गतवर्ष संसारकै धनाढ्य जोडी बिल तथा मेलिन्डा गेट्सले २७ वर्षको वैवाहिक सम्बन्धलाई विच्छेद गर्ने निर्णय गरेको कुरा सार्वजनिक गरे । यसले संसारलाई नै स्तब्ध बनायो । बाहिरवाट देख्दा निकै राम्ररी चलेको देखिने उनीहरुको वैवाहिक सम्बन्ध यसरी टुंगिनुको कारणलाई लिएर अनेक चर्चा–परिचर्चा पनि भए ।
गेट्स दम्पती छुट्टिने पक्का कारण भन्न नसकिए पनि केही कुरालाई लिएर मतभेद रहेको स्पष्ट हुन्छ । समाचारहरूका अनुसार यौनको लागि केटीहरूको बेचबिखनलगायत कैयौं गैरकानुनी कार्यमा संलग्न रहेका धनाढ्य लगानीकर्ता जेफ्ररे इपस्टिन (जसले आत्महत्या गरे) सँग बिलको भेटघाट तथा अर्को एक महिलासँगको सम्भावित सम्बन्धको चर्चा नै मुख्य कारण बनेको भनिन्छ । अहिले उनीहरू फरक–फरक घरमा बसे पनि दुवैले स्थापना गरेको बिल एन्ड मेलिन्डा फाउन्डेसनमा भने सहकार्य गर्ने जनाएका छन् ।
त्यसै गरी केही वर्षपहिले ४० वर्षको विवाहित जीवनपछि अमेरिकी उपराष्ट्रपति एल गोर तथा श्रीमती टिपरको पारपाचुकेको समाचारले उनका धेरै शुभचिन्तक, आफन्तहरुलाई अचम्मित तुल्याएको थियो । गोर दम्पती छुट्टिनुको कारणमा एक त राजनीति हो, अर्को वातावरणीय काममा व्यस्त एल गोर घर–परिवारबाट टाढै हुने गर्दथे । पछिल्ला समयमा सार्वजनिक जीवन देखिन नचाहने टिपरसँग गोरको स्वाभाविक रुपमा दूरी बढ्दै गयो ।
जीवनमा बाटो फरक–फरक हुने भएपछि दुवैको आपसी सहमतिमा नै उनीहरु छुट्टिने निर्णयमा पुगे । अर्को चर्चा अनुसार एल गोरको केही महिलाहरूसँग सम्बन्ध थियो । यो कुरालाई लिएर टिपर धेरै नै रिसाएकी थिइन् । अहिले उनीहरूले छुट्टाछुट्टै आ–आफ्नो जीवन बिताइरहेका छन् ।
यस्तै भारतीय कलाकार अमिर खान र किरण रावले पनि १५ वर्षको वैवाहिक सम्बन्ध विच्छेदको घोषणा गरे । यसले पनि हिन्द प्रायद्वीपमा तरंग नै ल्यायो । यसो हुनुको कारणको सन्दर्भमा पनि चर्चा–परिचर्चा भए । अमिर खान तथा किरण रावको सन्दर्भमा दम्पतीको रुपमा एक स्तरमा विकसित भइसकेको र जीवनको नयाँ अध्याय शुरु गर्ने सहमतिको कुरा बताएका छन् । कतिपयले प्रश्न उठाए पनि अमिरले अर्को कुनै व्यक्ति (महिलासँगको सम्बन्धलाई संकेत गर्दै) को संलग्नता नभएको बताएका छन् । अहिले उनीहरु आफ्नै पेसागत काममा व्यस्त रहेका छन् ।
त्यसै गरी नेपालमा पनि कलाकार मनोज गजुरेल र मीना दाहालबीचको २० वर्ष लामो वैवाहिक जीवनलाई अन्त्य गर्दै गरेको पारपारचुकेको घटनाले पनि धेरै नेपालीलाई छक्क पारेको थियो । अपेक्षा गरेअनुसार तालमेल नमिलेर विवाहको शुरुवाती दिनमा पारपाचुके लिने स्थिति आउँछ भनेर धेरैजसोले सोच्ने गर्दछौं तर माथिका घटनाहरूले लामो वैवाहिक जीवनपछि पनि दम्पतीले वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निणर्य गरेको पाइन्छ ।
‘लामो वैवाहिक सम्बन्ध बिताएर पनि दम्पतीहरुले किन यसलाई निरन्तरता नदिने निर्णय गर्दछन् ?’ भन्ने विषयमा यस लेखमा चर्चा गरिँदै छ । लामो वैवाहिक सम्बन्धको दौरानमा आएका उतार–चढाव, अनेक बाधा–व्यवधानहरूलाई दुवैजना मिली संघर्ष गरेर विजय प्राप्त गरेपछि पनि किन यसरी छुट्टिने निर्णय गरे भन्ने कुरा नातेदार, छरछिमेक, साथीभाइ, सामान्य चिनजान भएका सबैलाई नै चासो रहन्छ । कतिपयलाई उनीहरुको यस्तो निर्णय स्वीकार्न पनि गाह्रो हुन्छ । तर यथार्थमा कतिपय दम्पतीहरु निकै लामो वैवाहिक जीवनपछि पनि साथै बस्न नसकेर छुट्टिने निर्णय गर्दछन् ।
विशेष गरेर पश्चिमा देशहरूमा विवाह गरेको पहिलो १० वर्षमा पारपाचुके हुने सम्भावना बढी हुन्छ र त्यसपछिको दर पनि लगभग उस्तै नै भएको देखिन्छ । तर पछिल्ला दशकमा यी मुलुकहरूमा ५० वर्षभन्दा बढी उमेर भएका दम्पतीहरूमा यो दर दोब्बर भएको पाइन्छ । नेपालको सन्दर्भमा पारपाचुकेको दर पछिल्लो समयमा केही बढेको भए पनि अरु विकसित देशहरुको तुलनामा कमै रहेको देखिन्छ ।
वैवाहिक सम्बन्ध नटिक्ने कारण
वैवाहिक सम्बन्ध यसरी बीचैमा टुट्नुका अनेक कारणहरू हुन सक्छन् । यस्ता कारण जोडी वा व्यक्ति अनुसार फरक–फरक पनि हुन सक्छ ।
कारणहरू
१. धोका दिनु :
वैवाहिक सम्बन्धका आफ्नै मूल्य मान्यताहरू हुन्छन् । यसको सबैभन्दा महत्वपूर्ण पक्ष एक–अर्कामा समर्पित रहनु हो । यसमा प्रणय सम्बन्ध वा यौनसम्पर्कको सम्भावना भएको अर्को व्यक्तिको प्रवेश स्वीकार्य मानिदैन । यस्ता सम्बन्ध प्रायः लुकाएर गरिने भएकोले धोका दिइएको मानिन्छ । तर जति लुकाइए पनि कुनै समयमा सो गोप्यता भंग हुने स्थिति आउनासाथ दम्पतिको सम्बन्धमा चिरा पर्दछ, साथै बस्न नसक्ने स्थितिमा पुग्छन् ।
२. सम्पत्तिसम्बन्धी मुद्दाहरू:
कतिपय स्थितिमा पैसा तथा सम्पत्तिको सन्दर्भमा श्रीमान्–श्रीमतीबीच विवाद हुन सक्छ । यस्ता विवादमा खर्च नदिने, खर्चको प्राथमिकतादेखि लिएर खर्चको पारदर्शितासम्म हुन सक्छन् । यस्ता विवादले अनेक शंका–उपशंका उब्जाउँछन् र चर्को भएर पछि साथै नबस्ने निर्णयसम्म पुग्न सक्छन् ।
३. सञ्चारको अभाव र असमझदारी:
दम्पतीबीच कुराकानी नहुने परिस्थितिले एक–अर्काका आवश्यकता नबुझ्ने वा भावनात्मकरुपमा टाढिने हुन्छ । स्पष्टरुपमा कुराकानी नहुँदा त्यसले दम्पतीबीच धेरै नै असमझदारी जन्माउँछ । यसले आत्मीयतामा कमी हुँदै जाँदा साथै नबस्ने स्थितिसम्म आउँछ ।
४. सन्तान हुर्केको परिस्थिति:
विवाहका शुरुका वर्षहरू वृत्ति विकास अनि जीवन धान्न कमाउनुपर्ने बाध्यताले र सन्तान भएपछि उनीहरूको हेरचाहको लागि प्रशस्त समय दिनुपर्ने भएकोले वास्तवमा वैवाहिक जीवनमा सँगै बसे पनि एक–अर्कासँग बिताउने समय सीमित हुने गर्दछ । यी वर्षहरूमा समस्या परे पनि त्यसलाई धेरै ध्यान नदिने गरिन्छ वा पारपाचुके गर्न नसक्ने परिस्थिति हुने गर्दछ । वर्षौं पछि सन्तानहरू हुर्केर आ–आफ्नो काममा लागेपछि घर छोडेर गएको परिस्थितिमा फेरि श्रीमान्–श्रीमती दुवै मात्रै जिउनुपर्ने स्थिति आउँछ । यस्तो स्थितिमा फेरि एक–अर्काको बीचमा सामञ्जस्यता कायम गर्नुपर्ने स्थिति आउँछ । कतिपय स्थितिमा एक–अर्काको कमी–कमजोरीलाई मात्रै देख्ने र दोष देखाउने गर्दा साथै जीवनयापन गर्न असम्भवजस्तो हुन्छ ।
५. समाधान नगरिएका सवालहरू:
कतिपयले वैवाहिक जीवनका शुरुवाती दिनमा सामाजिक मूल्य मान्यताभन्दा पनि फरक किसिमको निजी वा व्यक्तिगत अपेक्षा वा सर्तहरु राखेका हुन सक्छन् वा प्रतिबद्धता जनाइएको हुन सक्छ । यस्ता कतिपय कुरा स्वास्थ्य वा जीवनशैली वा व्यक्तिगत स्वतन्त्रतासँग सम्बन्धित हुन सक्छन् ।
यस्ता कतिपय कुराले बेखुस पारेको हुन सक्छ । मातापिताको अपेक्षा वा सन्तानको भविष्यलाई लिएर कतिपय कुरालाई सहेर बसेको हुन सक्छ । पाको उमेरमा यी सब सहन नसकिने स्थितिमा पुगेको ठान्न सकिन्छ, जसको नतिजा सम्बन्ध विच्छेदमा टुंगिने हुन सक्छ ।
६. हिंसा:
पारपाचुकेको अर्काे महत्वपूर्ण कारण घरेलु हिंसा पनि हुन सक्छ । यो शारीरिक, मानसिक, आर्थिक वा यौन हिंसाको रुपमा पनि हुन सक्छ ।
के–कस्ता सावधानी अपनाउन सकिन्छ त ?
पहिलो कुरा त माथि चर्चा गरिएका कारणहरू छन् भने त्यसलाई हटाउने प्रयास गर्नु बुद्धिमानी हुन्छ । अहिले मन नपरे पनि वा धेरै असन्तुष्टि भए पनि एक्लैको जीवन कस्तो होला ? कसरी जिऊँला भन्ने बारेमा पनि गहिरोसँग सोच्नुपर्दछ । पाको उमेरमा सन्तानहरू पनि आ–आफ्नो काममा व्यस्त रहने र आफ्नो साथ नरहने परिस्थितिमा भएको जीवनसाथीसँग पनि छुट्टिएर बस्नु त्यति सहज नहुन सक्छ । यो अर्को तीतो यथार्थ हो । युवा अवस्थाजस्तो साथीभाइसँग समय बिताएर एक्लोपनलाई रोक्न पनि यो उमेरमा सजिलो नहुन सक्छ । किनकि भेटघाट गर्ने साथीहरू पनि आ–आफ्ना परिबन्धबाट निस्कन गाह्रो हुन सक्छ, बिरामी अवस्थामा हुन सक्छन् वा कतिपयको मृत्यु पनि भइसकेको हुन सक्छ अनि जमघटको लागि आवतजावत गर्न पनि यो उमेरमा सहज नहुन सक्छ ।
विशेष गरी नेपाललगायत पूर्वीय संस्कृतिमा वैवाहिक जीवनलाई जीवनभरि मात्रै नभई जुनी–जुनीको सम्बन्धको रुपमा लिइन्छ । यो कुरा आफैंमा नराम्रो भने होइन । विशेष गरी हाम्रो समाजमा पारपाचुेके गरिएला भन्ने सोच नै हुँदैन । त्यसमा पनि दशकौं वर्ष साथसाथै बिताएपछि, पारपाचुकेको लागि पहिले नै तयार भएर बसिएको पनि हुँदैन । यस्तो तयारी नगरिँदा थप अप्ठ्याराहरूको सामना गर्नुपर्ने हुन्छ । तर पारपाचुके हुने दिशातिर सम्बन्ध अघि बढ्दै छ भने यसको प्रक्रिया तथा त्यसपछिको असजिलोलाई कम गर्न केही निम्न सावधानीहरू सहयोगी हुन सक्छन् ।
१. आफ्ना सम्पत्तिको पूर्ण सूची तयार गर्ने, ताकि बाँडफाँड गर्दा सजिलो होस् । पुस्तैनी सम्पत्तिको बाँडफाँड नभएको स्थितिमा जटिलता थपिन सक्छ ।
२. घरजग्गा कसले राख्ने बारेमा पनि राम्ररी सोच्नुपर्दछ । घरको कर, मर्मत खर्चदेखि कतै धितो राखेर ऋण लिइएको स्थिति छ भने यसको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा पनि पहिले नै स्पष्ट हुनुपर्दछ ।
३. आफूले पाउने मात्रै होइन, एक परिवारको हैसियतले अरुबाट ऋण वा सापटी लिइएको भए उनीहरूलाई दिनुपर्ने कुराको सूची पनि तयार गर्नुपर्दछ, ताकि पारपाचुकेको दौरानमा व्यवस्थापन सजिलो होस् ।
४. कतिपयले स्वास्थ्य बिमा गराएका हुन सक्छन्, केही स्थितिमा तपाईंको स्वास्थ्य बिमा तपाईंको श्रीमान् वा श्रीमतीमार्फत प्राप्त गर्नुभएको हुन सक्छ । बढ्दो उमेरमा बिरामी बढी परिने भएको हुनाले त्यसको खर्चको व्यवस्थापन कसरी हुन्छ भन्ने पनि अर्को विचारणीय पक्ष हो ।
५ . अर्को विचार गर्नुपर्ने कुरा घरखर्चको बारेमा हो । एकै भान्सामा खाएको भन्दा दुई भान्साको खर्च बढी हुन्छ । पहिले तपाईंले जति खर्चमा दुईजनाले घरखर्च चलाउनुहुन्थ्यो एकजनाको लागि त्यसको आधाले पुग्दैन ।
अन्त्यमा के कुरा पनि भनौं भने, कतिपय व्यक्तिले पारपाचुकेका लागि गरिने मुद्दामामिलामा हुने खर्चको बारेमा खासै सोचेका हुँदैनन् । यसैले यदि पारपाचुके रोक्न नसक्ने अवस्थामा पुगिसकेको छ भने तपाईंले यसको बारेमा सोच्नुपर्छ । यसले गर्दा आफ्नो आर्थिक स्थितिलाई व्यवस्थित गर्न सहज हुन्छ । तर जे भए पनि पारपाचुकेको स्थितिमा पुग्नुबाट रोक्नु नै राम्रो हो, परिस्थिति बिग्रिँदै गएर सँगै बस्न नसक्ने अवस्था आएमा पारपाचुके नै विकल्प हो ।