धूमपान : नखाएको विष पनि लाग्छ



नलिनीले कहिल्यै धूमपान गरिनन् तर उनका पतिले धूमपान गर्दा निस्केको धुवाँ उनले सास लिँदा शरीरमा प्रवेश गथ्र्यो । लामो समय बितेपछि त्यो धुवाँले नलिनीको स्वास्थ्यमा पारेको असर देखियो, उनलाई घाँटीको क्यान्सर भयो ।

नलिनी एउटा उदाहरण मात्र हुन् । उनीजस्ता लाखौँ मानिस हरेक वर्ष अप्रत्यक्ष धूमपानको चपेटामा परिरहेका छन् । विश्व स्वास्थ्य संगठनले हरेक वर्ष १२ लाख मानिस अप्रत्यक्ष धूममान अर्थात् अरुले बिँडी–चुरोट खाँदा निस्केको धुवाँको कारण रोग उत्पन्न भई मृत्युको मुखमा पर्ने गरेका छन् ।

७५ वर्षीया नलिनी सत्यानारायण भन्छिन्, ‘अहिले म नाकबाट सास फेर्न सक्तिन । डाक्टरले घाँटीमा बनाइदिएको प्वालबाट सास फेर्नुपर्छ ।’नलिनीको ३३ वर्षको वैवाहिक जीवनमा अप्रत्यक्ष धूमपान निरन्तर भइरह्यो । उनका पति लगातार चुरोट खाइरहन्थे । पतिको निधनको पाँच वर्षपछि नलिनीलाई घाँटीको क्यान्सर देखियो ।

नलिनी भन्छिन्, ‘मेरो पति चेन स्मोकर हुनुहुन्थ्यो । उहाँले चुरोट खाँदा निस्केको धुवाँले मलाई पनि असर गर्छ र यो यति भयानक पनि हुनसक्छ भन्ने कुरा मलाई थाहा थिएन । म हरबखत पतिको स्वास्थ्यको चिन्ता गर्थे र धूमपान गर्न रोक्ने प्रयास गर्थें तर उहाँ मान्नुहुन्नथ्यो, म असफल हुन्थेँ ।’ नलिनीले आफ्नी नातिनीलाई कथाहरु सुनाउने क्रममा आफ्नो आवाज अलि खस्रो खालको तथा असामान्य भइरहेको थाहा भयो ।

केही समयपछि नै उनलाई सास रोकिएलाजस्तो भयो र बोल्न कठिनाइ हुन थाल्यो । अस्पतालमा परीक्षण गर्दा उनको छातीमा क्यान्सर भएर घाँटीसम्म पुगेको थाहा भयो । त्यसपछि डाक्टरहरुले नलिनीको स्वर ग्रन्थि र थायराइड ग्रन्थि निकाले । नलिनी भन्छिन्, ‘त्यस बेला म बोल्न सकिरहेको थिइन, यसले मलाई निकै निरास बनाएको थियो । पतिको धूमपानको कारण मलाई क्यान्सर भएको कुरा मैले बुझेँ ।’ वास्तवमा धूमपान गर्दा धुवाँको माध्यमबाट विषालु रसायनको धेरै अंश बाहिर निस्कन्छ र नजिकै रकेको मानिसले सास लिँदा उनको शरीरमा प्रवेश गर्छ ।

डाक्टरहरुले भने, ‘नलिनी भाग्यमानी महिला हुन्, जसले गर्दा उनलाई राम्रो उपचार प्राप्त भयो र भाइब्रेसन भ्वाइस बक्सको मद्दतबाट उनी फेरि बोल्न सक्ने भइन् ।’ विश्व स्वास्थ्य संगठनका अनुसार धूमपान गर्नाले हरेक वर्ष कररिब ८० लाख मानिसको मृत्यु हुने गरेको छ ।

यसमध्ये करिब १२ लाख मानिसको चाहिँ अप्रत्यक्ष धूमपान अर्थात् अरुले धूमपान गर्दा उडेको धुवाँका कारण रोग लागेर मृत्यु हुने गरेको छ । विश्वमा सबैभन्दा बढी सुर्तीजन्य पदार्थ उत्पादन गर्ने र उपभोग गर्ने दोस्रो नम्बरमा रहेको भारतमा हरेक वर्ष करिब १३ लाख ५० हजार मानिसको मृत्यु हुने गरेको छ ।

‘प्रत्यक्ष होस् वा अप्रत्यक्ष, कुनै पनि प्रकारको धूमपानले मानिसको ज्यान जोखिममा पारिदिन्छ । कुनै पनि रुपमा धूमपान सुरक्षित हुँदैन’, विश्व स्वास्थ्य संघको भनाइ छ ।संघका अनुसार अप्रत्यक्ष धूमपानको चपेटामा पर्नेहरुको शरीरमा पनि असंख्य हानिकारक रसायन प्रवेश गर्छन् ।

ती रसायनमध्ये ७० प्रकारका रसायन क्यान्सरको कारण बन्न सक्छन् । अप्रत्यक्ष किसिमको धूमपान गर्न बाध्य मानिसहरुमा धूमपान नगर्ने मानिसहरुको तुलनामा फोक्सोको क्यान्सर हुने सम्भावना २० देखि ३० प्रतिशतसम्म वृद्धि हुन्छ । यस्तै गरी यस किसिमको धूमपानबाट मुटुलाई पनि खतरा पुग्छ । एक घण्टा अरुले गरेको धूमपानको धुवाँको प्रभावमा पर्दा मुटुमा रगत पु-याउने धमनीको भित्तालाई क्षति पु-याउन सक्छ, जसका कारण हृदयघातको सम्भावना वृद्धि हुन्छ ।

विश्व स्वास्थ्य संगठनले धूमपानलाई पूर्णरुपमा प्रतिबन्ध लगाउनुपर्ने विषयमा वकालत गरिरहेको छ । संघका अधिकारीका अनुसार पूर्णरुपमा धुवाँरहित वातावरण नै धूमपान नगर्नेहरुको स्वास्थ्यको सुरक्षा गर्ने प्रभावकारी उपाय हो । त्यसकारण कसैलाई पनि आफ्नो र आफ्ना बच्चाहरुको नजिक धूमपान गर्न दिनुहुँदैन । स्वस्थ हावामा बस्न पाउनु मानिसको मूलभूत अधिकार पनि हो ।

ग्राण्ड भ्यु रिसर्चको विश्लेषण अनुसार सन् २०२१ मा सुर्तीजन्य वस्तुको उत्पादन ८५० अर्ब डलर बराबरको थियो । सो अध्ययन अनुसार एसिया र अफ्रिकामा धूमपान गर्नेहरुको संख्या तीव्ररुपमा भइरहेकाले सुर्तीजन्य वस्तुका उद्योगहरु पनि फस्टाउँदै गएका छन् । ती उद्योगपतिहरुले सुर्तीजन्य वस्तुको उत्पादनसम्बन्धी नियमन गर्ने संस्थाहरुलाई पनि प्रभाव पारेर धूमानलाई पूर्ण निषेध गर्न अवरोध गरिरहेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार अप्रत्यक्ष धूमपानका कारण विश्वभरमा हरेक वर्ष ६५ हजार केटाकेटीको मृत्यु हुने गरेको छ । साथै अप्रत्यक्ष धूमपानको कारण केटाकेटीहरुमा श्रवण शक्ति कम हुँदै जान्छ र पछि बहिरो हुन पनि सक्छ । उनीहरुमा श्वासप्रश्वासको रोग हुने सम्भावना ५० देखि १०० प्रतिशतसम्म बढ्न सक्छ । यसले दम बढाउन र अचानक मृत्यु हुने खतरा पनि वृद्धि गर्छ ।

अप्रत्यक्ष धूमपानको चपेटामा पर्नेहरुलाई बचाउने प्रमुख उपाय भनेको धूमपानलाई प्रतिबन्ध लगाउनु नै हो । विभिन्न अध्ययन प्रतिवेदनका अनुसार अहिले पुरुषहरुमा धूमपान कम हुँदै गएको छ भने महिलाहरुमा बढ्दै गएको छ । युवतीहरुलाई धूमपानको लत बस्नुअघि नै रोक्नुपर्छ, यसको लत लागेपछि छुटाउन कठिन हुन्छ ।हैदरावादकी नलिनी अहिले घाँटीमा बनाएको प्वालबाट सास लिने गर्छिन्, उनी अब नरम खाना मात्र खान सक्छिन् । तर पनि उनले आफूलाई क्यान्सर विजेताको रुपमा जीवनसँग तालमेल गरिरहेकी छन् ।

उनले हालै सनाई बजाउन पनि सिकिन् । उनी स्कुल, कलेज र सामुदायिक बैठकहरुमा गएर आफ्नो कथा सुनाउँदै अप्रत्यक्ष धूमपानको गम्भीर असरबारे बताउने गर्छिन् ।नलिनीको आवाज हराएको थियो र अनेक समस्याहरुको सामान गर्नुपरेको थियो । घाँटीमा प्वाल पार्नुपरेको छ ।

तर पनि उनलाई आफ्नो पतिप्रति कुनै गुनासो छैन । उनी भन्छिन्, ‘यससम्बन्धमा मलाई पतिप्रति कुनै नराम्रो भाव कहिल्यै आएन । मेरो रोगबारे कुरा गर्ने छरछिमेकप्रति पनि कुनै गुनासो छैन । यो समस्यालाई लिएर कसैले रोएर फाइदा छैन । यसरी कुनै समस्या हल हुँदैन । मैले वास्तविकतालाई स्वीकार गरेकी छु । समस्यामा परेका सबैले यसै गर्दा राम्रो हुन्छ भन्ने मलाई लाग्छ ।’

स्रोत : बीबीसी न्युज

प्रतिक्रिया दिनुहोस्