उचाइ बढाउने आयुर्वेदिक विधि



डा. रामदेव पण्डित (आयुर्वेद चिकित्सक)

हरेक अभिभावक चाहन्छन् कि आफ्ना सन्तान हरेक हिसाबले फिट हुन् । उमेरको अनुपातमा उचाइ र तौल सन्तुलित रहोस् । तर उमेरको अनुपातमा नानी–बाबुहरुको उचाइ र तौल सन्तुलितरुपमा नबढ्दा धेरै अभिभावक चिन्तित रहने गर्दछन् ।

बच्चाहरु पुड्को वा मोटो वा दुब्लो पो हुने हुन् कि भन्ने कुराले मानसिक तनाव भइरहेको हुन्छ । आफ्ना सन्तानको उचाइ बढाउन तथा तौल बढाउन वा घटाउनका लागि अनेक चिकित्सकीय विधिहरु एवं घरेलु विधिहरुको अध्ययन गर्ने गर्छन् । प्रयोग पनि गर्छन् । डाक्टरसँग परामर्श लिने गरेको पाइन्छ ।

पोषणविज्ञसँग सल्लाह गर्छन् । बच्चाहरुलाई फिट्नेस कक्षामा पठाउँछन् । बजारमा पाइने प्रशोधित विभिन्न खालका प्रोटिन, भिटामिन एवं खाद्य सप्लिमेन्ट पनि दिन्छन् । फेरि पनि उचाइ र तौलको सन्तुलन बनाउन मुस्किल भइरहेको हुन्छ ।
व्यक्तिको सन्तुलित उचाइ पनि स्वास्थ्यको परिचायक हो । विकसित देशका जनताको औसत उचाइ अविकसित देशको तुलनामा बढी हुन्छ । ब्रिटिस गोरखाको तथ्यांक अनुसार दोस्रो विश्वयुद्धतिर नेपालीहरुको औसत उचाइ ५ फिट २ इन्च थियो भने अहिले नेपालीको सामाजिक अवस्थामा केही सुधार आएपछि औसत उचाइ ५ फिट ४ इन्च भएको छ । व्यक्तिको उचाइ र तौल एक–अर्काेमा आधारित परिवर्तनशील तथ्यांक हुन् ।

उचाइ बढेसँगै तौल पनि बढ्छ । अनुसन्धानहरुका अनुसार उमेर बमोजिम कम उचाइ हुने व्यक्तिहरुमा वंशाणुगत समस्या, इन्डाक्राइनिक असन्तुलन, कुपोषणको समस्या, मेटाबोलिक डिसअर्डर, रक्तजन्य समस्या, मुटुसम्बन्धी समस्या तथा फोक्सोसम्बन्धी रोग लाग्ने सम्भावना बढी हुन्छ । बढी उचाइ हुनेमा भने इन्डाक्राइनिक असन्तुलन, वंशाणुगत समस्या आदि हुने सम्भावना बढी हुन्छ ।

वैज्ञानिक अनुसन्धाहरुले व्यक्तिको उचाइ २५ वर्षसम्म बढ्ने देखाएको छ । त्यसपछि लगभग बढ्दैन भन्ने निष्कर्ष छ । आधुनिक चिकित्सा विज्ञानमा व्यक्तिको उचाइ र तौलको अनुपातको हिसाबकिताब बडी मास इन्डेक्स (बी.एम.आई.) विधिबाट गर्दछन् । विश्व स्वास्थ्य संगठनका अनुसार बी.एम.आई. १८.५ देखि २५ कि.ग्रा. प्रतिमिटर स्कावर हुनुलाई सन्तुलित मानिन्छ । हाल नेपाली पुरुषहरुको औसत बी.एम.आई. २२ र महिलाहरुको औसत बी.एम.आई २० रहेको छ । सन् २०२१ मा गण्डकी मेडिकल कलेजमा गरिएको एक अध्ययन अनुसार नेपालीहरुको औसत उचाइ १५६ सेन्टिमिटर (महिलाको १५१ र पुरुषको १६३) रहेको पाइन्छ ।

कुनै पनि बच्चाको उमेर अनुसार उचाइ बढ्नु र नबढ्नुमा धेरैवटा विषयहरु जिम्मेवार हुन्छन् । जस्तै– वंशाणुगत पक्ष, पोषण, ग्रन्थि प्रणाली, पाचनक्रिया, व्यायाम आदि । बच्चाको उमेर अनुपातमा तौल बढी हुनुलाई ओभरवेट (मोटोपन) भनिन्छ भने कम हुनुलाई अन्डरवेट (दुब्लोपन) भनिन्छ । बच्चाको तौल उचाइको अनुपातमा सन्तुलित नभए त्यसलाई वेस्टिङ भनिन्छ । साथै उमेरको अनुपातमा उचाइ सन्तुलित नहुनुलाई स्टन्टिङ भनिन्छ ।

उमेरको अनुपातमा तौल र उचाइ

उमेरको अनुपातमा अमेरिकी र युरोपियन बच्चाहरुको औसत तौल र उचाइ एसियाली बच्चाहरुभन्दा फरक हुने हुन्छ । नेपाली र भारतीयहरुको अनुपात भने मिल्छ । उमेरको अनुपातमा हरेक देशका बच्चाहरुको औसत तौल र उचाइ फरक–फरक हुने हुन्छ । उमेरको अनुपातमा बच्चाहरुको हुनुपर्ने तौल र उचाइ निम्नानुसार हुनुपर्छ ।

(दिल इस्लाम मनसुर एवं समूहले सन् २०१५ मा काभ्रे जिल्लामा स्कुल जाने बच्चाहरुमा गरिएको अध्ययनबाट उद्धृत)

उचाइ बढाउने विधिहरु

१. चतुर्बीज (चारदाना) सेवन

मेथी, चमसुर, मंगरेल र ज्वानो यी चार बीजहरुको समूहलाई आयुर्वेदमा चतुर्बीज भनिन्छ । आयुर्वेदानुसार वातज रोग, अजीर्ण, शूल, आध्मान, छातीको दुखाइ, कम्मरको दुखाइ, आदिको लागि यसको प्रयोग गरिन्छ । आधुनिक वैज्ञानिक अनुसन्धानहरुका अनुसार चतुर्बीज चूर्णमा हुने क्याल्सियम, फस्फोरस, पोटासियम, सोडियम, जिंक, आइरन, भिटामिन डी, मिनरल्स, एमिनोएसिड आदि पोषक तत्वहरुले बच्चाहरुको उचाइ बढाउनमा चामत्कारिक भूमिका निर्वाह गर्दछ । चार थरीका बीजहरुमध्ये उचाइ बढाउनमा चमसुरको बीउको सबैभन्दा बढी भूमिका हुने देखिएको छ । चतुर्बीज उपलब्ध नभए चमसुरको बीजलाई मात्र पनि यस प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ । चमसुर हलिम सिड्सको नामले पनि बजारमा राखिएको पाइन्छ ।
चतुर्बीजको चूर्ण घरमै तयार गर्न सकिन्छ । चारै थरी बीज बराबर मात्रामा किनेर ल्याई, त्यसलाई सुकाएर, मिहिन बनाई पिसेर अनि सिसाको बट्टामा राख्नुपर्छ । एकपटक घरमा बनाइएको चूर्णलाई बढीमा ३ महिनासम्म प्रयोग गर्न सकिन्छ । यो चूर्ण बजारमा किन्न पनि पाइन्छ । यस चूर्णलाई ३ देखि ६ ग्राम मात्रामा प्रतिदिन दुईपटक खालि पेटमा मही वा घिउ वा मनतातो पानीसँग सेवन गराउनुपर्छ । महसँग पनि खुवाउन सकिन्छ ।

२. अश्वगन्धा घृत

अश्वगन्धा घृत आयुर्वेदीय औषधि हो, जसले शरीरमा प्रोटिन निर्माण प्रक्रियालाई गतिशील बनाउँछ । बच्चाहरुको उचाइ र तौलको वृद्धिमा भूमिका निर्वाह गर्दछ । अश्वगन्धा घृतलाई घरमा बनाउन कठिन हुन्छ । अतः आयुर्वेदीय चिकित्सा केन्द्रबाट यसलाई किनेर दैनिक दुईपटक ६ देखि १२ ग्राम मनतातो पानीसँग सेवन गराउन सकिन्छ । यस औषधिले दुब्ला र पातला बच्चाहरुको तौल पनि वृद्धि गराउँछ । शारीरिक क्षमताको पनि वृद्धि गर्दछ । समग्र कुपोषणलाई नाश गर्छ ।

३. शतावरी चूर्ण

उचाइ बढाउन अत्यन्तै प्रभावकारी औषधि मानिन्छ शतावरी चूर्ण । यसको चूर्ण आयुर्वेदिक औषधि पसलमा किन्न सकिन्छ । दिनको २ पटकसम्म ३ देखि ६ ग्रामको मात्रामा मनतातो पानीसँग खान सकिन्छ । नेपाली बजारमा कुरिलोलाई शतावरी मान्ने चलन छ, जुन वास्तवमा होइन । कुरिलो अर्कै प्रजाति हो र शतावरी अर्कै । कुरिलोको प्रयोग पनि बच्चाहरुको समग्र स्वास्थ्यको लागि निकै हितकर हुन्छ ।

४. गाईको दूध

गाईको दूध बच्चाहरुको लागि अमृतसमान मानिन्छ । यसमा शरीरको वृद्धि विकासको लागि लगभग सबै पोषक तत्वहरु रहेको हुन्छ । अतः बच्चाहरुको उचाइ बढाउन दैनिकरुपमा निश्चित मात्रामा गाईको दूध पिउन दिनुपर्छ ।

५. योग आसन

उचाइ बढाउन औषधिहरु खाएर मात्र हुँदैन । शारीरिक क्रियाकलापहरु पनि गर्नुपर्छ । शारीरिक क्रियाले शरीरमा सञ्चित पोषक तत्वहरुको सम्यकरुपमा यथोचित व्यवस्थापन हुन्छ । फलतः शरीरको उचाइ बढाउन सबैतिर पोषक तत्वहरु पुग्छ । घरमा शारीरिक क्रियाकलापको रुपमा जे पनि गराउन सकिन्छ तर उचाइ बढाउनकै लागि भनेर प्रामाणिक रुपमा केही निश्चित आसनहरु दैनिक गराउँदा प्रभावकारी लाभ हुन्छ । जस्तै– ताडासन, शीर्षासन, हलासन, पादहस्तासन, वृक्षासन, भुजङ्गासन, चक्रासन, धनुरासन आदि ।

प्रतिक्रिया दिनुहोस्