महिला स्वास्थ्यमा इकोनको दुष्प्रभाव



श्रीरामसिंह बस्नेत

एक परिचित मित्रको औषधि पसलमा केहीबेर गफिएर बसिरहेको थिएँ । एउटी २०-२१ वर्षीया केटी औषधि पसलमा आइन् र औषधि विक्रेतासँग कुनै औषधि मागिन् । मेरो आँखाले त्यो औषधि ‘इकोन’ भनेर ठम्यायो । उनी गएपछि मैले मित्रलाई जिज्ञासावश सोधें– ‘यो औषधि कत्तिको बिक्री हुन्छ ?’ उनले अक्सर बिक्री हुने औषधिमध्येमै पर्ने बताए र भर्खरै यो औषधि लिएर जाने केटीले नौ–दश दिनअघि पनि त्यही औषधि लगेको बताए । म एकछिन्न जिल्ल परें । जिल्ल पर्नुपर्ने कारण थियो, त्यो औषधिको कसरी घातक दुरुपयोग भइरहेको रहेछ भन्ने बुझेर ।

इकोन के हो ?

इकोन (ICON), आइपिल, आइ–फ्री, इ–७२, म्याक्स–७२ आदि नामधारी यी औषधि वास्तवमा आपत्कालीन गर्भनिरोधक औषधि हुन् । इकोन इमर्जेन्सी कन्ट्रासेप्टिभको छोटकरी नाम हो । खासमा यो बलात्कार, अदम्य यौन आवेग, हाडनाता यौनसम्बन्धजस्ता गम्भीर यौन भूल, गर्भनिरोधक औषधि वा उपाय प्रयोग गर्न नसकिएको विशेष परिस्थिति आदिमा यौन संसर्ग हुँदा गर्भधारण नहोस् भन्ने उद्देश्यले सेवन गरिने औषधि हो । योनि–लिङ्ग यौन सम्पर्क भएको ७२ घण्टाभित्र महिलाले यो चक्की औषधि खाएमा गर्भ रहँदैन । तर यो गर्भनिरोधकको नियमित औषधि भने होइन ।

अमेरिकामा आविष्कार भई सन् २००९ देखि यो औषधि विश्वबजारमा आएको हो । नेपालमा यो औषधि व्यापक प्रचलनमा आएको करिब १२ वर्षजति भयो । असुरक्षित वा आपत्तिजनक यौन संसर्ग भएको ७२ घण्टाभित्रै यो औषधि खाएमा गर्भधारण हुने सम्भावना टरेर जान्छ र महिलाले कुनै विषम परिस्थितिको सामना गर्नुपर्दैन । यसले गर्भपतनसम्म पुग्नुपर्ने बाध्यताबाट बचाउँछ ।

तर यहाँनिर चिन्ता र आपत्तिको कुरो के छ भने, त्यस्तो परिस्थितिका लागि मात्र बनाइएको आपत्कालीन औषधिलाई आजभोलि परिवार नियोजन वा गर्भनिरोधको सबैभन्दा सहज साधन मानेर प्रयोग गर्न थालिएको छ । यो औषधि अत्यन्तै कडा रसायनहरुबाट बनेको हुन्छ, जसले महिलाको हर्मोनलगायत प्रजनन स्वास्थ्यसँग सम्बन्धित आन्तरिक प्रणालीहरुमा सोझै र गहिरो असर पार्दछ ।

पटक–पटक यो औषधि प्रयोग गर्ने महिलाको निकट भविष्यमा प्रजनन स्वास्थ्यका साथै समग्र स्वास्थ्य अवस्थामा जटिल दुष्प्रभाव पर्ने अवश्यम्भावी छ ।

अहिले लोकलाजबाट जोगिन इकोनको भरमार प्रयोग गरिरहेका महिलाहरुले भविष्यमा अवश्य नै पछुताउनुपर्नेछ ।

लिभिङ टुगेदर, इकोन रेगुलर !

जानकारहरुका अनुसार ‘लिभिङ टुगेदर’ जोडीमा यो औषधि निकै लोकप्रिय छ । धेरैजसो अविवाहित युवती, पति टाढा रहेका विवाहित महिला, किशोरी छात्राहरु र गर्भनिरोधका अन्य स्वाभाविक उपायहरु अपनाउन मन नपराउने वा झन्झट मान्ने विवाहित महिलाहरुसमेत यस औषधिको प्रमुख उपभोक्ता रहने गरेका औषधि विक्रेताहरु बताउँछन् ।

यो औषधि किन्न डाक्टरको प्रेस्क्रिप्सन नचाहिने र मूल्य पनि सर्वसाधारणको पहुँचभित्रकै (रु. १०० भन्दा पनि कम) भएकाले सहजरुपमा उपलब्ध हुने गरेको छ । शहरी मात्र होइन, ग्रामीण भेगका न्यून शिक्षित महिलाहरुसमेत ‘घण्टे चक्की’ भन्दै यही औषधि लिन आउने गरेको औषधि विक्रेताहरु बताउँछन् ।

कन्डम प्रयोग गर्न नरुचाउने पुरुषहरु आफ्नी यौन सहभागीलाई यही औषधि सेवन गर्न प्रेरित गर्छन् भने नियमित पिल्स, तीन महिने सुई, स्थायी बन्ध्याकरण आदिलाई झन्झट ठान्ने महिलाहरुका लागि पनि यौन संसर्ग भएको केही घण्टाभित्र खाए पुग्ने यही औषधि प्यारो हुन गएको छ ।

यो औषधि लोकप्रिय हुन थालेपछि कन्डमको बिक्री वितरण निकै घटेको अनुभव आफ्नो पसलमा कन्डम पनि बेच्न राखेका व्यापारीहरुको छ । विवाह नगरीकन सँगै बस्ने तर निर्बाध यौनसुख लिन चाहने जोडीहरुका बीच ‘लिभिङ टुगेदर, इकोन रेगुलर’ को जीवनशैली प्रचलित हुन गएको पाइन्छ ।

इकोन दुरुपयोगले पार्ने असर

इकोन, आइपिलजस्ता कडा असरदार औषधिहरुलाई गर्भनिरोधकको नियमित औषधिजस्तै प्रयोग गर्दा ती महिलाले तत्कालीन र दीर्घकालीन रुपमा भोग्नुपर्ने समस्या कम भयावह छैन ।

दीर्घकालीन असरहरु:दीर्घकालीन असरमा विशेष गरी त्यस्ता औषधि धेरै पटक सेवन गर्ने महिलाहरुमा पछि बच्चा जन्माउन चाहँदा पनि गर्भ नरहने, बच्चा जन्मिए पनि ज्यादै कमजोर वा विकलांग जन्मने, रजश्वलामा गडबडी हुने, छिट्टै रजोनिवृत्त हुने, डिम्ब निर्माण र निष्कासनमा समस्या हुने, पाठेघरमा विभिन्न असर पर्ने, औषधिमा रहेको हर्मोनको प्रभावले मानसिक समस्यासमेत आउने, यौनचाहनामा अस्वाभाविक ह्रास आउने, आँखा धमिलो देखिने, स्वाँस्वाँ हुने, स्तन दुख्ने, हात दुख्ने, छालामा एलर्जी हुनेलगायतका जटिल दीर्घकालीन समस्याहरु देखा पर्छन् ।

विगतमा यो औषधि पटक–पटक प्रयोग गरेका महिलाहरुमा त्यसको प्रतिकूल असर अब स्पष्टरुपमा देखिन थालेको स्त्रीरोग विशेषज्ञहरुको अनुभव छ । नेपालमा यो औषधिको असरबारे कुनै बृहत् अनुसन्धान भएको त पाइँदैन । तर आफ्नो प्रजनन स्वास्थ्यमा जटिल समस्याहरु लिएर आउने अधिकांश महिलाहरुले विगतमा आफूले उक्त औषधि पटक–पटक प्रयोग गर्ने गरेको बताउने गरेका उदाहरण पाइन्छन् ।

तत्कालीन असर: तत्कालीन असरमा यो औषधि सेवन गरेको केही घण्टाभित्रै रिंगटा लाग्ने, बान्ता हुने, पेट असह्य दुख्ने, टाउको दुख्ने, शरीर शिथिल भएका महसुस हुने, रजश्वलामा अत्यधिक वा अति न्यून रक्तस्राव हुनेजस्ता अनपेक्षित समस्या भोग्नुपर्ने हुन्छ । उच्च रक्तचाप, मधुमेह, मुटुसम्बन्धी समस्या, थाइराइड आदि समस्या भएका वयष्क महिला र कम उमेरका किशोरीहरुमा पर्ने असर झन् भयावह हुन्छ । त्यसैले क्षणिक यौनसुख प्राप्तिको चाहनाले भविष्यमा अकल्पनीय दुःख व्यहोर्न पर्ने स्थिति आउन नदिन महिलाहरुमा सचेतना अत्यन्तै आवश्यक छ ।

महिला नै चनाखो हुनुपर्ने

यौनको मामलामा पुरुषवर्ग अक्सर स्वार्थी हुन्छन् । आफ्नी यौन साथीको स्वास्थ्यमा पर्न सक्ने असरप्रति संवेदनशील हुने पुरुषहरु कमै मात्र पाइन्छन् । उसलाई त चाहेको बेलामा निर्बाध यौनसुख पाए पुग्छ । त्यसैले यसमा महिला नै चनाखो हुनु जरुरी छ । आफ्नो स्वास्थ्यप्रति पूर्ण सचेत रहेर पनि आफ्नो र यौन साथीको चाहना पूरा गर्न सकिन्छ, त्यसका लागि महिलाले जीवन नै दाउमा लगाउँदा पछि पश्चात्तापबाहेक आफूसँग अरु केही बाँकी नरहने अवस्था आउन सक्छ ।

परापूर्व कालदेखि नै मानव समाजले अत्यन्त गम्भीरतापूर्वक खोजी गरिरहेको दुई उपाय हुन्– गर्भ नरहने गरी निर्बाध यौनसुख प्राप्त गर्ने उपाय र अर्को असिम यौन क्षमता दिने उपाय । परापूर्व कालमा जडीबुटीदेखि आजको युगमा भियग्राको सेवनसमेत यही अन्त्यहीन खोजीको उपज हो ।

यो खोजी अनवरत जारी छ र कहिल्यै रोकिने पनि छैन । किनकि मानवजातिमा यौनको तृष्णा असीमित छ । यौनसुखको खोजी एक प्रकारको मृगतृष्णा हो, तर यो मृगतृष्णाबाट मानवजाति कहिल्यै मुक्त हुनेछैन । अपवादका रुपमा केही अत्यन्तै न्यून प्रतिशत मानिसले यौन चाहनामाथि विजय प्राप्त गर्न सक्नु बेग्लै कुरा हो ।

चिकित्सा विज्ञानमा भएको अकल्पनीय प्रगतिले आजका मानिसले असम्भवलाई पनि सम्भवमा परिणत गरिरहेका छन् । तर मानिस जति चेतनशील छ त्यति नै स्वार्थी र मूर्ख पनि छ । यही प्रवृत्तिका कारण उसले प्रकृतिले दिएको वरदान मात्र होइन चिकित्सा विज्ञानले दिएको उपलब्धिलाई समेत क्षणिक स्वार्थको बसमा परेर अभिशापमा परिणत गरिरहेको छ । शरीर परिपक्व भएपछि यौन चाहना हुनु स्वाभाविक र प्राकृतिकसमेत हो ।

तर यौन सोझै मानिसको शारीरिक, मानसिक र सामाजिक पक्षसँग गाँसिएको विषय पनि हो । सामाजिक पक्षमा सुरक्षित रहन खोज्दा शारीरिक पक्षमा आघात पुग्न गयो भने जीवनभर पीडा भोग्नुपर्ने हुन्छ । तसर्थ यौनलाई हरेक दृष्टिले जोखिमरहित तरिकाले व्यवस्थित गर्न सक्नुमा नै जीवनको सार्थकता निर्भर गर्दछ ।

(वरिष्ठ पत्रकार बस्नेतले लामो समयदेखि स्वास्थ्य क्षेत्रमा कलम चलाइरहनुभएको छ ।)

प्रतिक्रिया दिनुहोस्