गर्भवती अवस्थामा मधुमेह, उच्च रक्तचाप, पिसाबको संक्रमण, योनीको संक्रमण, रगतको संक्रमणजस्ता समस्या हुन्छन् । त्यसबाहेक गर्भमा रहेको बच्चालाई उत्तिकै जोखिम हुन्छ । गर्भमा आजसम्म चलेको बच्चा भोलि चल्दैन । चिकित्सककोमा पुग्दा बच्चा पहिल्यै मृत्यु भैसकेको हुन्छ । आमाको परीक्षण गर्दा मधुमेह भएको पाइन्छ । यस्तो समस्यालाई पहिला नै थाहा पाउनका लागि स्क्रिनिङ पनि गर्छौं ।

 

गर्भवती भएको कति हप्तामा स्क्रिनिङ गरिन्छ ?

हरेक गर्भवती महिलालाई २४ देखि २८ हप्तामा मधुमेहका लागि स्क्रिनिङ गर्छौं । मधुमेह छ÷छैन पत्ता लगाउँछौं । त्यस्तै गरी थाइरोइडमा पनि केन्द्रित गरेका छौं । हाइपोथायरोइडिज्म हाइपोथायरोइडिज्मलाई पनि युनिभर्सल स्क्रिनिङ नै गर्छौं । गर्भावस्थामा आएका हरेक महिलालाई यो परीक्षण गराइन्छ । धेरै महिलाहरुमा थाहै नपाई हाइपोथायरोइडिज्म देखिएको छ । यस्तो समस्या भएका कतिपयको गर्भपतन हुने, उच्च रक्तचाप हुने, बच्चा जन्मिने समय हुनुअगावै साल छुट्टिने र त्यसपछि बच्चाको मृत्यु हुने हुन्छ । पहिला नै समस्या पहिचान भएमा सामान्य अवस्थामा ल्याएर बच्चालाई बचाउन सकिन्छ र आमा एवं बच्चामा हुने जोखिमलाई कमी गर्न सकिन्छ ।

बच्चाको हुनुपर्ने जति तौल नबढ्नुको कारण के हो ?

हो, यो समस्या धेरै छ । गर्भावस्थामा तौल कम हुने बच्चाहरुमा ठूलो समस्या देखिन्छ । बच्चा नबढ्नुको कारण खोजेर सुधार ल्याउन सकिन्छ । त्यसै गरी बच्चा बस्ने घरमा जुन मात्रामा पानी हुनुपर्ने हो त्यो नभएको अवस्थामा त्यसलाई पनि व्यवस्थापन गर्छौं । जोखिम बढ्नु, डिटेक्ट गर्नु भनेको आमा र बच्चाको स्वास्थ्यमा भएको समस्यालाई पत्ता लगाई उपचार गरेर स्वास्थ्य राम्रो पार्नु पनि हो ।

कतिपय गर्भवतीको गर्भमै पानी कम भएर नर्मल बच्चा जन्माउन कठिन भइरहेको भनिन्छ, यसको व्यवस्थापन कसरी हुन्छ ?
यस्तो अवस्था हुन सक्छ तर व्यवस्थापन गर्न सकिन्छ । हाम्रो चाहना भनेकै उच्च जोखिम अवस्थालाई सुधार ल्याउन सकियोस् भन्ने नै हो । मंगलबार र शुक्रबार उच्च जोखिम अवस्था केन्द्रित क्लिनिक नै गर्छौं । यदि गर्भवती उच्च जोखिम अवस्थामा हुनुहुन्छ भने उहाँको फाइलमै उच्च जोखिमको छाप लगाउँछौं ।

यसो गर्नाले उहाँहरुको स्पेसल उपचार हुन्छ । हामीले शुरु–शुरुमा यसो गर्दा केही बिरामी डराएको पनि पाइयो तर डराउनुपर्दैन । चिकित्सकले बिरामीको अवस्था पेपर हेर्नासाथै पहिचान गरेर प्राथमिकतामा राख्न सजिलो होस् भन्ने उद्देश्यले यसो गरिएको हो । यसो गर्नाले गर्भवती जुन ठाउँमा पुगे पनि जोखिमको समाधानमा उपचार केन्द्रित हुन्छ । हामी चिकित्सकलाई पनि उहाँको र बच्चाको अवस्था राम्रो हुँदा सन्तुष्टि मिल्छ ।

बाल तथा मातृ मृत्युदर घटाउन यो प्रक्रियाले कत्तिको मद्दत गर्छ ?

यो सेवाले थप मद्दत पुग्छ । यसो गर्दा डिटेक्सन हुन्छ । उच्च जोखिम अवस्था केन्द्रित हुनु धेरै राम्रो हो । समस्या आइसकेपछि व्यवस्थापन गर्न स्पेसल वार्डमै राख्छौं । साथै उहाँलाई राम्रोसँग सम्झाएर कहिले, कसरी अस्पताल आउने, के गर्न हुन्छ, के गर्न हुन्न, के खान हुन्छ, के खान हुन्न भन्ने सबै सिकाएर पठाउँछौं । अर्को हाई डिपेन्डेन्सी युनिट छ । त्यसबाट पनि विशेष सेवा दिइन्छ ।

नयाँ कार्यक्रमका बारेमा गर्भवती तथा परिवारलाई बुझाउन कत्तिको कठिन छ ?

जनचेतनाको स्तर बिस्तारै वृद्धि हुँदै गएको त छ, तर यसमा अझै केही मेहनत गर्नुपर्ने देखिन्छ । गर्भवती महिलालाई मात्र नभई उहाँसँग साथमा आउने श्रीमान्, सासू, नन्द, आमा जो हुनुहुन्छ उहाँहरुलाई पनि राखेर परामर्श गर्छौं । समस्या के हो र उपचार नगरे के हुन्छ, गर्दा के हुन्छ भन्ने बुझाउँदा बुझ्नुहुन्छ । मधुमेह छ कि छैन भनेर गर्भवतीलाई परीक्षण गर्नुका साथै परामर्श दिँदै खानाको चार्ट नै उपलब्ध गराउँछौं । खानपान, व्यायाम, बच्चाको मुटुको जाँचलगायतका विषयमा परामर्श गरिन्छ ।

गर्भवती महिलाको उच्च जोखिम अवस्थाको लक्षण कति हप्तादेखि देखिन थाल्छ ?

मधुमेहको २४ देखि २८ हप्तामा परीक्षण गर्छौं । यो सेवा धुलिखेल अस्पतालमा सन् २००९ देखि नै शुरु गरेका थियौं । त्यति बेला गर्भवतीमा मधुमेह हुनेको संख्या शून्य दशमलव ७५ प्रतिशत थियो । दुई वर्षअघि पुनः परीक्षणलाई निरन्तरता दिँदा अहिले ४ प्रतिशतमा देखिएको छ । यो अत्यन्तै बढेको छ । थाइराइड पनि त्यस्तै छ । गर्भवती महिला पहिलोपटक परीक्षणका लागि अस्पताल आउनासाथै यसको परीक्षण गर्छौं । यसको कारण त्यति बेलै पहिचान गर्न सके उपचार हुन्छ । समयमै उपचार गर्न नसके गर्भपतन हुन्छ ।

आमालाई हाइपोथायरोइडिज्म छ भने बच्चामा हुँदैन तर मन्द बुद्धिको हुन्छ । धेरै गर्भवतीमा थाइराइड देखिएकाले परीक्षण गरी समयमै उपचार गर्नु नै बुद्धिमानी हुनेछ । आमाले थाइराइडको औषधि खाइरहेको छ भने बच्चा जन्मेको ३ दिनपछि बच्चाको पनि थाइराइड परीक्षण गरिन्छ । यदि बच्चामा कुनै समस्या देखियो भने तत्काल उपचार शुरु गर्छौं । यसले दोहोरो फाइदा हुन्छ ।

उच्च रक्तचाप पनि नियमित परीक्षण गरेर व्यवस्थापन गर्न सकिन्छ । सबैलाई औषधि चलाउनुपर्छ भन्ने हुन्न, त्यसैले भर्ना गरेर हेर्छौं । उच्च रक्तचाप भएका आमा र बच्चा दुवैलाई जोखिम हुन्छ । यस अवस्थामा साल छुट्टिन थाल्छ । यसो हुनुको प्रमुख कारण साल र पाठेघरको बीचमा रगत जम्न थाल्नु हो । त्यसपछि बच्चाले सालबाटै प्राप्त गर्ने अक्सिजन नपाएर बच्चाको मृत्यु हुन्छ । आमालाई पनि उच्च जोखिम हुने, दिमागको नसा फुट्ने, एट्लान्सिया हुने हुनाले यस्तो अवस्थामा आमा र बच्चा दुवैलाई उच्च जोखिम हुन्छ ।

धेरैले नर्मल बच्चा जन्माउने भन्दा अपरेसन (सीएस) गर्न रुचाउँछन्, नर्मल र सीएसमा कुन राम्रो हो ?

नर्मलजस्तो राम्रो अरु हुनै सक्दैन । तर राम्रो हो भने सबैलाई किन नगराउने त भन्ने लाग्न सक्छ । कतिपय अवस्थामा बच्चा निस्कने घर सानो हुनु, बच्चाको टाउको ठूलो हुनु, आमाको शारीरिक अवस्था कमजोर हुनुजस्ता कुराले आमा र बच्चा दुवै जोखिममा भएको अवस्थामा सिजेरियन गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्