‘जब हामी कसरी मर्दै छौँ भन्ने कुरा थाहा पाउँछौ, तब मात्र कसरी जिउने भन्ने कुरा बुझ्दा रहेछौँ । मलाई क्यान्सर भएको थाहा नहुँदासम्म खुशी भनेको सम्पत्ति र सफलताबाट प्राप्त हुन्छ भन्ने लागिरह्यो । मैले डाक्टरी पढेर करोडौँ रुपियाँ कमाएँ, महँगो कार, जमिन, बंगला जोडे ।
तर जीवनको अन्तिम घडीमा पुग्दा मलाई त्यसबाट वास्तविक खुशी प्राप्त भएन । कमाएको सम्पत्तिले मलाई बचाउन पनि सक्दैन, यस्तो सम्पत्तिको के काम ? यदि मैले पुनर्जीवन पाएँ भने फेरि पनि डाक्टर नै बन्नेछु, किनकि बिरामीले कस्तो पीडा भोगिरहेका हुँदा रहेछन् भन्ने कुरा बल्ल अहिले बुझेँ ।’
मानिसलाई झसङ्ग बनाउने यी भावुक मनोभाव व्यक्त गर्ने सिंगापुरका ख्यातिप्राप्त कस्मेटिक सर्जन डा. रिचर्डलाई सन् २०११ मा फोक्सोको क्यान्सर देखियो । त्यसको करिब १० महिनापछि ४० वर्षको उमेरमै उनी आफ्नो शरीर त्याग गर्न बाध्य भए ।
जीवनको अन्त्यतिर उनले जीवनको सिकाइ सुनाउँदै भनेका थिए, ‘जीवन छोटो छ भन्ने कुरा पहिले नै थाहा पाएको भए म अर्कै तरिकाले जिउँथेँ, आफ्नो भौतिक सुखको लागि भन्दा दुःखीहरुको खुशीको लागि समर्पित हुन्थेँ होला !’ चर्चित सिनेकर्मी तथा क्यान्सरविजेता मनिषा कोइरालाले एउटा कार्यक्रममा यस्तै आशयको मन्तव्य राख्दै भन्नुभएको थियो, ‘आर्यघाटमा क्रियाकर्म भइरहेको देखेर मलाई जीवन भनेको केही रहेनछ, सबैले एकदिन जानु नै पर्ने रहेछ, तर जानुअघि केही राम्रो काम गरौँ भन्ने भावना पलाएको छ ।’
ख्यातिप्राप्त मुटु सर्जन प्रा.डा. भगवान कोइरालाको धारणाले पनि यस्तै भावनालाई आत्मसात् गरेजस्तो लाग्छ । उहाँ भन्नुहुन्छ, ‘हाम्रो जीवन स्थायी होइन र छोटो पनि छ । पहिला मैले आफ्नै बारेमा धेरै सोचेँ होला, कसरी नाम कमाउने भन्ने भयो होला, तर अहिले मैले वास्तवमै महसुस गरेँ कि यदि आफूले आफैंलाई केन्द्रित गरेर काम गरियो भने खुशीभन्दा बढी सकसमा परिँदो रहेछ ।
आफ्नो समय वास्तविक खुशी पाउनका लागि भन्दा उपलब्धिहीन कुरा, विवाद, प्रतिस्पर्धा, नाम–दाम कमाउने मृगतिष्णामा नै बितिरहेको हुँदो रहेछ । यसले तनाव बढाउनेबाहेक केही गर्ने रहेनछ । बरु समुदायमा गएर मानिसहरुको बग्रेल्ती समस्या हेरेपछि आफ्ना समस्या बिर्सिंदो रहेछ ।
अरुको भलाइका लागि काम गर्दा एकदमै आनन्दको अनुभूति हुँदो रहेछ । अहिलेसम्मको मेरो जीवनबाट सिकेको कुरा यही नै हो ।’ प्रा.डा भगवान कोइरला
जीवनमा सिकेका यस्तै कुराहरुबाट प्रेरित भएर होला डा. कोइरालाले आफू र जनहितका लागि काम गर्ने उत्सुकता भएका केही व्यवसायीहरु मिलेर आफैँ केही रकम राखी सबैको सहज पहुँच हुने गरी सामुदायिक मोडलको बाल अस्पताल स्थापना गर्न सन् २०१७ मा नै काठमाडौं बाल स्वास्थ्य इन्स्टिच्युट (Kathmandu Institute of Child Health (KIOCH/‘किवच’) स्थापना गरेको ।
‘किवच’ अन्तर्गत काठमाडौंको बूढानीलकण्ठस्थित हेपाली हाइटमा २ सय बेडको उच्च गुणस्तरको सेवा दिने केन्द्रीय स्तरको बाल अस्पताल र सातै प्रदेशमा करिब ५० बेडको एक–एकवटा बाल अस्पताल स्थापना गर्ने योजना अनुसार काम शुरु भइसकेको छ । प्रदेश एक, झापाको दमकमा केही महिनापछि नै अस्पताल सञ्चालन हुने र गण्डकी प्रदेश सरकारले जमिन उपलब्ध गराउने भएकाले सो प्रदेशको पोखरामा पनि बाल अस्पताल निर्माण हुने भएको छ ।
‘नेपालका बालबालिकाका लागि एकीकृत रुपमा बहुविशेषता भएको उच्च गुणस्तरको स्वास्थ्य सेवा प्रवाह गर्ने यसको मूल उद्देश्य रहेको छ । नाफारहित किसिमले सञ्चालन गरिने यी अस्पतालहरुको सेवा शुल्क सरकारीभन्दा बढी नहुने र सेवा लिन आएकालाई पैसाको कारण त्यत्तिकै नफर्काउने लक्ष्य राखिएको’ किवचका अध्यक्ष प्रा.डा. भगवान कोइराला बताउनुहुन्छ ।
यससम्बन्धमा प्रा.डा. कोइरालासँग गरिएको कुराकानीको सार उहाँकै शब्दमा :
किन चाहियो बाल अस्पताल ?
नेपालमा १८ वर्षसम्मका बालबालिकाको संख्या झन्डै सवा करोड छ । अहिलेसम्म उनीहरुको उपचार काठमाडौंबाहिरका कतिपय ठूला अस्पतालमा पनि जनरल डाक्टरहरुबाट नै गर्ने गरिएको छ, बालबालिकाको लागि डेडिकेटेट बाल अस्पताल छैन । बच्चाहरुको मृत्युदर पनि तुलनात्मकरुपमा धेरै छ । अरु गरिब देशहरुको तुलनामा हामी सुधारोन्मुख भए पनि विकसित देशको तुलनामा नेपालमा बाल मृत्युदर एकदमै धेरै छ ।
एक सय जना बच्चा जन्मिदा ३ जना पाँच वर्ष नपुग्दै खुत्रुक्कै मर्छन् ।
करिब २ जना जतिचाहिँ एक वर्ष पनि बाँच्दैनन् । जन्मिएका बच्चा दुई–तीन प्रतिशतसम्म मर्ने भनेको ज्यादै नराम्रो हो । यदि बालबालिकाको समयमै रोग निदान र उपचार हुने व्यवस्था भए ठूलो संख्यामा बालबालिकालाई बचाउन सकिन्थ्यो ।
उनीहरु बाँचेको भए के हुन्थ्यो होला ? तिनीहरुको सम्भावनाबारे त हामी अन्दाज पनि गर्न सक्तैनौँ । त्यसतिर ध्यान पुगेको छैन, परिवारले समेत ‘खेरा गयो’ भनेरै चित्त बुझाउन खोज्छ, पछि सबैले बिर्सिंदै जान्छन् । बच्चाहरुको उपचारका लागि विभिन्न ठाउँका अस्पतालहरुमा तोकिएका डेडिकेटेड बेड धेरै नै कम छन् । कुल जनसंख्याको ४० प्रतिशत बच्चा छन् । यस अनुसार बच्चाहरुका लागि करिब १२ हजारजति बेड छुट्याइनुपर्ने हो तर आईसीयु बेडसमेत गरी २८ सयभन्दा कम छन् ।
नेपालको कुल बेड संख्या २८ हजार पनि जनसंख्याको आधारमा कम नै हो, त्यसमा भएका बेडको पनि समानुपातिक वितरण हुन सकेको छैन । विश्व स्वास्थ्य संघले प्रतिएक हजार बालबालिकाको लागि ५ वटा बेडको व्यवस्था हुनुपर्छ भन्छ । हामी त्यो भन्दा धेरै पछि परेका छौँ । अहिलेसम्म सरकारी बाल अस्पताल पनि एउटा मात्र छ । हाल उपलब्ध बच्चा केन्द्रित उपचार सेवा र बालबालिकाको आवश्यकताबीच परिरहेको ठूलो खाडल भर्नुपर्ने देखियो ।
बच्चाहरुको उपचार प्रौढहरुको उपचार गर्ने डाक्टरहरुले गरेर मात्र पुग्दैन
भन्ने अवधारणा अनुरुप ‘किवच’ स्थापना गरी स्तरीय बाल अस्पताल निर्माण कार्य अघि बढाइएको हो । यो राष्ट्रिय आवश्यकता पनि हो ।
तर स्वास्थ्य मन्त्रालयले त मातृशिशु मृत्युदर घटिरहेको भन्छ नि ?
देशले स्वास्थ्य क्षेत्रमा फड्को मार्ने काम नगरेको होइन । अन्तर्राष्ट्रिय पुरस्कार पनि पाएको छ । देशले खोप दिने कार्यमा राम्रो गरेको छ । करिब ९० प्रतिशत बच्चाहरुले खोप पाउँछन् । समुदायमा आधारित भएर बच्चाहरुलाई संक्रमणको उपचारका लागि तल्लो स्तरका स्वास्थ्यकर्मीलाई परिचालन गरी निमोनियाहरु बेलैमा उपचार गर्ने माहोल बनाइदिएको छ ।
गत २० वर्षमा मातृशिशु मृत्युदर पनि घटेको छ । तर यो सुधार अझै स्वीकार्य लेवलमा नपुगेकोले रोकथामका कार्यलाई जारी राख्दै अलि बढी प्रोएक्टिभ भएर बालउपचार केन्द्रहरुको संख्या र गुणस्तरमा वृद्धि गर्नुपर्ने आवश्यकता हामीले महसुस ग¥यौँ ।
मुटुको डाक्टरले मुटु अस्पताल नखोली बाल अस्पतालतिर कसरी ध्यान गयो ?
गंगालालमा म ८ वर्ष निर्देशक भएँ, त्यस अवधिमा अस्पताल पनि विकासको उत्कर्षमा पुगेको जगजाहेर छ । त्यो काम मैले सर्जन भएर भन्दा पनि हस्पिटल म्यानेजर भएर गरेको हो । हस्पिटल म्यानेजरको रुपमा मुटु अस्पताल हाँक्न सकिन्छ भने पिडियाट्रिक हस्पिटलको भिजिनरी हुन पनि त सकिन्छ होला !
म वयष्कहरुको मुटुरोगको विशेषज्ञका साथै बच्चाको मुटुको वशेषज्ञ पनि हुँ । विश्वको उत्कृष्ट इन्स्टिच्युटमा मैले यससम्बन्धी तालिम लिएको छु । अहिले पनि म वयष्कलगायत बालबालिकाको मुटुसम्बन्धी उपचार पनि गरिरहेको छु । आगामी दिनमा चाहिँ विशिष्टीकृत गरेर बच्चाहरुमै फोकस गर्ने लक्ष्य छ । साथै सेवाको गुणस्तर वृद्धिका लागि बच्चाहरुकै सब–स्पेसियालिटी सेवाको पनि व्यवस्था गर्ने योजना छ ।
हेपाली हाइटमा बनाउन आरम्भ गरिएको बाल अस्पताल भवनको मोडल
ठूलो मानिसलाई चाहिँ बीपी हाई हुँदा मुटुको डाक्टर नै चाहिने, क्रेटिनेन १.४ भन्दा बढी भयो भने नेफ्रोलोजिस्टकहाँ र दम भयो भने फोक्सोको डाक्टरकहाँ पठाउने चलन भइसकेको छ भने बच्चाको लागि चाहिँ किन सब–स्पेसियालिटी सेवा हुनु नपर्ने ? अब पनि यस्तो व्यवस्था गरिएन भने बालबालिका कलिलैमा मर्ने क्रम जारी नै रहन्छ, बाल मृत्युदर घटाउन सकिन्न । त्यसैले बालबालिकाका लागि केही रेफरल स्तरको अस्पताल हुन आवश्यक छ ।
बुढेसकालमा उमेर बढ्दै जाँदा विभिन्न थरीका नसर्ने रोगले सामात्छ भन्ने धेरैले बुझेका छन् र चासो पनि दिन्छन् । तर बच्चाहरुप्रति त्यति ध्यान पुगेको पाइन्न । हुनेखानेका गर्भवतीले राम्रोसँग खान पाउँछन् र बच्चा पनि प्रायः स्वस्थ जन्मिन्छन् । उनीहरुलाई रोग पनि कम लाग्ने भयो । तर गरिबका बच्चाहरु प्रायः जन्मिदै रोगी भएका हुन्छन् । पोषणको कमीले पटक–पटक रोग लाग्छ, उनीहरुलाई नै उपचारको पहुँच हुँदैन र छिट्टै मृत्यु हुन्छ । अनि बाबुआमाले ‘सानैमा खुत्रुक्क खेरा गयो’ भन्छन् । तिनको लागि बोलिदिने, सम्झिने मानिस पनि हुँदैन । हामीले किवचमार्फत गर्न लागेको काम आवाजविहीनहरुको आवाज बनिदिने पनि हो ।
सुविधा सम्पन्न अस्पतालमा गरिब बालबालिकाको सहज पहुँच कसरी होला त ?
गरिब र दुर्गम क्षेत्रका बच्चाहरुले पनि स्तरीय स्वास्थ्य सेवामा पहुँच होस् भन्ने अवधारणा अुनुरुप यो इन्स्टिच्युट स्थापना गरिएको हो । उनीहरुलाई उच्च गुणस्तरको सेवा सहुलियत रुपमा दिन नसकिने हो भने यस्तो अवधारणा नै ल्याइँदैनथ्यो । बरु प्राइभेटतिरै लागिन्थ्यो होला । तर त्यसरी त्यो गरिब वर्गले सेवा पाउन कठिन देखिएकाले आफ्ना अरु जिम्मेवारी पूरा गर्दै यसको लागि निद्रासमेत माया मारेर रातदिन खटिएको हो ।
सामान्यतया हामीले जनरल बेडहरु सबै सहुलियतपूर्ण गर्ने लक्ष्य बनाएका छौँ । कमसे कम सेवा लिन आएको गरिबलाई त्यत्तिकै नफर्काउने हाम्रो लक्ष्य छ । गंगालालमा हामीले जे गरेका थियौँ, उमेर तोकेर फ्री गर्ने र त्यो खर्चलाई सरकारले व्यहोरिदिने त्यही सिस्टमलाई यहाँ लागू गर्ने सोच अनुरुप सकारात्मकरुपमा काम अघि बढेको छ ।
कसै–कसैले त ‘यो डा. कोइरालाको रिटायर्डपछि जागिर खाने योजना हो’ पनि भन्छन् नि ?
कसैलाई त्यस्तो भ्रम परेको पनि हुन सक्छ । तर म स्पष्ट पार्न चाहन्छु कि यो संस्था पूर्णतः गैरनाफामूलक हो । मैले यो प्रोजेक्टबाट कुनै पारिश्रमिकको अपेक्षा गरेको छैन । कानुनतः यस अस्पतालको सञ्चालक समितिका सदस्यहरुले कुनै पारिश्रमिक लिन पाउँदैनन् । सञ्चालक समितिमा भएको विज्ञले बिरामीको अपरेसन गरेको छ भने उसले पनि त्यसको पारिश्रमिक लिन सरकारको पूर्वस्वीकृति लिनुपर्ने प्रावधान राखिएको छ । मैले मुटुको शल्यक्रिया गरेबापतको पैसा पनि समितिमा छउन्जेल लिन पाउँदिन । नियमानुसार पाउने पारिश्रमिक पनि म यही संस्थामा दिनेछु । यो मैले होसमा नै गरेको निर्णय हो ।
बाल अस्पताल बनाएर गरिबलाई पनि सहज पहुँच दिन स्रोतको व्यवस्था कसरी गरिन्छ ?
आर्थिक स्रोतको लागि व्यक्तिदेखि, संघसंस्था, फाउन्डेसनहरु, कम्पनीहरु, सीएसआरको कानुनी प्रावधान प्रयोग गरेर त्यहाँबाट पनि लिने प्रयास गरिनेछ । अन्तर्राष्ट्रिय व्यक्ति तथा संघसंस्था र नेपाल सरकारको सहयोग पनि हुन्छ । अहिले हामीलाई तिनै तहको सरकारबाट सहयोग उपलब्ध भएको छ ।
काठमाडौंको अस्पतालका लागि संघीय सरकारले ४२ रोपनी जग्गा लिजमा उपलब्ध गराएको छ । दमकको अस्पतालका लागि नेपाल रेडक्रसले लगभग तयारी अवस्थाको भवन दिएको छ । प्रदेश सरकारले पनि आफ्नो क्षेत्रमा अस्पताल सञ्चालनका लागि लिजमा जग्गा उपलब्ध गराउने प्रस्ताव गरेका छन् । नगदतर्फ शुरुको वर्षमै नेपाल सरकारको बजेटमार्फत एक करोड दिएको थियो । प्रदेश सरकारले यो वर्षको लागि ५ करोड र स्थानीय निकायले ४ करोड छुट्याएका छन् । यो सबै अनुदानका रुपमा उपलब्ध गराएको हो । बौद्धिक क्षेत्रलाई पनि परिचालन गरेर प्रत्यक्ष-अप्रत्यक्ष योगदान गराउने सोच बनाएका छौँ ।
म आफूले शुरुमा पनि केही रकम राखिसकेको छु । मैले घरायसी व्यवहारलाई न्यूनतम लेवलमा राखेर धानौँला भन्ने सोच बनाएको छु । मैले लेखेर छिट्टै प्रकाशनको तयारीमा भएको पुस्तकबाट प्राप्त हुने रकमको केही अंश यही बाल अस्पताललाई दिने योजना छ । पहिला अलि विशेष किसिमको गिफ्ट प्याकका रुपमा निकाल्न लागेको पुस्तकको सबै खर्च प्रकाशकले व्यहोर्ने र पुस्तकबाट प्राप्त हुने सम्पूर्ण रकम लेखक र प्रकाशक दुवैले कियोचलाई दिने सम्झौता भइसकेको छ । पहिलो डोनेसनका हिसाबले अलि महँगो र दोस्रो नियमित किसिमको प्रकाशन अलि सस्तो हुने अनि यसको रोयल्टीबाट प्राप्त रकम आधा अस्पताललाई दिने कुरा पुस्तकमै छापिसकिएको छ ।
डाक्टरहरुलाई दिने पारिश्रमिक, तालिम आदि सञ्चालन खर्च तथा अस्पताललाई टिकाइराख्ने विषय एउटा चुनौतीको रुपमा रहेको छ । अस्पताल सञ्चालन भइसकेपछि उपलब्ध हुने सेवाहरुको खर्च नेपालको प्रचलिन ऐन–नियमहरुको परिधिभित्र रहेर सरकारी कार्यक्रमहरुमा समावेश गरिदिने विषयमा किवच र स्वास्थ्य मन्त्रालयसँग एउटा समझदारी भएको छ ।
अस्पताल निर्माण अलि सुस्त भएजस्तो छ, स्रोतको कमीले हो कि ?
किवचको काम अघि बढ्नासाथ लकडाउन शुरु भएर झन्डै दुई वर्ष काममा बाधा पुग्यो । कोरोना महामारी मत्थर हुँदै गएको थियो, युक्रेन–रसिया युद्ध शुरु भयो । यसले काममा बाधा परेको मात्र होइन, आर्थिक स्रोत परिचालनमा पनि असर पुग्यो । अन्तर्राष्ट्रिय स्रोत युक्रेनले खायो, राष्ट्रिय स्रोत कोरोनाले । तर यी दुवै समस्याका बाबजुद पनि अहिले काममा प्रगति हुन थालेको छ । काठमाडांैमा भवन निर्माण शुरु भइसकेको छ र अहिले यसको प्रगति पनि उत्साहजनक छ । साथै दमकको अस्पताल त केही महिनामा सञ्चालनमै आउनेछ ।
अस्पताल निर्माणका लागि आफ्नो कमाइसमेत अर्पेर रातदिन खट्नुभएको छ, तपाईंलाई चाहिँ के फाइदा नि ?
सबै काम–कुरा फाइदाको लागि मात्र गरिने होइन । म आफ्नो व्यवसायमा लागेदेखि नै केही न केही अरुको खुशीको लागि सामाजिक सेवाको काम पनि गरिरहेको थिएँ । मेरो व्यावसायिक जीवन पनि सफल नै भयो, तर समाजसेवी भएर अरुको खुशीको लागि काम गर्दा जति आनन्द र खुशी प्राप्त भयो त्यति आनन्द र खुशी मैले सफल भनेको व्यावसायिक जीवनबाट प्राप्त भएन । यस्तो हो भने म प्राइभेट अस्पताल खोल्नेभन्दा निःस्वार्थ सेवा गर्ने समाज सेवाको क्षेत्रमा किन नलाग्ने ? भन्ने मेरो सोच हो ।
हाम्रो हिन्दू दर्शनमा ‘कर्म गर तर फलको आशा नगर’ भनेको छ । यसले समाजका लागि निःस्वार्थ सेवा गर भन्ने कुरा नै सिकाउँछ । डा कोइरालाले अहिलेसम्म हजारौँ बिरामीलाई मुटु उपचार सेवा दिनुका साथै १४ हजारभन्दा बढी मुटुको अपरेसन गरिसक्नुभएको छ । गंगालाल अस्पतालमा ८ वर्ष नेतृत्व तहमा रहँदा उहाँले भर्खर बामे सर्दै गरेको सो अस्पताललाई विकासको उत्कर्षमा पु-याउनुभयो । शिक्षण अस्पतालको कार्यकारी निर्देशक हुँदा छोटो समयमै उल्लेख्य सुधार गर्नुभएको थियो ।
शिक्षण अस्पताल परिसरमै रहेको मनमोहन अस्पताल स्थापना गर्न पनि उहाँको ठूलो योगदान रह्यो र आज एउटा स्तरीय अस्पतालका रुपमा स्थापित हुन सक्यो । त्यसकारण सरकार र समुदायबाट सहयोग जुटाएर बहुविशेषतायुक्त बाल अस्पताल सञ्चालन गरी सबै वर्गका बालबालिकालाई गुणस्तरीय सेवा पु-याउने डा. कोइराला र उहाँले हाल नेतृत्व गरिरहेको टिमको लक्ष्य सफल हुने अपेक्षा गर्न सकिन्छ ।