मानिसहरु मोटोपन घटाउन धेरै मेहनत गरिरहेका हुन्छन्, तैपनि तौल घटिरहेको हुँदैन । तौल घटाउन तल दिइएका जानकारीहरु उपयोगी हुन सक्छन् ।
कति खाने, के खाने, कसरी खाने ?
गुलियो र चिल्लो कटौती गर्ने । बढी मोटा र बढी खानेले क्रमिक रुपमा खानेकुरा कटौती गर्दै लगी एक हप्तासम्ममा एक हजार क्यालोरीमा सीमित हुने र त्यसलाई १५ दिन लम्ब्याउने । तत्पश्चात् दैनिक एक सय क्यालोरी घटाई ५ सय क्यालोरीमा सीमित गर्ने । खाँदा प्राकृतिक, स्वस्थकर खाना खाने ।
भोक लागिहालेमा पानीले पेट भर्ने, एकैपटक नखाई थोरै–थोरै गरेर खाने गर्नुहोस् ।
कम क्यालोरी हुने तर धेरै मात्रा देखिने खानेकुरा जस्तै– काँचो सलाद, हरियो तरकारीजस्ता कुराहरु प्रयोग गर्ने । तर ५ सय क्यालोरीमा सीमित हुने गरी दिनभरिमा ५ पटक एक सय क्यालोरीका दरले खाने । यदि खाना नियन्त्रण गर्नै नसक्नेले बेलुका ५ वा ६ बजेतिर ५ सय क्यालोरीको खानपान गर्ने तर अरु बेला पानीमात्र पिएर बस्ने गर्न पनि सकिन्छ । यसरी करिब एक हप्ता जति बस्ने ।
पुनः दैनिक १ सय क्यालोरी थप्दै १ हजार क्यालोरीमा आउने । यदि रिँगटा लाग्ने, रक्तचाप घट्ने, कमजोरीजस्ता लक्षण भएमा विज्ञको थप सल्लाह लिएर सोही अनुसार गर्नुपर्ने हुन्छ । आहार, विहार, व्यायाम र थप सल्लाह आवश्यक परेमा मलाई कल गर्न सक्नुहुनेछ । (मोबाइल नं. ९८५१०५४९२१, अति आवश्यक भएमा मात्र सम्पर्क गर्नुहोला ।)
डाइट चार्ट र बिहानको योजना तयार गर्नुहोस्
बिहान ५.०० देखि ६.३० बजेसम्म उठिसक्ने, दाँत माझिसकेपछि आधा वा एक लिटरजति लगातार पिउन मिल्ने ठिक्कको तातो पानी पिउने र शौच जाने तथा अन्य नित्य कर्म गर्ने ।
(शोधन क्रियाहरु सिकेर अभ्यास गर्ने । डेढ घण्टाजति शारीरिक, मानसिक अभ्यासहरु गर्ने ।)
आफ्नो ठाउँमा पाइने स्थानीय फलपूmल, तरकारी र खाद्यान्नहरु इन्टरनेटबाट छनोट गरी प्राकृतिक खानपानबाट क्यालोरीको मात्रासमेत हेरेर १ हजारदेखि ९ सय, ८ सय, ७ सय, ६ सय र ५ सय क्यालोरी प्राप्त हुने गरी सूची बनाउने । अनि डाइट चार्ट तयार गर्नुहोस्, जसमा बिहानको खाजा, खाना र दिउँसोको खाजा, नास्तामा यो कुरा यति मात्रामा खान्छु भनी निर्धारण गर्नुहोस् । यदि आफैंले गर्न सक्नुभएन भने नजिकैको योग तथा प्राकृतिक चिकित्सक वा डाइटिसियनको पनि सहयोग लिन सक्नुहुनेछ ।
योग अभ्यास गर्नुहोस्
योग अभ्यासले शोधन गर्ने, आशक्ति घटाउने, मन नियन्त्रण गर्ने लागायत शरीरको अतिरिक्त बोसो कम गर्ने हुन्छ । योगका शारीरिक, मानसिक र आध्यात्मिक अभ्यासले शरीर र मन एवं स्वतत्वलाई समेत नियन्त्रण गर्ने हुँदा निकै उपयोगी हुन्छ । त्यसैले योग अभ्यासलाई प्राथमिकता दिनुहोस् । योगका मन्दगति, हृदगति, उध्र्वगति, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान आदि अभ्यासहरुलाई अनिवार्य रुपले वा प्राथमिकता दिन सुझाव दिन्छु ।
योग विज्ञसँग षट्कर्ममा विधिहरु सिकी अभ्यास गर्ने, शारीरिक अभ्यास तथा आसनहरु गर्ने, पेटका बलले गर्ने लगायत उत्तानो, घोप्टो, बसेर, उठेर र विपरीत भई गरिने आसन, सूर्य नमस्कार आदि अभ्यासहरु करिब एक घण्टा गर्ने, बन्ध, मुद्राहरुको अभ्यास पनि उपयोगी हुन्छ । यौगिक मिताहरुको प्रयोग गर्नु आवश्यक छ ।
व्यायाम गर्नुहोस्
दौड, प्रातः भ्रमण, साइक्लिड., एरोबिक्स, जुम्बा, ब्याड्मिन्टन आदि थाक्ने खालका अभ्यासहरुबाट पसिना निकाल्ने गर्नुहोस् । व्यायाम गर्दा पनि विज्ञकै सल्लाहमा गर्नुहोस् । मोटो व्यक्तिले निहुँरिने, उफ्रने व्यायामहरु गर्दा सावधानी चाहिन्छ । शुरुमा केही हल्का अभ्यास गरेपछि मात्र थाक्ने खालका अभ्यासलाई क्रमिक रुपले विज्ञबाट सिकी अभ्यास गर्नु कम जोखिम हुन्छ ।
दैनिक एक–दुईपटक नुहाउनुस्
नुहाउनु पनि व्यायाम हो । नुहाउनुअगाडि खस्रो कपडाले शरीरभर रगड्ने, शरीरमा थपथपाउने, माड्ने, थिच्ने आदि गरी नुहाउने र रुमालले नपुछीकनै हातैले रगड्दै पानी सुकाउने गरी बढी व्यायामको लाभ लिन सकिन्छ ।
खाना खाने नियम पालना गर्नुहोस् :
कम क्यालोरीको खाना रोज्ने । गुलियो र चिल्लो बन्द गर्ने । कम खाने । कम पस्कने, पस्किसकेपछि आधा निकाल्ने र थप्नै परे निकालेको भन्दा पनि कम थप्ने । धेरैबेर चपाएर खाने । सानो प्लेटको प्रयोग गरी सानो चम्चाले खाने । सकारात्मक भएर खाने ।
पानी पिउनुहोस्
मोटो र खाना नियन्त्रण गर्न नसक्ने व्यक्तिले पहिलो गाँस हाल्नुअगाडि दुई–तीन गिलास पानी पिउनुहोस् । यसले खानामा निकै नै नियन्त्रण हुन्छ । यसरी नै उपवास गर्दा, पेट खालि हुँदा वा कम क्यालोरीयुक्त खाना खाँदा टन्न पानी पिएर मात्र सँगै खाना खानुहोस् ।
प्रशोधित खानाको त्याग गर्नुहोस्
पत्रु खाना वा जंक फुड र प्रशोधित खाना दुवैले तौल बढाउँछ र त्यसमा पौष्टिकता पनि न्यून रहेको हुन्छ । बट्टा तथा प्लास्टिकमा प्याक गरिएका यस्ता अप्राकृतिक खानेकुराहरु हानिकारक पनि हुन्छन् । फाइबर (रेसा, चोकर र बोक्रा) प्रधान खानाको प्रयोग गर्नुहोस् । होटलमा खान बन्द गर्नुहोस् । घरमै खाने वा घरको लगेर खाने गर्नुहोस् ।
कोल्ड ड्रिङ्क्स, लस्सी, चिया, कफी त्याग्नुहोस्
दूध र चिनी राखेका पेय एक कप पनि नलिनुहोस् । फिका चिया, कफी लिनै परे कम गाढा पिउने गर्नुहोस् । बरु सट्टामा चिनीविनाको कागती–पानी, ग्रीन टी, हर्बल टी, तुलसी चिया आदि पटक–पटक पिउनुहोस् । कहिलेकाहीँ चिया–कफी पिउन मन लागे सानो कपमा दुई–चार चुस्की पिउने ।
पानीमात्र पिएर उपवास गर्नुहोस्
हप्तामा एकदिन पूर्ण जलोपवास गर्ने । उपवास गर्दा मड्प्याक र एनिमाको प्रयोग गर्दा ग्यास्टिक नबढ्ने, पेट सफा हुने हुँदा तौल पनि घट्ने हुन्छ । यसका लागि प्राकृतिक चिकित्सा केन्द्र वा प्राकृतिक चिकित्सकको सल्लाह लिन सकिन्छ ।
पानीमात्र पिएर चौबीस घण्टासम्म निराहार रहने तरिका उपवास हो ।
मोटोपन भएका व्यक्तिहरुले उपवास गर्दा पहिलो हप्तामा पहिलो दिन रसिलो फलफूल र दोस्रो दिन ताजा फलको रस र पानी पनि पिएर उपवास गर्न सकिन्छ । फलाहार र रसाहार गरिसकेपछि दोस्रो हप्तादेखि पहिलो दिन १२ बजे दिउँसोसम्म थोरै फलाहार र १२ बजेदेखि रातिसम्म ताजा फलफूलको रसाहार गर्नुपर्छ । दोस्रो दिन पानीमात्र पिएर पूर्ण उपवास गर्दै आराम गर्नुपर्छ । तेस्रो दिन उपवास तोड्न फलको रस र १२ बजेपछि रसिलो खालको फलफूल खानुपर्छ । हप्तामा ३ दिन यसरी बस्न सके निकै लाभ पाउन सकिन्छ । उपवासको शुरुका अभ्यास विज्ञको उपस्थितिमा गर्नुपर्छ । तीन दिनभन्दा बढी एकहप्ते वा दुईहप्ते शोधनका विधिसहितको उपवास गर्नु फाइदाकारक हुन्छ तर विज्ञको निगरानीमा मात्र गर्नुपर्छ ।
निद्रा गडबड नगर्नुहोस्
उचित निद्राले चयापचय (मेटाबोलिज्म) ठीक राख्ने र हर्मोनलाई समेत सन्तुलन राख्न सहयोग गर्ने भएकोले तौल घटाउन सहयोग मिल्छ । साँझ १० बजे सुतिहाल्ने र बिहान ५ बजे उठ्ने बानी गर्नुहोस् । कम सुत्ने, बढी सुत्ने, खाना खानासाथ सुत्नेजस्ता बानी हटाउनुहोस् ।
मनदेखि नै अठोट गर्नुस्
कति किलो तौल घटाउने लक्ष्य लिएको हो, सो नघटेसम्म म कुनै पनि हालतमा अनुशासन तोड्दिन भन्ने कुरामा दृढ रहनुहोस् । खानपान, व्यायाम, उपवास आदिको प्रयोगमा नियमितता र सुनिश्चितता गर्नुहोस् ।
टिभी हेर्दै वा मोबाइल चलाउँदै नखानुहोस्, थोरै लिएर खानुहोस्
खाने बेलामा शान्त र एकाग्र हुनुहोस् । यस्तो बेलामा टेलिभिजन, मोबाइल आदिको प्रयोगले खानपानमा नियन्त्रण हुँदैन । साथै यदि खानु नै छ भने अलिकति छुट्टै लिएर बस्नुहोस् ।
सक्रिय रहनुहोस्
हरेक समय सक्रिय रहनुहोस् । सक्रियताले सदैव ऊर्जाको खपत गर्दछ र तौल नियन्त्रणमा सहयोग गर्नेछ ।
प्राकृतिक तथा योग चिकित्सा विधि अपनाउनुहोस्
हिपबाथ, हटफुट बाथ, स्टीम बाथ, प्राकृतिक आहार योजना, मसाज, एनिमा, लघु तथा पूर्ण शंखप्रक्षालन आदिले तौल घटाउन सहयोग मिल्छ । विज्ञबाट सिकी वा केन्द्रमै गएर यस्ता विधिहरुको प्रयोग गर्न सकिन्छ ।