हिँड्न खोज्दै एउटै गर्भका नौ शिशु



करिब एक वर्षअघि एउटै गर्भबाट जन्मिएका नौजना शिशुहरु अहिले के गर्दै होलान् ? के तिनीहरु सवै बाँचे ? अहिले तिनीहरुको अवस्था के छ ?

पश्चिम अफ्रिकी देश मालीकी हलिमा सिसे नामक महिलाले गतवर्ष एकैचोटि नौजना बच्चालाई जन्म दिएकी थिइन् । उनी माली देशकी भए पनि बच्चालाई मोरोक्कोको एक अस्पतालमा जन्माएकी हुन् ।

जुलाई ३०, २०२१ मा २६ वर्ष पुगेकी हलिमा सिसेले एकैचोटि ९ वटा जीवित शिशुहरुलाई जन्म दिएर विश्व रेकर्ड नै कायम गरेकी थिइन् । यस्तो घटना ज्यादै नै दुर्लभ हुन्छ । उनले जन्माएका ९ जना शिशुमध्ये ४ जना छोरा र ५ जना छोरी थिए । यसअघि अष्ट्रेलियामा सन् १९७१ र मलेसियामा सन् १९९९ मा एक साथ नौ शिशुलाई जन्माइएको भए पनि सवै जीवित जन्मिएका थिएनन् । त्यसकारण नौ वटा बच्चालाई जीवितै जन्म दिने सिसे नै पहिलो थिइन ।

जन्मिएपछि यी शिशुहरुका लागि हरेक दिन करीव ७५ वटा डायपर र १०० बोतल दूध दिनु परेको थियो । अहिले त दूधको मात्रा बढाउनु परेकोछ । अपरेसन गरेर बच्चा जन्माउनु परे पनि गर्भधारण चाहिँ प्राकृतिक रुपमा नै भएको थियो ।

बच्चा जन्माउन लामो समय अपरेसन गर्नु परेको हुँदा सिसेको शरीरबाट रगत धेरै बगेकोले उनको ज्यान निकै जोखिममा परिसकेको थियो । बच्चाहरु परिपक्व नहुँदै ३० हप्तामा नै जन्मिएका थिए । शिशुहरु मध्ये सवैभन्दा कम तौल हुनेको एक पाउण्ड (४५४ ग्राम) मात्र थियो ।

उनको गर्भमा ९ वटा शिशु रहेको परीक्षणबाट देखिएपछि आमालाई स्वस्थ राख्दै शिशुहरुलाई पनि स्वस्थ रुपमा जन्माउनका लागि प्रसूति हुने समय नजिकिएपछि मालीको सरकारले उनलाई मोरोक्कोको सो अस्पतालमा लाने प्रबन्ध गरिदिएको थियो । त्यहाँ उनले नौ वटा स्वस्थ शिशुलाइ जन्माएकी थिइन् । यो घटना आश्चर्यजनक मात्र नभई निकै कठीन र जोखिमपूर्ण थियो । आमा र शिशुहरुको मृत्यु हुनसक्ने खतरा पनि थियो । मोरोक्कोको सरकाले यो जोखिमपूर्ण कार्यलाई सफलतापूर्वक सम्पन्न गर्न महत्व दिएर सघाएको थियो ।

आमा र शिशुहरुलाई अहिले पनि बच्चा जन्माएकै अस्पतालमा रेखदेखका साथ राखिएको छ । हाल एक वर्षपछि पनि २७ वर्षीय आमा सिसे र नौवटै बच्चाहरु स्वस्थ नै छन् । उनीहरुले बच्चाको एक वर्षे जन्म दिन पनि भब्यताका साथ मनाए । मालीको सेनामा काम गर्ने नौ शिशुहरुका बाबु अर्बीले विविसीलाई बताए अनुसार ती बच्चाहरु अहिले घुँडा टेकेर विस्तारै बामे सर्न थालेका छन् । कुनै बच्चाहरु भित्ता समाएर विस्तारै पाइला चाल्छन् भने कुनै बच्चा आफै बस्न सक्ने पनि भएका छन् । आमा सिसेको स्वास्थ्य पनि राम्रो अवस्थामा नै छ ।
स्रोतः विवीसी न्युज र एविसी न्युज

प्रतिक्रिया दिनुहोस्